+
+

पैसाको कारण नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १९:१२
नेत्रप्रसादको हत्या आरोपमा पक्राउ परेका कृष्ण मगर र छिरिङ तामाङ ।

७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

घट्ना गत असोज १९ गते रातिको हो । त्यसको भोलिपल्ट असोज २० गते बिहान दाहालको घर अगाडिको आँगनमा दुवै खुट्टाको औंला मात्र देखिने गरी बालुवाले पुरेको अवस्थामा शव रहेको जानकारी टेलिफोनमार्फत स्थानीयले प्रहरीलाई गराएका थिए । सूचना पाए लगत्तै सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो । घट्नास्थल पुगेको प्रहरी टोलीले आँगनको बालुवा हटाएर हेर्दा घरधनी ६३ वर्षीय दाहाल रहेको खुल्न आएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनाको शव जाँच प्रकृति मुचुल्का, भौतिक सबुद प्रमाण संकलन लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि मृतकको शव काठमाडौं मेडिकल कलेज, भक्तपुर दुवाकोटमा  पठाइएको उनले बताए ।

घट्नस्थल वरपर रहेका छरछिमेकसँग घटनाको बारेमा बुझ्दा घटना हुनुभन्दा तीन दिन अघि मृतकको घरमा दुई जना अपरिचित व्यक्तिहरु आउने जाने गर्ने गरेको खुल्न आएको थियो ।

मृतक दाहालले प्रयोग गर्ने मोबाइल सेट समेत फेला परेको थिएन । तर दाहालको मोबाइल भने चालु अवस्थामा नै पाइएको थियो । सोही मोबाइलको आधारमा मेलम्ची नगरपालिका–११ स्थित हेलम्बु बसपार्कबाट मगरलाई नियन्त्रणमा लिएको उनले बताए । मगरको साथबाट दाहालको मोवाइल सेट बरामद भएको उनले बताए । मगरले दिएको बयानका आधारमा काठमाडौंको गोकणेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते तामाङलाई नियन्त्रणमा लिएको बस्नेतले जानकारी दिए ।

किन गरियो हत्या ?

प्रहरीका अनुसार मृतक दाहाल पुरानो घर भत्काएर नयाँ घर बनाउने तयारीमा थिए । सो कुरा मगर र तामाङले थाहा पाए । दाहालको घर बनाउन दुवै पक्षबीच मौखिक सहमति भएको थियो । असोज २० गतेदेखि नयाँ घर बनाउन शुरु गर्ने शर्तमा दाहालले मगर र तामाङलाई ४० हजार रुपैयाँ पेश्की दिने मौखिक सहमति भएको थियो ।

घर बनाउन दाहालले ४० हजार पेश्की दिने सहमति जनाएका कारण उनीसँग नगद रकम रहेको आशंकामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । दाहालसँग भएको नगद रकम लुट्ने योजना अनुसार असोज १९ गते राति नै मगरले कोदालोले टाउकोमा प्रहार गरी दाहालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताए ।

हत्या पछि दुवै जनाले उनकै घर अगाडि खाल्डो खनी शव गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । रातिको समयमा शव गाडेका कारण खुट्टाको औंला राम्रोसँग नपुरिँदा घटना बाहिर आएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मगर र तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दामा असोज २२ गते मुद्दा दर्ता भएको उनले बताए । जिल्ला अदालतबाट कात्तिक ४ गते म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?