+
+

महाधिवेशनको महोत्सव

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर १० गते २३:११

१० मंसिर, चितवन । ‘भर्खरै प्रिति बसेको बेला, पिर पर्‍यो विछोडको…..’ राष्ट्रकवि माधव घिमिरेको यो गीत नारायणी किनारमा शुक्रबार एकाविहानै बज्यो । नेकपा एमालेको नेता कार्यकर्ता दशौं राष्ट्रिय महाधिवेशनका लागि जुन मनोदशासहित नारायणी नदी किनारमा भेला भएका थिए, गीतले उनीहरुको भाव बोलेझै लाग्थ्यो ।

पछिल्लो नौ महिनामा दुईपटकसम्म पार्टी विभाजनको पीडा व्यहोरेको एमालेका नेता कार्यकर्तालाई यो गीतले पक्कै नोस्टाल्जिक बनायो होला । ०७४ को चुनावमा तालमेल गरेका ठूला वाम घटक एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच गाउँगाउँसम्म पनि हार्दिकता बढ्दै गर्दा पार्टी विभाजन भयो । ५ पुस २०७५ को संसद विघटनसँगै दुई धारमा बाँडिएको नेकपाको विभाजनले २३ फागुनमा औपचारिकता पायो, जब सर्वोच्च अदालतको संयुक्त इजसलाले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला सुनायो ।

पुनस्र्थापित एमाले पनि एक रहेन सकेन । समानान्तर गतिविधि र एकता वार्ताको झण्डै ६ महिना लामो श्रृंखला २ भदौमा आएर पटाक्षेप भयो, जब माधवकुमार नेपाल सहितका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी बनाए । पार्टी स्थापना कालदेखि अनवरतसँगै रहेका ‘कमरेड’हरुका लागि दशौं महाधिवेशन संभवतः छुट्टिने दोवाटोजस्तो बन्यो । यस्तोमा पार्टीको पुरानै बैभव र भव्यतालाई जोगाउनका खातिर नारायणी किनारमा लामबद्ध हुन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट आएका एमाले कार्यकर्तालाई पुराना दौंतरी र बन्दै गरेका साथीसंगी सँगै नहुँदा खल्लो लाग्नु अस्वभाविक होइन ।

तर पार्टीको शीर्ष नेतृत्वले छुटेर गएको माओवादी केन्द्रलाई बोलाएपनि नेकपा समाजवादीलाई यो ठूलो ‘उत्सव’मा निम्तोसम्म गरेन । मञ्चमा एमालेका पुराना र दिग्गज, तर पार्टीमा अहिले नरहेका नेताहरुलाई सम्झिने कोही नभएपनि कार्यकर्ताले भने बिर्सिएनन् । ‘पार्टी विभाजन नभएको भए अहिले झन धेरै उत्सव हुन्थ्यो होला,’ महाधिवेशन स्थलमा भेटिएका दाङका धर्म सिजुवाल भन्छन् ।

महोत्सवकै रुपमा सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीले भने शक्ति प्रदर्शनका रुपमा अथ्र्याए । पार्टी विभाजनपछि पनि एमालेको आकार नघटेको भन्दै उनले भनेका छन्, ‘आज पार्टी प्रवेश गराउन मिल्थ्यो भने लाखौंलाई एमालेमा स्वागत गरिन्थ्यो ।’

एमाले अध्यक्ष ओलीले आफ्नो भाषण अवधिभर दुई सन्देश दिन भरमग्दुर प्रयास गरे । पहिलो नेकपा एमाले अहिले पनि ठूलो शक्ति हो र दोस्रो एमालेले आउँदो चुनावको तयारी गरिसक्यो । उनले आगामी प्रतिनिधिसभा चुनावमा एमालेले एक्लै दुई तिहाई बहुमत ल्याउने र पुरै कार्यकाल सत्ता चलाउने बताए । पार्टीका नेता कार्यकर्तालाई अघिल्तिर राखेर मुलुकका ठूला नेताहरुका सामू ओलीले यो घोषणा सुझबुझपूर्ण तरिकाले गरेका हुन् ।

एमालेले महाधिवेशनलाई चुनावको तयारीका रुपमा लिएको किन पनि बुझ्न सकिन्छ भने ओलीले आफ्नो सम्बोधनमा माओवादीका घाइते अपांग लडाकूलाई सम्झिए । आफूलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसलाई उनी परमादेशको सरकार भन्छन्, माथि सहानुभूति राखे । ‘मलाई खुट्टा तानेर काम गर्न दिइएन, प्रधानमन्त्रीज्यूको खुट्टा समातिएको छ । प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ कि !’

आफूविरुद्ध बनेको सत्तारुढ गठबन्धनका प्रमुख नेता कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई एमालेले बडो चलाखीपूर्ण तरिकाले महाधिवेशन उद्घाटन स्थलमा प्रवेश गराएको थियो । ओलीसँग मञ्चमा उक्लिएका देउवाप्रति एमालेले देखाएको हार्दिकता पृथक थियो, देउवाप्रति ओलीको समानुभाव खास ।

देउवाको उपस्थिति र ओलीको हार्दिकतालाई हेरेर एमालेकै कतिपय नेता कार्यकर्ताले भने आगामी गठबन्धन एमाले र कांग्रेसबीच हुनसक्ने आकलन समेत गरेका छन् । एमालेले सभालाई सन्तुलित बनाउने कोशिश पूर्व माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादललाई संबोधन गर्न दिएर पनि गरेको छ ।

महाधिवेशनलाई शक्ति प्रर्दशनकै रुपमा केन्द्रित गर्ने पूर्वतयारी अनुरुप उद्घाटन सत्र सफल भएको नेता सुवास नेम्वाङले बताए । ‘विभाजनले पार्टीलाई असर पारेको छ भन्ने कसैलाई लागेको छ भने पनि त्यो भ्रम टुटाउन यो महाधिवेशन यसरी भब्य बनाइएको हो,’ नेम्वाङले भने, एमाले ठूलो शक्ति हो, विभाजनले कुनै असर गरेको छैन भन्ने सन्देश लिएर कार्यकर्ता फर्किरहेका छन् ।’

यद्यपि पार्टी स्थापनाकालदेखि एमालेका नेताहरु यतिधेरै विभक्त भएका थिएनन् । पाँचौ महाधिवेशनयता एकै थलोमा रहेका एमाालेका नेताहरु बाँडिदा स्वभाविक रुपमा घाटा भएको छ, हुनेछ । आफ्नै कार्यकाल र पहलमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बनाएका ओलीमाथि त पार्टी विभाजनको कारक बनेको दोष पनि छ, जुन मेटाउन एमालेले शक्ति प्रर्दशन गरेमात्रै पुग्दैन । बरु कम्युनिष्ट पार्टीको चरित्रअनुसार जनता र जनजिविकाको मुद्दामा खरो उत्रिनुपर्छ, जुन एमालेले विर्सिदै आएको आरोप लागेको छ ।

कार्यकर्तालाई सकस

एमालेले झण्डै आधा करोड खर्च गरेर महाधिवेशन उद्घाटन स्थलमा  तामझाम गरेपनि उपस्थितिको पछिल्लो लहरमा रहेका कार्यकर्तालाई भने ध्यान दिन सकेन । मेचीदेखि महाकालीसम्मका कार्यकर्ता असिनपसिन भएर महाधिवेशनस्थलसम्म आइपुगेका थिए, जो फितलो व्यवस्थापनका कारण गुनासो गर्दै फर्किए ।

भिड व्यवस्थापन हुन नसक्दा नारायणी पुल वारीपारी कार्यकर्ताले दिनभरी सकस ब्यहोर्नुपर्‍यो भने खाने बस्ने व्यवस्थाको भेउ समेत नपाउँदा नदी किनारामा आफैंले मेस चलाए, चढेर आएको गाडीमै सुतेर निद्रा पुर्‍याए ।

एमालेका स्वयम्सेवकहरु मञ्चको वरिपरीमात्रै केन्द्रीत थिए भने सुरक्षाकर्मी भीड नियन्त्रणका लागि सफल हुन सकेनन । जाममा घण्टौं रोकिएका एम्बुलेन्सले समेत बाटो नपाउँदा एमालेले जनप्रर्दशन गर्ने ठाउँको रोजाई भने गलत गरेको टिप्पणी स्वयंम एमालेका कार्यकर्ताले गरेका छन् ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?