+
+
एमाले महाधिवेशन :

डा. भीम रावल : आफू हारे तर लोकतन्त्रको बीउ जोगाए

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर १५ गते ९:४०

१५ मंसीर, चितवन । मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले १८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

एमाले नेता नरबहादुर विश्वकर्माका अनुसार ‘सहमतिको नाममा पार्टी कब्जा गर्ने अध्यक्ष ओलीको नीति थियो । पार्टीमा आफूबाहेक कोही छैन र आफू सर्वसम्मत नेता हुँ भनेर दुनियाँलाई देखाउने हुटहुटी थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मै एकलौटी पार्टी र सरकार हाँक्न खोजेका ओलीले एकता भंग भएर नेकपा एमाले व्युँतिएपछि एमाले पार्टी एकलौटी हिसाबले चलाइरहेका थिए । विधि विधानको पर्वाह नगरी अगाडि बढिरहेका थिए र महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएर एमालेमा आफू थप बलियो भएको सन्देश संसारलाई दिन चाहन्थे । तर, ओलीको यस्तो अतृप्त चाहनाको अवरोधकका रुपमा देखा परे डा.रावल ।

‘त्यसलाई पूरै रोक्नै त सकेनौं, कम्तीमा ओली आफ्नो चाहनालाई लोकतान्त्रिक अभ्यासमा ढाल्न बाध्य हुनुभयो यो डा.रावलको अथक् मिहिनेतले सफल भएको हो’ विश्वकर्मा भन्छन्, ‘अब ओलीमा सर्वसम्मत अध्यक्ष भएँ भन्ने हुँकार रहेन । ताली बजाएर नेता घोषित गर्न खोजेकाहरु पनि रोकिएनन् तर, चुनावी प्रक्रियाबाट चोखिनु त पर्यो । यो पार्टी जीवनमा ठूलो अर्थ राख्ने विषय हो । त्यसकारण डा. रावलले हारेर नि जित्नुभो ।’

महाधिवेशनको परिणाम कस्तो आउँछ भन्ने प्रतिनिधि छनोटकै क्रममा देखा पर्ने एमालेको विधि छ । प्रतिनिधि छनोटपछि नै ओलीलाई अध्यक्षमा कसैले टक्कर दिन नसक्ने प्रष्टै थियो । ओलीको चाहना पनि सर्वसम्मत अध्यक्ष हुने र आफू अनुकूल नेताहरुलाई पार्टीका विभिन्न तहको जिम्मेवारी दिने तयारी थियो । र यसका लागि चुनावमा जाँदै नजाने ओलीको रणनीति थियो । विश्वकर्मा थप्छन्, ‘हामीलाई चुनाव जित्ने हुटहुटी थिएन थियो केवल पार्टीमा विधि र लोकतान्त्रिक अभ्यासलाई कायम राख्ने । अथक मिहिनेतले हामी मिसनमा सफल भएका छौं ।’

विक आफैं दलित खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए । तर, उनको नाम आइतबार मध्यराति बन्दसत्रमा अध्यक्ष ओलीले पेश गरेको ३०१ केन्द्रीय सदस्यको लिस्टमा थिएन । ‘३०१ मा मेरो नाम पर्ने कुरै भएन किनभने म ओली प्रवृत्तिको आलोचक हुँ’ विक भन्छन्, ‘उम्मेदवारी दर्ता गरेपछि हाम्रो अनुसार चल्ने कि नचल्ने ? भनेर सोधिएको थियो । विधिमा चल्छु भनेपछि मेरो नाम भोट नहाल्नेको लिस्टमा राखेर, मेरो नाममा इन्टु लगाएर प्रतिनिधिहरुलाई वितरण गरियो ।’

