+
+

रावणका केही विशेष गुण, जसले असल बन्न उत्प्रेरित गर्नसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते ११:१५

दशैंमा हामी हरेक वर्ष पुनः एकपटक असत्यमाथि सत्यको विजयको कुरा गर्छौं । रावणलाई असत्यको प्रतिकको रूपमा हामी चर्चा गरिरहेका हुन्छौं । यो हाम्रो संस्कृतिको एक अभिन्न हिस्सा बनिसकेको छ । रावणमाथि देवीको विजयले समाजलाई एक सन्देश दिन्छ कि असत्यको अन्त्य निश्चित छ । रावणको रूपमा एक खलनायक र उभित्र लुकेको खराब पक्षको अन्त्यको उद्घोष गरिन्छ ।

हिन्दु धर्मशास्त्रहरूले रावण एक अत्यधिक बुद्धिमान व्यक्ति भएको पुष्टि गर्छन् । केवल घमण्डले मात्रै उनलाई मृत्युको बाटोमा पुर्‍याएको थियो ।

रावणको जीवनका गुणहरूसँगै उनका अवगुणहरू जस्तै-अहंकार, सत्ता र शक्तिको उन्माद, आफ्नैको सल्लाह पनि नमान्ने जिद्दी, कुनै स्त्रीलाई बलपूर्वक आफ्नो बनाउने लोभ र आफ्नो शत्रुलाई कमजोर सम्झने गल्ती आदि भुल्नुहुँदैन । यहाँ रावणबाट सिक्नुपर्ने केही गुणहरुको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ-

कठिन तपस्याप्रति समर्पितः रावण शिवभक्त थिए र शिव शंकरको प्रसन्न बनाउनु सामान्य काम होइन । कठिन तपबाट रावणले उनलाई प्रसन्न बनाए र उक्त तपस्याको हरेक परीक्षामा खरो उत्रन सके ।

शिक्षाः यदि तपाईं कुनै परीक्षामा सफलता चाहनुहुन्छ भने आइपर्ने बाधासँग डराउनु हुँदैन । सफलता नमिलेसम्म लक्ष्य प्राप्तिमा अडिग रहनुहोस् ।

लक्ष्यप्रतिको प्रतिवद्धताः रावण जुन लक्ष्यतर्फ अगाडि बढ्दथे, त्यसलाई पाउनको लागि प्रतिवद्ध थिए । शिवको प्रसन्न बनाएर शक्ति प्राप्ति उनको लक्ष्य थियो र उनी यसका लागि प्रतिवद्ध रहे । उनले आफू कहिल्यै असफल हुन्छु भनेर सोचेनन् ।

शिक्षा : तपाईंको जीवनमा लक्ष्य प्राप्ति तपाईं त्यसप्रति कति प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले लक्ष्यलाई गम्भीरतापूर्वक लिनुहुन्न, प्रतिवद्धतालाई हल्कारूपमा लिनु हुन्छ भने लक्ष्य टाढा भाग्दै जान्छ ।

ज्ञानले सधैं सम्मान प्राप्ति हुन्छः  रावण कति ज्ञानी थिए भन्ने कुरा उनीद्वारा रचित शिव ताण्डव स्रोतबाट थाहा हुन्छ । यसबाट स्वयम् शिव प्रसन्न भएको मानिन्छ । रावणलाई चार वेद र छ शास्त्रको पूर्ण ज्ञान भएको मानिन्छ र उनको दश शीर यिनै यही ज्ञानको प्रतिक थिए । रावण एक स्थापित लेखक पनि थिए । आफ्नो यस्तो ज्ञान र बुद्धिको बलमा नै रावणप्रतिको सम्मान उनको शत्रुले पनि गर्दथे ।

शिक्षाः ज्ञानको कुनै सीमान हुँदैन । जति धेरै तपाईं ज्ञान हासिल गर्ने प्रयास गर्नुहुन्छ, यो त्यति नै बढ्छ । ज्ञानले तपाईंको सम्पूर्ण व्यक्तित्वलाई परिभाषित गर्दछ ।

आफ्ना मान्छेको चिन्ताः रावणको राज्यमा उनका प्रजा कहिल्यै दुःखी भएनन् । उनी एक परोपकारी र बुद्धिमान शासक थिए । उनको राज्यमा उनको प्रजा सुख र सम्पत्तिबाट भरिपूर्ण थिए । उनलाई आफ्नो प्रजाको ख्याल गर्न आउँथ्यो ।

शिक्षा : एक असल र सक्षम नेतामा नागरिकलाई सँगै लिएर हिंड्ने गुण हुन्छ । जो आफ्ना नागरिकलाई सँगै लिएर चल्न रुचाउँछ, नागरिकले उसैलाई आफ्नो नेताको रूपमा चिन्न रुचाउँछन् ।

परिवारप्रति समर्पितः आफ्ना भाइबहिनीको सम्मानलाई लिएर रावण समर्पित रहे । साँच्चै भन्ने हो भने आफ्नी बहिनी शूपर्णखालाई गरिएको अपमानको बदला नै उनले गलत कदम उठाउने कारण बनेको मानिन्छ । विभिषणको विचार उनीसँग विलकुल फरक थियो । तर पनि उनले विभीषणलाई आफूबाट अलग गरेनन् ।

शिक्षाः परिवारमा सबैको विचारधारा फरक भए पनि संकटको घडी आउँदा सिंगो परिवारलाई एकजुट देखाउनुपर्छ ।

सीमाभित्रै रहने हिम्मतः हुन त रावणले सीतालाई हरण गर्ने एउटा भूल गरे, उनले लंका ल्याएर पनि कहिल्यै पनि सीतामाथि जबरदस्ती अपमान गर्ने कोसिस गरेनन् । सीता रावणको बन्दीको रूपमा थिइन् तर, रावणले उनलाई कहिल्यै पनि प्रताडित बनाएर पाउने प्रयत्न गरेनन् ।

शिक्षा : सीताको हरण रावणको जीवनमा सबैभन्दा ठूलो भूल थियो । यो कुरा उनी पनि जान्दथे तर उनले स्त्रीको सम्मानलाई जसरी जोगाए, यस्तो संयम हरेक व्यक्तिमा हुन आवश्यक छ । कुनै पनि स्त्रीकी इच्छाविरुद्ध केही गर्नु गलत हुन्छ । रावणबाट यो शिक्षा लिन सकिन्छ ।

वीर तथा निर्भीकः ठूलाभन्दा ठूला फैसला लिन पनि रावण हिच्किचाएनन् । श्री रामसँगको युद्धका लागि अन्तिम समयसम्म उनी डटेर रहे । उनलाई थाहा थियो कि उनले गरेको पाप हो । तर पनि उनले एक योद्धाको धर्म निभाउँदै पूरै बहादुरीका साथ शत्रुको सामना गरे ।

शिक्षाः जब एकपटक तपाईं कुनै विपत्तिको सामना गरेर त्यसबाट निक्लनुहुन्छ तब तपाईं पछाडि हट्नेबारे नसोच्नुहोस् । यसबाट निर्णय कमजोर हुन्छ । मैले सामना गर्नु नै छ चाहे चुनौती जतिसुकै बलियो किन नहोस् भन्ने कुरा हामीले मनबाट कहिल्यै हटाउनुहुँदैन ।

स्वाति शैवाल\अमरउजाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?