+
+
कृषिमन्त्रीलाई खुलापत्र :

कृषि क्षेत्र सपार्न चाहनुहुन्छ भने यी पाँच कार्यभार पूरा गर्नुस्

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७८ मंसिर ६ गते १३:२६

माननीय कृषिमन्त्रीज्यू, नमस्कार !

सर्वप्रथम तपाईं कृषि मन्त्री हुनुभएकोमा खुशी व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु । हुन त सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा बधाई दिएको पनि देखेको र सुनेको छु । बधाई त कार्यकाल सफल भए दिने होला भन्ने मेरो सोझो बुद्धिले अहिले नै बधाई दिने आँट भने गरिनँ ।

तपाईंलाई थाहै छ, कृत्रिम रसायन, विषादि, खनिज ऊर्जा र प्रकृति दोहनले निरन्तर विघटित पर्यावरण, प्रदूषित हावापानी र वातावरणले हाम्रो जीवन नै संकटग्रस्त बन्दै गएको छ । दुई वर्षअघि मानव जातिमा देखिएको कोभिड-१९ नामक भाइरसले हामी सबै अहिलेसम्म आतंकित नै छौं । त्यसको महामारीमा बन्दी जीवन बिताउँदा हाम्रा खाना र खेतीपातीका धेरै सवाल पोखरीमा फालेका प्लाष्टिक बोतल जस्तै सतहमा आए । त्यसको हेक्का राख्नुभएकै होला । यस्तो संकट झनै बढ्दै जाने कुरा मनन् गर्न मात्र यो प्रसङ्ग उठाएको हुँ ।

मन्त्रीज्यू, अहिले खाना र जलवायु संकट संसारभरि चुलिंदै गएको छ । यिनैसँग जोडिएको नसर्ने दीर्घ रोगले मानव स्वास्थ्य नै संकटग्रस्त छ भने माटोको स्वास्थ्य अकल्पनीय रूपमा बिग्रेको छ । यी संकटको सम्बोधन गर्ने विश्व खाद्य प्रणाली र जलवायु परिवर्तन सम्बोधन गर्ने अपेक्षा गरिएका विश्व सम्मेलनहरू यसतर्फ इमानदार पहल गर्ने प्रतिबद्धता विनै समापन भएका छन् ।

उपनिवेशी इतिहास दोहोर्‍याउँदै अन्य खनिज ऊर्जा र यसले गरेको हरित ग्याँस उत्सर्जनको कुनै सवाल नै नभए जस्तो गरी कोइला विस्थापित गर्ने योजना अघि सारिएको थियो त्यो पनि घटाउने सहमति भएको घोषणामा टुंगिएको छ । हाम्रा प्रधानमन्त्रीले पनि विश्व खाद्यप्रणाली सम्मेलनमा तीन मिनेटकोे भिडियो सन्देश र जलवायु सम्मेलनमा त दलबल सहित गएर ४ मिनेटको प्रतिबद्धता भाषण नै गर्नुभएको थियो । यो मन्त्रालयको काम सम्हाल्दा यसको समेत ख्याल गर्नुभएकै होला ।

सँगै थाहा पाउनुभएकै होला- जलवायु परिवर्तन र खेती प्रणाली सच्याउने विश्वस्तरीय पहल फेरि पनि असफलतामा टुंगिएको छ । आजको वैभवमा मात्र हैन विकसित देशले बाँडेको समृद्धि सपनामा कुनै सम्झौता नगर्ने बहुलट्ठी शासकका हठमा अकुत धन कमाउने बहुराष्ट्रिय बिचौलियाको गठजोडका अगाडि जलवायु विज्ञानको तर्क र यसका अभियन्ताको जोडबल निरीह देखिएको छ । यसको सीधा अर्थ हुन्छ जलवायु परिवर्तनको प्रभाव जस्तो नखाएको विषले असर गरेका हामी जस्ता करोडौंको जीवन थप कष्टकर बन्दै जानेछ । यसको ख्याल राख्दै खानाका लागि खेतीपाती सपार्ने जिम्मेवारी लिनुभएकोले यो भन्नै पर्ने लागेर भनेको मात्र हुँ ।

