+
+
राप्रपा महाधिवेशन :

नेपालमा उदारवादी शक्तिको ध्रुवीकरण मुश्किल छ, असम्भव छैन

अहिले नेतृत्वको देवत्वकरण अचाक्ली छ । भीम रावलहरूले जस्तो विद्रोह गर्न सक्ने नेता अब राजनीतिक दलभित्र कमै निस्कन्छन् । यद्यपि राप्रपा नेता राजेन्द्र लिङ्देनले यो प्रयास गरेका छन् कति सफल हुन्छन् भविष्यले बताउला ।

सुरेश आचार्य सुरेश आचार्य
२०७८ मंसिर १५ गते १४:४२

नेपालमा सम्वर्धनवादका लागि प्रशस्तै ठाउँ (स्पेस) छ । यसका पछाडि केही कारण छन् । नेपाल प्राचीनतम कालदेखि राजतन्त्रको लिगेसी बोकेर आएको देश हो । ४-५ हजार वर्षदेखि निरन्तर रहेको विरासत हालसालै संवैधानिक रूपमा टुक्रिएको मात्र हो । नेपाल विश्वका पुराना स्वतन्त्र देशहरूमध्ये १७औं देश हो । यो परम्परागत रूपमै चलिरहेको देश पनि हो ।

अर्को कुरा, नेपाल बहुसंख्यक हिन्दूहरू बसोबास भएको क्षेत्र हो । नेपालको सांस्कृतिक छटाहरू सामान्यतया वैदिक सनातन धर्मकै आधारमा सिर्जित हुन् । वैदिक सनातन धर्मको आधारमा नेपाली समाजको पुनर्संरचना भएको हो । वैदिक सनातन धर्मबाटै निसृत भएर यहाँको संस्कृतिको विकास हुँदै आएको छ । नेपालमा जुनसुकै संस्कृति बोक्ने समुदायले पनि कुनै नयाँ काम शुरु गर्दा श्री गणेशाय नमः भनेर शुरु गर्छन् । सामान्यतः धर्मको सम्बन्ध सम्वर्धनवादसँग हुन्छ । बौद्धिक क्षेत्रले सामान्यतः धर्मलाई सम्वर्धनवादसँग जोड्छन् । यो परम्परागत रूपमै यसरी नै सैद्धान्तीकरण हुँदै आएको छ ।

राजतन्त्रसँग जोडिएको नाभि

दक्षिणपन्थी शक्तिको जन्म नै राजसंस्थाको कारण भएको हो । युरोपमा जहाँ राजसंस्था थियो, त्यहाँ राजसंस्था पक्षधर शक्तिहरू संगठित भए । खासगरी परम्परा र धर्मसंस्कृति मान्ने शक्तिहरू एकातिर संगठित भए । अर्को पक्षमा यसको विरोधी वामपन्थी शक्तिहरू संगठित हुन थाले । त्यसैले राजतन्त्र नभएको देशमा दक्षिणपन्थी उभार नै शुरु भएन । एककिसिमले भन्दा दक्षिणपन्थी शक्तिको स्रोत राजसंस्था हो र यो शक्तिको नाभि नै राजतन्त्रसँग जोडिएको हुन्छ ।

अहिले नेतृत्वको देवत्वकरण अचाक्ली छ । भीम रावलहरूले जस्तो विद्रोह गर्न सक्ने नेता अब राजनीतिक दलभित्र कमै निस्कन्छन् । यद्यपि राप्रपा नेता राजेन्द्र लिङ्देनले यो प्रयास गरेका छन् कति सफल हुन्छन् भविष्यले बताउला ।

उदाहरणको लागि, नेपालमा राणा शासकको बेला एकप्रकारको समुदाय नै सिर्जना भएको थियो । राणाहरूका आसेपासेहरूको यो समुदायको छुट्टै वर्ग सिर्जना भएको थियो । त्यो कुलीन वर्ग थियो र उनीहरू काठमाडौंमा मात्रै सीमित थिए । तिनीहरू सबै दक्षिणपन्थी हुन् । राजतन्त्रको लिगेसी पनि यही हो । धर्म, संस्कृति र परम्परा निरन्तरतामा मान्ने तर यसलाई क्रमभंग नगर्ने शक्ति नै दक्षिणपन्थी हुन् । यसलाई क्रमभंग गरेपछि यो शक्ति दक्षिणपन्थी, सम्वर्धनवादी रहँदैन ।

