+
+

आन्तरिक गन्तव्यमा उच्चपदस्थ पाहुना, व्यवसायी उत्साहित

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर १ गते ९:००
मुक्तिनाथमा पूजा गर्दै राष्टपति विद्या भण्डारी । तस्वीर : रासस

२९ कात्तिक, काठमाडौं । ‘हामी रारा तालमा आइपुग्यौं’ आइतबार नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले ट्वीट गर्दै नेपालका लागि अष्ट्रेलियन राजदूतसँगको तस्वीर राखे । उनको साथमा छिन्, नेपालका लागि अष्ट्रेलियाकी राजदूत फिलिसिटी भोल्क ।

राजदूतद्वय आइतबार रारा पुगेका थिए । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट पनि सोमबार रारा पुगिन् । तीनवटै मुलुकका राजदूत मुगुमा तीन दिन रहनेछन् । उनीहरूले जलवायु परिवर्तनले हिमाली भेग र स्थानीय जनजीवनमा पारेको असरबारे बुझ्ने बताइएको छ ।

कोरोना भाइरसको महामारीपछि विदेशी पाहुना आगमन ठप्प भएको अवस्थामा सम्पन्न देशका राजदूतहरू रारा पुगेको खबरले खुशी तुल्याएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुबबहादुर सुवेदीले बताए ।

‘उनीहरूले प्रतिनिधित्व गर्ने मुलुकमा नेपाल घुम्ने वातावरण बन्यो है भन्ने सन्देश मात्र गयो भने पनि ठूलो अर्थ रहन्छ’ उनले भने, ‘आन्तरिक गन्तव्य प्रवर्द्धनमा पनि यसको महत्व छ ।’

राष्ट्रपतिदेखि नेतासम्म आन्तरिक गन्तव्यमा

राष्ट्रपति विद्यादेवी भण्डारी १३ कात्तिकको बिहानै मुस्ताङको मुक्तिनाथ मन्दिर पुगिन् । सोही दिन ढोरपाटन आरक्ष अवलोकन गर्न बागलुङ गइन् । अर्को दिन लुम्बिनी पुगेकी राष्ट्रपतिले तेस्रो दिन १५ कात्तिकमा मनाङ भ्रमणमा गरिन् ।्

मनाङमा उनले ङसियाङ गाउँपालिका, भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउ फार्म अवलोकन गरिन् । नेपालको पर्यटन स्थल तथा धार्मिक-सास्कृतिक गन्तव्यहरू सुरक्षित छन् भन्ने सन्देश दिन राष्ट्रपतिले ती ठाउँको भ्रमण गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गत कात्तिक ५ गते जिपलाइनको मजा लिन धुलिखेल पुगे । विपक्षी दलका कार्यकर्ताहरुको आलोचनाको विषय बनेको उनको त्यो जिपलाइन सवारीले आन्तरिक पर्यटनमा भने सकारात्मक प्रभाव पर्ने व्यवसायीको भनाइ छ ।

२४ कात्तिकमा डोल्पा पुगेका उनै प्रचण्डको समूहले से-फोक्सुण्डो तालमा खिचेको तस्वीर सार्वजनिक भयो । अर्थमन्त्री जनार्दन शर्मासहितको त्यो तस्वीर पनि आन्तरिक पर्यटन प्रवर्धनका लागि सहायक नै भयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि शनिबार धुलिखेलमा जिपलाइन खेलको मजा लिए । संसदीय मामिला पत्रकार समाज र संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन धुलिखेल पुगेका तिमिल्सिना जिपलाइनमा पनि जाँदा आन्तरिक पर्यटनको लागि राम्रै सन्देश प्रवाह भएको व्यावसायीहरु बताउँछन् ।

भीआईपी पाहुना घुमाउने अभियान

विश्व पर्यटन दिवसको अवसरमा गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले यो वर्ष एउटा ‘यूनिक’ कार्यक्रम ‘डिजाइन’ गरेका थिए । यसअनुसार, एक दर्जन मुलुकका राजदूत र बहुराष्ट्रिय दातृ निकायका नेपाल प्रतिनिधिहरुलाई ११ असोजमा दुई दिने पोखरा भ्रमणको व्यवस्था मिलाइयो ।

ती भीआईपी पाहुनालाई पोखराबाट नौडाँडा हुँदै कास्कीकोट दरवारसम्म हाइकिङ गराइयो । पर्यटन व्यवसायीहरूका अनुसार गन्तव्य प्रचारमा यस प्रकारका सहभागिताको महत्व ठूलो हुन्छ ।

यस्ता आयोजनाबाट यातायात, होटेल-रेष्टुरेन्टलगायत क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने टानका अध्यक्ष सुवेदी बताउँछन् । ‘संचारका माध्यमहरूले पच्छ्याउने भीआईपी र सेलिब्रेटीको भ्रमण संसारभर नै पर्यटक आकर्षित गर्ने एक आधार हो’ उनी भन्छन्, ‘कोरोनाको डरबाट मुक्त हुँदै गर्दा हामी पनि यस्ता खबर अझ बढी फैलाउन सक्छौं ।’

आगामी पर्यटकीय सिजन राम्रो हुने अध्यक्ष सुवेदीको अपेक्षा छ । आगामी मार्च/अप्रिल र अक्टोवर/सेप्टेम्बरका लागि अग्रिम बुकिङ बढिरहेको जानकारी उनले दिए । ‘होटेल क्षेत्रमा पनि यस्तै देखिएको छ’ उनले भने, ‘यसबाट आगामी सिजनमा निकै राहत हुने आशा गर्न सकिन्छ ।’

नेपालमा कोरोना महामारी कम भएसँगै पर्यटक आगमन क्रमशः बढिरहेको छ । पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार अक्टोवर २०२१ मा २३ हजार २८४ जना विदेशी पर्यटक नेपाल आए । आगामी दिनमा यो संख्या अझै बढ्ने बोर्डको अनुमान छ ।

सन् २०२१ मा कुन महिनामा कति पर्यटक आए ?

जनवरी : ८८७४
फेब्रुअरी : ९१४६
मार्च : १४९७७
अप्रिल : २२४५०
मे : १४६८
जुन : ११४३
जुलाई : २९९१
अगस्ट : ५९१७
सेप्टेम्बर : ९८९८
अक्टोवर : २३२८४

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?