जलवायु र प्रकृतिमा आएको फेरबदलको नमूना तपाईं हामीले मनाङदेखि मेलम्ची हुँदै तटीय क्षेत्रमा देखेकै छौं । गत महीना भएको वर्षाले ल्याएको वितण्डाको त्रासदीले खेतीपाती चौपट भएका किसानहरू थलिएको सबैलाई थाहै छ । तराई-मधेश क्षेत्रकै किसान भएकोले चुरे दोहनले निम्त्याएको संकटका बारेमा मैले यहाँलाई सम्झाउनै परेन । यसरी वर्षैभरि अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, डुबानले आम नेपालीको जीविकाको मुख्य आधार तहसनहस हुँदै गएको छ । एकछिन सोचौं त- यो साल पानी परे जस्तै आउने साल खडेरी मात्र भयो भने हाम्रो जीवन के होला ? हामी कृषिप्रधान देशका बहुसंख्यक किसान किनेर खान विवश छौं । आम नेपालीको खानेकुरा मात्र हैन आम्दानी र रोजगारीको मुख्य क्षेत्र कृषि समेत आयातित भएको छ भने यसैका लागि नेपाली युवा भारत र अरबका मरुभूमिमा खेतीकर्म गर्न जान बाध्य भएका छन् । अरू पढेलेखेका थुप्रै युवा ज्यान पाल्नकै लागि विदेशतिरै पलायन भएका छन् ।

मूल उद्देश्यमै मौन भएको मन्त्रालयका अधिकांश नीति तथा कार्यक्रम शब्दजालमा मात्र सीमित छन् भने यसको बजेट राजनीतिक पार्टी, तिनका आसेपासे र गुटका प्युसा पाल्न दान र अनुदानमा सीमित गरिएको छ

विडम्बना ! मन्त्रीज्यू, तपाईंले नेतृत्व गर्न आउनुभएको कृषि सपार्ने मूल जिम्मेवारी लिएको कृषि मन्त्रालय र मातहतका निकायको नेतृत्व निकम्मा सावित भएको छ । वरिष्ठ कर्मचारी खासगरी, कृषि वैज्ञानिक र विषयविज्ञ रातो कलम भिरेर मन्त्रालयका फाइल बोकाउँदै बैठक र कार्यशाला चहार्छन् । कनिष्ठ कर्मचारी निरीह छन् । तर यो क्रम फेरिने कुनै छाँट छैन । यी त केही उदाहरण मात्र हुन् । यस्ता बेथिति र विसंगतिको फेहरिस्त धेरै लामो छ । यो तपाईंहरूलाई समेत थाहा छ । यसमा आवश्यक परे विस्तृत छलफल गरौंला ।

हुनत कृषिक्षेत्र आफैंमा मौलिक, बृहत् र विस्तृत क्षेत्र हो । यो कुनै एउटा विभागीय मन्त्रीको प्रयत्नले मात्र रातारात उन्नत हुँदैन । तर कृषि विकासमा यो मन्त्रालयको केन्ऽीय भूमिका छ भन्ने कुरामा यहाँ सहमत नै हुनुहोला । कृषि शिक्षा, अनुसन्धान र प्रसार मूल कार्यभार रहेको यो मन्त्रालयका बहुआयामिक अन्तरसम्बन्धहरू व्यवस्थापन गर्ने नीतिगत, संस्थागत र कार्यक्रमिक योजनाको नेतृत्व गर्नु नै यसका मन्त्रीको मुख्य जिम्मेवारी हो भन्ने कुरा यहाँलाई हेक्का नै होला ।

विडम्बना, यो मन्त्रालय असफल भैसकेका संस्थागत संरचना, नीति तथा कार्यक्रमको निरन्तरतासँगै उठ्नै नसक्ने गरी थला परेको छ । माथिका सवालहरू सम्बोधन गर्ने त परै जाओस्, यसले परम्परागत कृषिको बिंडोसम्म थाम्न सकेको छैन । धेरै अवस्थामा यसले उत्साहित उद्यमी र किसानका प्रयासहरूमा उत्साह थप्नुको साटो बेलाबेला ढिलासुस्ती र अकर्मण्यताको तगारो बनेर हलो अड्काउने समेत गरेको छ ।

तपाईंले नेतृत्व गरेको मन्त्रालय हामीले भोग्दै गरेको कृषि तथा खाद्य क्षेत्रको गहिरो संकटप्रति पूर्ण रूपमा उदासीन र मौन छ । तपाईंले मन्त्रालयको नीति तथा कार्यक्रमका दस्तावेज पढ्नुभएकै होला र पक्कै पनि हेक्का राख्नुभएको होला । मूल उद्देश्यमै मौन भएको मन्त्रालयका अधिकांश नीति तथा कार्यक्रम शब्दजालमा मात्र सीमित छन् भने यसको बजेट राजनीतिक पार्टी, तिनका आसेपासे र गुटका प्युसा पाल्न दान र अनुदानमा सीमित गरिएको छ ।

४५ अर्बको मन्त्रालयको बजेटमा ३० अर्ब हाराहारी अनुदान हुनु यसको बलियो प्रमाण हो । अनुदानका भरमा सञ्चलित कृषि आधुनिकीकरण परियोजनामा गरिने अन्धाधुन्द खर्चमा भागशान्ति नमिलेकै कारण पर्ने उजुरीको समेत जानकारी राख्नुभएकै होला ।

कृषि विकासका लागि संरचनागत तथा संस्थागत सुधार गर्ने, अनुसन्धान, शिक्षा र प्रविधिलाई उन्नत बनाउन आवश्यक ठोस नीतिगत प्रस्ताव र कार्यक्रम ल्याउनुको साटो, यो अनुदानका वरिपरि मात्र रमाएको छ । आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरणको रट मात्र लगाएर जागिर पचाएको मन्त्रालयले नेपालको कृषिलाई कागजमा मात्र दुरुस्त राख्ने विगतको पुनरावृत्ति मात्र दोहोर्‍याएको छ । भू-उपयोगका न्यूनतम मापदण्ड बनाएर कृषिभूमि व्यवस्थापन गर्ने जाँगरसम्म नगरेको मन्त्रालयले विशेष उत्पादन पकेट, ब्लक, जोन र सुपरजोनको उरन्ठेउलो कार्यक्रम ल्याएको छ । खाद्यान्न उत्पादन र तुलनात्मक लाभका कृषिक्षेत्र प्रवर्द्धनमा ध्यान दिनुको साटो ठूला छिमेकीका प्राथमिक उत्पादनमै प्रतिस्पर्धा गर्ने अव्यावहारिक योजना र कार्यक्रम बनाएर आम नागरिकले तिरेको कर र तिनैका नाममा ल्याएको दान र ऋणको दुरुपयोग गरेको छ ।

यो मन्त्रालयले भरपेट खान समेत विदेशिन बाध्य किसानलाई नाफा कमाउनका लागि गरिने व्यापारिक हरित क्रान्ति कृषि मात्र विकल्पका रूपमा प्रस्तुत गरेर झनै निराश बनाएको छ । बृहत् कृषि क्षेत्रको विशाल सम्भावनालाई कृत्रिम रसायन र विषादिको साँघुरो बाटो हिंडाएर मानव तथा माटोको स्वास्थ्यमाथि खेलबाड गर्दै बिचौलिया दलाल र ठूला व्यापारी पोस्न उद्यत छ ।

यो सबै थाहा पाएर तर रोजेको मन्त्रालय नपाएपछि कृषि मन्त्री बन्न आएका धेरै मन्त्रीहरू मन्त्रालयको घुम्ने कुर्सीमा बसेर मोबाइल खेलाउँदै आगन्तुक सेवाग्राहीसँग ङिच्च हाँसेर बिदा भए । आशा छ- तपाईंले त्यसो गर्नु हुनेछैन । यसबारेमा केही भन्नु अगाडि तलका थप सुझाव पनि राम्रोसँग पढ्नुहोला ।