मंगलबार बिहान साढे चार बजेदेखि अध्यक्ष, उपाध्यक्ष, सचिव, खुला केन्द्रीय सदस्य, प्रदेश १ को तर्फबाट खुला र महिला सदस्य, सुदूरपश्चिमबाट महिला सदस्य, थारु खुला सदस्य र पिछडिएको क्षेत्रको तर्फबाट खुला सदस्य पदका लागि मतदान शुरु भएको थियो । मतदान शुरु भएसँगै ओली पक्षका कार्यकर्ताले अध्यक्षका प्रत्यासी भीम रावल लगायत केपी ओलीले सार्वजनिक गरेका नामबाहेक उम्मेदवारी दिनेलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडेका थिए ।

प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको थियो । जसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि थियो । यस्तो कार्यको स्वयं रावलले खण्डन गरे । तर, पर्चा बाँड्ने काम अन्तिमसम्म रोकिएन ।

रिजल्ट पर्चामा लेखिएभन्दा फरक आएन । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई भोट नहाल्न भन्दै पर्चा बाँडिएको थियो । यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको थियो । उनीहरु कसैले पनि चुनाव जितेनन् ।

स्मरणीय छ शनिवार भोट माग्दै पर्चा बाँड्ने रावल पक्षका कार्यकर्तालाई ओली पक्षका कार्यकर्ताले बन्दसत्र हलको परिसरबाट धकेलेर सय मिटर पर रोड छेउ पुर्याएका थिए । तर, मंगलबार ओली पक्षले नै पर्चा बाँड्यो । यसको बचाउ स्वयं नवनिर्वाचित महासचिव शंकर पोखरेलले गरे । ‘त्यो (ओलीले बन्दसत्रमा पेश गरेको सूची) पार्टीको औपचारिक प्रस्ताव हो । अध्यक्षमण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै थियो । त्यसकारण पर्चा बाँड्ने कुनै अनौठो कुरा होइन’ महासचिव पोखरेलले भने ।

ओलीमय भएको एमालेको दशौं महाधिवेशनको माहोलमा डा.रावलको अडानमा साथ दिनेमा थप केही नेताहरु पनि थिए । जस्तै घनश्याम भुसाल, टंक कार्की लगायत । भुसाल वैचारिक नेता हुन् भने कार्की पुराना वामपन्थी नेता । कतिपयले ओलीमय महाधिवेशनमा पनि प्रतिनिधिहरु सचेत छन्, यी दुई नेतालाई जिताउँछन् कि भन्ने अनुमान गरेका थिए । तर, डा.रावललाई साथ दिएर चुनावमा जाने वातावरण बनाउन लागिपरेका यी दुवै वैचारिक नेता र पुराना वामपन्थी नेता दुवैलाई चुनावमा हराइदिए ।

चुनावी परिणामपछि डा.रावलले असहज वातावरणमा चुनाव लडेको स्मरण गरे । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले जुन वातावरणमा यो मत प्राप्त गरें, यसलाई महत्वपूर्ण ठानेको छु ।’

उपाध्यक्षमा बस्न आदेश !

डा.रावल अध्यक्षका प्रत्यासी थिए । तर, ओलीले डा.रावललाई सहमतिमा ल्याउने भन्दा उपाध्यक्षमा रहन निर्देशनात्मक शैली अपनाए । ओलीविरुद्ध जाँदा चुनाव जितिंदैन भनेर त्रास देखाए । अझ ओलीले एमाले फुट्दा साथ दिएका रावललाई महाधिवेशनमा स्थान दिएर सँगै लिएर जाने भन्दा पेलेर जाने रणनीति शुरुदेखि अपनाए । सोही अनुसार प्रतिनिधि छनोटमा एकलौटी गरे । डा.रावललाई उपाध्यक्षमा राखेर आफू सर्वसम्मत अध्यक्ष बन्न खोजे । यो कुरा स्वयं ओलीले प्रतिनिधिहरुलाई सुनाएका छन् । ‘भीम रावललाई कसैगरी कसैले सम्झाउन सकिएन । मैले बाध्य भएर पार्टी अध्यक्षको हैसियतले उपाध्यक्षमा उम्मेदवारी हाल्न आदेश दिन्छु पनि भनें । तर, मान्नुभएन’ आइतबार बिहान पौने चार बजेको समयमा बन्दसत्रमा पदाधिकारीको नाम पेश गर्नुअघि अध्यक्ष ओलीले भनेका थिए ।

