+
+

विद्यालयको मेनु : बालबालिकालाई कस्तो खाना-नास्ता खुवाइन्छ ?

नुनुता राई नुनुता राई
२०७८ पुष ६ गते १२:५४

६ पुस, काठमाडौं । उपत्यकाको नाम चलेको विद्यालयमध्ये एक हो, यूलेन्स स्कूल । यो विद्यालयमा दिवा आवासीय अनिवार्य गरिएको छ । विद्यालयले महीनाभरको ‘मेनु’ अभिभावकलाई पठाउने गरेको छ । यही स्कूलका अभिभावक सिल्भा बानियाँ मेनु अनुसार खुवाएको अथवा नखुवाएको बारे आफैंले गएर नहेरेको बताउँछिन् ।

बानियाँ भन्छिन्, ‘मैले अहिलेसम्म गएर नै त हेरेकी छैन । नानीबाबुहरूलाई पनि समस्या आएको छैन । विद्यालयले त्यस्तो बद्मासी गर्दैन भन्ने विश्वास छ ।’ कक्षा ४ र ९ मा पढ्ने छोराछोरीलाई पनि आज के खायौ भनेर कमै सोध्ने गरेकी छिन् ।

यूलेन्सले पनि अभिभावकले त्यसरी नसोध्ने जानकारी दिएको छ । विद्यालय भन्छ- ‘कहिलेकाहीं बच्चा सञ्चो नभएको अवस्थामा अभिभावकले यस्तो खानेकुरा दिनुभएको रहेछ । त्यो अबदेखि नदिनुहोला भन्नुहुन्छ अरू त खास त्यस्तो गुनासो आउँदैन ।’

यूरो स्कूल जहाँ भर्खरै धेरै विद्यार्थी बिरामी भएको भन्ने समाचार आएको थियो; त्यही विद्यालयका एक अभिभावक विद्यालयप्रतिको विश्वासका कारण आफैं गएर नहेरेको बताउँछन् । तर यो घटनाले गर्दा अब चाहिं जानुपर्ने रहेछ भन्ने उनलाई लाग्न थालेको छ । उनी भन्छन्, ‘हामीले लापरबाहीले भन्दा पनि विद्यालयप्रतिको विश्वासको कारण नगएको हो । तर अब चाहिं विचार गर्नुपर्ने रहेछ । जानुपर्ने रहेछ भन्ने लागेको छ ।’

उनको कक्षा ४ मा पढ्ने छोरालाई केही दिनअघि झाडाबान्ता भएको थियो । बच्चालाई झाडाबान्ता हुँदा पनि कोभिड विरुद्घको खोप लगाएकोले हो कि भन्ने आशंकाले केही दिन चूप लागेर बसेको उनी बताउँछन् । भन्छन्, ‘शुरूमा त कोभिड विरुद्घको खोपको कारण यस्तो भएको हो कि भन्ने लागेको थियो । तर पछि धेरै जना बच्चामा यस्तो भएको भन्ने सुनेपछि चाहिं झस्केका थियौं ।’

यो घटना विद्यालयकै कमजोरीका कारण भएको अधिकांश अभिभावकले अनुमान गरेका छन् । अनुगमनको क्रममा पनि लेबलिङ नगरिएको पाउरोटी खुवाएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको थियो । त्यसपछि भने अभिभावकहरूले निरन्तर सोधखोज गर्ने मनसाय बनाएको बताउँछन् ।

नयाँबानेश्वरस्थित नोबेल एकेडेमीले अभिभावकको आवश्यकता अनुसार बालबालिकालाई खाना खुवाउने गरेको छ । विद्यालयले मासिक मेनु अभिभावकलाई पठाउने गरेको एकेडेमिक को-अर्डिनेटर शोभाकर भण्डारी बताउँछन् । उनी भन्छन्, ‘हामी मेनु पठाउँछौं । कतिपय अभिभावक बेला-बेला बुझ्न पनि आउनुहुन्छ ।’

तर सोही स्कूलका एक अभिभावक भने आफू अहिलेसम्म सोध्न नगएको बताउँछन् । भन्छन्, ‘शुरूमा नानी भर्ना गर्ने बेला किचन हेर्दा सफा नै थियो । केही दिनअघि भने नानीले दाल चिसो पिउँदा भमिट गरें भनी । मेनु अनुसार दिएर मात्रै हुँदैन चिसो, तातो पनि ख्याल गर्नुपर्छ ।’ त्यसपछि विद्यालयमाथि पूर्ण रूपमा विश्वास गरेर नहुने रहेछ भन्ने महसुस गरेको बताउँछन् ।

एन प्याब्सन ललितपुरकी अध्यक्ष तारा थापा अभिभावकको माग, आवश्यकता अनुसार विद्यालयले बालबालिकालाई खाजा, खाना खुवाउने गरेको बताउँछिन् । दश जनाभन्दा बढी अभिभावकले बालबालिकालाई खाजा, खाना खुवाउन आग्रह गरेको अवस्थामा विद्यालयले खुवाउने गर्छन् ।

अधिकांश विद्यालयले अभिभावकको चाहना अनुसार नै विद्यालयमा खाजा, खाना खुवाउने गरेको उनको भनाइ छ । खाजा, खाना खुवाउने विद्यालयहरूमा पनि अभिभावकले सोधखोज गर्ने क्रम बढेको उनी बताउँछिन् । भन्छिन्, ‘आजभोलि अभिभावक धेरै सचेत हुनुभएको छ । किचन खुला हुनुपर्ने, बालबालिकाले खाने खाना अभिभावकले पनि टेष्ट गर्न पाउनुपर्छ । गर्नुहुन्छ । विद्यालयले लापरबाही गर्ने सम्भावना कम हुन्छ ।’

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ ले विद्यालयमा प्रयोग हुने खाना, आवास/होस्टेलमा खुवाउने खानाको गुणस्तरको कम्तीमा महीनामा एक पटक जाँच गराउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै दिवा तथा आवासीय विद्यार्थीका लागि स्वस्थकर खाजा खुवाउने व्यवस्था गर्नुपर्ने, खाजा विद्यालयको क्यान्टिनमा तयार गरेर वा विद्यार्थीले घरैबाट तयार गरी ल्याएको प्रयोग गर्न सक्ने, खाजाको रूपमा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका जंक फूड जस्ता तयारी खाजालाई निरुत्साहित गर्नुपर्ने जनाएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?