+
+
ब्लग :

एमाले विधान महाधिवेशनलाई गिज्याइरहेको गोदावरी सडक

गौरव केसी गौरव केसी
२०७८ असोज १५ गते १४:४७

नेकपा एमालेले शुक्रबारबाट शुरू हुने विधान महाधिवेशनको लागि भव्य तयारी गरेको छ । ललितपुरको गोदावरीस्थित सभाहलमा हुने उक्त कार्यक्रमको लागि सातदोबाटोदेखि गोदावरीसम्मको सडक आसपासका खम्बाहरू गोलाकार भित्रको हँसिया हथौडाले रङ्गिएका छन् । ठाउँठाउँमा स्वागत गेट बनाइएका छन् । रंगीविरंगी ध्वजापताकाले सडक रंगिएका छन् ।

अघिपछि अत्यन्तै सुनसान रहने गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको रौनक अहिले बढेको छ । झण्डै तीन हजार सिट क्षमता भएको सभाहल यतिबेला झकिझकाउ भएको छ । विवाहको मण्डप सिंगारिए झैं गरी यतिबेला गोदावरी सिंगारिएको छ । दिनभरि कार्यालयको कामले लखतरान भएर घर पुग्नै लाग्दा सडकमा टाँसिएका ध्वजापताका, झण्डा तथा सभाहल तथा सभाहलको सिंगारले अत्यन्तै ऊर्जा दिन्छ ।

गोदावरीको प्राकृतिक सुन्दरतामा एमालेका कार्यकर्ताले रंग्याएका सडक र सभाहलले रौनकता थपेको छ । झकिझकाउ भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको उक्त सभाहलमा सोही पार्टीको पहिलो विधान महाधिवेशन हुँदै गर्दा जुन किसिमको उत्साह मनमा आउँछ, सातदोबाटोदेखि गोदावरी पुग्ने बाटो हेर्दा र यात्रा गर्दा त्यो उत्साह सिनित्त निख्रिएर जान्छ ।

तीन वर्ष सरकारको नेतृत्व गरेर बाहिरिएका ओली र उनको पार्टीलाई सडकले यतिबेला कुरी–कुरी गरिरहेको जस्तो देखिन्छ ।

सातदोबाटोबाट हरिसिद्धि नपुग्दासम्म मेरो पार्टीले, मेरो सरकारले बनाएको बाटो भन्दै गर्व गर्दै र गफ गर्दै खुशी मनाउन सक्नुहुन्छ । तर जब हरिसिद्धि पुग्नुहुन्छ अनि तपाईंको केही समय अगाडिको गर्व र खुशियाली एकाएक हराउँछ ।

गोदावरी सभाहलसँग यहाँको स्थानीय युवाको राम्रो चिनाजानी छ । हल बन्नुपूर्व त्यस ठाउँमा फूटबल चौर थियो । हात्तीवनदेखि ठैब हुँदै बाँडेगाउँ र टौखेलदेखिका युवा उक्त मैदानमा फूटबल खेल्न आउँथे । साना विद्यालयको लागि फूटबल तालिम केन्द्र जस्तै थियो त्यो चौर । त्यसैले पनि कतिको बाल्यकालको सपना त्यै चौरमा आएर शुरु हुन्थे । धेरै युवालाई सपना देखाएको चौरमा बनेको हलमा उद्घाटन पछिको पहिलो ठूलो कार्यक्रमको आयोजना यतिबेला हँुदैछ ।

चर्चामा आए अनुसार विधान महाधिवेशनमा भाग लिनको लागि देशैभरिबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हँुदैछन् । केन्द्रीय कमिटीका पदाधिकारीदेखि जिल्ला कमिटीका पदाधिकारीसम्म कार्यक्रममा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुखसम्म उक्त कार्यक्रममा सहभागी हुँदैछन् ।

देशै बनाउने भाषण गर्नेहरू, देशै बनाउन आफ्नो र आफ्नो परिवारको स्वार्थ छाडेको भन्नेहरू सहभागी हुने यो ठूलो मेलामा पुग्ने बाटोले भने सडकको वरिपरिको झकिझकाउलाई गिज्याइरहेको छ । जिस्क्याइरहेको छ । लाजलाग्दो अवस्था बनेको छ ।

कार्यक्रममा सहभागी हुने चक्रपथ छोडेर कार्यक्रमस्थल गोदावरीतर्फ लाग्दा एकछिन सातदोबाटोको ट्राफिकमा अडिनुपर्ने हुन्छ । सम्भवतः सबै सहभागीको आफ्नै सवारी साधन होला । नभए पनि आफ्नो साथी कमरेड वा अरु कसैसँग लिफ्ट माग्नुहुनेछ ।