यी त केही गुनासा मात्र हुन् । तपाईंले फूलमाला लगाएर छिरेको मन्त्रालयले स्वस्थ खानेकुरा, स्वच्छ माटो, पर्यावरण, ग्रामीण समुदायको जनजीविका, किसानको स्वाभिमानी जीवनशैली जस्ता कृषिका मूल मर्मलाई आत्मसात् गर्न बिर्सेको छ । यसले हालसम्म रोजगारी र आम्दानीको कुनै व्यावहारिक ठोस कार्ययोजना प्रस्तुत गर्नसकेको छैन । केही वर्षअघि नेपालको कृषि प्रवर्द्धनको सुझाव दिन एउटा कार्यदल गठन र त्यसको प्रतिवेदन बनाउने बाहेक यसले कृषि रूपान्तरणका सरकारी घोषणा र कृषि सुधारका प्रतिबद्धतालाई याद गरेको हामी कसैलाई थाहा छैन ।

यी त कृषि क्षेत्रका सवाल, असफलता र दुष्कर्मका केही नमूना मात्र हुन् । यसभित्रका विकृतिको चाङलाई हटाउन र खानाका लागि खेतीपाती उन्नत बनाउन समय लाग्ला । अरू त परै राखांै, अहिलेकै अवस्थामा आम सरोकारवाला र किसानमा कृषि कर्मप्रति उत्साह जगाउन मन्त्रालयको विश्वसनीयता मात्र बढाउने कुरा पनि चानचुने छैन । दान र अनुदानका रकममा हालीमुहाली गरेर छोटी भन्सार भनेर बदनामी कमाएको कृषि मन्त्रालयले नेपाली किसान र कृषिका हितमा काम गर्छ भन्ने विश्वास नजागेसम्म यसप्रतिको आमधारणा नेतृत्व सम्हाल्ने मन्त्रीप्रति पनि सकारात्मक भइरहँदैन ।

विगतका कमजोरीबाट पाठ सिक्दै अहिलेका सवालहरूको सम्बोधन गर्न दूरदृष्टिकोण सहितको स्पष्ट खाका बनाउन सके मात्र मन्त्रालयको विश्वसनीयता बढ्दै जान्छ । यस अर्थमा नेपालको कृषि सपार्ने ध्येयका लागि तपाईंका मुख्य कार्यभार यी हुन सक्छन्ः

  • नेपाली नागरिकको खाद्य तथा पोषण सुरक्षा सम्बन्धी संविधानप्रदत्त हकको प्रत्याभूतिका लागि कृषि क्षेत्रलाई खाद्यमा आत्मनिर्भर र तुलनात्मक कृषि उपजको प्रवर्द्धन गर्ने नीतिको प्रवर्द्धन गर्नु तपाईंको पहिलो दायित्व हुनुपर्ने हो । कृषि क्षेत्रलाई क्रमशः प्रकृतिमैत्री बनाउँदै कृषि तथा साना पशुपक्षीजन्य प्रमुख खाद्य वस्तुहरूको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी मुलुकमा भइरहेको खानेकुरा लगायत कृषिजन्य आयातलाई प्रतिस्थापन गर्दै लैजाने तपाईंको तत्कालीन कार्यभार हो ।
  • दिगो कृषि विकासका मापदण्डका आधारमा खाद्यमा आत्मनिर्भर र तुलनात्मक लाभका कृषि उपजबाट रोजगारी र आम्दानी बढाउन पर्यावरणीय कृषि विकासको ढाँचामा आधारित कृषि पद्धति अपनाउन र सोही अनुरूपका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तपाईंको दोस्रो मुख्य कार्यभार बनाउनुपर्छ । किनकि नेपाल जस्तो विविध कृषि प्रणालीमा स्थानीय विशेषतामा आधारित ढाँचाहरू अवलम्बन गर्नुको विकल्प छैन ।
  • तत्कालै कृत्रिम रसायन तथा रसायनमा आधारित विषादिहरूबाट कृषि क्षेत्र लगायत मानव स्वास्थ्यमा बढ्दो जोखिम न्यूनीकरणका लागि नियमन, अभिमुखीकरण र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने तेस्रो कार्यभार हो ।
  • त्यसैगरी अहिले भइरहेको रसायन र विषादिमा रोक लगाउँदै यी क्षेत्रमा रासायनिक मल अनुदान कटौती गर्ने प्रांगारिक मल, गोठ सुधार, कम्पोष्ट मल र जैविक मल र विषादि बनाउन आवश्यक प्रविधि र क्षमताको विकास गर्ने, यो प्रणालीलाई उन्नत र तत्कालै एक स्वायत्त संयन्त्र बनाउनु तपाईंको चौथो कार्यभार हो ।
  •  कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकायहरूको संरचनागत समीक्षा गरी तीनै तहको संरचना पुनर्गठन र कार्यादेश परिमार्जन गर्ने प्रबन्ध मिलाउन नसके यी सबै कुरा भाषणमा मात्र सीमित हुन्छन् । सँगै सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्थाबाट खाद्य तथा कृषि क्षेत्रमा सञ्चालित परियोजनाको प्रभावकारिता र उपलब्धिको स्वतन्त्र समीक्षा गरी यिनको कार्यक्रम र कार्यविधि परिमार्जन गर्दै खानाका लागि खेतीपातीको मार्गचित्र बनाउन आवश्यक कदम चाल्नु तपाईंको पाँचौं कार्यभार हो ।

