+
+

कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:४६

सन् १९२० देखि १९९० को बीचमा संसारभर चिकित्सा क्षेत्रको विकासमा निकै धेरै कामहरु भए । यही बीचमा नै मानव शरीरको कुनै अंगले काम नगर्दा त्यसको विकल्प खोज्ने विषयमा धेरै खोजीहरु भए । मानव अंगको अभाव पूर्तिका लागि जनावरको अंगलाई मान्छेमा प्रत्यारोपण गर्ने बारेमा धेरै प्रयास भए । तर अहिलेसम्म सबै काम सफल हुन सकेनन् ।

सन् १९९२ को जुन महिनामा पहिलोपटक मान्छेमा लंगुरको मिर्गौला प्रत्यारोपणको प्रयास गरिएको थियो । प्रत्यारोपणको २१ दिनपछि बिरामीको पूरै शरीरमा संक्रमण फैलियो । यो संक्रमण बिस्तारै बिस्तारै बढ्दै गयो र ७० दिनपछि बिरामीको ब्रेन ह्याम्रेजका कारण ज्यान गयो ।

त्यसको ठीक एक वर्षपछि सन् १९९३ को जनवरीमा ६२ वर्षीय एक पुरुषमा लङ्गुरकै मिर्गौला प्रत्यारोपणको अर्काे प्रयास गरिएको थियो । तर २६ दिनपछि उनको पनि मृत्यु भयो ।

खरायो, बाँदर हुँदै लङ्गुरसम्मको अंग मान्छेमा प्रत्यारोपणका लागि यसबाहेक पनि विभिन्न प्रयासहरु १९९० को दशमा भए । सन् १९९० पछि नै वैज्ञानिकहरूले जिनोट्रान्सप्लान्टेसनका लागि सुँगुर धेरै प्रभावकारी हुने ठहर गरेका थिए । त्यही ठहरपछिको प्रयासले मान्छेमा सुँगुरको मिर्गाैला प्रत्यारोपण सफल भएको छ ।

कसरी सफल भयो मिर्गाैला प्रत्यारोपण ?

जिनोट्रान्सप्लान्टेसनलाई लिएर वर्षौंदेखि कोसिस जारी थियो । यसमा अहिलेसम्म त्यस्तो साह्रो सफलता हात लागेको थिएन । वैज्ञानिकहरूले यसभन्दा पहिले लङ्गुर र बाँदरको अंगलाई समेत मानव शरीरमा ट्रान्सप्लान्ट गर्ने प्रयास गरिसकेका थिए । तर ब्लड क्लट्सदेखि लिएर शरीरको इम्युन रिस्पोन्सको कारणले पनि प्रत्यारोपण सफल हुन सकिरहेको थिएन ।

तर एक साताअघि अमेरिकी शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दाबी गरेका छन् । उनीहरुले यो सफलतासँगै  अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीलाई दाताको खोजी र अभावसम्बन्धी झण्झटबाट मुक्ति मिल्ने दाबी पनि गरेका छन् ।

यसअघि गरिएका सबैखाले अंग प्रत्यारोपणमा बिरामीको केही घण्टा वा केही दिनमा नै मृत्यु हुने गरेको देखिन्थ्यो । केही घण्टामा नै इन्फेक्सन हुने र अंगले धेरै लामो समयसम्म काम गर्न नसकेको अवस्था यसअघिका प्रत्यारोपणमा भेटिन्छ । तर अमेरिकामा गरिएको यो प्रत्यारोपणको ३ दिनसम्म अंगले सामान्य अवस्थामा जस्तै काम ग¥यो । साथै, ३ दिनसम्म कुनै गलत प्रतिक्रिया पनि नआएका कारण वैज्ञानिकहरुले यसमा आफूहरु सफल भएको दाबी गरेका हुन् । यो प्रत्यारोपण एक महिलामा गरिएको थियो । प्रत्यारोपणपछि महिलाको असामान्य क्रिएटिनिन लेभल समेत सामान्य अवस्थामा आएको थियो । रगतमा क्रिएटिनिनको स्तरको सिधासिधा सम्बन्ध किड्नीको कामसँग हुन्छ । क्रिएटिनिन लेभल सामान्य स्तरमा रहनुको अर्थ यो हुन्छ कि किड्नीले ठीक रुपसँग काम गरिरहेको छ ।

न्युयोर्कस्थित न्युयोर्क युनिभर्सिटीका ल्याङ्गोन हेल्थका डाक्टरहरूले सुँगुरको मिर्गौला महिलामा प्रत्यारोपण गरेका हुन् । यो मृगौला ३ दिनसम्म बाहिरबाट महिलाको शरिरको कोशिकासँग जोडिएको थियो । यस अवधिमा मिर्गौलाले सामान्य मान्छेमा जस्तै काम गरेको छ ।

प्रत्यारोपण टोलीको नेतृत्व गरिरहेका डाक्टर रोबर्ट मोन्टगोमेरीले सुँगुरको मिर्गौलाले सामान्य मानिसको मिर्गौला जस्तै काम गरेको बताएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेकी महिला ‘ब्रेन डेड’ भएकी बिरामी हुन् । महिलाको मृगौलाले राम्रोसँग काम नगरेको कारण उनलाई लाइफ सपोर्टमा राखिएको थियो । यो अनुसन्धानका लागि महिलाको परिवारसँग स्वीकृति लिइएको मोन्टगोमरीले जानकारी दिए ।

सुँगुरको जीनमा ग्लाइकोन भनिने चिनीको अणु हुन्छ, जुन मानिसमा पाइँदैन । हाम्रो शरीरले यस्तो चिनीको अणुलाई सहजै स्वीकार्न सक्दैन र मानव अंग सामान्य अवस्थामा चल्न सक्दैन । पहिलेपहिले पनि यसरी नै सुँगुरको मिर्गाैला प्रत्यारोपणको प्रयास गर्दा यो असफल भयो । यो समस्या समाधान गर्न वैज्ञानिकहरूले सुँगुरको जीन परिमार्जन गरेर यसमा रहेको ग्लाइकोनको अणुलाई हटाएका थिए । यससँगै जेनेटिक इन्जिनियरिङमार्फत् सुँगुरको जीन परिमार्जन गरी मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?