+
+

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

नेपाल र भारतका साइकल यात्रीहरुको सहभागिता रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ८:१४

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ ।

‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो ।

पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्रा हुनेबारेमा जानकारी दिएको छ । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकले पुष ३ गतेदेखि ५ गते सम्म साइकल यात्राको आयोजना गरिएको जानकारी दिए ।

पाठकले साइकल यात्रामा सुदूरपश्चिमसहित संघीय राजधानी काठमाडौँ लगायतका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत गरेर कम्तीमा पनि डेढ सय जनाको सहभागिता रहने बताए ।

उनकाअनुसार भारतको उत्तराखण्ड र पटनाबाट साइकल यात्रीहरू धनगढी आउनेछन् भने काठमाडौँ, पोखरा, नेपालगन्ज लगायतका स्थानबाट पनि यात्रीहरु यहाँ यहाँ आउनेछन् । धनगढीदेखि डोटीको बुडरसम्म दुई चरणमा साइकल यात्रा गरिनेछ ।

‘तीन दिनसम्म चल्ने साइकल यात्रालाई हामीले दुई चरणमा गर्नेछौँ,’ पत्रकार सम्मेलनमा बोल्दै पाठकले भने, ‘पहिलो चरणमा स्थानीय साइकल यात्रीहरुसमेत गरेर धनगढी–गोदावरी र दोस्रो चरणमा गोदावरीदेखि बुडरसम्म देशभित्र र बाहिरबाट आउने यात्रीहको सहभागिता रहनेछ ।’

प्रदेश सरकारले सञ्चालन गर्न लागेको साइकल यात्रामा कैलाली र डोटीका विभिन्न स्थानीय तहहरुले सहयोग गर्नेछन् । साइकल यात्रासँगै विभिन्न ठाउँमा स्थानीय संस्कृति झल्किने सांस्कृति कार्यक्रम तथा प्रर्दशनी समेत गरिने बताइएको छ ।

‘प्रकृति र संस्कृतिलाई साइकलिङसँग जोड्ने हामी प्रयास रहेको छ । सोहीअनुसार हामी ठाउँ ठाउँमा सांस्कृतिक झाँकी मार्फत स्थानीय मौलिक संस्कृति पनि देखाइनेछ ।’ पाठकले भने ।

साइकल यात्रामा फारवेस्टर्न राइडर्सको पनि समन्वय रहेको छ । फारवेस्टर्न राइडर्सका अध्यक्ष भरतविक्रम शाहले नेपालमै पहिलो पटक सुदूरपश्चिममा नेपाल र भारतबाट ठुलो संख्यामा साइकल यात्रीको सहभागिता गराएर साइकल यात्राको आयोजना गर्न लागेको बताए ।

‘हामीले यसअघि पनि साइकल यात्राको माध्यमबाट पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आइरहेका थियौँ,’ शाहले भने, ‘नेपाल र भारतका साइकल यात्रीहरुलाई सहभागि गराउन लागेको यो पहिलो हो । यसले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन हुनेमा हामी विश्वस्त छौँ ।’

साइकल यात्रामा सहभागि हुनेहरुका लागि प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले शुक्रबारदेखि नै अनलाइन रजिष्टेशन खोलिसकेको जनाएको छ । शुक्रबार मात्र ३० भन्दा बढि साइकल यात्रीले रजिष्टेशन भरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?