+
+

महाधिवेशनको तीन रङ्गमञ्च : एकै प्रहसन

दिनेश भुसाल दिनेश भुसाल
२०७८ पुष १ गते १३:२१

हालै नेपालका तीन प्रमुख राजनैतिक शक्तिहरूले आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गरेका छन् । संसदीय अङ्कगणितमा सबैभन्दा ठूलो नेकपा एमालेले कर्मकाण्डी महाधिवेशन सकिसकेको छ ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस सक्ने प्रक्रियामा छ । संसदीय राजनीतिमा विलुप्त जस्तै रहे पनि वर्तमान राजनैतिक व्यवस्थाप्रति विमति राख्दै परम्परागत शक्तिको रूपमा राजतन्त्रकै पुनरावृत्ति चाहनेहरूको प्रतिनिधि शक्तिको रूपमा स्थापित राप्रपाले पनि आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ । राजनैतिक एजेण्डाका हिसाबले मूलधार भइकन पनि अस्तित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको माओवादी महाधिवेशनको प्रक्रियामै रहेको छ ।

दलीय राजनीतिक व्यवस्था भएका देशहरूमा दलका महाधिवेशनहरूले राष्ट्रिय महत्व राख्दछन् । त्यसमाथि पनि प्रायः सबै राजनैतिक दलहरूको महाधिवेशन एकै समयमा आयोजना भएको हुनाले देश नै महाधिवेशनमय हुन पुगेको छ ।

दलको महाधिवेशनले निर्क्योल गर्ने राजनैतिक कार्यदिशाको प्रभाव सरकारका कार्यक्रमहरूमा पनि प्रतिबिम्बित हुने भएकाले दलको महाधिवेशन दलका कार्यकर्ताहरूको मात्र नभई आम नागरिकको चासोको विषय बन्न पुग्दछन् ।

नेकपा एमाले
स्वेच्छाचारिताको अनुमोदन र पश्चगमन-अत्यन्त छोटो समयमा हजारौं प्रतिनिधि र लाखौं मानिसको उपस्थितिमा दुई वटा महाधिवेशन सम्पन्न गरेर शानका साथ एमालेले आफ्नो संस्थागत सामथ्र्य प्रदर्शन गर्‍यो । तर, एउटा कम्युनिष्ट पार्टीको रूपमा आफूलाई जीवित राख्न र राष्ट्रिय राजनीतिका अनेकन् समस्याको समाधानार्थ स्पष्ट कार्यदिशा पहिचान गर्न भने एमाले महाधिवेशन पूर्णतया असफल रह्यो ।

एकता र विभाजन अनि सत्तारोहण र बहिर्गमनका नाटकीय परिदृश्यहरूका मूल नायक केपी ओलीको राजनैतिक चरित्र नेपाली राजनैतिक इतिहासमा ठूलै बहसको विषय बन्ने निश्चित नै छ । तर एमालेले समीक्षाका लागि ‘उपयुक्त समय’को प्रतीक्षा गर्दै सरकार र पार्टी प्रमुखका रूपमा ओली नेतृत्वले सिर्जना गरेका अनेकौं प्रश्नमाथि बहस गर्न आवश्यक नै ठानेन ।

बरु ओलीका हरेक स्वेच्छाचारी कदमहरूलाई ओली विचारका रूपमा संस्थागत गर्दै समग्र पार्टीलाई नै ओली लाइनमा हिंडाउने र ‘ओली नै नीति ओली नै विधि’ को पश्चगामी यात्रा तय गर्दै एमाले महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशन सकिंदा प्रतिनिधिहरूले जुन उत्साह र वैचारिक ऊर्जा लिएर फर्किन पाउनुपर्थ्यो , त्यसको विपरीत वैचारिक शून्यता र असफल नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएर घर फर्किएका प्रतिनिधिले अध्यक्ष ओलीले चाहे जस्तो आगामी निर्वाचन मार्फत पुनः एमालेलाई जनादेश मार्फत सरकारमा फर्काउने कुनै आधार तय गरेको देखिंदैन ।

ओली बढी बोल्छन् तर काम गर्दैनन् । देउवा न बोल्छन् न काम गर्छन् । दुवैले आफूलाई निर्विकल्प ठान्छन् । फरक यत्ति छ कि एउटा माक्र्सवादको पछ्यौरी ओढ्छन्, अर्कोले प्रजातान्त्रिक समाजवादको । तर बिडम्वना नागरिकहरू दुवैको पछ्यौरी उस्तै देख्छन्– रङ उडेको र प्वालै प्वाल परेको । उनीहरू त्यस्तो नेतृत्वको प्रतीक्षामा छन् जसले ती पछ्यौरीहरूलाई मायाले अँगालोस्, रङ भरोस् र प्वाल टालोस् ।

नवौं महाधिवेशनबाट पारित र विधान महाधिवेशनबाट थप प्रष्ट पारिएको नेपाली समाजको आर्थिक, राजनैतिक चरित्र सामन्तवादको अन्त्य भई पूँजीवादी चरणमा प्रवेश गरिसकेको र पूँजीवाद दलाल पूँजीवादको स्वरुपमा रहेको निष्कर्ष एमालेको पाँचौं महाधिवेशन यताको सबैभन्दा ठूलो वैचारिक उपलब्धि हो । तर महाधिवेशनले यो विचारका प्रवर्तकहरूलाई फड्के किनाराका साक्षीहरूमा सीमित गरिदिनुका साथै उद्घाटन स्थलमा जुटाइएका लाखौं कार्यकर्तालाई नेपाली समाजमा अझै पनि सामन्तवादको अवशेषहरू हटाउन बाँकी नै रहेको रटान घोकाइयो ।

यसरी व्यवहार र विचार सर्वत्र पश्चगमनको प्रवद्र्धन गर्दै एमाले महाधिवेशन सम्भवतः इतिहासको सबैभन्दा खल्लो महाधिवेशनका रूपमा सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
अवसरवादको अधोगति र नयाँ नेतृत्व– राजा सहितको प्रजातन्त्र र धर्मनिरपेक्षताको खारेजी गर्दै हिन्दू राज्यको पक्षपाती राप्रपामा खासै वैचारिक बहस बाँकी देखिंदैन ।मुलुकले भोगिरहेका आर्थिक, सामाजिक समस्याहरू हल गर्ने स्पष्ट मार्गचित्र नभएको राप्रपाले ती विषयहरूमा बहसको आवश्यकता पनि देखेन ।

कुनै समय दुई दर्जन बढी स्थानमा जीत हासिल गर्दै देशको तेस्रो शक्तिका रूपमा स्थापित राप्रपा अहिले एक सिटमा खुम्चिनुमा अध्यक्ष थापाको ढुलमुले र अवसरवादी चरित्र नै जिम्मेवार रहेको ठहर गर्दै उनलाई दण्डित गर्न भने राप्रपा प्रतिनिधिहरू सफल भएका छन् ।

राप्रपाका प्रतिनिधिहरूले कमल थापाले हिन्दुत्व र राजालाई आफ्नो राजनैतिक स्वार्थसिद्धिका लागि मात्रै उपयोग गरेको आरोप सहित उनलाई पार्टी अध्यक्षबाट बिदा गरे । नयाँ र विवादमा नमुछिएका राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउँदै हाल देशले भोगिरहेका आर्थिक, सामाजिक समस्याहरूको निकासको स्पष्ट कार्ययोजना पस्किन सके भने धीमा गतिमै भए पनि राप्रपाले आफ्नो उपस्थिति थप बलियो बनाउन सक्ने देखिन्छ ।

मूल धारका राजनीतिक दलहरूको आन्तरिक किचलो र मानिसहरूको व्यवस्थाप्रतिको बढ्दो वितृष्णाबाट दक्षिणपन्थी राजनैतिक दल राप्रपाले राजनैतिक लाभ लिनसक्ने सम्भावना देखिन्छ ।

नेपाली कांग्रेस
सत्ता र शक्तिसामु लम्पसार आदर्श– कांग्रेस बन्न बीपी, समाजवाद र प्रजातन्त्र (लोकतन्त्र) जपे पुग्छ । योभन्दा बढी वैचारिक बहस कांग्रेसमा देखिंदैन । महाधिवेशनमा पनि कुनै वैचारिक सैद्धान्तिक बहस भएन ।

देउवा क्याम्पका महारथीहरू महेन्द्रनारायण निधि र प्रकाशमान सिंहले नेतृत्व परिवर्तनको एजेण्डा सहित देउवा विरुद्ध उम्मेदवार बनेपछि यसपटक कांग्रेसमा नयाँ पुस्ता नेतृत्वमा आउने आकलन त्यतिबेला गलत सावित हुन पुग्यो जब सत्ता र शक्तिको उधारो बैना पत्रमा दुवै महारथीहरूले ल्याप्चे लगाए ।

इतिहासमा पटक–पटक अक्षम सावित भइसकेका देउवालाई नै काँध थाप्न उनीहरू हिच्किचाएनन् । कांग्रेस र देशलाई यथास्थितिको बन्धक बनाएका उनीहरूले आफ्नै पारिवारिक अग्रजहरूले स्थापित गरेका त्यागका मानकहरू समेत भत्काएको आरोप स्वयं कांग्रेसजनहरूले लगाइरहेका छन् ।

आगामी दिन उनीहरूका लागि प्रत्युत्पादक हुने संकेत गर्दै उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले भनेका छन्– १४औं अधिवेशनले धेरै खम्बा ढलायो, अब १५औं अधिवेशनमा कसैलाई देख्नुपर्ने छैन ।

साझा नियति
खासगरी मुख्य राजनीतिक दल एमाले र नेपाली कांग्रेसको महाधिवेशनले यथास्थितिलाई नै अनुमोदन गर्‍यो । अध्यक्ष ओलीले आलोचक र प्रतिस्पर्धीलाई पार्टीमा रहनै नसक्ने परिस्थिति निर्माण गरे र आफू सर्वशक्तिमान भएको हुँकार गरिरहेछन् ।

सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोगलाई आफ्नो अक्षमता ढाक्ने पछ्यौरी बनाउँदैछन् । ओली बढी बोल्छन् तर काम गर्दैनन् । देउवा न बोल्छन् न काम गर्छन् । दुवैले आफूलाई निर्विकल्प ठान्छन् ।

फरक यत्ति छ कि एउटाले माक्र्सवादको पछ्यौरी ओढ्छन्, अर्कोले प्रजातान्त्रिक समाजवादको । तर बिडम्वना नागरिकहरू दुवैको पछ्यौरी उस्तै देख्छन्-रङ उडेको र प्वालै प्वाल परेको । उनीहरू त्यस्तो नेतृत्वको प्रतीक्षामा छन् जसले ती पछ्यौरीहरूलाई मायाले अँगालोस्, रङ भरोस् र प्वाल टालोस् ।

लेखकको बारेमा
दिनेश भुसाल

नेकपा एमाले आवद्ध भुसाल देवचुली नगरपालिका–१२ का वडाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?