+
+

भावी रणनीति बनाउन विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा

राजनीतिक कार्यदिशाबारे विप्लवको प्रतिवेदन पेश हुँदै

अमृत सुवेदी अमृत सुवेदी
२०७८ भदौ ३१ गते २१:२२

३० भदौ, पोखरा । सरकारसँग तीनबुँदे सहमति गर्दै सार्वजनिक भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ६ महीना अन्योलमा रह्यो । तीनबुँदे कार्यान्वयन गर्ने जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसद विघटनमा लागे र सरकारबाट बाहिरिए ।

सरकार परिवर्तन भएपछि विप्लव समूहले सबै राजनीतिक दलका नेताहरुसँग भेट गर्याे , सहमति कार्यान्वयनमा जोड दियो । तर त्यसअनुसार प्रगति नभएपछि तीनबुँदे सम्झौता गर्दै खुला राजनीतिमा फर्किंदाको समीक्षा, अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीति बनाउने भएको छ ।

यसका लागि नेकपाको ११औं केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा शुक्रबारदेखि शुरु हुँदैछ । खुला राजनीतिमा फर्केपछि बन्दीपुरमा पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

‘बन्दीपुरमा शुरु हुने बैठक झण्डै एक हप्ता चल्छ, बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुन्छ’, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले भने, ‘विशेषगरी यो बैठकमा सरकारसँग भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुन्छ । अहिलेको राजनीतिक परिस्थिति र अबको रणनीति तयार गर्छौं । देशको मूलभूत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्छौं ।’

सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने लगायत तीनबुँदे सहमति गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ लगाएको प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमतिपछि २१ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काएको थियो ।

सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएकाले अब कसरी अगाडि बढ्ने भनेर राजनीतिक कार्यक्रम तयार गरिने केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज पूर्णजीत पुन ‘उभार’ले बताए । ‘समग्रमा अब पार्टी कस्तो बनाउने र जनताका बीच केके लिएर जाने भन्नेबारे बैठकले रणनीति बनाउने छ’ उभारले भने, ‘त्यसका लागि ६५ जना केन्द्रीय सदस्य छलफलमा हुनुहुनेछ ।’

विप्लव समूहले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमत संग्रहको माग गर्दै आएको छ । ‘संविधान, नेपालको राजनीतिक सिस्टम के हुने, संघीयताको अभ्यास र सत्ताको चरित्र के हुने, व्यवस्था कस्तो हुने भन्नेबारे जनमत संग्रहमा जाने र त्यो किन आवश्यक छ भन्नेबारे पनि बैठकबाट तय हुन्छ’ उनले भने, ‘अरु कम्युनिष्ट पार्टी नाममात्रको हुँदा नेकपाले असली कम्युनिष्टको परिचय दिन जनतामाझ कसरी जाने भन्ने छलफलबाट निष्कर्ष निकाल्छौं ।’

खराव संसदीय व्यवस्था नमान्ने भन्दै माओवादीबाट अलग भएर विप्लवले जनताको अधिकार स्थापित गर्न फेरि एक पटक विद्रोह गर्ने बताएका थिए । माओवादीबाट अलग हुँदै फेरि भएको भूमिगत आन्दोलन, सरकारसँगको सम्झौतापछि प्राप्त उपलब्धिबारे छलफल गर्दै रणनीति तयार हुने नेकपाले जनाएको छ । पार्टीको सांगठनिक संरचनाबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा सहभागी हुन विप्लव बन्दीपुर पुगिसकेका छन् । बन्दीपुरमा मिहिन छलफल गरेर राजनीतिक धारणा र अबको रणनीति सार्वजनिक गर्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

 

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?