+
+

डाक्टरको सुझाव- श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न शरीर न्यानो बनाइराखौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १३:३४

२१ मंसिर, काठमाडौं । चिसो मौसममा फोक्सो सम्बन्धी समस्या भएकाहरुलाई निक्कै जोखिम हुन्छ । अझ बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाडोयाममा अझ बढी सुरक्षित राख्नुपर्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको हकमा त चिसो मौसम झनै जोखिमपूर्ण हुन्छ ।

जाडो मौसममा हुने विभिन्न स्वास्थ्य समस्याबाट बच्न के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई थप जोखिम किन हुन्छ ?

जाडोको मौसममा बच्चा र बुढापाकालाई गाह्रो हुन्छ । विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएकोहरुलाई झन् गाह्रो हुन्छ । वायुमण्डलमा प्रदूषण अत्याधिक बढी हुन्छ । कुइरो लाग्ने हुँदा पर्याप्त घाम लागेको हुँदैन । मौसम ओसिलो भएको हुन्छ ।

त्यसले हाम्रो शरीरमा अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने प्रक्रियामा सुस्तपन ल्याउँछ । जसले गर्दा श्वासनली पनि खुम्चिन पुग्छ र अक्सिन नपुगेपछि गाह्रो हुन्छ । त्यसैले श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुका लागि जाडोयाम अलि जोखिमपूर्ण हुन्छ । नभएकाहरुमा पनि यो बेला श्वासप्रश्वास सम्बन्धी सर्ने तथा नसर्ने रोगहरु लाग्न सक्ने सम्भावना हुन्छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम

चिसो मौसममा बढी लाग्न सक्ने श्वासप्रश्वास सम्बन्धी रोग कुन-कुन हुन् ?

चिसोको कारणले दम, ब्रोङकाइटिस, निमोनिया लगायत सर्ने नसर्ने रोगहरुको उत्पत्ति हुन्छ । अक्सिजनको मात्रा कम हुने, कार्बनडाइअक्साइडको मात्रा थेग्न नसक्ने परिस्थतिमा फोक्सो सम्बन्धी रोग धेरै हुनसक्छ ।

यी समस्याबाट बच्न के गर्न सकिन्छ ?

मौसम परिवर्तन हुने समयमा हामी सजग र सतर्क हुनुपर्छ । जाडोयाममा आफ्नो शरीरलाई न्यानो बनाइराख्नुपर्छ । धुवाँधुलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, कोठा सफा राख्ने, धुलोबाट समस्या भएको हो भने कोठा सफा गर्दा पनि मास्क प्रयोग गर्न छाड्नुहुँदैन ।

न्यानो कपडा लगाउने, बस्ने स्थानलाई न्यानो बनाउने, सकेसम्म घाममा हिँड्ने, बिहान बेलुका गर्नुपर्ने काम सकेसम्म दिउँसो गर्ने, नुहाउँदा पनि तातोपानी प्रयोग गर्नुपर्छ । खानेकुरा पोषणयुक्त, तातो र झोलिलो खानुपर्छ । यी उपायहरु अपनाइयो भने आफूलाई सुरक्षित राख्न सकिन्छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुले डाक्टरको सुझाव अनुसार नियमति जाँच गर्ने र औषधि खाने गर्नुपर्छ ।

ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी श्वासप्रश्वास सम्बन्धी जोखिम बढी हुनुको कारण के छ ?

नेपालको हकमा भन्ने हो भने शहरी क्षेत्रमा धेरै किसिमले वायुमण्डलमा प्रदूषण भएको हुन्छ । विभिन्न खालको उद्योग, कलकारखानाको प्रदूषण, यातायातको प्रदूषण, भवन निर्माण प्रदूषण, धुँवाधुलोको प्रदूषणका कारण वायुमण्डल प्रदूषित भएको हुन्छ । यिनै वायुप्रदूषण हुने तत्वहरु ग्रामीण क्षेत्रमा नहुने भएकाले ग्रामीण क्षेत्रमा जोखिम कम हुन्छ ।

विकसित राष्ट्रमा यस्तो जोखिम कम हुन्छ । किनभने त्यहाँ व्यवस्थित शहरीकरण भएको हुन्छ । मानववस्ती भन्दा धेरै टाढा कलकारखानाहरु राखिएको हुन्छ । त्यहाँको सडक पनि सफा हुन्छ ।

अरु के के कारणले हुनसक्छ श्वासप्रश्वास सम्बन्धी समस्या ?

मुख्य वायु प्रदूषण, लामो समयसम्म छातीको रोगका कारण, धुँवा, धुलो, चिसो, फोहोरमैलाका कारण, हावा नछिर्ने कोठामा लामो समयसम्म बसिरहँदा श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ । खानेकुरा र लत्ताकपडाको धुलोबाट पनि एलर्जी हुन्छ । एलर्जी बढ्दै जाँदा श्वासप्रश्वास सम्बन्धी समस्या हुनसक्छ ।

श्वासप्रश्वास सम्बन्धी रोग पनि वंशाणुगत हुन्छ ?

दम सम्बन्धी समस्या वंशाणुगत हुनसक्छ । त्यसबाहेक श्वासप्रश्वास सम्बन्धी समस्या वंशाणुगत हुँदैन । जस्तो ब्रोङकाइटिस, निमोनिया, टन्सिल जस्ता समस्या त नितान्त चिसोको कारण हुने समस्या हुन् ।

चिसो स्थानमा बसोबास गर्नेहरुले कस्तो उपाय अपनाउन सक्छन् ?

त्यहाँ पनि अपनाउनुपर्ने उपाय त यिनै हुन् । किनभने त्यस्ता स्थानमा बसोबास गर्नेहरु त्यही मौसम भिजेका हुन्छन् । सकेसम्म न्यानो भएर बस्ने, धुँवाबाट जोगिने गर्नुपर्छ । के कारणले समस्या भएको हो, ती कुराहरुबाट टाढा बस्नुपर्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या पूर्ण रुपमा निको पार्न सकिन्न ?

समस्याको पहिचान समयमै भयो भने अवश्य हुन्छ । समयमा सल्लाह, उपचार गरियो भने निर्मूल पार्न सकिन्छ । तर, डाक्टरको सल्लाह, सुझाव सम्बन्धित व्यक्तिले इमान्दार भएर पालना गर्नुपर्छ । के कारण समस्या भएको हो, त्यही अनुसार डाक्टरले सुझाव, सल्लाह दिएको हुन्छ ।

तर चुरोट नपिउनु भनिन्छ, साह्रै तलतल लाग्यो एक पटक मात्रै तान्छु भनेर तानिरहेको हुन्छ । हामीले समस्या पहिचान गरेपछि सावधान रहनु भनिएका कुराबाट सावधान रहे मात्रै आधा समस्या समाधान भएको हुन्छ । त्यसमा थप औषधि उपचारको पनि भूमिका हुन्छ । यसरी गर्ने हो भने कुनै पनि खालको श्वासप्रश्वास सम्बन्धी रोग निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment