+
+

पोखरामा खोला उत्खननले बस्ती जोखिममा पर्ने भन्दै विरोध

विकास रोका मगर विकास रोका मगर
२०७८ भदौ २७ गते २०:५८

२७ भदौ, पोखरा । सुलबहादुर परियार पोखरा महानगरपालिका–३२, खुदीखोला किनारको सुकुम्बासी बस्तीमा बस्न थालेको २०५५ सालदेखि नै हो । यो अवधिमा खुदी खोला पटकपटक उर्लिएको देखेका छन् । खोलाले आकार बढाएर बस्तीतिर सोझिएको छ ।

हिउँदमा केही नभए पनि बर्षातको समयमा परियार परिवार त्रासमै बस्छ । तर, उनीहरुसँग अन्त जाने उपाय छैन । ‘यहीं स्कुल बनायौं, यही बाटो बनायौं, यहीं चाहिने संरचना बनायौं । अन्त जान हामीसँग उपाय छैन,’ उनी भन्छन् । त्यस सुकुम्बासी बस्तीमा परियारजस्तै करिब ८ सय परिवार बस्छन् ।

हरेक बर्खामा यत्तिकै पनि उर्लिने खुदी खोलामा पोखरा महानगरले भदौ १ मा ढुंगा, बालुवा उत्खननका लागि ठेक्का आह्वान गरेको छ । सुकुम्बासी बस्तीको अवस्था अनुमानै नगरी महानगरले ठेक्का आह्वान गरेपछि भवियष्यमा खोलाले वस्ती जोखिममा पार्ने भन्दै स्थानीय वासिन्दा रुष्ट बनेका छन् ।

अनौपचारिक रुपमा पटकपटक ठेक्का रद्द गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आइतबार नेकपा माओवादी केन्द्र इकाई कमिटीसहित बस्तीका विभिन्न ५ टोल विकास संस्थाले पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले ठेक्का प्रक्रिया तत्काल रद्द नगरे थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् ।

‘ऊर्जामन्त्रीज्यू पनि आउनुभएको थियो । उहाँले माछा पोखरी बन्छ, बाटो बन्छ, सुखसुविधा मिल्छ, डीपीआर गर्छौं भनेर झुटो कुरा गर्नुभो । हामी त माछापोखरी बन्ने भो भनेर ढुक्कै बसेको,’ परियार भन्छन्, ‘तर, घाट बेच्ने कुरा पो रहेछ !’

खोला बढेर पहिले नै सय मिटर वर कटान भइसकेकाले त्यसको निदान खोज्नुभन्दा महानगर क्षणिक नाफा हेरेर घाट बेच्न लागेको स्थानीय राजु परियार बताउँछन् । घाट ठेक्कामा लगाउँदा सुकुम्बासी बस्तीमात्रै नभएर खोला किनारका अरु जग्गामा समेत क्षति पुग्ने उनको भनाइ छ ।

‘लालपूर्जा भएको ठाउँको त २ सय मिटर खोलाले काटिसकेको छ । हाम्रो बस्ती पनि खोलामै आउने अवस्था छ,’ महानगर कार्यालय आएका परियारले भने, ‘भौगोलिक हिसाबले खोलालाई उत्खनन गर्न मिल्छ कि मिल्दैन भन्ने बस्ती, सरोकारवालासँग कुनै छलफल नै गरिएको छैन ।’

स्थानीयले खेतीयोग्य जमिन र सुकुम्बासी बस्ती दुवै संरक्षण हुने गरी चेकड्याम बनाउने र तरजाली ग्याबिन बक्स पनि उत्खनन सँगसँगै गर्ने सहमति गरेमात्रै घाट सञ्चालन गर्न दिने बताएका छन् । उनीहरुले बढीबढाउबाट घाट सञ्चालन गर्ने विधि पनि खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

पोखरा महानगरले भदौ १ गते खुदीखोला क्षेत्रका ३ ठाउँमा घाट सञ्चालनका लागि ठेक्का आह्वान गरेको छ । यसअघि महानगरले प्याकेज नं. २६ अन्तर्गत खुदीखोला पुलदेखि ३ नम्बर बस्तीसँग ५४ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न न्युनतम ३८ लाख ३४ हजार रुपैयाँमा ठेक्का आह्वान गरेको छ ।

प्याकेज नं २७ अन्तर्गत ३ नम्बर बस्तीदेखि ४ नम्बर बस्तीसम्म १९ हजार घनमिटर ढुंगा, बालुवा उत्खनन् गर्न भने जम्मा १ करोड ३७ लाख रुपैयाँमा ठेक्का आह्वान गरेको छ । त्यस्तै, प्याकेज नं. २८ अन्तर्गत खुदीखोला उत्तर सातमुहाने कल्भर्टदेखि ४ नम्बर बस्तीसम्म उत्खनन् गर्न न्युनतम ४३ लाख ९३ हजार ९३ रुपैयाँमा ठेक्का आह्वान गरेको छ ।

बस्ती जोगाउनै ठेक्का लगाइएको हो : महानगर

पोखरा महानगरपालिकााक प्रमुख प्रशाकीय अधिकृत महेश बराल भने खुदीखोला किनारका बस्ती जोगाउन नै घाट ठेक्का आह्वान गरेको दावी गर्छन् । खोलामा नदीजन्य पदार्थ भरिएर बस्तीमा खोला पस्ने डर भएकाले क्षति हुन नदिन घाट सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘खोलामा ढुंगा, बालुवा धेरै भएर माथि उक्लिएको छ । यसले झन् बस्तीमा जोखिम बढ्यो । खोलालाई पुरानै आकारमा लगेर क्षति कम गराउन घाट सञ्चालन गर्न लागिएको हो,’ बरालले भने, ‘नदी र बस्ती दुवै संरक्षणका लागि पनि घाट सञ्चालन आवश्यक देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?