+
+

रूपान्तरणसहित एकता गर्ने कि तासको जोकर बन्ने कमरेडहरू ?

विष्णुहरि शर्मा विष्णुहरि शर्मा
२०७८ असोज ३० गते १५:००

झण्डै छ दशक लामो संर्घषको परिणाम गणतान्त्रिक नेपालको जन्म भयो । वामपन्थी तथा प्रजातान्त्रिक शक्ति अर्थात् नेपाली कांग्रेस र कम्युनिस्ट ब्राण्डका विविध घटकहरूको संयुक्त योगफलको कारण संघीय गणतन्त्र नेपालको जन्म हुन पुगेको ऐतिहासिक तथ्यलाई कसैले नकार्न सक्दैन ।

आज गणतन्त्रको आयु करिब १५ वर्ष पुगेको छ । २०६३ देखि आजसम्मका सबै सरकार र घटनाक्रमलाई अध्ययन गर्दा त्यत्रो बलिदानबाट प्राप्त भएको राजनैतिक अधिकार पछि आज नेपालको जुन अवस्था बन्नु पर्दथ्यो, त्यो बन्न सकिरहेको छैन ।

यतिबेला देश आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र नैतिकरूपमा भिन्नता जसरी आउनु पर्दथ्यो, त्यो आउन सकेन । यी सबै सूचकहरू अगाडि बढ्नुको साटो पछाडि फर्किरहेको देखिन्छ ।

गणतन्त्र प्राप्तिको संघर्षमा नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका पार्टी र तिनका नेतृत्वहरू समेत छोटे राजा महाराजाको रूपमा प्रस्तुत हुनु, भष्टाचारलाई न्यूनीकरण गरेर अगाडि बढ्नुको साटो दिनानुदिन भ्रष्टाचार संस्थागत बन्दै जानु, केन्द्र प्रदेश र स्थानीय तहमा समेत यो रोग वनमारा झारजस्तै व्यापक बनेर गएको देख्न सकिन्छ।

यतिबेला स्वतन्त्रताको स्थान अराजकता र स्वछन्दताले लिएको छ । नैतिकता, इमानदारिता र आत्मानुशासन कल्पनाभन्दा बाहिर हुन गएको छ । सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको ठाउँ सर्वसत्तावादले लिएको छ । व्यक्तिवाद, स्तुतिगान, अहंकार र अराजकताका संस्कृतिहरू बढेर गएका छन् । उच्च आदर्श, उन्नत विचार, उन्नत संस्कृति र मूल्य-मान्यताको राजनीति समाप्तिको दिशामा अगाडि बढिरहेको देख्न सकिन्छ ।

संकिर्णता, जडता र व्यक्तिवादी स्वार्थ र महत्वाकांक्षाका कारण पार्टीहरू गुट र समूहमा परिणत हुने र टुक्रिने प्रक्रिया बढ्दै गइराखेको छ । वामपन्थी राजनीतिमा जीवन समर्पण गरेका भनिएका वामपन्थी पार्टी र अग्रगामी राजनीति लिएका भनिएकाहरू नै बढी विकेन्द्रित र विखण्डनको अवस्थाबाट गुज्रिएको स्थिति देख्न सकिन्छ ।

आफ्नै जीवनकालमा आफैंले निर्माण गरेका पार्टीहरू टुक्रा टुक्रामा विभाजन हुँदा समेत तिनीहरू आत्मसमीक्षा गरिराखेका देखिँदैनन् । त्यसको मुलकारणको खोजी गर्ने कुरामा ध्यान पुर्‍याइरहेका छैनन् । त्यसो हुनुको पछाडि मेरो पनि दोष थियो की भनेर समीक्षा समेत गरेको देखिँदैन ।

तिनीहरू पनि राजा महाराजाकै शैलीमा आफ्नो सानो समूहको सुप्रीम कमान्डर बन्ने र आजीवन त्यसमा रहिरहने सोच बनाएको अवस्था देख्न सकिन्छ ।

