+
+

गर्भधानको योजना बनाएर परामर्श लिन आउनेको संख्या बढ्यो- डा. जागेश्वर गौतम

नुनुता राई नुनुता राई
२०७८ असोज ३० गते ११:२८

नेपालमा अझै पनि योजना बनाएर गर्भधान गर्नेको संख्या अत्यन्तै न्यून छ । योजना बनाएर गर्भधान गर्दा पनि त्यो अनुसारको तयारी कम गर्ने गरेको पाईन्छ । तर गर्भधान योजना बनाएर चिकित्सकको आवश्यक परामर्श लिनेको संख्या विस्तारै बढिरेहको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमको भनाई छ । गर्भधानको तयारी कसरी गर्ने, गर्भधानपछि अपनाउनुपर्ने सचेतता, तयारीको विषयमा विशेषज्ञ डा. जागेश्वरसँग छोटो कुराकानी गरिएको छ ।

पहिलो सन्तानको योजना बनाउनुअघि के कस्ता स्वास्थ्य परीक्षण जरुरी हुन्छ ?

मुख्य कुरा बच्चा बसोस योजना बनाएपछि दुई दिन अघिदेखि फोलिक एसिड भन्ने औषधी खानुपर्छ । त्यो भन्दा बाहेक शरीरमा स्वास्थ्य समस्या जस्तो सुगर, प्रेसर, लगायत सामान्य जाँच गर्नुपर्छ ।

सबैले जाँच गर्नैपर्छ भन्ने पनि छैन । किनभने विहे गरेको एक वर्ष अघिसम्म परिवार नियोजनको साधन प्रयोग नगरीकन गर्भ रहने सम्भावना ८० प्रतिशत हुन्छ ।

आफै बस्यो भने प्रि मेटल काउन्सीलिङ गर्नु राम्रो तर हाम्रो नेपालमा चाँहि त्यत्ति धेरै चलन छैन । विदेशतिर हो भने गर्भाधान गर्ने योजना बनाएपछि दिनको एक पटक पाँच मिलिग्राम फोलिक एसिड खाने चलन छ । त्यस्तै अरु औषधीहरु महिनावारी भएको अन्तिम पटकको केही समयपछि नलिने चलन छ । हाम्रोमा सचेतनाको कमीले गर्दा त्यस्तो हुँदैन । अर्को श्रीमतिको ब्लड ग्रुप नेगेटिभ र श्रीमानको ब्लड ग्रुप पोजिटिभ हुँदा ख्याल गर्नुपर्ने हुन्छ । अरु इन्फेक्सनहरु छ भने उपचार गर्नुपर्छ । किमोथेरापी गर्ने वार्डमा काम नगर्ने, एन्टी क्यान्सरसम्बन्धी औषधीको सम्पर्कमा नआउने, एक्स रे हरु एक्सपोज गर्नुहुँदैन ।

सजिलैसँग बच्चा बस्ने खालको व्यक्तिलाई धेरै खालको तयारी गर्नुपर्दैन ।

योजनावद्ध रहने गर्भ र अनिच्छित गर्भले हुनेवाला बच्चाको स्वास्थ्यमा कुनै असर पर्न सक्छ ?

अनिच्छित गर्भ बसेको आमाले सावधानका उपायहरु अपनाउँदैन । औषधीहरु खाँदैनन् । कसैले बच्चा बसेपछि पनि पिल खाईरहेको हुन्छ । मुख्य कुरा ख्याल पुग्दैन । नेपालमा चाँहि १९ वर्ष भन्दा अगाडी गर्भाधान भएपनि त्यत्ति धेरै फरक पर्दैन । किनभने परिवारको साथ हुन्छ । तर बेलायततिर हेर्ने हो भने त टिनएजमा गर्भवती हुनेको अवस्था हाम्रो भन्दा खराब छ । किनभने त्यहाँ १९ वर्ष भन्दा अघि गर्भवती हुने भनेको अधिकांश अविवाहित हुन्छ । जसले सामाजिक सहयोग (आफ्नो आम्दानी नभएर सरकारको सहयोग लिने) लिनेहरु, दुव्र्यसनी, आप्रवासी, तेस्रो विश्वका किशोरीहरु हुन्छन् जसले गर्दा समस्या धेरै हुन्छ ।

योजना बनाएर गर्भाधान गरेको त जाँच गर्ने, फोलिक एसिड खान्छ, चिकित्सकले बोलाएको समयमा जान्छ, सुझाव लिन्छ, इन्सुरेन्सको सुविधा पनि हुन्छ ।

हाम्रोमा भए पनि परिवारको साथ हुन्छ । त्यसैले योजना बनाएर गर्भाधान गरेको र अनिच्छित गर्भाधानको नतिजा फरक हुन्छ ।

आमाको मनस्थिती, खानपान, रहनसहन आदिले गर्भको बच्चामा कुनै प्रभाव पार्छ ?

