+
+

संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या, प्राविधिक पक्षको विश्लेषण गर्दै प्रहरी

झापा कार्की परिवारले किन्न लागेको थियो जग्गा

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ २१ गते २१:५७
घटना भएको घर ।

२१ भदौ, विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ का शिक्षक योगेन्द्र ओझा सोमबार बिहानै आएको एउटा खबरले झस्किए । छिमेकमा परिवारै सखाप हुने गरी विभत्स हत्या भएको सुनेलगत्तै दौडिएर घटनास्थलतिर गए र उपमेयर उर्मिला नेपाललाई जानकारी गराए ।

केहीबेरमै स्थानीय वौद्धमान कार्कीको घरमा मानिसहरुको भिड लाग्यो, गाउँ नै शोकमा डुब्यो । ओझाका अनुसार कार्कीको ७ जनाको परिवार थियो । दुई जना ११ र ७ वर्षका बालक र बालिका थिए । एक जना कम सुन्ने र आँखा पनि राम्रोसँग नदेख्ने वृद्धबोहक सबैको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार ९३ वर्षीय वृद्ध बौद्धमान कार्की सकुशल भेटिएका छन् । ‘साँझ ६ बजे नै उहाँ सुत्ने गर्नु हुँदो रहेछ, बिहान मात्रै घटनाबारे थाहा पाउनु भएछ’ सुवेदीले अनलाइनखबरसँग भने, ‘श्रीमती बिरामी भइराख्नु हुँदो रहेछ, पल्टिरहेको होला भनेर ठान्नुभएछ, छिमेकीहरु आएपछि मात्र घटनाबारे थाहा पाउनुभयो ।’

सुवेदीका अनुसार घरभित्र उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की मृत अवस्थामा लडिरहेकी थिइन् । छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

प्रहरीका अनुसार नाती नतिनाको शव घरदेखि माथिको खरबारीमा छ । तेजबहादुरको शव सडकमा छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा छ ।

संघीय प्रहरी कार्यालय, धरानबाट तालिम प्राप्त कुकुर र फरेन्सिक विज्ञ बोलाएकाले प्रहरीले यो समाचार तयार गर्दासम्म घटनास्थललाई सुरक्षित मात्र राखेको छ । मुचुल्का उठाउने काम गरेको छैन ।

आर्थिक विवाद जोडिएको हुनसक्ने

प्रहरीका अनुसार खेती किसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । दुई छोरा नरेश र नरेशले विदेशबाट पठाएको केही पैसा घरमा थियो । परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा जग्गा किन्ने तयारी भइरहेको थियो ।

स्थानीयका अनुसार मंगलबार वा बुधबार नै जग्गा पास गर्ने तयारी परिवारको थियो । त्यसका लागि विदेशमा रहेका छोराहरुले रकम पठाएका थिए । स्थानीयका अनुसार परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी थियो । त्यसका लागि केही बैना रकम पनि दिएको जानकारी प्रहरीसम्म पुगेको छ ।

‘हामी घरमा प्रवेश गरी नसकेकाले घरमा चोरी वा लुटपाट भए नभएको कुनै संकेत देख्न पाएका छैनौं’ सुवेदी भन्छन्, ‘कुकुरको जाँच सकिएपछि मात्रै त्यो पाटोमा अनुसन्धान हुन्छ ।’ अहिललाई आर्थिक विषय पनि अनुसन्धानको एउटा पाटो भएको उनी बताउँछन् ।

परिवारको अन्य व्यक्तिसँग रिसिइबी भएको चाहिँ हालसम्म खुलेको छैन ।

प्राविधिक विश्लेषण जारी

दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानको व्यक्ति संलग्न हुनसक्ने आशंका गरिएको छ । आफन्तको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई केही साँघुरो बनाउँदै लगेको छ । तर ठोस उपलब्धी हात परिनसकेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

अहिले प्रहरीले घटना भएको आसपासको समयमा घटनास्थल वरपर सक्रिय मोबाइल नम्बरहरुको पनि विश्लेषण थालेको छ । ‘बीटीएस लोकेसनको आधारमा सक्रिय मोबाइलहरुलाई ट्रेस गरेर हेरिरहेका छौं’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘हत्यामा भएका व्यक्तिले चलाउने मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर) पनि विश्लेषण भइरहेको छ ।’

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शव विभिन्न ठाउँमा भेटिनु र चप्पलहरु यत्रतत्र छरिनुले लखेटेर हत्या गरेको हुनसक्ने आशंकालाई बल पुर्‍याएको छ । तर छरछिमेकले घटना भएका बेला कुनै गतिविधि नसुनेको बयान दिएका छन् ।

घटनास्थलमा पिकु र लैला

डीएसपी सुवेदीका अनुसार अहिले घटनास्थलमा संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट तालिम प्राप्त कुकर ‘पिकु’ र ‘लैला’ पुगेको छ । तर साँझको समयमा कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा कुकुरको ह्याण्डलरसँग छलफल गर्ने उनले बताए ।

कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै थप अनुसन्धान हुनेछ । हालसम्म घटनास्थललाई सुरक्षित राखिएको छ । मृतकको शव पनि मंग्लबार मात्रै उठाउने प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, विराटनगरको टोली पनि पुगेको छ ।

प्रदेश नं. १ का प्रहरी प्रमुख अरुणकुमार बिसी घटनास्थल विकट क्षेत्रमा भएकाले अनुसन्धान अधिकृतहरुलाई पुग्न समय लागेको बताउँछन् । उनी भन्छन्, ‘विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?