समयले परीक्षण गरेका कुराहरू दक्षिणपन्थीहरूले मान्छन् । समय अनुसार परिमार्जित र परीक्षित भएर आएकोले समाजका लागि ती कुराहरू हानिकारक हुँदैनन् । हजारौं वर्षदेखि मानिआएको कुरा खराब हुन्थ्यो भने त पहिले नै मान्न छाड्थे नि भन्ने तर्क सम्वर्धनवादीहरूको हुन्छ ।

यूरोपमा कुनै बेला चर्च र राजाको सम्बन्ध हुन्थ्यो । १८औं शताब्दीभन्दा अगाडि प्रायः सबै देशहरू राजतन्त्र भएका थिए । अहिले पनि धेरै देशहरूमा राजतन्त्र छ । राजतन्त्र हुने देशको चर्चसँगको सम्बन्ध रहन्थ्यो । त्यो सन्दर्भमा, राजतन्त्रलाई परम्परा, धर्म र संस्कृतिलाई निरन्तरता दिने शक्तिको रूपमा मानिन्छ । बेलायतमा क्याथोलिक नभई महारानी नै हुन पाइँदैन । यसरी राजतन्त्रसँग चर्चको नजिकको सम्बन्ध हुन्थ्यो । कसैकसैले सम्वर्धनवादीलाई परम्परावादी शक्ति पनि भन्छन् । नेपालीमा अनुदारवाद पनि भन्छन् ।

नेपालमा भने धर्मले राजसंस्थालाई दिशानिर्देश गरेको थिएन । धार्मिक मान्यता अनुसार राजसंस्था चल्दैनथ्यो । संस्कृति र सामाजिक अवस्था अनुसार धर्मलाई राजसंस्थाले आत्मसात् गर्दै आएको भने थियो । राजनीतिक सवालमा राजसंस्थासँग धर्म मिसिंदैनथ्यो । नेपालका केही समुदाय, अन्य धर्म मान्ने मानिसहरूले हिन्दू धर्मलाई राजसंस्थासँग जोडेर व्याख्या गर्दै आए । किनकि यसो नगरी आफ्नो पक्षमा राजनीतिक प्रतिफल ल्याउन सकिंदैन भन्ने उनीहरूको बुझाइ रहँदै आएको छ । कम्युनिष्टहरूले पनि राजसंस्थालाई हिन्दू धर्मलाई एकदमै जोडेर लगेका हुन् । हिन्दू धर्मको सबैभन्दा प्रमुख संस्था राजसंस्था हो भनेर उनीहरूले प्रशिक्षित गर्दै लगे । यसरी उनीहरूले एकै प्रहारमा हिन्दू धर्म र राजसंस्थामाथि प्रहार गर्न सके ।

राप्रपालाई दक्षिणपन्थी शक्ति भन्ने गरिन्छ । तर दक्षिणपन्थी शब्दको विभिन्न परिभाषा छन् । राजनीतिक शब्दावलीको रूपमा दक्षिणपन्थी शब्दको प्रयोग फ्रान्सबाट शुरु भएको हो । फ्रान्सेली राज्य क्रान्तिको आसपास ‘राइटिस्ट’ शब्द प्रयोग गर्न थालियो । यसको व्याख्या नेपालीमा दक्षिणपन्थी भनेर भयो । फ्रान्समा राजसंस्थाको केही समयलाई पुनर्स्थापना भइसकेपछि बस्ने संसदमा सभामुखको दाहिनेतिर बस्ने राइटिस्ट र देव्रेतिर बस्नेहरू लेफ्टिस्ट मानिए ।

कम्युनिष्ट, समाजवादी, धर्म नमान्ने, कुलीनतन्त्र र राजतन्त्रको विरोध गर्नेहरू देव्रेतिर बस्न थाले । फ्रान्सका कुलीन वर्ग, पादरी, धर्मगुरु, राजतन्त्रवादीहरू र अति राष्ट्रवादीहरू दायाँतिर बस्न थाले । त्यसो त, राजनीतिक दक्षिणपन्थी, आर्थिक दक्षिणपन्थी, धार्मिक दक्षिणपन्थी र सांस्कृतिक दक्षिणपन्थीको फरक छुट्याउन सक्ने अवस्था छ ।

दक्षिणपन्थ र राप्रपा

हिन्दू राष्ट्र पुनर्स्थापना, राजसंस्था पुनर्स्थापनाको मुद्दा राप्रपाले उठाइरहेको छ । अमेरिकामा त्यहाँको संघीय प्रणालीको विरोध गर्नेलाई दक्षिणपन्थी शक्ति भनिन्छ । नेपालमा राप्रपाले पनि संघीयता खारेजीको माग गर्दै एकात्मक राज्य संरचनाको माग गरिरहेको छ । अमेरिकी परिभाषालाई हेर्दा राप्रपा दक्षिणपन्थी शक्ति हो । यसरी राप्रपा राजनीतिक, धार्मिक, सांस्कृतिक र आर्थिक रूपले पनि सम्वर्धनवादी शक्ति हो ।

दक्षिणपन्थी शब्दको प्रयोग दोस्रो विश्वयुद्धपछि विस्तारै हराउँदै गयो । यसपछि राजनीतिक शक्तिहरूलाई दक्षिणपन्थी भन्न छाडियो । त्यस्ता शक्तिहरूलाई विस्तारै कन्जर्भेटिभ शक्ति भन्न थालियो । हिटलर र मुसोलिनीको फाँसीवाद चलिरहेको बेलासम्म दक्षिणपन्थ प्रयोग गरिन्थ्यो । फाँसीवादको पतनपछि दक्षिणपन्थी भन्न छाडिएको हो र विस्तारै यसलाई कन्जर्भेटिज भन्ने शब्दले विस्थापन गरियो ।

बेलायत लगायतका केही विकसित देशहरूमा आर्थिक सम्वर्धनवाद अर्थात् इकोनोमिक कन्जर्भेटिज्म मान्नेलाई लिवरल पार्टी भन्न थालियो । हामी सीधा ढंगले लिवरलिज्मलाई उदारवाद भन्छौं । तर वास्तवमा आर्थिक शब्दावलीमा ठ्याक्कै उदारवाद नै नहुन सक्छ । यो भनेको एउटा स्वतन्त्र व्यापार व्यवसाय गर्न पाउने स्वतन्त्र व्यवसायका विषयहरू यसमा आउँछ ।

लिवरलिज्मको आधारमा कुरा गर्दा नेपाल दक्षिपन्थीभित्र पर्दैन । किनभने नेपालको अर्थतन्त्र अहिले स्वतन्त्र व्यवसाय जस्तो छ । तर पनि प्राइभेट र पव्लिक इन्टरप्राइजहरू पनि छन् । यसरी हेर्दा नेपालमा आर्थिक उदारवाद छ भनेर किटेर भन्न सकिंदैन । सम्वर्धनवादपछि थप समृद्ध भएर आएको शब्द उदारवाद हो । यसरी दक्षिणपन्थी हुँदै सम्वर्धनवाद भएर उदारवाद भन्ने गरिन्छ ।

यसरी जे नाम लिए पनि यी सबै शक्तिको संसारमा एउटै साझा एजेन्डा भनेको- एन्टी-कम्युनिष्ट हो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आजकल उसले आफूलाई वाम लोकतान्त्रिक शक्तिको रूपमा चिनाउन चाहन्छन् । खासगरी २०४६ सालपछि उनीहरूको कम्युनिष्टहरूसँग सरकार बन्यो । सँगै संघर्ष गरे । आन्दोलनमा सँगै गए । यसरी कांग्रेस बढी वामतिर ढल्कियो ।

नेपालको अन्तर्राष्ट्रिय एक्सपोजर अर्थात् विश्वव्यापी सम्पर्क २००७ सालदेखि हुनथाल्यो । पञ्चायत रहेसम्म यस्तो बाह्य सम्पर्क सीमित रूपमा मात्रै थियो । राज्य स्तरमा सामान्य विकास हुँदै गए पनि जनता-जनताको तहमा सम्पर्क कम नै थियो । बहुदल आएपछि र अझ २०६२/६३ पछि यहाँका प्रमुख दलहरूले नेपालमा युवालाई रोजगारी दिन सकेनन् । उनीहरूको नीति नै युवालाई बाहिर पठाउने भयो । गएको दुई दशकमा ८५ लाख नेपाली विदेश गएको तथ्यांक छ ।