टुक्रा-टुक्रा बनेर इतिहासमा खोज्ने भइसकेका छन् तर कथित सिद्धान्त र आदर्शका बकम्फुसे रटान छाड्न चाहँदैनन् । तिनीहरूका ती बकम्फुसे सिद्धान्तको जनताको जीवन व्यवहारसँग कुनै साइनो र सम्बन्ध रहेको छैन । उनीहरू आफैं पनि व्यवहारमा कार्यान्वयन गर्ने गर्दैनन् ।आफैंले कोरेको मार्गचित्रमा उनीहरू हिंडिरहेका हुँदैनन् । तर सार्वजनिकरूपमा ठुला ठुला हुंकार छाडिरहेका देखिन्छन् ।

म मात्र ठिक, मेरो नेता मात्र ठिक, मैले लिएको नीति मात्र ठिक, मेरो पार्टी मात्र ठिक, मेरो धर्म मात्र ठिक, मेरो जात मात्र ठिक, मेरो भूगोल मात्र ठिक भन्ने चरम सामन्तवादी व्यक्तिवादी चिन्तन र अवैज्ञानिक सोच र चिन्तनका कारण नै सामूहिकता र समानताको चीरहरण हुन पुगेको छ । कुन नेता कति क्रान्तिकारी छ भनेर मापन गर्ने यन्त्र कुन नेताले कति घण्टासम्म विरोधीलाई तथानाम गाली गर्न सक्दछ भन्ने बन्न गएको छ।

कार्यकर्ताको काम अन्धाधुन्ध, बिना सोचविचार नेताका गाली पुराणमा ताली ठोक्नुरहेको छ । पार्टीको यो सोच र चिन्तनका कारण आज जनताले यो व्यवस्थाप्रति नै प्रश्न गर्न थालेका छन् । गणतन्त्र भनेकै, संघीयता भनेको के यस्तै हो ? के यसैको निम्ति हामी लडेका थियौं । यस्तो व्यवस्था र संस्कृतिलाई कसरी उत्कृष्ट भन्न सकिन्छ ? भन्ने प्रश्न उठ्न थालेका छन् । जनतामा पार्टी र तिनका नेतृत्वप्रतिको अविश्वासका कारण पुरातनवादीहरूले टाउको उठाउन थालेका छन् ।

यस किसिमको परिस्थिति र परिवेशमा हामी तुलनात्मकरूपमा अग्रगामी र क्रान्तिकारी भनिएका, तुलनात्मकरूपमा वामपन्थी भनिएका शक्ति र समूहहरू यतिबेला टुक्राटुक्रामा विभाजित र विखण्डित छौं ।

यतिबेलाको वर्तमानलाई आंकलन गर्नुपर्दा एक वर्षपछि हुने निर्वाचनमा परिस्थितिमा आधारभूत परिवर्तन नहुने हो भने सरकारको नेतृत्वमा कांग्रेस र प्रतिपक्षमा एमाले अथवा सरकारमा एमाले र प्रतिपक्षमा काग्रेस ! यो भन्दा बाहिरको परिकल्पना मनोगत हुन जान्छ ।

त्यसैले हिजो संसदीय आन्दोलनमा सहभागी कांग्रेस बाहेकका पार्टीहरू, एकीकृत समाजवादी, नेकपा माओवादी, जसपा नेपाल, नेकपा मसाल, वैद्यजीको नेकपा क्रान्तिकारी, विप्लवजी समेतका पार्टीहरूले निर्वाचनमा अर्कोलाई हराउन त सक्दछन् तर एक्लै स्वयम् आफैंले जितेर निर्णायक शक्ति बन्न सक्दैनन् ।

