+
+

ईपीएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १६:२५

७ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी  चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै स्वागतका लागि उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारी पनि पुगेका थिए ।

अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तानजस्तै आफ्नै घर लागेको बताए । नेपाल राम्रो देश भएको भन्दै उनले यहाँको भ्रमण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । नेपाली खेलप्रेमी र क्रिकेटलाई साथ र सहयोगका लागि आफू नेपाल आएको उनको भनाइ छ ।

अफ्रिदी चौथो संस्करणको ईपीएल खेल्न लागेका उच्च प्रोफाइलका खेलाडी हुन् । उनले नेपाल बसाइको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल्नेछन् ।  विश्वमा चर्चा कमाइसकेका अफ्रिदीले विश्वका प्रायःजसो फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, १० इन्डियन प्रिमियर लिग (आईपीएल) र ३३२ ट्वान्टी–२० खेल खेलेका छन् ।

शनिबारबाट शुरु हुने चौथो संस्करणको ईपीएल असोज २३ गतेसम्म चल्नेछ । ६ टोलीले सहभागिता जनाउने प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?