अहिले सरकारको जानकारीमा रहेको वैदेशिक रोजगारमा जानेको संख्या ४५ लाख छ । यो त सरकारी माध्यमबाट जाने मात्र हुन् । यस्तो किन भयो ? यसको राजनीतिक कारण छ । यसरी विदेश जाने १६-४० वर्ष उमेर समूहका छन् । यसको प्रभाव समग्ररूपमा नेपाली समाजमा परेको छ । हाम्रो परम्परागत सामाजिक जीवनपद्धतिमा परिवर्तन आउन थालेको छ ।

राप्रपाको भविष्य

नेपाललाई कृषिप्रधान देश हो भनेर पढाइन्थ्यो । वैदेशिक रोजगारीको तीव्र गतिले कृषिप्रधान समाजमा रुपान्तरण आउन थाल्यो । अहिले धेरै खेतबारी बाँझै छन् । युवाहरू सबै बाहिर छन् । नेपालमा विगत एक डेढ दशकमा उदाएका राजनीतिक अभिजात वर्ग, टाठाबाठा वर्गको शासनमा हालीमुहाली हुनथाल्यो । जुनसुकै पार्टीको सरकार आए पनि त्यो वर्गको हालीमुहाली र दबाव सरकारमाथि हुनथाल्यो । वास्तवमा सरकार नै उनीहरूले अप्रत्यक्ष रूपमा सञ्चालन गर्न थाले ।

राज्यको नीति नै उनीहरूको अनुकूलतामा बन्न थाल्यो । यसैले लुटतन्त्र भयो, विधिको शासन भएन, देश बनेन भन्ने गुनासो सुनिन्छ । तर यसको विरोध गर्ने शक्ति नेपालमा छैनन् । मलेशिया र खाडी मुलुकमा छन् । बुढाखाडा र केटाकेटी आन्दोलन र हड्तालमा जान सक्दैनन् । आफ्नो अधिकारलाई दाबी गर्ने शक्ति स्वदेशमा नहुँदा एकप्रकारको शून्यता पैदा भएको छ । यसले शासक वर्गलाई आफ्नो अनुकूलतामा राज्य सञ्चालन गर्न सहज भएको छ ।

परम्परागत शक्ति भए पनि राप्रपाले यी मुद्दाहरूलाई उठाएर अगाडि जानुपर्ने हुन्छ । राप्रपाले यो शून्यतालाई परिपूर्ति गर्नुपर्छ ।

ध्रुवीकरणको सम्भावना

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको स्थापना र संघीयताको खारेजीको पक्षमा आफ्नो एजेन्डा तय गरेको छ । नेपालमा आफ्नो परम्पराको निरन्तरता चाहने ठूलो जनमत छ । राप्रपाको लागि ठूलो राजनीतिक स्पेस छ । यो स्पेस अहिले भ्याकुमको रूपमा रहेछ । राप्रपाले यसलाई परिपूर्ति गर्ने गरी अगाडि बढ्दा यसको भविष्य छ । राप्रपाले उठाएको एजेन्डालाई समाउने अरु कुनै पनि शक्ति नेपालमा छैन । वामपन्थी दल र कांग्रेस दुवैले यो एजेन्डालाई समाइरहेको छैन । यो राप्रपाको राजनीतिक अनुकूलता हो ।

कतिपयले केपी ओलीलाई दक्षिणपन्थी झुकाव राखेको भनेर आरोप लगाउँछन् । बरु, नेपाली कांग्रेसभित्र कैयौं केन्द्रीय सदस्यहरूले त हिन्दू राष्ट्र कायम गर भनेर पार्टीमा हस्ताक्षर नै बुझाएका हुन् । यस्तो सम्वर्धनवादी शक्ति कांग्रेसभित्र पनि छ । केही यस्ता शक्ति वामपन्थी शक्तिभित्र पनि छन् । राप्रपा मात्रै एक्लै छैनन् । यसरी हेर्दा राप्रपा बाहेक अरु सबै शक्ति प्रगतिशील पार्टीहरू हुन् भन्ने बुझाइ गलत छ ।

यसरी छरिएर रहेका सम्वर्धनवादी शक्तिको ध्रुवीकरणको सम्भावना तत्काल सम्भव छैन । राजा महेन्द्रको २०१७ सालमा चालेको कदमको कुरा र आजको अवस्था धेरै फरक छ । राजा महेन्द्र देशमा केही परिवर्तन ल्याउन चाहन्थे । किनकि उनी लामो समय राणाहरूको बन्धनमा थिए । उनमा देशभक्ति र देश विकासको मनोभावना थियो ।

