+
+

दशैं विदाका पर्यटकले सौराहाका होटल व्यवसायी उत्साही

सुवास पण्डित सुवास पण्डित
२०७८ कात्तिक २ गते ९:५५

२ कात्तिक, चितवन । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् ।

दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो रहेको बताए । उनका अनुसार सो समयमा यहाँका होटलको अकुपेन्सी दर ६५ प्रतिशतभन्दा बढी थियो ।

कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नपाएका आन्तरिक पर्यटक घुम्नका लागि सौराहा आएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईका अनुसार १० प्रतिशत हाराहारी भारतीय पर्यटक छन् भने केही तेस्रो मुलुकका छन् ।

पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले फूलपातीदेखि सोमबारसम्म होटलका सबै कोठा बुक भएको बताए । उनको होटलमा ६५ कोठा छन् । ‘धेरैजसो नेपाली त्यसमा पनि मारवाडी समुदायका पर्यटकहरु आउनुभएको छ, पूर्वी नेपाल तथा पोखरातिरका पर्यटक पनि हुनुहुन्छ’ सञ्चालक खनालले भने, ‘विदेशी पर्यटकहरुको पनि बुकिङ्ग आउन थालेको छ ।’

विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका विभिन्न रोकिएका कार्यक्रमहरु पनि गर्नुपर्ने भएकाले अब पर्यटकहरुको आकर्षण बढ्ने विश्वास आफूलाई लागेको खनालले बताए ।

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले विगत वर्षको तुलनामा यस वर्ष दशैंमा सौराहाको पर्यटन व्यवसाय निकै राम्रो भएको बताए । अप्रत्यासित रुपमा पर्यटक सौराहा आएको भन्दै उनले व्यवस्थापन गर्नै कठिन भएको बताए ।

सौराहाका ११० पर्यटकीय होटलमा ५ हजार ५ सय बेड रहेका छन् । होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरु पनि पर्यटकले भरिभराउ हुने गरेका छन् ।

सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरु छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले दशैंको टीकाको दिन राप्ती किनारमा एक हजारभन्दा बढी पर्यटक आएको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिसमेत खुल्ला भएपछि सौराहामा पर्यटकहरु आउने क्रम बढ्न थालेको हो । चितवन राष्ट्रिय निकुञ्जले असोज दोस्रो सातादेखि निकुञ्जभित्र जिप सफारी खुल्ला गरेको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?