यस मन्त्रालयमा गर्नुपर्ने यस्ता कार्यभार सयौं छन् । तर यी पाँचवटा मात्र मुख्य कार्यभार पूरा गर्नेतर्फ यहाँले चाल्ने पाइलाले हाम्रो कृषि सपि्रने छाँटकाँट देखाउनेछ । तर विगतमा कर्मचारीको असहयोग, आफ्नै सचिवालय, आसेपासे र मन्त्रालयका हाकिमहरूको अक्षमता र चाकरी, दलालसँगको लसपस र उद्घाटनका माला-खादा, बैठक र विदेश भ्रमण वरिपरि नै कुहिराको काग जस्तै मन्त्री हराएका थुप्रै उदाहरण छन् । कम्तीमा यी अनुभवबाट सिक्दै यी कुरा सच्याउने आँट गर्न पहल गर्नुहुनेमा विश्वास छ ।

तपाईंको जुझारु र संघर्षशील इतिहास पढ्न पाएको थिएँ । तपाईंप्रति केही भरोसा जागेर नै यो पत्र लेखेको हुँ । यत्तिको आशलाग्दो किसान नेताले कम्तीमा किसानलाई थला पार्ने र आम उपभोक्तालाई जिउँदै मार्ने नसर्ने दीर्घरोग सार्ने खानेकुराको प्रवर्द्धन गर्ने रसायन र विषमा आधारित हरित क्रान्ति कृषिको नेतृत्व नगरुन् भन्ने चाहन्छु । धेरै गर्न नसके पनि नबिगारे मात्र तपाईंको कार्यकाल सफल ठहरिनेछ ।

अन्त्यमा ढाँटको मानो खाई पत्याउनु भनेझैं तपाईंले अघि सार्ने नीतिगत प्रस्ताव, यसको कार्यान्वयनको ढाँचा र नतिजा हेर्न अहिले केही समयका लागि पर्खिरहेका छन् भन्ने लाग्छ । मलाई भने अर्को सानो सुझाव दिएर बिट मार्न मन लाग्यो । तपाईंलाई झर्को लाग्दैन भने यो पत्र पढेपछि एकप्रति आफैंसँग राख्नुहोला ताकि तपाईंको विरासत थाम्न आउने अर्को मन्त्रीलाई तपाईं नै यो पत्र थमाइदिनुहोला । ताकि हामी जस्ता कचकचेले फेरि दोहोर्‍याएर पत्र लेख्नु नपरोस् ।

भवदीय

डा. कृष्णप्रसाद पौडेल, कार्यकर्ता

खानाका लागि खेतीपाती अभियान, काठमाडौं

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?