+
+

धुनियाँको आफ्नै दुनियाँ

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ मंसिर ४ गते २०:०१

४ मंसिर, काठमाडौं । भारतको मोतीहारीबाट बुवा मन्सुरको पछि लागेर काठमाडौं आएका थिए संसाद आलम, १८ वर्षअघि । त्यसबखत उनी फुच्चे थिए । १२ वर्षका । खाने खेल्ने यो उमेरमा घर छाड्नु उनको रहर थिएन ।

घरमा छाक टार्नै मुस्किल थियो । खाने–खेल्ने अवस्था थिएन । लेखपढ गर्ने मेलोमेसो थिएन । दुःखले लखेट्दै उनलाई काठमाडौं शहर ल्याइपुर्‍यायो । यहीँ उनको आधा जीवन गुज्रियो । यो शहरले उनलाई त चिन्दैन । तर, संसाद आलम यो शहरको कुनाकाप्चासँग परिचित छन् ।

निजामुद्दीन खाजा मन्सुरी र सिकारु धुनियाँ रञ्जीत माझीको साथमा आलम हरिसिद्धिमा डेरा लिएर बस्ने गर्छन् ।

बिहान ६ बजेर उठेर करिब आधा घण्टामा आलमको नित्यकर्म सकिन्छ । यो बुधबार पनि उनको यही दैनिकी सुरु भयो । सँगै उठेका निजामुद्दीनले आलमको र आफ्नो धनुष (धनुहै)मा तेल लगाए । जिस्ता पुछे । कोठाको कुनामा राखेको कालो रुवालाई पिठ्युमा भिरे र आ-आफ्नो धनुष बोकेर टोल चहार्न निस्किए ।

हरिसिद्धिको पानी ट्यांकीभन्दा केही तल एउटा सिरक पसल छ । उक्त पसल मोतीहारीकै इन्ताज अलीले सञ्चालन गर्दै आएका छन् । त्यही पसलबाट आलमले एकदिनलाई पुग्ने कालो रुवा किनेर घरघर चहार्छन् । दिनभरि काम पाइएन भने गुजारा चलाउन कहिलेकाहीँ यही पसलेसँग पनि रोजगारीको लागि आग्रह गर्नुपर्छ ।

बिहान ७ बजेतिर कानमा फिता गुथेर आलमको नेतृत्वमा टोली निस्कन्छ । काठमाडौंको बढ्दो चिसोलाई चुनौती दिँदै ८ बजेतिर टोली थसिखेल पुग्यो । त्यहाँ पुग्दा झुल्के घामको किरणले उनलाई न्यानो महसुस गराउँछ । घामको किरण चम्किएसँगै चिसोले बिगारेको उनको अनुहारमा पनि चमक बढ्दै जान्छ ।

आलमले १७ वर्षीय माझीलाई भर्खरै काम सिकाउन थालेका हुन् । ‘यसको आज पहिलो दिन हो । अब यसले पनि हामीले झैं ३ महिनासम्म बिनापारिश्रमिक काम सिक्नुपर्छ ।’ त्यतिबेलासम्म मौनता साँधेर  बसेका माझी आलमले भनेको विनापारिश्रमिक कामको कुरा सुनेपछि खिस्स हाँस्दै आफ्नो कामतिर लाग्छन् ।

डेराबाट २ घण्टा जतिको हिँडाइपछि उनीहरु थसिखेल पुग्छन् । त्यहाँ एउटा काम पनि भेटियो । एउटा डसना र ३ वटा सिरक थियो । जसबापत उनले ३५०० रुपैयाँ पाए । दुई भाइहरू निजामुद्दीन र माझी साथमै थिए । सबै काम सक्दा २ बजेको थियो । त्यसदिनको लागि उनीहरू त्यसभन्दा अघि बढेनन् ।

‘आजको लागि पुग्यो । कुनैदिन एउटा पनि काम पाइँदैन । आज त एकै ठाउँमा यति धेरै काम पाइयो,’ उनी भन्छन्, ‘खुदाको इच्छा हो, आज खुदा खुशी भएछन् ।’ आलम एउटा सिरक बनाएको ज्याला ३०० देखि ५०० सम्म लिने गर्छन् ।

नाकाबन्दी, कोरोना कहर र काठमाडौं शहर

२०७२ सालको भूकम्पभन्दा केही वर्षअघिको कुरा हो । आलमलाई कसैले काठमाडौंभन्दा बाहिर सिरक-डसना बनाउने काममा धेरै फाइदा हुन्छ भनेर सुनाए । उनी पनि केही साथीसँग मिलेर उपत्यका बाहिर जाने निधो गरे । यही सिलसिलामा उनी काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ जस्ता आधा दर्जन जति जिल्ला पुगे । ‘पहाड जाँदा कामको त कहिल्यै कमी भएन । एकैदिन ६/७ हजार रुपैयाँसम्म पनि कमाइ भयो । तर त्यहाँको जीवन साह्रै मुस्किल रहेछ ।’ उनले सुनाए । भूकम्पपछि भने उनले उपत्यका छाडेका छैनन् ।

कसैले ‘घर कहाँ हो ?’ भनेर सोध्यो भने आलम निर्धक्कसँग भारतको मोतिहारी जिल्ला भन्छन् । ‘कतिपय साथीहरूले ढाँट्ने पनि गर्दा रहेछन्,’ उनी भन्छन्, ‘किन ढाँट्नु पर्‍यो ? जहाँ बसेर काम गरे पनि श्रमको मूल्य लिने न हो ।’

घर भारत भन्दै गर्दा काठमाडौंमा उनले धेरै समस्या पनि भोग्नु पर्‍यो । ‘हामीलाई त अहिले कसैले ‘तपाईं’ भनिहाल्यो भने पनि अफ्ठेरो लाग्छ । नेपाली भन्यो भने तपाईं भन्नेहरूले भारतीय भन्नेबित्तिकै अर्कै व्यवहार गरिहाल्छन् । तर त्यतातिर हामी सोच्दैनौं । हाम्रो ध्यान व्यवसायमा हुन्छ,’ उनी अनुभव सुनाउँछन् ।

अरू व्यवसाय त राम्रै चलिरहेको थियो । तर, २०७२ सालमा भएको नाकाबन्दीको समयमा भने उनले पनि आफ्नो परिचय लुकाउनै पर्ने बाध्यता आइपर्‍यो । भारतले गरेको नाकाबन्दीले मान्छेमा भारतीयप्रतिको आक्रोश तीव्र थियो । केहीदिन त उनी घरबाट बाहिर पनि निस्किएनन् । उनी भन्छन्, ‘त्यो सरकार–सरकारबीचको समस्या थियो । हाम्रो गल्ती त केही थिएन । तर भीडले त्यो बुझ्नेवाला थिएन । त्यसैले हामीले केही समय पहिचान लुकाएरै व्यवसाय गर्नु पर्‍यो।’

अहिले कोरोना महामारी भयो । भारत ठूलो मुलुक भएकाले पनि कोरोना महामारीमा धेरै संक्रमित हुनु स्वाभाविक थियो । तर भारतीय भन्नेबित्तिकै कोरोना नै लिएर आयो भन्ने खालको व्यवहार धेरै सहनुपर्‍यो । तर उनी यो पेशामा अहिले ठाउँठाउँमा खुलेका सिरक पसलका कारण चुनौती थपिए पनि यो आफैंमा सम्मानित पेशा रहेको उनी बताउँछन् ।

नेपालीले छाडे, काठमाडौंमा धेरै भारतीय धुनियाँ

वास्तवमा नेपालमा धुनियाँ नामको छुट्टै जाति नै छ । जसको परम्परागत पेशा नै सिरक डसना बनाउनु हो । यताका धुनियाँले आफ्नो थर नै ‘धुनियाँ’ लेख्छन् । तर भारतबाट आउनेहरुले आफूलाई कर्मको आधारमा धुनियाँ बताउने गर्छन् । २०६८ को जनगणना अनुसार नेपालमा धुनियाँ जातिको संख्या १४ हजार ८४६ जना थियो । तर नेपालका धुनियाँहरूले बिस्तारै आफ्नो परम्परागत काम बिर्सन थालेपछि अहिले बजारमा भारतीय मूलका धुनियाँहरूको रजगज छ । रोचक कुरा त यो छ कि नेपालमा नेपाली धुनियाँहरू पाउन मुस्किल छ । तर नेपाली धुनियाँहरू विदेशमा गएर यही परम्परागत काम गर्छन् ।

लुम्बिनी प्रदेशको दक्षिणी भेगमा रहेको मर्चवारी गाउँपालिकामा बसोबास गर्ने धुनियाँ जातिको मुख्य परम्परागत काम नै कपासबाट सिरक/डसना बनाउनु हो । उनीहरूको परम्परागत हतियार धनुहै र जिस्ता हो । धुनियाँ जातिको परम्परागत जातीय गतिविधिमा कपास सम्बन्धी कामका अलावा कृषि र कृषिसम्बन्धी अन्य मजदुरी पनि हो । गाउँपालिकाको वडा नं १, ६, ७ लगायतमा बसोबास गर्ने धुनियाँ जातिले अहिले पनि सोही पेसा अपनाउने गरेको ६ नं वडाका वडाध्यक्ष राम अचल कुर्मीले जानकारी दिए । कुर्मीका अनुसार उनीहरू अहिले पनि गाउँघरमा कृषि कर्म गर्ने र फुर्सदमा भारत गएर सिरक डसना बनाउने काम गर्छन् ।

धनुहेल जन्तर उनीहरूको जातीय सांस्कृतिक सामग्री हो । तर, यो हिजोआज पाउन छाडिसकिएको छ । यो फलामबाट बन्ने एक किसिमको उपकरण हो, जुन धुनियाँ जातिको परम्परागत उपकरण अन्तर्गत् पर्छ । उनीहरूको मौलिक धनुहै पनि प्रविधिको विकाससँगै लोपोन्मुख अवस्थामा छ ।

परम्परागत पहिरन

धुनियाँ जातिको मौलिकता केवल अन्य सामग्रीमा मात्रै सीमित छैन । गहना र पहिरनमा पनि उनीहरू विशेष छन् । महिलाले खिल नाको एउटा गहना लगाउने गर्थे । जुन नाकमा लगाउने गहना हो । हिजोआज उनीहरू कानमा नथियाँ र झुम्का लगाउने गर्छन् । हासु भन्ने गहना पनि लगाउँछन् । जुन चाँदीबाट बनेको हुन्छ । त्यस्तै सुनको हार पनि लगाउने गर्छन् । जुन घाँटीमा लगाइन्छ । किलिप नामक गहना शिरमा लगाउने गर्छन् भने निधारमा टीका र औंलामा औंठी लगाउने उनीहरूको मौलिक परम्परा रहेको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि सन् २०१४ मा ओम गुरुङ र मानबहादुर खत्रीले गरेको अध्ययनले देखाएको छ ।

केटा मान्छेले धार्मिक प्रतिबन्धका कारण सुनका गहनाहरू लगाउनु हुँदैन भन्ने मान्यता छ । तर उनीहरू चाँदीको गहना  भने लगाउँछन् । केटा मान्छेहरूमध्ये पनि वयस्कहरूले लुंगी र सर्ट लगाउँछन् भने बच्चाहरूले सर्ट र ट्राउजर लगाउने गर्छन् । धेरै धार्मिक उद्देश्यको लागि केटा मान्छेले सेतो क्याप, पाइजामा र सेतो कुर्ता सुरुवाल लगाउने गर्छन् । विवाह उत्सवमा उनीहरू सेरवानी लगाउने गर्छन् । यो बुट्टेदार खालको हुन्छ ।

धुनियाँको लागि सेतो कपडा विशेष खालको हुन्छ । उनीहरू सेतो रंगलाई सभ्यता, संस्कृति र विश्वासको प्रतीक मान्छन् । महिलाहरू सामान्यतया सारी, कुर्था सुरुवाल र चुँगी लगाउने गर्छन् । उनीहरू नकाव र बुर्काले अनुहार छोप्ने गर्छन् । एकल महिलाहरूले भने सेतो बुर्का लगाउने गर्छन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?