बीपीको पुस्तक पढ्दा राजा महेन्द्र र उनका संवादहरू भेटिन्छन् । ‘बीपी बाबु तपाईं त धेरै भाग्यमानी मान्छे । तपाईंले संसारभरिका यति राम्रा पुस्तकहरू पढ्न पाउनुभएको छ । देश विदेश गर्न पाउनुभएको छ । म त २००७ सालसम्म राणाहरूको थुनुवामा बसें । पछि पनि पुस्तक पढ्न पाइएन । मेरो जीवन कहालीलाग्दो ढंगले बित्यो ।’

बीपीले जस्तो सुविधा सबै नेपालीले पाऊन् भन्ने चाहन्थे महेन्द्र भन्ने बुझ्न सकिन्छ । त्यतिबेला उनलाई केही गरेर देखाऊँ भन्ने हुटहुटी थियो । उनी राजनीतिक रूपमा धेरै सक्रिय थिए । उनी कांग्रेस र वामपन्थी दलभित्रका प्रायः सबै मानिसहरूसँग बाक्लो संवादमा थिए । उनले २०१७ सालको कदम चाल्नासाथ सबै नेताहरूमा ध्रुवीकरण आयो ।

कांग्रेसको १०९ सदस्यीय केन्द्रीय समितिमा झण्डै ७० जना सदस्य बीपी प्रधानमन्त्री हुँदाहुँदै महेन्द्रको सम्पर्कमा थिए । बहुमत नेता त महेन्द्रले राजनीतिक साँठगाँठ मार्फत खेलाउन थालेका थिए । तर अहिले म यस्तो सम्भावना देख्दिनँ । राजा रहँदा पनि त्यो राजनीतिक चलखेल गरेनन् । हटेपछि त्यस्तो क्षमता रहने कुरा भएन । अब नेपालमा राजनीतिक ध्रुवीकरण गराएर राजसंस्थाको पक्षमा विभिन्न पार्टीमा छरिएर रहेका प्रवृत्ति मिल्ने व्यक्तिहरू र हिन्दू धर्म मान्ने शक्तिलाई एकठाउँमा ल्याउन धेरै गाह्रो छ तर असम्भव भने छैन ।

राजनीतिक पार्टीहरूको अवस्था पनि पहिलाभन्दा फरक छ । खासगरी २०६२/६३ पछि राजनीतिक नेतृत्वले धेरै देवत्वकरण गर्दै गए । संस्थागत रूपमा नै देवत्वकरण गर्दै गए । पञ्चहरू र राप्रपाले राजसंस्थाको देवत्वकरण गरे भन्ने मान्यताको आधारमा राजसंस्था ढाले । यता राजनीतिक दलहरूमा यो प्रवृत्ति झन् मौलाएर गयो । त्यसको स्पष्ट छायाँ संविधान जारी गर्ने बेला थियो । त्यतिबेला ६०१ जना सांसदहरू भए पनि सबै जटिल विषयमा शीर्ष नेताहरूले निर्णय लिने गरी संविधानसभाले जिम्मेवारी लगाउँथ्यो । ५-६ जना नेताले निर्णय गर्ने र बाँकी सबैले थपडी लगाउने काम मात्र गर्थे । देवत्वकरणको शृंखला त्यहाँबाट झांगिंदै गएको छ ।

जब नेतृत्वको देवत्वकरण हुन्छ, तब त्यहाँबाट कुनै पनि शक्ति छुट्टिएर बाहिर निस्कन मुश्किल हुन्छ । देवत्वकरण गरेको नेताको शासनमा नै अभ्यस्त भएर बस्छ । उसले आफ्नो जीवन चलाउनका लागि नेताकै आदेशमा टिकेर बस्नुपर्ने हुन्छ । भीम रावलहरूले जस्तो विद्रोह गर्न सक्ने नेताहरू अब राजनीतिक दलभित्र कमै निस्कन्छन् । यद्यपि राप्रपा नेता राजेन्द्र लिङ्देनले यो प्रयास गरेका छन् र ध्रुवीकरण गर्छु भन्ने आँट देखाएका छन् । कति सफल-असफल हुन्छन्- भविष्यले बताउला ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?