एक्लाएक्लै यिनीहरूको कुनै राजनैतिक गेम बन्ने गर्दैन । निर्वाचनको समय कांग्रेससँगको सहकार्यबाट २०/३० सिट वा एमालेसँगको सहकार्यबाट २०/३० सिट अथवा समानुपातिक सूचिबाट १५/२० सिट प्राप्त हुनसक्ला । फेरि पनि निर्णायक शक्ति बन्न सक्ने अवस्था रहँदैन ।

अग्रगामीहरूको सरकार बन्न सक्ने छैन । कांग्रेस वा एमालेलाई सघाएबापत २/४ मन्त्रीमा आनन्द लिन सकिन्छ । हामी आफैं गेम गर्न नसक्ने तर अरुको गेम बनाउन सक्ने जोकरको भूमिकामा सीमित हुनेछौं । यो यथार्थ हो, कटुसत्य हो । आजको मत सर्वेक्षणले भन्दछ कि योभन्दा अर्को परिणाम आउन सक्दैन ।

हो ! निश्चितरूपमा यी दुई पार्टीहरूको आन्तरिक अवस्था खलबलिएको छ, उनीहरूप्रति मतदाताको अविश्वास र असन्तुष्टिको मात्रा बढेको छ । तर त्यहाँबाट मतदाताले सम्वन्धविच्छेद गर्नका लागि उनीहरूले अर्को वैकल्पिक शक्ति देख्नु पर्दछ। त्यो देखिने अवस्था बनिसकेको छैन ।

श्रीमानसँग असन्तुष्ट भएर माइत बसेकी श्रीमतीलाई सम्बन्ध विच्छेद भनेर बुझ्नु गल्ती हुन्छ । घरमा केही राम्रो वा नराम्रो घटना भयो भने उनी घरमै आउने छिन् । अत: मतदातालाई रूपान्तरण गर्नको लागि रूपान्तरणसहितको एकता अनिवार्य सर्त बन्न पुगेको छ ।

हामी आफैं गेम गर्न नसक्ने तर अरुको गेम बनाउन सक्ने जोकरको भूमिकामा सीमित हुनेछौं । यो यथार्थ हो, कटुसत्य हो । आजको मत सर्वेक्षणले भन्दछ कि योभन्दा अर्को परिणाम आउन सक्दैन ।

यतिबेला साना पार्टीहरूमा केही उत्साह र सक्रियता बढेको छ । माओवादी, जसपा, एकीकृतका कार्यकर्ताहरूमा गति पैदा भएको छ । सय पचास अन्य पार्टीका कार्यकर्ता पार्टी प्रवेश गरेका समाचारहरू पनि आउने गरेका छन् । ती कुराहरू संगठन विस्तारको लागि ठिक छन् । तर त्यसैको आधारमा निर्णायक परिवर्तनको कल्पना गर्नु मनोगतवादी गल्ती हुन पुग्दछ ।

हामी जीवन व्यवहारबाट अलग्गिएका ठुला ठुला सिद्धान्तका गफ गरिरहेका छौं । हामी दिल्लीको मुख्यमन्त्री केजरीवाललाई हेरौं, उनको दर्शन र सिद्धान्त भनेको जनतालाई सेवा र सुविधा कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित रहेको छ । उनको पार्टीको नाम आम आदमी पार्टी र उनको चुनाव चिन्ह झाडु तर जनताप्रतिको उत्तरदायित्वमा उनी हामीभन्दा अगाडि नै छन् ।

हामीले भने मार्क्सवाद, लेनिनवाद भन्यौं । पुगेन । माओविचारधारा भन्यौं । पुगेन, माओवाद भन्यौं । पुगेन । प्रचण्डपथ भन्यौं, साम्राज्यवाद भन्यौं, सामाजिक साम्राज्यवाद भन्यौं, बिस्तारवाद भन्यौं । विदेशीसँग सुरुङ्गयुद्ध गर्ने भनेर जिल्ला जिल्लामा खाल्डाहरू खन्ने काम गर्‍यौं । एकले अर्कोलाई मध्यपन्थी भन्यौं ।