बच्चाको स्वास्थ्य राम्रो हुनको लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । त्यसैले आमा मानसिक रुपले, शारीरिक रुपले, भावानात्मक रुपले आमा स्वस्थ्य हुनुपर्छ । त्यसैले गर्भवती महिलाले हेरबिचार पाउनुपर्ने हो त्यो सबै पाउनुपर्छ ।

त्यसबाहेक खानापानमा विचार गर्नुपर्छ । ४०-३०-३० भन्छन् । ४० प्रतिशत कार्वोहाईड्रेट, ३० प्रतिशत साग र ३० प्रतिशत प्रोटिन मिलाएर खानुपर्छ । सागपात, गेडागुडी, मासु, दुध, अन्डा मिलेसम्म खानुपर्छ । छिटो छिटो खानुपर्छ । वान्ता भयो भने त्यसको उपचार गर्नुपर्छ ।

परिवारको पनि ठूलो भूमिका हुन्छ । श्रीमान र अरु परिवारको सदस्यहरुले पनि सहयोग गर्नुपर्छ । गर्भवती भएको बेला खानै नरुच्ने, वान्ता हुने, थकाई लाग्ने, पिसाब छिटो छिटो हुने, निद्रा नलाग्ने जस्ता समस्या देखिन्छ । यस्तो समस्यामा घर परिवारको साथ चाहिन्छ । किनभने यो जोडीको कुरा होईन । सामाजिक कुरा हो । जसरी विवाह सामाजिक परिपाटी हो त्यसैगरी गर्भाधान हुनु पनि सामाजिक कुरा हो । गर्भाधानले व्यक्तिलाई मात्रै नभएर, परिवार, समाज, समग्र राज्यलाई नै फरक पार्छ । एउटा बच्चा अपांग जन्म्यो भने समग्र राज्यलाई असर गर्छ । त्यसैले बच्चा पाउने उसको मात्र हो भनेर पुग्दैन ।

गर्भावस्थामा के कस्ता कुरामा ख्याल गर्नुपर्छ ?

मैले अघि पनि बच्चाको स्वास्थ्य राम्रो हुनको लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ भने । त्यसैले गर्भाधान योजना बनाउन थालेपछि नै धुमपान, मध्यपान नगर्ने ।

एन्टीनेटल जाँच गर्ने, आईरन क्याल्सियम खाने, मिलेसम्म दिउँसो दुई घन्टा रेष्ट गर्ने, राती ८ घन्टा सुत्ने, डाक्टरले नलेखेको औषधी नखाने, धेरै धपेडी हुने काम नगर्ने । धेरै हिल भएको जुत्ता नलगाउने, टाईट कपडाहरु नलगाउने, छालाको औषधी लगाउँदा जाँच गरेर डाक्टरको सुझाव अनुसार मात्रै लगाउने । कतिपय छालाको केयरका लागि लगाईने क्रिमहरुले बच्चालाई अप्ठ्यारो पार्ने पनि हुन्छ । त्यसैले छालाको डाक्टरलाई देखाउँदा पनि आफू गर्भवती भएको अथवा योजनामा रहेको स्पष्ट भन्ने । पेटमा बच्चा बसेपछि छालामा देखिने समस्या पिगमेन्ट्सहरु आउँछ त्यो हटाउनको लागि उपचार गरिरहेको हुन्छ । छालाको डाक्टरलाई म गर्भवती हो भनेका पनि हुँदैन । त्यसैले कुनै पनि समस्याको जाँच गर्दा डाक्टरलाई आफ्नो अवस्थाको स्पष्ट जानकारी गराउनुपर्छ ।

कस्तो अवस्थामा गर्भको बच्चा अशक्त हुने जोखिम हुन्छ ?

बच्चा अपांग हुने मुख्य कारण बंशाणुगत कारण हुन्छ । दोस्रो खान नमिल्ने औषधीहरु । जुन पहिलो तीन महिना बच्चा विकसित हुने समयमा खराब हुने खालको औषधी खानु भएन । आमाले गर्भाधानको बेला खान नहुने औषधीहरु खायो भने बच्चाका अंगहरुको विकास राम्रोसँग नहुनसक्छ । एन्टिक्यान्सर मेडिसिनहरु दिने, सम्पर्कमा हुँदा पनि त्यस्तो हुनसक्छ । अरु संक्रमणका कारण पनि हुनसक्छ । जस्तो भिरिङ्गी, टोक्सोप्लाज्मा, रुबेल इन्फेक्सन लगायतका संक्रमणले पनि बच्चा अपांग बनाउँछ ।

अर्को कुरा गर्भाधान समयको वरीपरि हामी गर्भाधान भन्दा दुई महिना अघि भन्छौ त्यसबेला फोलिक एसिड नखाँदा पनि बच्चा अपांग हुने सम्भावना हुन्छ । यसले बच्चा बिकलांग हुने जोखिम कम गर्छ ।

गर्भावास्थामा आमाहरुले के कस्ता लापरवाही वा कमजोरी गरिरहेका हुन्छन्, जसले गर्भको बच्चालाई असर गर्न सक्छ ?

अनिच्छित गर्भ बसेका जोडीले केही समयसम्म उपचारमा ध्यान दिएका हुँदैनन् । कतिसमय त उनीहरु पाउने कि नपाउने भन्ने दुविधामा नै हुन्छन् । जन्माउने निर्णयमा पुग्दासम्म हेरबिचार गर्न ढिला भईसकेको पनि पाईएको छ ।

अर्को खानपानमा ध्यान नदिएको पाईन्छ । गर्भाधानको समयमा जोडी मध्ये एकले धुमपान, मध्यपान गरिरहेका हुन्छन् । कतिपयले खान नमिल्ने औषधी खाईरहेका हुन्छन् । टाउको दुख्यो जाँच नै नगरी अथवा चिकित्सकको सल्लाह बिना नै पारासिटामोल, ब्रुफिन, प्लेक्जोन खाईरहेका हुन्छन् । यस्तो खालको लापरबाही अलि बढी देखिन्छ जसले गर्दा गर्भमा रहेको बच्चालाई असर गरिरहेको हुन्छ ।

 दोस्रो सन्तानको योजना बनाउनुअघि के कुरामा ख्याल गर्ने ? दुई बच्चाबीचको जन्मान्तर कति हुनु जरुरी छ ?

पहिलो बच्चा दुई वर्ष पुगेपछि दोस्रो बच्चाको योजना बनाए हुन्छ । गर्भधान भईहाले पनि तीन वर्षको फरक हुने भयो । अहिले सात, आठ वर्षको फरकमा योजना बनाउन म सुझाव दिन सक्दिनँ । किनभने एउटा बच्चा विद्यालय जाने बनाउनलाई तीन देखि पाँच वर्ष बनाउनुपर्छ । सात, आठ वर्षपछि योजना बनाउँदा अर्को पाँच वर्ष आमाको समय बित्छ । त्यसले उत्पादकता घट्छ । यसले सम्बन्धित व्यक्ति घर, समाज गर्दै समग्र देशको भविष्य सकारात्मक प्रभाव पार्छ । त्यसैले एउटा बच्चा पाएर तीन वर्षदेखि पाँचवर्ष भित्र अर्को बच्चा पायो भने एकदम सही समय हो ।

एउटी महिला कुन उमेरसम्म सन्तान जन्माउनका लागि योग्य हुन्छिन् ?

२५ वर्षदेखि ३५ वर्षभित्र बच्चा पाउनु एकदम सही समय हो । किन २५ वर्षपछि ठिक हो भने मेडिकल साईन्स बाहेक अरु पढ्यो भने मास्टर डिग्री सक्छ । आफ्नो खुट्टामा उभिसकेको हुन्छ । त्यसैले कामकाजी महिलाको लागि आईडियल समय हो ।

३५ वर्ष भन्दा माथि बच्चा जन्माउँदा आमाको र बच्चा दुबैको स्वास्थ्यमा असर गर्न सक्ने सम्भावना रहन्छ । अरु समस्या बढी आउँछ । डायबेटिज, प्रेसर जस्ता समस्या देखिन थाल्छ । बच्चामा डाउन सिन्ड्रोमको जोखिम बढी हुन्छ । ३५ वर्षपछि उमेर बढ्दै जाँदा बच्चा बस्ने सम्भावना पनि कम हुँदै जान्छ ।

गर्भधानको जाँच गर्न आउने अथवा परामर्श लिन आउनेको अवस्था कस्तो छ ?

पछिल्लो समय मानिस धेरै सचेत भएका छन् । २५ वर्ष अघि म स्त्रीरोग विशेषज्ञ हुँदा यस्तो थिएन । यो भन्दा धेरै खराब थियो अवस्था ।

अहिले हामी गर्भाधान गर्ने सोँचमा छौं कसो गर्न सकिन्छ भनेर परामर्श लिन आउनेको संख्या पनि उल्लेख्य बढेको छ । पहिला गर्भाधान गरेपछि पनि जाँच गर्न आउने थिएनन् । एन्टिनेटल चेकअप नै जम्मा नौ प्रतिशत थियो । सय जना गर्भवती हुँदा जम्मा नौ जना डाक्टरकहाँ अथवा स्वास्थ्यसंस्थामा जाँच गर्न जान्थे ।

अहिले त्यो दर बढेर झन्डै ७० प्रतिशत पुगेको छ । यो एकदम राम्रो त हैन । तर सुधारोन्मुख छ । यसरी नै बढ्ने हो भने शतप्रतिशत पुग्न सकिएला ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment