+
+
फिचर स्टोरी :

शौचालय छ पानी छैन, बीचमै पढाइ छाड्छन् छात्रा

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०७८ असोज १२ गते १५:५३

१२ असोज, जुम्ला । जुम्लाका अधिकांश विद्यालयमा अध्ययन गर्ने छात्राहरुले हरेक महिना एक साता विद्यालयको पढाइ छाड्नु परिरहेको छ । जिल्लाका अधिकांश विद्यालयमा व्यवस्थित शौचालय र पर्याप्त पानीको अभावका कारण महिनावारी भएको समयमा पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको छात्राहरु बताउँछन् ।

विद्यालयहरुमा शौचालय त बनेका छन्, तर त्यहाँ पानीको व्यवस्था हुन नसक्दा महिनावारीको समयमा असजिलो हुन्छ । यतिसम्मकी महिनावारीको बेला प्रयोग गरेको स्यानिटरी प्याड विसर्जन गर्न समेत समस्या हुने भएपछि विद्यालय नै जान मन नलाग्ने जुम्लाको सेतीबाडा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् छात्रा बन्दना तिमिल्सेनाले बताइन् ।

‘विद्यालयमा शौचालय त बनेका छन् तर शौचालयमा प्रयोग गर्ने पानी छैन । स्यानिटरी प्याड व्यवस्थापन गर्ने डस्टबिन पनि राखेको छैन, त्यसैले त्यस्तो समयमा बीचमै पढाइ छाडेर घर जान्छु,’ उनले भनिन् ।

महिनावारीको समयमा बढी सरसफाइ गर्नुपर्छ भन्ने कुरा पढेको भए पनि विद्यालयमा त्यस्तो व्यवस्था नहुँदा आफूले व्यवहारमा उतार्न नसकेको उक्त विद्यालयमा अध्ययनरत् अर्की छात्रा कालिका चौलागाईं बताउँछिन् । जिल्ला खुला दिसामुक्त घोषणा भएको छ तर विद्यालयको हाताभित्र प्रवेश गर्दा जताततै दिसा नै दिसा भेटिने भएकाले अन्य रोगको शिकार भइने हो कि भन्ने डर लागिरहने उनले बताइन् ।

जुम्लाका अधिकांश विद्यालयका शौचालयमा पानीको व्यवस्था नहुँदा महिनावारी भएका बेला छात्राहरु स्कुल जानै मन गर्दैनन् । महिनामा चार दिन स्कुल नजाँदा उनीहरु पढाइमा पनि पछि परिरहेका छन् ।

विद्यालयमा पिउने पानीको समेत व्यवस्था नहुँदा तिर्खा लागेको समयमा समेत पढाइ छाड्नुपर्ने बाध्यता रहेको केही छात्राको गुनासो छ । सेतीबाडा माविकै छात्रा निरुता सिंहले भनिन्, ‘विद्यालयमा पानीको धारा त छ, तर ती धाराबाट पानी झर्दैन । पानीविनाका धाराले तिर्खा मेट्दैन ।’

महिनावारी भएको समयमा आफूहरुलाई बढी पानी प्रयोग गर्नुपर्ने भएकाले यस्तो बेलामा विद्यालय नगएर घरमै बस्ने गरेको उनको गुनासो छ ।

पानीको अभावमा प्रयोगविहीन शौचालय

पानीको अभावका कारण विद्यालयमा भएका शौचालय प्रयोगविहीन भएका छन् । शौचालयमा पानीको व्यवस्थापन नहुँदा बालिकाहरुले कक्षा छाड्ने गरेका छन् । यसरी कक्षा छाडेपछि उनीहरुको शिक्षामा असर परेको स्थानीय अभिभावक जानकी शाहीले बताइन् ।

विद्यार्थीलाई मात्रै होइन, पानीको अभावका कारण शौचालय प्रयोग गर्न नसक्ने अवस्था भएको विद्यालयका शिक्षकहरु पनि बताउँछन् । सेतीबाडा माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद उपाध्याय भन्छन्, ‘विद्यालयमा पानी नभएको हुनाले शौचालय प्रयोग त परको कुरा, तिर्खा मेट्न पनि टाढा जानु परिरहेको छ ।’

स्वास्थ्य र सरसफाइ विषय पढाउने गरेको भए पनि पानी अभावका कारण व्यवहारमा परिणत गर्न नसकिएको उनले बताए । शिक्षक र विद्यार्थीको लागि महिला र पुरुष गरेर दुईवटा शौचालय त बनेको छ तर पानी नहुँदा प्रयोगमा ल्याउन समस्या भएको उनको भनाइ छ ।

सेतीबाडा विद्यालय मात्रै होइन तिला गाउँपालिका–४ सापुल्ली गाउँस्थित नामीडाँडा आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । शौचालय बनेको छ तर पानी अभावका कारण प्रयोगमा आउन नसकेको उक्त विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले बताए । ‘पानी नभएपछि विद्यालयको सरसफाइको अवस्था एकदमै नाजुक छ,’ उनले भने ।

कतिपय विद्यालयमा बनाइएका शौचालयमा ताला लगाइएको पाइन्छ भने कतिपयमा जताततै दिसा–पिसाबको फोहोर देखिन्छ । पानीको विकल्पमा सानासाना बालबालिकाहरुले दिसा पुछ्नको लागि माटो, ढुङ्गा र काठका टुक्राहरु समेत प्रयोग गरेर शौचालयको प्यानमा फाल्ने गरेको हुनाले शौचालय नै प्रयोग गर्न नसकिने भएको छ ।

शिक्षा आर्जन गरेर सबैलाई चेतना दिने विद्यालयमा यस्तो अवस्था भएपछि अरुलाई कसरी सिकाउने होला भन्ने चुनौती आफूहरुले झेल्नु परिरहेको शिक्षक यज्ञप्रसाद उपाध्यायले बताए । पानी अभावका कारण विद्यालयमा रहेको शौचालय प्रयोगमा नआएको विषयमा गाउँपालिकामा पटकपटक जानकारी गराएको भए पनि सहयोग नभएको उनको गुनासो छ । विद्यालयमा पानीको व्यवस्था गर्न सकियो भने यस्तो समस्याबाट छुटकारा पाउन सकिने उनले बताए ।

पानी अभावका कारण यस भेगका विद्यार्थीले विद्यालयभित्र बनेको शौचालय प्रयोग गर्न पाएका छैनन् । कोही विद्यार्थी गाउँ नजिक विद्यालय भएको हुनाले आफ्नो घरमा जान्छन् भने कोही विद्यार्थीहरु खुला ठाउँमा शौच गर्दै आएका छन् । शिक्षक उपाध्याय अगाडि भन्छन्, ‘यसका लागि शौचालय बनेर मात्रै भएन, पानीको पनि व्यवस्था भयो भने मात्रै प्रयोगमा ल्याउन सकिन्छ ।’

पानी अभावका कारण यस भेगका विद्यार्थीले विद्यालयभित्र बनेको शौचालय प्रयोग गर्न पाएका छैनन् । कोही विद्यार्थी गाउँ नजिक विद्यालय भएको हुनाले आफ्नो घरमा जान्छन् भने कोही विद्यार्थीहरु खुला ठाउँमा शौच गर्दै आएका छन् ।

तिला गाउँपालिकाका २७ विद्यालयमध्ये २३ वटा विद्यालयहरुमा पानीको अभाव भएका कारण शौचालयको नियमित प्रयोगमा समस्या भइरहेको गाउँपालिकाका शिक्षा सहसंयोजक दीपेन्द्र हमालले जानकारी दिए ।

उनले भने, ‘स्थानीय तह भइसकेपछि अहिलेसम्म २७ वटा विद्यालयमध्ये ६ वटा विद्यालयमा ७÷७ लाखको लागतमा शौचालय बनेका छन् तर पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।’

अहिले बनाइएका सबै शौचालय छात्रामैत्री बनाएको भए पनि पानी नहुँदा प्रयोगमा आउन नसकेको हुनाले विशेष गरेर बालिकाहरुको पढाइमा बाधा पुगिरहेको उनले स्वीकार गरे । यसका लागि पानीको स्रोत जुटाएर सबै विद्यालयमा रहेका शौचालय प्रयोगमा ल्याउन गाउँपालिका र विद्यालय आसपासका समुदायसँग सहयोग मागेर अगाडि बढ्ने तयारी भइरहेको उनले बताए ।

विद्यालयमा स्वास्थ्य र सरसफाइको अवस्था राम्रो बनोस् भन्ने उद्देश्यले सरकारले पानीसहितको शौचालयको लागि बजेटको व्यवस्था गरेको छ । साथै त्यही अनुसारका भौतिक संरचना पनि बनेका छन् । तर पानीको स्रोत अभावका कारण यस्तो समस्या भोग्नु परिरहेको सम्बन्धित विद्यालयका शिक्षकहरुले बताउँदै आएका छन् ।

बीचमै विद्यालय छोड्ने छात्राहरुको सहजताको लागि निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रम भए पनि विद्यालयमा प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा पढाइ छाड्नु परिरहेको छात्राहरुले गुनासो गरे ।

पूर्ण सरसफाइ कार्यक्रमको आवश्यकता

जिल्ला खुला दिसामुक्त घोषणा भएको लामो समय भइसकेको हुनाले पूर्ण सरसफाइका कार्यक्रम शुरु गर्नुपर्ने अवस्था छ । तर यही अवस्थामा विद्यालयहरुमा जताततै फोहोर देख्नु परेको हुनाले समस्या भइरहेको स्थानीय शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले बताए ।

गाउँपालिकाभित्र पानीका स्रोतहरु नभएकोले समस्या भइरहेको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् । ‘पानीको स्रोतहरु पहिचान गर्ने काम भएको छ, तर तत्कालै पानी व्यवस्था गर्न सकिने अवस्था छैन । यो समस्या अझै  केही समय रहन्छ,’ उनले भनिन् ।

नेपाल सरकारले विद्यालय क्षेत्र सुधार योजना (२०१६–२३) जारी गरेर विद्यालयमा बालिका तथा किशोरीको गोपनीयता, महिनावारी र सरसफाइ सुनिश्चित गरेको छ । विद्यालय तहको पाठ्यक्रममा व्यक्तिगत सरसफाइ, किशोरी र वयस्कमा हुने शारीरिक परिवर्तन, यौन स्वास्थ्य र महिनावारीबारे जानकारीका विषय पाठ्यक्रममा समावेश गरेको छ । तर पढेको विषय कार्यान्वयन गर्ने र त्यही पाठ पढाउने शिक्षालयका पूर्वाधारहरु छात्रामैत्री नहुँदा विद्यार्थीहरुले समस्या भोग्दै आएका छन् ।

स्थानीय सरकारले पूर्ण अधिकार पाए पनि आवश्यक चासो नदेखाउँदा विद्यालयको सरसफाइको अवस्था कमजोर बनेको स्थानीय शिक्षकहरु बताउँछन् । जुम्लामा हाल १७० वटा सामुदायिक विद्यालय छन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि यी विद्यालय स्थानीय तह मातहत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?