हात्तीवन नपुग्दै गोदावरीको चिसो सिरेटोले स्वागत गर्दा तपाईंहरू हत्तपत्त गाडीको झ्याल खोली घरबाट हिंड्दा अन गरेको एसी बन्द गर्न लाग्नुहोला । चौडा सडक, अनि छेउमा फुटपाथ आहा कत्ति राम्रो सडक र कति राम्रो प्रचारप्रसार भन्दै गाडीको सिसा खोल्न सक्नुहुन्छ । सातदोबाटोबाट हरिसिद्धि नपुग्दासम्म मेरो पार्टीले, मेरो सरकारले बनाएको बाटो भन्दै गर्व गर्दै र गफ गर्दै खुशी मनाउन सक्नुहुन्छ ।

तर जब हरिसिद्धि पुग्नुहुन्छ अनि तपाईंको केही समय अगाडिको गर्व र खुशियाली एकाएक हराउँछ । अनि गाडीको सिसा बन्द गर्नतर्फ लाग्नुहुन्छ । तपाईंहरूले राजधानीमा यस्तो खत्तम र जर्जर सडक पनि हुन सक्छ भन्ने सोच्नु पनि भएको हुन्न ।

ठैब हुँदै गोदावरी लाग्दा बाटोमा परेको ठूला–ठूला खाल्डोले तपाईंको ज्यानलाई सुख दिने छैन । हिजोबाट मात्रै ठेकेदारले शायद तपाईंहरूको कार्यक्रम हुने थाहा पाएर ग्राभेलिङ्ग शुरु गरेको छ । वर्षौं हामीले पीडा भोगिरहेका थियौं । नेकपा एमालेको विधान महाधिवेशन भन्ने थाहा पाएर ग्राभेल त गरेको छ तर यसको दीर्घकालीन समाधानको लागि वर्षौंदेखि एक पाइला काम अगाडि बढेको छैन ।

देशभरबाट एउटा ठूलो दलको नेताहरू एकै स्थानमा भेला हुँदै हुनुहुन्छ । कृपया ठेकेदारलाई एकपटक भनिदिनुस् न, हामी यहाँका बासिन्दाले साह्रै नै ठूलो पीडा भोगिरहेका छौं । अनि हाम्रा ललितपुर गोदावरीतिरका तपाईंका पार्टीका नेतालाई पनि एकपटक सम्झाइदिनुस् न, नागरिकको लागि राजनीति गर्ने हो भने यो नागरिकले भोगिरहेको पीडाको समाधान पनि तत्काल गर्न पहल गर्नुस् भनेर । तै यो सडक छिट्टै बन्छ कि ?

केही लेखहरू पढ्दा र चोक–चोकमा यस विषयको चर्चा सुन्दा यो महाधिवेशनले मूलतः दुई सन्देशहरू दिन खोजेको देखिन्छ– एमाले विभाजनले खासै ठूलो असर नपरेको सन्देश र निर्वाचनको तयारी । अनि छलफलका विषय तथा निर्णयहरू क्रमशः कुन गुट बलियो ? कुन गुटले जित्ने ? कसले पार्टी चलाउने ? सरकारमा मन्त्रीको रूपमा को जाने आदि ।

म काम त देशमै गर्ने हो, घुम्नलाई विदेश जाने भन्ने सोच भएको मान्छे । मेरोे इच्छा अनि चाहना थोरै छन् । जसमध्येको एक हो– समृद्ध गोदावरी । कस्तो पार्टी बनाउने छलफल गरिरहँदा कस्तो देश बनाउन खोजेको ? विकासको मोडल के हुने ? देशभरका गोदावरी जस्तै समस्या भएका सडकहरूको सम्बन्धमा पार्टीको धारणा के हो ? भन्ने बारेमा पनि बहस र छलफल गरिदिनुस् न ।

पछिल्लो तीन वर्ष नेकपा एमालेकै सरकार थियो । त्यही तीन वर्षदेखि यो सडक यस्ताको यस्तै छ । यति सडक तीन वर्षमा पनि राम्रो बनाउन नसक्नेले देश बनाउन सक्छन् भनेर पत्याउनको लागि केही आधार त चाहिन्छ ।

सम्पूर्ण सदस्यहरूले त्यस्तो आधार खोजी गर्ने क्रममा देशमा विकास निर्माणको सवालमा पनि आँखा नचिम्लिदिनुहोस् । देशको अवस्था कस्तो छ भनेर बुझ्न वा नेतालाई बुझाउन मन भए यही गोदावरीकै सडक बलियो उदाहरण हो भनेर पनि नेतालाई भनिदिनुस् न है ।

बलियो पार्टी निर्माणको लागि विधान महाधिवेशनमा गरमागरम छलफल हुँदै गर्दा देशका नागरिकको पीडालाई पनि कसरी कमि गर्ने भन्ने छलफल पनि गर्नुभएको सुन्न पाइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?