दक्षिणपन्थी भन्यौं, प्रतिक्रियावादी भन्यौं अर्थात् राजनैतिक शब्दकोशमा भएका सबै गालीगलौजको प्रयोग गर्‍यौं । सेना नभएको पार्टी नै हुँदैन पनि भन्यौं । आखिर हामी कहाँ पुग्यौं ? कता गइरहेका छौं ? के हामी निकट इतिहासको निर्मम समीक्षाका साथ अगाडि बढ्न तयार छौं ।

हामीलाई समयले पर्खिराखेको छ । अब माधवजीले केपीजीलाई मात्र गाली गरेर प्रचण्डजीले अन्यलाई या बाबुराम वैद्यजीहरूले ठुलाठुला दर्शनका ठेली पल्टाएर मात्र राजनैतिक गेम बन्ने देखिंदैन ।

चित्र बहादुरजीका उखान टुक्का जनताले मनोरञ्जनमा मात्र प्रयोग गरेका छन् । मतपत्रमा होइन । अत: आगामी दिनहरूमा समाजवादको सामान्य मार्गचित्र तयार गरौं । त्यसमा सहमति कायम गरौं र सांगठनिक रूपमा अगाडि बढौं ।

आज यी समूहहरूबीचको एकता अपरिहार्य बन्न गएको छ । यदि यी पार्टीहरू आत्मसमीक्षासहित एकीकृत बन्न सक्ने हो भने के मतदाताको मन परिवर्तन गर्न सम्भव छ ? के यो शक्ति निर्णायक शक्ति बन्न सक्दछ ? हो ! यदि यसो गर्न सक्ने हो र इतिहासको आवश्यकतालाई आत्मसात गर्ने हो भने यो कुरा बिल्कुलै सम्भव छ । यतिबेला जनता र कार्यकर्ताले खोजेको कुरा यहि हो ! आजको वस्तुगत आवश्यकता नै यही हो ।

तर त्यहाँसम्म पुग्नको लागि व्यक्तिवादी सोच र चिन्तन बाधक बनेर आउने सम्भावना रहन्छ । त्यसको प्रतिवाद गर्न जरुरी हुन्छ । त्यसको लागि हामी कार्यकर्ता अठारौं शताब्दीको दास होइन, एक्काइसौं शताब्दीको उन्नत चेतनासहितको कार्यकर्ता बनौं ।

प्रचण्डजी, बाबुरामजी, माधव नेपालजी, उपेन्द्रजी, वैद्यजी ,चित्र बहादुरजी, विप्लवजी के तपाईंहरू जीवनको उत्तरार्धमा यो हिम्मत गर्न सक्नुहुन्छ ? सक्नै पर्दछ । आँट गरौं ! हिम्मत गरौं ! यसरी मात्रै इतिहासको रक्षा गर्न सकिने छ । प्रतिगामी सोच र विचारहरूलाई परास्त गर्न सकिनेछ र अग्रगमनको यात्रामा अगाडि बढ्न सकिन ।

हामी सबै एकसाथ अगाडि बढ्यौं भने गन्तव्यमा पुग्नेछौं । एक्लै मात्र अगाडि बढ्ने संकीर्ण सोच राख्यौं भने प्रतिदिन असी किलोमिटरको रफ्तारमा दौडौं तर पनि हामी लक्ष्यमा पुग्ने छैनौं । बरु हामी आफ्नै इतिहास समाप्तिको यात्रामा भेटिने छौं ।

अत: आगामी निर्वाचनमा निर्णायक शक्ति बन्ने दिशामा अगाडि बढ्ने की मात्र तासको जोक्कर बन्ने ? समयमै विचार गरौं । मैले यसरी सोचेँ । सबैले यसरी नै सोच्दा राम्रो हुन्थ्यो की !

(लेखक जसपा, नेपालको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?