
२६ मंसिर, काठमाडौं । मध्यान्हको न्यानो घाम तापेर आगन्तुकहरूसँग गफ गरिरहेका थिए, साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी । जाडो महिनामा साँझ-बिहान कोठाबाहिर ननिस्किए पनि दिउँसो आँगनको न्यानो घाम ताप्न जोशी बाहिर आउँछन् ।
‘घाममा ठूलो शक्ति लुकेको हुन्छ,’ भेट्न आउनेहरूसँग जोशी भन्दै थिए, ‘हिन्दू, मुस्लिम, इसाई सबैले घामको आराधना गर्छन् । विज्ञानले पनि घामबाट भिटामिन-डी प्रत्यक्ष पाइने तथ्य बताएको छ ।’
बिहान दश-एघार बजेतिर नियमित घाम ताप्ने गरेका सत्यमोहनको बिहानी समय भने पूजापाठमा नै बित्छ । दिउँसो कार्यक्रम तथा भेटघाट र अपरान्हको समय लेखपढ गरेर बिताउँछन् । राति नौ बजे आसपास सुत्ने र बिहान पाँच बजे उठ्ने उनको दैनिकी हो ।
१०२ वर्षको उमेरमा पनि जोशी अझै फूर्तिला छन् । उनको कुराकानी सुन्नेले समय बितेको पत्तै पाउँदैन । आफू बालक हुँदाको बिफर महामारीदेखि कोरोना महामारीसम्मको कुरा गर्दै उनी आगन्तुकसँग गफिन्छन् ।
यो उमेरमा पनि जोशी आफैं हिँड्न सक्छन्, लेख्न, किताब पढ्न र रेडियो-टेलिभिजनलाई अन्तर्वार्ता दिन्छन् । निरोगी जीवनबारे धेरैले एउटै प्रश्न बारम्बार सोधेपनि जोशीको जवाफ एउटै हुन्छ, ‘आफ्नो विश्वास आफैंले गर्न सक्ने हिम्मत भयो भने बाँच्न सकिन्छ ।’
शताब्दी लामो जीवनकालमा विरलै मात्र अस्पताल गएका छन् उनी । बुढ्यौलीका कारण देखिने सामान्य स्वास्थ्य समस्याबाहेक अन्य रोग छैन । गत जेठ २६ गते ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिन अस्पताल बसेका थिए उनी । त्यसयता उनको स्वास्थ्य स्थिर छ ।
यद्यपि कोरोना महामारीको सन्त्रासमा समेत जोशी डगमगाएनन् । खोप कार्यक्रम शुरु हुनेबित्तिकै भेरोसिल खोपको दुवै डोज लगाएर केही महिना घरभित्रै बसे । अहिले चाहिं भेट्न आउनेहरूसँग टाढै बसेर ठूलो स्वरमा कुरा गर्छन् । मास्क लगाएर तस्वीर खिच्न तयार हुन्छन् ।
साहित्यिक-सांस्कृतिक कार्यक्रम गर्न चाहनेहरू जोशीकै घर वखुम्बहाल आई आँगनमा पाल टाँगेर कार्यक्रम गर्छन् । जोशी पनि आफ्नो आँगनमा भएका कार्यक्रममा सहभागी हुन्छन् ।
कोरोनाका कारण जोशीले चिनेजानेका धेरै आफन्तको निधन भयो । जसले आफूलाई दुःखी बनाएको बताउँदै उनी भन्छन्, ‘मृत्यु सत्य भएपनि अकाल मृत्युवरण असह्य हुन्छ । तर सृष्टिको नियम बुझेर हामीले जीवन चलाउनुपर्छ ।’
जस्तोसुकै विपद्लाई पनि हिम्मतका साथ सामना गर्नुपर्ने उनी बताउँछन् । समवयी आफन्त तथा साहित्यकारको निधन हुँदा विचलित नभएका जोशी ‘आत्मविश्वास’लाई साथी बनाएर बाँचिरहेको कुरा सगौरव बताउँछन् ।
‘आत्मविश्वासलाई साथी बनायो भने तपाईं एक्लो पर्नुहुन्न,’ उनी भन्छन्, ‘कठिनभन्दा कठिन परिस्थिति आत्मविश्वासले मात्र पार लगाउन सकिन्छ । यो गुण व्यवहारमै लागू गर्न सक्नुपर्छ ।’
सरलता नै दीर्घजीवन
सत्यमोहन आफ्नो दीर्घजीवनको रहस्य ‘सरलता’लाई मान्छन् । कुनै पनि काम गर्दा तडकभडक नगर्ने, आहारविहारमा ख्याल गर्ने तथा अधिक महत्त्वाकांक्षा नराख्ने गर्यो भने जीवन सरल हुने उनको अनुभव छ ।
बाँच्ने शैलीदेखि पेशा-व्यवसाय तथा खानपिनमा सरलता लागू गर्नुपर्ने उनी बताउँछन् । नेवारी परिकारका सौखिन जोशी जे खानेकुरा खाँदा पनि खटन अनुसार मात्र खान्छन् । कति समय बिराएर मासु खाने, कुन बेला कति मात्रामा ऐला (घरेलु नेवारी रक्सी) खाने पहिल्यैदेखिको रुटिन छ उनको । काठमाडौंबाहिर जाँदासमेत त्यसमा तलवितल हुन दिँदैनन् ।
जोशी भनिरहेका हुन्छन्, ‘स्वस्थ हुने कुनै जादू छैन । जे गरिन्छ एकसुरमा गर्ने, जे खाइन्छ मात्रा अनुसारमात्र खाने गर्यो भने स्वस्थ भइन्छ ।’
यद्यपि आफूले बनाएको रुटिनलाई दैनिक जीवनमा लागू गर्न उनी सुझाउँछन् । जीवनशैलीलाई बानीको रुपमा विकास गर्न सके मात्र स्वस्थ बन्न सकिने उनी बताउँछन् । जोशीका अनुसार युवा अवस्थादेखि नै सानाभन्दा साना कुरालाई बानीको रुपमा विकास गर्न सक्यो भने जीवनभरि त्यही बानी बस्छ । एउटै जीवनशैली बन्छ ।
जस्तो, धेरैले जोशीले लगाउने गरेको टोपी र दौरा सुरुवालको ख्याल गरेका हुँदैनन् । तर उनी दशकौंअघिदेखि एकैखालको टोपी र दौरा सुरुवाल लगाउँछन् । हिँड्न सजिलो होस् भनेर प्रायः हलुका सोल भएको कपडाको जुत्ता प्रयोग गर्छन् । कोरानाअघि प्रत्येक दिन घरदेखि पाटन कृष्णमन्दिरसम्म हिँड्थे । अहिले घरकै सेरोफेरोमा यताउति हिँडडुल गर्छन् ।
लयबद्ध जीवनको पर्याय बनेका जोशी भनिरहेका हुन्छन्, ‘जीवन भनेको बाँच्दै जाने सिक्दै जाने कुरा हो । सरल बन्न सक्यो भने जीवन साँच्चै सहज हुन्छ ।’
(प्रस्तुति : निर्भीकजंग रायमाझी)
प्रतिक्रिया 4