+
+

लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषले के गर्न सक्छन् ?

रामहरि ओझा रामहरि ओझा
२०७८ मंसिर १२ गते ७:११

लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जनजिब्रोमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने आउँछ ।

महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालाईर् बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।

आजको एक्काइसौं शताब्दीमा पनि परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेद लगायत कारण महिलाहरू हिंसामा पर्ने क्रम रोकिएको छैन । यही कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र सबैखाले लैङ्गिक हिंसा अन्त्यका लागि विश्वव्यापी रूपमा लैङ्गिकविरुद्धको अभियान सञ्चालन गर्ने गरिन्छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यो दिवसको शुरुआत सन् १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकाबाट भएको हो । डोमिनिकल गणराज्यको तत्कालीन त्रुजिलो तानाशाही सरकार विरुद्ध आन्दोलन गर्ने क्रममा मिरावल परिवारका तीन दिदी बहिनीको हत्यासँग यो अभियानको इतिहास जोडिएको छ । सन् १९२४ मा पेट्रिय, १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो ।

अन्याय नसहने स्वभावका यी दिदीबहिनीहरू तत्कालीन त्रुजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालीन सरकारले तीनै दिदीबहिनी र उनको परिवारलाई राजद्रोहको आरोप लगायो । उनीहरू पटक-पटक जेल परे । १९६० को शुरुआतमा त्यहाँको सरकारले उनीहरूलाई राजद्रोहीका रूपमा घोषणा गर्‍यो । यसरी घोषणा गरेको ११ महीनापछि नोभेम्बर २५ का दिन उनीहरूको हत्या भएको थियो । उक्त हत्यापछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक वर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो ।

त्यो घटनालाई महिलामाथि हुने हिंसाका रूपमा लिनुका साथै त्यसैको सम्झनामा सन् १९९१ मा सेन्टर फर वुमेन ग्लोबल लीडरसिप (सीडब्लुजीएल) को सहयोगमा २० देशका महिला संस्थाहरूले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन आहृवान गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा यो अभियान मनाउने घोषणा गरेको थियो ।

नेपालमा १९९७ देखि विविध कार्यक्रम गरी यो दिन मनाउन शुरु गरिएको छ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्ने अभियानका रूपमा यस अभियानलाई मनाइएको थियो ।

पछिल्ला वर्षहरूमा यो अभियानलाई नियमित रूपमा महिला हिंसा विरुद्धको अभियानका रूपमा मनाउने गरेको पाइन्छ । अभियान अन्तर्गत २५ नोभेम्बरमा महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २९ नोभेम्बरमा विश्व मानवअधिकार रक्षक दिवस, १ डिसेम्बरमा विश्व एड्स दिवस, ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, ५ डिसेम्बरमा सामाजिक तथा आर्थिक विकासका लागि स्वयम्सेवी दिवस, ६ डिसेम्बरमा महिला शहीदहरूको सम्मान दिवस र १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाइन्छ ।

यस वर्ष ‘ओरेन्ज द वल्र्डः इन्ड भ्वाइलेन्स अगेन्स्ट वुमेन नाउ’ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको छ । बिहीबारदेखि नेपालमा पनि ‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ ।

नेपालमा पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि थुप्रै कानूनी र संरचनात्मक प्रयास भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा राज्यले प्रतिबद्धता गरेको छ । संयुक्त राष्ट्रसंघीय महासन्धि, प्रतिज्ञापत्र, प्रस्तावहरूको नेपाल पक्ष राष्ट्र भइसकेको छ । यसको साथसाथै महिलामाथि हुने हिंसा रोक्नका लागि संवैधानिक तथा कानूनी व्यवस्था गरेको छ । महिलामाथि हुने विभेद तथा हिंसा रोक्नका लागि राज्यले विभिन्न समयमा कार्ययोजना बनाउँदै कार्यान्वयन पनि गरेको छ । हिंसा पीडित महिलाहरूलाई कानूनी रूपमा, आर्थिक रूपमा सुरक्षा प्रदान गर्ने कतिपय नीति व्यवस्था पनि गरिएको छ । तर पनि महिलामाथि हुने हिंसाका घटना कम नभएको तथ्याङ्कले देखाउँछ ।

विगत तीन वर्षमा सुदूरपश्चिममा लैङ्गिक हिंसाका घटना

सि.नं.        मुद्दा शीर्षक आ.व.२०७५।७६ आ.व.२०७६।७७ आ.व.२०७७।७८
ज.ज.क. १५९ २१२  २२५
ज.ज.क.उद्योग ८६ ७१ ८९
ज.ज.क.कर्तव्य ज्यान
बहुविवाह ७१ ६४  ११०
बालविवाह १०
मानव बेचबिखन ३६ १८ १४
मानव बेचबिखन तथा ज.ज.क.   ११
अपहरण तथा शरीर बन्धक /ज.ज.क.  १०
 गर्भपतन
१० अप्राकृतिक मैथुन
११ जातीय छुवाछूत   १६
१२ बोक्सीको आरोप
१३ बाल यौन दुरुपयोग १९
१४ अपहरण श/Lर बन्धक
१५ घरेलु हिंसा १ (मुद्दा दर्ता) ५ (मुद्दा दर्ता)
१६ हाडनाता विवाह
१७ अभद्र व्यवहार  ४
१८ तेजाव प्रयोग गरी अंगभंग
जम्मा ३८९ ४०३    ५३०

माथिको तथ्याङ्कले पनि लैङ्गिक हिंसाका घटनाहरू वर्सेनि बढ्दै गएको देखिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७५/७६ मा ३८९ महिलामाथि हिंसाका घटनाहरू भएका छन् । २०७६/७७ मा यो संख्या बढेर ४०३ पुगेको छ, अर्थात् ३.५९ प्रतिशतले बढेको देखिन्छ । २०७७/७८ मा महिलामाथि भएका घटनाहरूको संख्या ५३० पुगेको छ । २०७६/७७ भन्दा २०७७/७८ मा ३१ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । चालू आर्थिक वर्षको पहिलो चौमासिक विवरण अनुसार हालसम्म १९० घटना प्रहरीको अभिलेखमा आइसकेका छन् । यस हिसाबले यस वर्ष पनि हिंसाका घटना बढ्ने नै देखिन्छ ।

अगुवा महिलाहरूले आफूलाई ‘रोल मोडेल’ को रूपमा विकास गर्ने र ‘महिलाको लागि महिला’ अर्थात् एक महिलामाथि हिंसा हुँदा सबै महिला एकजुट भएर प्रतिवाद गर्ने हो भने हिंसाका घटना रोक्नमा केही सघाउ पुग्नेछ । अन्यथा यो १६ दिने अभियान पनि गायत्री मन्त्र जस्तै हो

महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि पुरुषहरू जिम्मेवार नभएसम्म हुँदैन । घरपरिवारमा महिलामाथि कुनै प्रकारको हिंसा नगर्ने/गर्न नदिने वातावरणबाटै पुरुषहरू क्रियाशील भए महिलामाथि हुने हिंसाका घटनाहरू न्यून गर्न सकिन्छ । महिलालाई उत्पादनसँग जोड्न सहयोग गर्ने, परिवारका महिलाहरूलाई कानूनी सचेतना दिने र आत्मरक्षा गर्न आत्मबल प्रदान गर्ने, महिलालाई घरबाहिर निस्कन प्रेरित गर्ने र त्यसका लागि वातावरण तयार गरिदिने जिम्मेवारी पुरुषहरूले लिनुपर्छ । अहिले पनि शिक्षित महिलाहरू परिवारको सहयोग नहुँदा घरमै थन्किएर बस्नु परेको अवस्था छ ।

महिलाहरूलाई आत्मनिर्भर हुन सिकाउने र अवसर प्रदान गर्ने, समाजमा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि समाजमा चेतनामूलक सन्देशहरू दिने, हिंसामा परेका महिलालाई कानूनी उपचारका लागि सहयोग गर्ने, हिंसाका सवालमा शून्य सहनशीलताको विकास गर्ने, महिलामाथि हिंसा भएको वा भइरहेको वा हुनसक्ने कुराको जानकारी सम्बन्धित निकायलाई दिने, सामाजिक क्रियाकलापहरूमा महिलाहरूको सहभागिता बढाउन प्रयास गर्ने, महिलाहरूको क्षमता विकास र समान अवसरका लागि वकालत गर्ने, बालिका शिक्षालाई प्राथमिकता दिने जस्ता सवालहरूको अगुवाइ गर्न अब पुरुषहरूले लाज मान्नुहुँदैन ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी पुरुषहरूले लैङ्गिक समानता तथा सामाजिक सशक्तीकरण नीति, लैङ्गिक हिंसा निवारण नीति बनाई कार्यान्वयन गर्ने र समुदायमा कानूनी साक्षरता अभियानहरू सञ्चालन गर्ने काम गर्नुपर्छ । पीडित महिलाहरूलाई अभियानकर्ताको रूपमा परिचालन गर्न परिवारका सदस्य र आफन्तहरूलाई उत्प्रेरित गर्ने, महिलाको आर्थिक सशक्तीकरणका आवश्यक कार्यक्रम तथा बजेटहरू तय गर्ने, महिला हिंसा विरुद्धका कानूनी व्यवस्थाबारे चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कामले पनि यो अभियानमा सहयोग पुर्‍याउन सक्छ । जुनसुकै प्रकारको महिला हिंसाबाट प्रभावित भए पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, हिंसा पीडित महिलाहरूलाई आत्मसम्मान सहितको सामाजिक पुनः एकीकरणको व्यवस्था गर्ने, भौतिक पूर्वाधारहरू निर्माण गर्दा महिलामैत्री बनाउनुपर्ने जस्ता कार्यहरू उनीहरूले गर्न सक्छन् ।

न्याय सम्पादनको क्रममा पनि महिलाहरूलाई राज्यका न्याय सम्पादन गर्ने निकायहरू आफूमैत्री नभएको अनुभूति गर्छन् । जसका कारण उनीहरूले आफूमाथि भएको हिंसा विरुद्ध कानूनी उपचार खोज्न जाने हिम्मत गर्दैनन् । त्यसैले उजुरी गर्ने निकायहरू महिलामैत्री बनाउने, भएका कानूनहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरू जिम्मेवार हुने, मेलमिलापको नाममा लैङ्गिक हिंसालाई ढाकछोप गरी दोषीलाई उन्मुक्ति दिने काम रोक्ने, न्याय सम्पादन छिटो, सर्वसुलभ र कम खर्चिलो हुने गरी गर्ने । गोपनीयताको ख्याल गर्ने हो भने पीडित महिलाले पनि कानूनी उपचार खोज्न आउँछन् ।

हुन त विषय पुरुषहरूको मात्रै छैन, अगुवा महिलाहरूका व्यवहारले पनि महिलामाथि हुने हिंसाका घटनाहरू बढ्नुमा सघाउ पुर्‍याइरहेको छ । कुनै महिलाहरूमाथि हिंसा भएमा महिलाहरू नै उनको चरित्रमाथि प्रश्न गर्छन् । अपराधीलाई दोष लगाउनु भन्दा पनि पीडित महिलाको बानीव्यवहार जोडेर महिलाहरूले नै अपराधीलाई बचाउन मद्दत गरिरहेका हुन्छन् । त्यसकारण अगुवा महिलाहरूले आफूलाई ‘रोल मोडेल’ को रूपमा विकास गर्ने र ‘महिलाको लागि महिला’ अर्थात् एक महिलामाथि हिंसा हुँदा सबै महिला एकजुट भएर प्रतिवाद गर्ने हो भने हिंसाका घटना रोक्नमा केही सघाउ पुग्नेछ । अन्यथा यो १६ दिने अभियान पनि गायत्री मन्त्र जस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment