+
+
विचार :

हाम्रो मस्तिष्क र गाँजा : पछिल्ला खोज-अनुसन्धानको अन्तरकुन्तर

डा. कमल ढकाल डा. कमल ढकाल
२०७८ मंसिर ३ गते १४:२७

नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्छ भनी सार्वजनिक सञ्चारमाध्यममा एक वर्ष अगाडि देखि बहस शुरू भएको थियो । तर यसबारे अझै बहुआयामिक बहस हुन जरूरी छ । जे जति भएका छन्, सामाजिक र कानूनी पक्षको चर्चा बढी हुने गरेको छ । गाँजामा कुन कुन रसायन पाइन्छन्, यिनीहरूले शरीरमा कसरी फाइदा/बेफाइदा गर्छन् भन्ने बारे चर्चा कमै हुन्छ ।

यसबारे पनि सँगै छलफल गर्न सके आम मानिसलाई गाँजाको बारेमा सही धारणा बनाउन सजिलो हुन्थ्यो । म विगत लामो समयदेखि न्यूरोसाइन्स र मस्तिष्कसँग नजिक रहेर अध्ययन र अनुसन्धान गर्दै आएको हुनाले गाँजा र हाम्रो मस्तिष्कको किन, कसरी र कस्तो सम्बन्ध छ भन्ने कुरालाई मध्यनजर राख्दै आफ्नो अनुभव, मेरो गाँजाप्रतिको बुझाइ र यसका केही वैज्ञानिक तथ्यहरू संक्षिप्त चर्चा गर्न खोजेको छु ।

यस आलेखबाट गाँजाको बारेमा सही, तथ्यसंगत र वैज्ञानिक दृष्टिकोण निर्माण गर्नमा केही भने पनि सहयोग मिलोस् भन्ने चाहना छ । कुनै समय मौका मिले ती फोरमहरूमा आफ्नो विचार विस्तृतमा राख्नेछु ।

गाँजाको बारेमा मानिसको धारणा राजनीतिक नाराबाजी जस्तो छ । एकपक्ष भन्छ- गाँजा लागूऔषध हो, यो खाएपछि सबै सत्यानाश हुन्छ, देशलाई बिगार्छ, समाज सत्यानाश हुन्छ, युवा जति सबै गँजडी हुन्छन् । अर्कोथरीले भाष्य बनाइरहेका छन् कि गाँजाले सबै रोग ठीक हुन्छ, गाँजा जुन रोगको पनि रामबाण हो, यो औषधि नै औषधिले भरिएको बुटी हो– रत्नपार्कमा बेच्ने आयुर्वेदिक धूलो जस्तो ।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यी दुवैथरी विचार गलत छन् । गाँजा प्रयोग गर्न जाने कुनै-कुनै रोगहरूमा धेरै राम्रो औषधि हो । तनाव, चिन्ता, एक किसिमको छारेरोग र केही क्यान्सर पीडितहरूको केमोथेरापीको दुखाइ कम गर्न, एचआईभीबाट हुने पाचन प्रणालीको गडबडी रोक्न र दुखाइ कम गर्न गाँजाले मद्दत गरेको पाइएको छ । तर गर्भवती महिला, बालक र २०-२२ वर्षमुनिका व्यक्तिहरूलाई गाँजाले फाइदा भन्दा हानि धेरै गर्छ ।

अमेरिकामा गाँजासँग सम्बन्धित औषधि इपिडिओलेक्स र म्यारिनोल औषधि नियामक संस्था एफडीएले एकप्रकारको छारेरोग र केमोथेरापीबाट हुने वाकवाकी कम गर्नको लागि अनुमति दिएको छ र अरु त्यस्ता धेरै औषधिहरूको क्लिनिकल परीक्षण जारी छ ।

गाँजालाई अहिले अमेरिका, क्यानडा र विस्तारै सबै युरोपेली देशहरूले भटाभट खुला गर्दैछन् । भर्खरै, डिसेम्बर २०२० मा विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई लागूऔषधको समूहबाट हटाएको छ र यसलाई औषधीय र वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्न खुल्ला गरेको छ । यसरी विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई लागूऔषधको समूहबाट हटाइसकेपछि अब हामीले गाँजा लागूऔषध हो कि होइन भनेर बहस गर्न जरुरी छ जस्तो लाग्दैन ।

गाँजा हिरोइन, कोकिन जस्तो लागूऔषध होइन रहेछ भनेर बुझ्न जरूरी छ । तर यसको अर्थ गाँजा बिहान–बेलुका दूध मही खाए जस्तो खान हुन्छ भनेको पनि होइन । यसले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउन सक्छ जथाभावी प्रयोग गर्ने हो भने । तर सही प्रयोग गर्न जान्ने हो भने गाँजाले गर्ने बेफाइदा भन्दा फाइदा धेरै छन् । अर्को कुरा गाँजा औषधि मात्र नभई कमोडिटीको रूपमा पनि प्रयोग हुन्छ ।

२०१४ मा अमेरिकाको कोलोराडो राज्यले पहिलो पटक गाँजालाई कानूनी मान्यता दिएयता अहिलेसम्म ४३ वटा राज्यले यसलाई कानूनी मान्यता दिइसके र अरु बाँकी राज्यमा पनि यस्तो प्रयास जारी छ । यो कुनै व्यक्तिको सनकको भरमा नभई वर्षौंदेखिको मेडिकल साइन्समा गरिएको अनुसन्धानको नतिजा हो । त्यसो भए एउटा प्रश्न उठ्छ- गाँजा यस्तो औषधि हो भन्ने जान्दा जान्दै किन यसलाई यतिका वर्षसम्म प्रतिबन्ध गरेको त ? यसका केही रोचक पक्षहरू छन् । यसबारे केही प्रसङ्ग राख्नु सान्दर्भिक हुनेछ ।

सन् १९३० तिर अमेरिकाका राज्यहरूमा हिंसा, बलात्कार, तस्करी र लुटपाटको बिगबिगी थियो । खासगरी मेक्सिकोबाट अमेरिका छिरेका मानिसहरूले गाँजालाई औषधिको रूपमा प्रयोग गर्थे जुन कुरा उनीहरूले मेक्सिकोबाटै आफ्ना पुर्खाबाट सिकेर आएका थिए । तिनै आप्रवासीमध्ये केही आपराधिक गतिविधिमा संलग्न भएकाले गाँजालाई प्रतिबन्ध लगाउने मुख्य कारण बन्यो ।

हाम्रो शरीरमा प्राकृतिक रूपमा नै गाँजा उत्पादन हुन्छ, यो सुन्दा कतिलाई अचम्म पनि लाग्ला तर सूचना र प्रविधिको यो युगमा हरेक कुरालाई क्लिकको भरमा साँचो हो होइन प्रमाणित गर्ने सुविधा हामीलाई इन्टरनेटले दिएको छ l

बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न अमेरिकाले सन् १९३० मा फेडरल ब्यूरो अफ नार्कोटिक गठन गर्‍यो र त्यसको नेतृत्व हेरी जेकोब आन्सलिंगेरलाई दिइयो । उनले दुइटा मुख्य कुरालाई आधार बनाएर गाँजालाई बन्देज गर्न अमेरिकी कंग्रेसलाई सुझाव दिए ।

उनले अघि सारेका दुई कुरा थिए- एक गाँजाले मानिसलाई पागल बनाउँछ र आपराधिक क्रियाकलाप गर्न प्रोत्साहित गर्छ, अर्को यसले लत बसाल्छ अर्थात् यो लागूऔषध हो । तर यी दुवै बुँदाहरू अनुसन्धान नगरी अनुमानको भरमा गरिएका थिए । यसको चर्को विरोध पनि भयो । तर पनि सन् १९३७ मा कानून बनाएर गाँजालाई प्रतिबन्ध गरियो ।

सन् १९५७ मा अमेरिकन कंग्रेसले त्यसबेलाका प्रख्यात वैज्ञानिक तथा केनटुकी राज्यमा रहेको एउटा अस्पतालका निर्देशक डा. हेरिस इसबेललाई पुनः गाँजाको बारेमा लगाएको आरोप सत्य हो कि होइन, अनुसन्धान गर्न भन्यो । पछि उनको अनुसन्धानले ती सबै कुरा असत्य साबित गरिदियो । तर पनि गाँजाको बन्देज हटेन बरु झन् कडा बनाउँदै लगियो ।

सन् २० को दशकतिर फाट्टफुट्ट रूपमा गाँजाको अनुसन्धानले दुखाइ काम गर्नका लागि यो अति उत्तम हुने देखायो । र, अहिले गाँजा धेरै रोगहरूमा उपयोगी हुनसक्ने शुरुका अनुसन्धानहरूले देखाएका छन् । तर गाँजाको अत्यधिक प्रयोग गर्नेहरूलाई झन् ठूला मानसिक रोग लाग्ने र व्यक्तित्व विकासमा अवरोध आउने जस्ता कुराहरू पनि सँगसँगै छन् । अब लागौं गाँजाले हाम्रो शरीरमा कसरी काम गर्छ भन्ने प्रश्नको जवाफ खोज्नतर्फ ।

हाम्रो शरीरमा प्राकृतिक रूपमा नै गाँजा उत्पादन हुन्छ, यो सुन्दा कतिलाई अचम्म पनि लाग्ला तर सूचना र प्रविधिको यो युगमा हरेक कुरालाई क्लिकको भरमा साँचो हो होइन प्रमाणित गर्ने सुविधा हामीलाई इन्टरनेटले दिएको छ ।

हाम्रो मस्तिष्कभित्र गाँजाको एउटा छुट्टै प्रणाली छ जसलाई एन्डोक्यानाबिनोईड प्रणाली भनिन्छ ।  सन् १९९२ तिर इजरायलका वैज्ञानिक राफेल मेकुलम र उनको समूहले हिब्रू विश्वविद्यालयमा पत्ता लगाएका हुन् । त्यसैले गर्दा मेडिकल विज्ञानका पुराना कोर्सहरूमा यसको पढाइ नहुन सक्छ । यो प्रणाली शरीरको अरू १२ प्रणाली जस्तै एउटा प्रणाली हो ।

यो एन्डोक्यानाबिनोईड प्रणाली अन्तर्गत जम्मा दुई रसायन (न्यूरोट्रान्समिटर) निस्कन्छन् जसलाई आनन्दमाइड र २-एजी भनिन्छ । यी रसायन र गाँजाको रूखमा पाइने रसायन सीबीड र टिएचसीमा उस्तै रासायनिक गुण हुने हुनाले हामीले बाहिरको गाँजा खाँदा हाम्रोभित्रको गाँजाको प्रणालीमा उतारचढाव हुन जान्छ ।

अनौठो कुरा के छ भने राफेललाई पूर्वीय दर्शनको ज्ञान भएकोले उनले त्यो रसायनको नाम आनन्दमाइड राखिदिएका छन् । यो संस्कृत शब्द आनन्दबाट लिइएको हो । किन भने यी दुई रसायन निस्के भने अर्थात् सन्तुलनमा रहे भने मानिसलाई खुशी, आनन्दको अनुभव हुन्छ । अहिले अध्ययन गर्दै जाँदा यी रसायनले अरु धेरै कुरालाई निर्धारण गर्ने गरेको पाइयो । जस्तै, मानिसको मनस्थिति, कग्निनिटिभ क्षमता, होमिस्टसिस मेमोरी आदि ।

एन्डोक्यानाबिनोईड प्रणाली अन्तर्गत हाम्रो मस्तिष्कमा प्राकृतिक गाँजाका रिसेप्टरहरू, जसलाई क्यानाबिनोईड रिसेप्टर भनिन्छ, मुख्यतया दुई प्रकारका हुन्छन्, सीबी–वान र सीबी–टु । यी रिसेप्टर भनेका हाम्रो घरमा लाउने ताला-चाबी जस्तै हुन् । जसरी घरको ताला एउटा विशेष प्रकारको चाबीले मात्र खुल्छ, अरुले खुल्दैन, त्यसरी नै यी रिसेप्टरहरू एक विशेष अवस्थामा मात्रै खुल्छन्, जब यी रिसेप्टर खुल्छन्, आनन्दमाइड र २-एजी न्यूरोट्रान्समिटर निस्कन्छन् जसले हाम्रा धेरै कुरा नियन्त्रण गर्छन् जुन माथि बताइसकिएको छ ।

गाँजाको बोटमा १५० भन्दा बडी तत्व पाइन्छन् । तर सक्रिय तत्व दुईवटा हुन्छन् र ती हुन् सीबीड र टिएचसी । सीबीड र टिएचसीले मस्तिष्कमा प्राकृतिक रुपमा नै पाइने ती रिसेप्टरलाई सक्रिय बनाउँछन् वा खोल्ने काम गर्दछन् । अर्थात् हाम्रो घरको ताला छिमेकीको चाबीले नि खोले जस्तो ।

अचम्मको कुरा के छ भने यी गाँजाका रिसेप्टरहरू ब्रेनको बाहिरी भागमा छ्यापछ्याप्ती पाइन्छन् तर ब्रेनको भित्री भागमा (जसलाई ब्रेन स्टीम पनि भनिन्छ) पाइँदैनन् जसले शरीरको आन्तरिक कुराहरू जस्तै, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन जस्ता कामहरूको नियन्त्रण गर्दछ । त्यसैले गाँजाको ओभरडोजबाट मानिसको मृत्यु हुने सम्भावनै हुँदैन वा एकदमै कम हुन्छ । त्यसको अलावा हिरोइन र कोकिन जस्ता अफिमजन्य लागूऔषध (ओपिओइड ड्रग्स)को ओभरडोजबाट मानिसको मृत्यु तत्कालै हुन्छ किनकि अफिमजन्य लागूऔषधले ब्रेनको भित्री भागमा असर गर्छन् ।

संसारमा ओपिओइड ड्रग्सको ओभरडोजबाट वर्षेनि एकलाख भन्दा बढी मानिसको मृत्यु हुन्छ । संसारका चर्चित मानिसहरू जस्तै मर्लिन मुनरोदेखि माइकल ज्याक्सनको मृत्यु ओपिओइड ड्रग्सको ओभरडोजबाट भएको छ । अर्को कुरा अरू नार्कोटिक्स ड्रग्स जस्तै कोकिन र हिरोइनले मस्तिष्कको डोपमिनर्जिक पाथवेजमा असर गर्छन् र यसले गर्दा लत बस्छ तर गाँजाले यी कुनै पनि काम गर्दैन । त्यसैले रासायनिक गुणका हिसाबले समेत गाँजा अरु लागूऔषधको वर्गमा पर्दैन ।

विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको दर्जाबाट हटाउनुको एउटा मुख्य कारण यो पनि हो । जब हाम्रो शरीरमा तनाव, रीस, डर, भय जस्ता भाव उत्पन्न हुन्छन् तब सीबी–वान र सीबी–टु रिसेप्टर खुल्छन् र मस्तिष्कको आफ्नै गाँजा अर्थात् आनन्दमाइड र २-एजी तत्कालै उत्पन्न गर्छ । जब यी रसायनहरू निस्कन्छन् तब तनाव, रीस, डर, भयका तरंगहरू कम हुँदै जान्छन् । जस्तो हामीलाई रीस उठ्यो भने एकैछिनमा हाम्रो रीस मर्छ नि । त्यो रीस मार्ने काम यही मस्तिष्कको एन्डोक्यानाबिनोईड प्रणालीले गर्छ । त्यस्तै अरु धेरै कुराहरूको यसले नियन्त्रण गर्छ ।

अर्को अर्थमा भन्दा हाम्रो शरीरभित्र गाँजाको प्रणाली भनेको रत्नपार्कमा ट्राफिक व्यवस्थापन गर्न बसेको ट्राफिक प्रहरी जस्तै हो । जसरी ट्राफिक प्रहरीले गाडीको चाप, समय, इत्यादि हेरेर गाडी व्यवस्थापन गर्छन्, त्यसरी नै हाम्रो शरीरको एन्डोक्यानाबिनोईड प्रणालीले मस्तिष्कको धेरै कुराहरू व्यवस्थापन गर्छ । तर बाहिरबाट खाएको गाँजाले कुन बेला कुन कुरालाई नियन्त्रण गर्ने भन्ने जान्दैन ।

अर्को भाषामा भन्नु पर्दा बाहिरको गाँजाले शरीरभित्रको गाँजाको प्रणालीलाई उत्तेजित गर्छ वा बढाइदिन्छ जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । गाँजाको लगातार धेरै प्रयोग गर्नेहरूलाई कडा खालको मानसिक समस्या जस्तै, स्क्रिजोफ्रेनिया, स्मरण शक्तिको ह्रास जस्ता गडबडी हुने अध्ययनहरूले देखाएको छ । गर्भवती महिला र १८ वर्षभन्दा मुनिका व्यक्तिहरूका लागि गाँजाको प्रयोग घातक हुने पनि वैज्ञानिकहरू बताउँछन् ।

गाँजाको सबैभन्दा राम्रो पक्ष भनेको यसले दुखाइको अनुभवलाई कम गरिदिन्छ । दुखाइ कुनै छुट्टै रोग नभएर हाम्रो शरीरमा आन्तरिक वा बाह्य कारणले हुने गडबडीको संकेत हो । हामीले प्रयोग गर्ने कुनै पनि औषधिले दुखाइको उपचार गर्ने नभई दुखाइ हिंड्ने बाटोमा अवरोध पुर्‍याउनु वा दुखाइको सिग्नललाई घटाउनु हो । यसले गर्दा हामीलाई दुखाइको अनुभव हुँदैन।

यसलाई न्यूरोसाइन्समा पेन इन्हिविसन भनिन्छ । दुखाइको अनुभव र दुखाइ हुने अवस्था साह्रै जटिल छ, जसलाई अहिलेसम्म आधुनिक न्यूरोसाइन्सले पनि पूरै बुझ्न सकेको छैन । अहिले आएर के बुझिएको छ भने एन्डोक्यानाबिनोईड प्रणालीले दुखाइको अनुभव कम गर्नमा सहयोग गर्छ । त्यसकारण गाँजा ‘पेनकिलर’को सबैभन्दा राम्रो प्राकृतिक औषधि हुनसक्छ । यसको पनि एउटा रोचक घटना छ ।

दुई वर्षअघि सन् २०१९ मा स्कटल्याण्डकी जो क्यामरन नाम गरेकी ६६ वर्षीया महिलाको आर्थरैटिसको शल्यक्रिया गर्न हस्पिटल गइन् तर शल्यक्रिया गर्ने बेलामा उनले डाक्टरलाई कुनै पनि एनेस्थेसियाको औषधि नदिन भनिन् । किनकि उनले जीवनमा सानोतिनो चोटको कारण दुखाइको अनुभव नै गरेकी थिइनन् । डाक्टरले उनको केस अनौठो मानेर अस्पतालको अनुसन्धान विभागलाई जानकारी गराउँछन् र उनको अनुसन्धान क्याम्ब्रिज युनिभर्सिटी लगायतका धेरै वैज्ञानिक र डाक्टर मिलेर गरे ।

अनुसन्धानबाट के पत्ता लायो भने उनको शरीरमा फा नामक एक प्रोटिन बनाउने जिन म्युटेसन भएको छ जसले गर्दा शरीरको एन्डोक्यानाबिनोईड प्रणाली अन्तर्गत निस्कने आनन्दमाइडलाई मेटाबोलाइज्ड अर्थात् टुक्रयाउने काम गर्न सक्दैन । सारांशमा भन्दा उनको शरीरमा प्राकृतिक रूपमा गाँजा बन्छ मात्र तर टुक्रिंदैन ।

यसले गर्दा उनेको शरीरमा प्राकृतिक गाँजाको मात्रा धेरै छ जसले गर्दा उनलाई दुखाइको महसूस नै हुँदैन । साधारणतया हाम्रो शरीरमा आनन्दमाइड निस्केको केही बेरमा नै फाले मेटाबोलाइज्ड गर्दछ, यो नतिजालाई ब्रिटिश जर्नल अफ आनेस्थेसियामा प्रकाशित गरिएको छ ।

गाँजाको सबैभन्दा राम्रो पक्ष भनेको यसले दुखाईको अनुभवलाई काम गरिदिन्छ l दुःखाई कुनै छुट्टै रोग नभएर हाम्रो शरीरमा आन्तरिक वा बाह्य कारणले हुने गडबडीको संकेत हो l हामीले प्रयोग गर्ने कुनै पनि औषधिले दुखाईको उपचार गर्ने नभई दुखाई हिड्ने बाटोमा अवरोध पुर्याउनु वा दुखाईको सिग्नललाई घटाउनु हो ।

अब कुरा गरौं- हामीलाई गाँजा किन लाग्छ भन्नेबारे । गाँजा लाग्ने भनेको वा गाँजामा भएको साइकोएक्टिभ तत्व टिएचसीले गर्दा हो । टिएचसी पोथी गाँजाको फूलको वरिपरि हुने ट्राइकोमिसमा पाइन्छ । यो टिएचसी मस्तिष्कमा भएको सीबी–वान रिसेप्टरलाई ज्यादै सक्रिय बनाउँछ जसले मान्छेमा दृष्टिभ्रम (हलुसिनेशन) उत्पन्न हुन्छ यसलाई हामी गाँजा लागेको भन्छौं ।

टिएचसीको धेरै प्रयोग स्वास्थका लागि पनि घातक हुनसक्छ । यसले डीएनए खराब गर्न सक्ने अध्ययनले देखाएको छ । तर सीबीडीले टिएचसी जसरी सीधा सीबी–वान रिसेप्टरसँग प्रतिक्रिया गर्दैन, त्यसैले सीबीडी मात्र भएको गाँजा जत्ति खाए पनि लाग्दैन । सीबीडीले स्वास्थ्यमा राम्रो गर्ने तर नलाग्ने भएकाले अहिले सीबीडी मात्र भएको गाँजाको उत्पादन धेरै छ ।

अमेरिकाभरि ०.३ प्रतिशत भन्दा कम टिएचसी भएको गाँजालाई सजिलै धेरै राज्यहरूमा बिक्री गर्न पाइन्छ तर ०.३ प्रतिशत भन्दा बडी टिएचसी गाँजा प्रयोग गर्न डाक्टरको अनुमति चाहिन्छ । पश्चिमी जगतमा सीबीडी प्रोडक्टहरू प्रशस्त पाइन्छन् । गाँजाको बीउमा त कत्ति पनि सीबीडी र टिएचसी हुँदैन । त्यसैले यसलाई पोषण तत्व (डाईटरी सप्लिमेन्टरी) को रुपमा हेम्प सिडको रूपमा बजारमा खुलमखुला बिक्री हुन्छ ।

अहिलेको जेनेटिक प्रविधिले सजिलै टिएचसी नभएको गाँजाको बोट उमार्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले समेत हालै ०.३ प्रतिशत भन्दा कम टिएचसी भएको गाँजालाई प्रतिबन्ध नलगाउन सबै राष्ट्रहरूलाई सुझाव दिएको छ ।

अर्को पक्ष भनेको गाँजालाई कमोडिटीको रूपमा प्रयोग गर्ने हो जुन अमेरिकाको फेडरल कानूनले २०१८ देखि खुला गरेको छ । यसरी कमोडिटीको रुपमा लगाइने गाँजालाई हेम्प भन्ने चलन छ । बढ्दै गरेको चीनसित अमेरिकाको द्वन्द्व र विश्वमा घट्दै गइरहेको कपासको आपूर्तिलाई मध्यनजर राख्दै गाँजालाई कपासको विकल्पको रूपमा हेरिएको छ किनकि गाँजाबाट फाइबर बनाउन पनि सकिन्छ ।

गाँजाबाट पेय पदार्थहरू, कस्मेटिक्स र व्यक्तिगत हेरचाहका सामग्री, कागज, निर्माण र इन्सुलेशन सामग्री बनाउन सकिने हुँदा गाँजा भविष्यमा कमोडिटीको रुपमा विकास हुने संभावना ठूलो छ । आजभोलि पश्चिमी बजारमा हेम्प श्याम्पू, हेम्प टूथपेस्ट, हेम्प साबुन बेच्ने चलन बड्दो छ भने अर्कोतिर उपभोक्ता पनि हेम्पबाट बनेको भन्ने बित्तिकै राम्रो हुन्छ भन्ने मानसिक सोचले गर्दा पनि गाँजाको कमोडिटी मार्केट निकट भविष्यमा निकै बढ्ने देखिन्छ ।

हाम्रो देशको हावापानी अफगानिस्तान पछि गाँजाका लागि दोस्रो राम्रो मानिन्छ । यसको सदुपयोग गर्न सके मानिसको स्वास्थ्यसँगै देशको आर्थिक स्वस्थता पनि राम्रो हुनेछ तर यसको दुरुपयोग भएको खण्डमा त्यसको असर हामीले सोचेभन्दा भयावह हुनेछ । त्यसैले आम मानिसले यसको फाइदा र बेफाइदा दुवै राम्ररी बुझून् ताकि गाँजाको दुरूपयोग हुन नपाओस् ।

(लेखक औषधि अनुसन्धान तथा विकास विभाग AbbVie Inc. क्यालिफोर्नियामा कार्यरत वैज्ञानिक हुन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।)

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?