ओलीले यसो भन्दै गर्दा बन्दसत्रमा होहल्ला भयो र सर्वसहमति हुनुपर्छ भन्ने आवाज ठूलो स्वरमा गुञ्जियो । त्यसपछि अध्यक्ष ओलीले थपे, ‘…र अझै पनि सिंगै हलको, सबै प्रतिनिधिको अभिमतभन्दा अन्यत्र नजान आग्रह गर्छौं ।’ फेरि हलमा उसैगरी होहल्ला मच्चियो । लगत्तै अध्यक्ष ओलीले रावललाई बोल्न समय दिए । डा.रावल नम्र भएर प्रस्तुत हुन्छन् । आफूले पार्टीलाई अन्तरहृदयमा राखेर अगाडि बढेको, आफूले कहिल्यै पनि पार्टी विभाजन नरोजेको प्रष्टीकरण दिन्छन् । माधव नेपालले नयाँ पार्टी गठन गर्दा साथ नदिएको भन्न उनी ‘विभाजनको चरणमा आफूले एमाले जोगाउन काँध थापेको’ दलिल गर्छन् र आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर धेरै अगाडि बढिसकेको भन्दै फर्किन नसक्ने बताउँछन् । ‘अध्यक्षमा मेरो उम्मेदवारी रहन्छ । मैले उम्मेदवारी घोषणा गरेर धेरै अगाडि बढिसकें अब म फर्किन सक्दिनँ’ रावलले भने ।

लगत्तै हलमा रावलविरुद्ध हुटिङ हुन्छ । ‘फर्किन नसक्ने गरी कहाँ पुग्नुभयो ?’ भनी प्रतिनिधिहरु चिच्याउँछन् । अध्यक्ष ओली प्रतिनिधिहरुलाई शान्त रहन आग्रह गर्छन् र भन्छन्, ‘अभिमत यहाँ पनि देखिन्छ । यसकारण पनि नउठ्नु राम्रो हुन्थ्यो । पार्टी जीवनका लागि एकता चाहिन्छ । नउठ्दा एकता प्रदर्शन हुन्थ्यो । तर, कमरेड रावलले हामी सबैको आग्रह र हलले भन्दा पनि उठ्छु भन्नुहुन्छ भने उठ्न दिनुपर्छ ।’

आइतबार बिहान करीब ४ बजे यस्तै दृश्यका बीच ओलीले १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पेश गरे । जसमा भीम रावल र घनश्याम भुसालको नाम थिएन । जसलाई हलले गडगडाहट तालीले समर्थन जनायो । त्यसपछि ओलीले निर्देश गरे, ‘यहाँ नाम पेश भएकाहरुले मात्रै उम्मेदवारी दिनुहोला ।’

‘बन्दसत्रमा नाम सुनाएर तिमीहरु मात्रै उम्मेदवार बन भन्नु जस्तो गैरराजनीतिक, गैरलोकतान्त्रिक कार्य के हुन्छ ?’ एमालेका एक नेता भन्छन्, ‘सोचेजस्तो भएन तर, केही न केही रुपमा प्रतिनिधिहरुले चुन्ने र चुनिने अधिकार पाए । यो डा.रावलको पनि जीत हो ।’

‘चितवनमा महाधिवेशन अवधिभर ओलीले रावलसँग एक्लाएक्लै भेटेर कसरी जाने ? भनेर कुरा नगरेको नेताहरु बताउँछन् । अध्यक्षमण्डलमा भेट भयो । र ओलीले आफू निकटका व्यक्ति मार्फत हार्ने चुनावका लागि ढिपी नगर्न, उपाध्यक्षमा रहन डा.रावललाई पटक-पटक सन्देश पठाए । ‘यो तरिका आफैंमा हेपाहा प्रवृत्तिको निकृष्ट रुप थियो’ रावल पक्षका एक नेताले भने ।

