+
+

मयूर नाच : पोथीलाई आकर्षित गर्न रंगीचंगी प्वाँख फिँजाउने कला

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १६:३९
Photo Credit : सुरक्षा पन्तको फेसबुक
डोल्पामा मयूर नाच नाच्दै अभिनेत्री सुरक्षा पन्त लगायत

५ मंसिर, काठमाडौं । मयूर किन नाच्छ होला ? पर्यावरणीय डिजाइनका क्रममा कोइलीले मीठो गीत गाउने गला पायो, मयूरले रंगीचंगी प्वाँख फिँजाउने कला । आधुनिक मानव जीवनमा कोइलीको गला र मयूरको कला धेरैलाई बेकारको लाग्न सक्छ । भाले मयूरले प्रस्तुति देखाउने रंगमञ्चमा अनेकथरी कलाको बेजोड प्रस्तुति के–का लागि आवश्यक होला ? यसबारे पंक्षीविज्ञहरुको कुरा सुन्दा यसको सार्थक कारण र रोचक प्रसंग भेट्न सकिन्छ ।

सिकागो विश्वविद्यालय प्रेसका क्रिस्टियन ई ज्याक्सन भालेले फिँजाएको प्वाँखको कलात्मक प्रस्तुति बेकामे नभएर उनीहरूको जीवनकै महत्वपूर्ण घटनासँग जोडिएको बताउँछन् । प्रणयको समयमा पोथीलाई आफूप्रति आकर्षित गराउन भाले मयूरले आफ्नो प्वाँखमा कला देखाउँछ । त्यही नै भाले मयूरको लागि ‘ब्रह्मास्त्र’ हो, जसले पोथीसँग संसर्ग गरेर यौन जीवनमा रमाउने वा आजीवन कुमार बस्ने भन्ने निधो गर्छ ।

मयूरले सधैंभरि आफ्नो नाच देखाउँदैन । प्रणयको बेलामा भाले चयन गर्नका लागि उपस्थित पोथीलाई आफ्नो पंखाको लयात्मक कलाबाट आकर्षित गरेर यौनको लागि आकर्षित गराउनु नै मयूर नाचको मुख्य ध्येय हो । १८० डिग्रीमा फिँजिएको पंखालाई झपक्क बन्द गर्दै नाच्ने भाले मयूरहरुको छुट्टै पीडा छ, जुन अरूको लागि रोचक लाग्न सक्छ । या त आकर्षक देखिएर पोथीसँग संसर्ग गर्नु, होइन भने आजीवन कुमार बस्नुपर्ने ज्याक्सनको पुस्तक ‘पिकक’मा उल्लेख छ ।

चराहरूको छुट्टै संसार छ, यसलाई मान्छेले अनुशरण गर्छन् । व्यवहारमा होस् या संस्कृतिमा होस् । मान्छेले कुनै न कुनै माध्यमबाट चराको जीवनलाई संस्कृतिमा अनुशरण गरेको हुन्छ । चराको नाचलाई आफ्नो संस्कृतिसँग जोडेर प्रस्तुत गरिने एउटा उदाहरण हो, ‘मयूर नाच’ ।

आइतबार अभिनेत्री सुरक्षा पन्तले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा रुकुमबाट आएको सांस्कृतिक टोलीसँगै मयूर नाच नाचेको भिडियो आफ्नो सामाजिक सञ्जालमा राखेकी थिइन् । तिहार मनाउन रुकुमबाट मयूर नाच लिएर घुम्दै आएका कलाकारहरुसँगै नाचेको भिडियोमा अधिकांश महिला कलाकारहरु थिए । रातो धोती र रातै चोलीमा सेतो पटुकाले कम्मरमा बेरेका महिला कलाकारहरू यो नाच नाच्दै आएका थिए । परम्परागत रूपमा हेर्ने हो भने मयूर नाच पुरुषहरूले नाच्ने नाच भएपनि अहिले बिस्तारै महिलाहरुको पनि यो नाचप्रति आकर्षण बढ्दै गएको रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष भीमबहादुर खड्काले जानकारी दिए ।

मयूर नाच के हो र कहिले मनाइन्छ ?

जसरी पोथीलाई आफूप्रति आकर्षित गर्न भाले मयूरले आफ्नो सप्तरंगी पङ्खा फिँजाएर कला देखाउँछ । त्यसरी नै रुकुम पश्चिमको अधिकांश स्थानीय तहमा वर्षौंदेखि यस्तै खाले मयूर नाच केटाहरूले नाच्दै आएका छन् । यो नाच नाच्ने यही समय र मौसम भन्ने हुँदैन । वडाध्यक्ष खड्काका अनुसार दशैं/तिहार, विशेष पूजा र नारायण पूजा जस्ता कार्यक्रममा यो नाच नाचिन्छ । यसरी नाच्ने बेलामा पिठ्युँमा मयूरको प्वाँखबाट बनाएको गर्वा बोक्नुपर्छ । यो नाच नाच्दा मयूरको नाचलाई नै नक्कल गर्ने गरी नाच्ने गरिन्छ ।

सेतो धोती र सर्टमाथि टाउकोमा रुमाल बाँधेर बाजाको तालमा नाचिन्छ, मयूर नाच । मादल, दौरी र झ्यालीको तालमा नाचिने यो नाच चार दशकअघिसम्म रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ मा पर्ने माठिमीमा मात्रै सीमित भए पनि अहिले यो विस्तार हुँदै गएको वडाध्यक्ष खड्का बताउँछन् । यसलाई जगेर्ना गर्नकै लागि त्यतिबेला केही अभियान चले । विस्तार हुँदै जाँदा अहिले रुकुम पश्चिमको कुनै पनि यस्तो जिल्ला छैन, जहाँ मयूर नाच ननाचिएको होस् । यो नाच दशैं/तिहारमा ठाउँठाउँमा गएर धुमधामका साथ नाचिन्छ ।

दुईथरीको मयूर नाच नाच्ने चलन

वडाध्यक्ष खड्काका अनुसार मुख्यतया मयूर नाच दुईथरीको हुन्छ, पैखेरी र अर्को सरंग्या । पैखेरी नाच तुलनात्मक रूपमा सहज खालको हुन्छ । त्यसैले हिजोआज यो नाच महिलाले पनि नाच्न थालेका छन् । तर, सरंग्या नाचमा धेरै उफ्रिनुपर्ने, फुर्तिलो हुनुपर्ने र उफ्रिएर लठ्ठी नाघ्नुपर्ने भएकोले यो नाच मुख्यतया पुरुषहरुले मात्रै नाच्ने गर्छन् । मयूर नाचमध्ये पैखेरी नाच राउटेहरुले सिकाएको भन्ने चलन छ भने सरंग्या नाच पुख्यौली रूपमा चल्दै आएको स्थानीय बताउँछन् ।

वडाध्यक्ष खड्काका अनुसार १९ औं शताब्दीको मध्यतिर उनका पुर्खा माठिमीतिर आएको र त्यतिबेला यो नाच पनि सँगै लिएर आएका थिए । त्यसभन्दा पहिले कहाँबाट र केका लागि यो नाच नाच्न थालियो भन्ने जानकारी नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?