जति गर्दा पनि रावललाई रोक्न नसकेपछि अन्तिम अस्त्रका रुपमा ओलीले बन्दसत्र हलबाट रावललाई ‘पार्टीको म्यान्डेड’ भन्दै उपाध्यक्षमा रोक्न खोजेका थिए । तर, अडानमा कायमै रहेर रावलले अध्यक्षमा उम्मेदवारी दिए ।

रावललाई रोक्ने प्रयासका अनेक उपाय अपनाइए । सडकमा र बन्दसत्र हल परिसरमा ‘सर्वसम्मत हुनैपर्छ’, ‘केपी ओली जिन्दावाद’का नारा लागे । ‘भीम रावल गद्दार हुन्’ र ‘वी लभ यू केपी बा’का नारा पनि बन्दसत्र परिसरमा लाग्यो । भीम रावललाई सहमतिको बाधक भनेर प्रचार गरियो । उनकै कारण महाधिवेशन लम्बिएको र खर्च बढेको टिप्पणीहरु पनि गरिए । तर, निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र सार्ने काम ओलीकै निर्देशनमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले गरिनै रहे ।

१० गते नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गरेर ११ गते बिहान ८ बजेदेखि बन्दसत्र, मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र निर्वाचन प्रक्रिया अगाडि बढाउने तय भएको थियो । तर, सहमतिका नाममा १४ गते बिहान साढे ४ बजेपछि मात्रै मतदान शुरु भयो । यो बीचमा हरेक दिन बन्दसत्र परिसरमा सर्वसहमतिको नारा लाग्यो । भीम रावलको आलोचना भयो । तर, रावल डगमगाएनन् । चुनाव गराउनै नचाहने प्रवृत्ति पराजित भयो, चुनाव गराएरै छाड्ने रावलको योजना सफल भयो तर, रावल स्वयं चुनावमा भने पराजित भए ।

केन्द्रीय सदस्य पद अस्वीकार

पार्टी नेतृत्व चयनको विधिका लागि निकै मिहिनेत गरेका रावलले पदाधिकारीमा पराजित भए पनि विजयी भएको केन्द्रीय सदस्य पद अस्वीकार गरे । उनको आफ्नै तर्क छ- पदाधिकारीमा मात्रै उम्मेदवारी दिएको हुँ, जहाँ म हारें त्योभन्दा अर्को पदमा जित्ने भन्ने हुँदैन ।

तर, केन्द्रीय निर्वाचन आयोग प्रमुख सुब्बा भन्छन्, ‘पदाधिकारीमा उठ्ने स्वतः केन्द्रीय सदस्यको पनि उम्मेदवार भएको ठान्ने पार्टी विधान छ । त्यसअनुसार डा.रावल अध्यक्षमा पराजित भए, केन्द्रीय सदस्यमा विजयी भए ।

तर, रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे । आफूले शपथ लिएपछि अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गरे । अरु सबै उभिए तर, रावल उठेनन् ।

रावलको हकमा यस्तै दृश्य आठौं महाधिवेशनमा पनि देखिएको थियो । रावल उपाध्यक्षमा उठेका थिए पराजित भए तर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, अरु सँगै शपथ नलिएर केन्द्रीय सदस्य पद अस्वीकार गरेका उनले पछि त्यही केन्द्रीय सदस्य पद स्वीकार गरेका थिए । नवौं महाधिवेशनमा भने रावल सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भए ।

दशौं महाधिवेशनमा आइपुग्दा अध्यक्षमा पराजित भएका रावलले विजयी भएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । कतिपयले आठौंमा जस्तै रावलले पछि केन्द्रीय सदस्य पद स्वीकार गर्न सक्ने बताएका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment