+
+

महाधिवेशनपछिको कांग्रेस : परिपक्व नेतृत्व, ऊर्जाशील सारथि

नेतृत्व पुस्तान्तरण र रुपान्तरणको एजेण्डा अनुमोदन

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष ७ गते ८:१०

७ पुस, काठमाडौं । ‘यसपटक हामीले सम्झौता गर्ने हो, १५ औं महाधिवेशन हाम्रै हो,’ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले ‘युवा’ नेताहरुसँगको छलफलमा राखेको अभिव्यक्ति हो यो ।

महाधिवेशनको रापताप बढिरहेका बेला पार्टीभित्र ध्रुवीकरण र गुटबन्दी बढ्न सक्नेतर्फ सजग रहँदै साउन ३२ गते कांग्रेसका संस्थापन र इतर पक्षका दुई दर्जन युवा नेताहरुबीच सामूहिक छलफल भएको थियो । उक्त छलफलमा नेता भण्डारीजस्तै सबै नेताहरुको साझा मत थियो- यसपटक हामीले भनेजस्तै गरी पार्टीमा रुपान्तरण सम्भव नहोला तर अर्काे महाधिवेशनपछि कांग्रेस चलाउने नै हामीले हो ।

१३ औं महाधिवेशना सुषुप्तरुपमा उठेको पुस्तान्तरणको मुद्दा यसपटक निकै पेचिलो गरी उठ्यो । तर ‘युवा’ नेताहरु नै नेतृत्व पुस्तान्तरण र कांग्रेस रुपान्तरणको मुद्दा १४ औं महाधिवेशनबाटै सम्बोधन हुनेमा ढुक्क थिएनन् । युवा नेताहरु यसपटक पहिलो र दोस्रो पुस्ताका नेताहरुसँगै मिलेर जाने र १५ औं महाधिवेशनमा आफूहरुकै कब्जामा पार्टी सत्ता आउनेमा विश्वस्त देखिन्थे ।

नेतृत्वमा नयाँ पुस्तालाई समेट्न नसकेको, परम्परागत शैली र सोचबाट पार्टी सञ्चालन भइरहेको आरोप कांग्रेसमाथि लाग्दै आएको छ । जसका कारण राजनीतिभन्दा बाहिर रहेका नयाँ पुस्ता र नयाँ मतदाताको रोजाइमा कांग्रेस पर्न नसकेको चर्चाका बीच १४ औं महाधिवेशनले नै नेपालको जेठो पार्टी कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरणको मुद्दालाई स्थापित गरिदिएको छ ।

१३४ पदका लागि भएको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छैन तर पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य पदको नतिजाबाटै प्रष्ट हुन्छ, कांग्रेस रुपान्तरणको मुद्दा महाधिवेशनबाट अनुमोदन भएको छ । कांग्रेसको क्रियाशील सदस्यतामा युवा पुस्ताको संख्यात्मक बढोत्तरी र नेतृत्व चयन प्रक्रियामा उनीहरुको उपस्थिति र सहभागिताले कांग्रेसलाई बदलिन बाध्य बनाएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

रुपान्तरण र पुस्तान्तरणको एजेण्डा अनुमोदन

कांग्रेसको मूल नेतृत्व पुरानै भए पनि पदाधिकारीमा नयाँ अनुहारको बाहुल्यता रहेको छ । १३ पदाधिकारीमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् भने उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का यसअघि महामन्त्री थिए । बाँकी ११ जना कांग्रेस पदाधिकारी नयाँ अनुहार हुन् । त्यस्तै कांग्रेसको खुला ३५ सदस्यका लागि भएको निर्वाचनमा १६ नयाँ अनुहारले केन्द्रीय समितिमा प्रवेश पाएका छन् ।

१३ औं महाधिवेशनमा खुला २५ मा जम्मा दुई जनामात्रै नयाँ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रमेश लेखक र विश्वप्रकाश शर्मा मात्रै खुला केन्द्रीय सदस्यमा नयाँ अनुहार थपिएका थिए । यसपटक खुलातर्फ मात्रै नभएर अन्य समावेशी आरक्षण तर्फ पनि झण्डै आधा नयाँ अनुहार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

‘यसपटक महाधिवेशनबाट आएको चुनावी परिणामले मूल नेतृत्व अनुभवी र परिपक्व खोजेको पाइयो भने त्यसपछिको नेतृत्वमा युवाहरुलाई अगाडि बढाउन खोजेको देखिन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘मूल नेतृत्वमा देउवा अनुभवी र परिपक्व हुनुभयो । उपसभापति खड्का पार्टी संकटमा परेका बेला जिम्मेवारीपूर्वक समन्वय गर्न सक्ने छवि भएका व्यक्ति हुन् भने बाँकी ११ पदाधिकारीमा सबै नयाँ पुस्ताका नयाँ अनुहार आउनु भएको छ ।’

कांग्रेसभित्र देउवाको नेतृत्वको निरन्तरतालाई कतिपयले आलोचनाको विषय पनि बनाएका छन् । पुरानै नेतृत्वबाट पार्टी रुपान्तरण हुन नसक्ने उनीहरुको टिप्पणी छ । तर राजनीतिक विश्लेषक वाग्ले मूल नेतृत्वमा पुरानो, अनुभवी र परिपक्व नेताका साथै जनताका बीचमा लोकपि्रय युवा नेताहरुको जीतले कांग्रेसको भविष्यका लागि सरकारात्मक सन्देश र संकेत भएको दावी गर्छन् । ‘यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक भएको छ र उपलब्धिमूलक पनि, उनले अनलाइनखबरसँग भने, ‘अनुभवी, परिपक्व र समन्वयकारी नेतृत्व मूल नेतृत्व छ भने युवा, ऊर्जा, भिजन, लोकपि्रय नेताहरुको फ्युजनले कांग्रेसका लागि सकारात्मक सन्देश दिएको छ ।’

कांग्रेसमा मूल नेतृत्व नै परिवर्तन हुनुपर्छ भन्ने एजेण्डा बोकेर डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दिएका थिए । पहिलो चरणमा ८२ मतले विजयी हुनबाट रोकिएका देउवालाई दोस्रो चरणमा कोइरालाबाहेकका सबै सभापतिका उम्मेदवारहरुले समर्थन गरे । उनी ६० प्रतिशत मतसहित सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भए ।

‘टुटफुटबाट प्रमुख राजनीतिक दलहरु विभक्त भइरहेका बेला देउवाको नेतृत्वमा पार्टी एकढिक्का भएर महाधिवेशन सफलतापूर्वक सम्पन्न भयो । नेताहरुले हार्दिकता पूर्वक लोकतान्त्रिक अभ्यास अपनाए, यो देउवाको सफलता हो,’ कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित नैनसिंह महर भन्छन्, ‘पार्टीभित्र चरम गुटबन्दी भएकै बेला पनि उहाँले कांग्रेसलाई एकढिक्का गराउनुभयो । निर्णय प्रक्रियामा सबैको स्वामित्व गराउनुभयो । सहमतिमै पार्टी सञ्चालन गर्नुभयो । फेरि पनि देउवाको नेतृत्व आवश्यक छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिले फेरि अनुमोदन गरिदिए ।’

कांग्रेसभित्र लामो राजनीतिक योगदान भएका र संघर्ष गरेका नेताहरुको भीडबाट नेतृत्वतहमै युवाहरुको बलियो उपस्थितिले १४ औं महाधिवेशन कांग्रेसका लागि रुपान्तरण मात्रै नभएर क्रान्ति नै भएको विश्लेषण राजनीतिक वृत्तमा छ । उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु र आठ वटै सहमहामन्त्रीमा सबै नयाँ अनुहार आउनुले कांग्रेस रुपान्तरणको बाटोमा अगाडि बढेको प्रष्ट हुन्छ । युवा नेताहरुले नै पार्टीभित्र पुस्तान्तरण र रुपान्तरणका लागि अर्काे महाधिवेशन कुरिरहेका बेला १४ औं महाधिवेशनबाटै कांग्रेस पुस्तान्तरणको प्रक्रिया आरम्भ भएको छ ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका नवनिर्वाचित केन्द्रीय सदस्य महर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको ढोका खुलेको दावी गर्छन् । ‘जुन नयाँ अनुहार केन्द्रीय कार्यसमितिमा आएका छन्, यिनैमध्ये भोलिको पार्टी नेतृत्वमा आउने हो,’ उनी भन्छन्, ‘महाधिवेशनको परिणामले कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण बढाएको मात्रै छैन, पार्टी राजनीतिबाट टाढा रहेकाहरुलाई पनि कांग्रेससँग जोड्न सघाउ पुगेको छ ।’

कांग्रेसको महाधिवेशन परिणामले जनताको चाहना र कार्यकर्ताको भावनालाई सम्बोधन गरेको बताउँछन् । उनी भन्छन्, ‘साथै कांग्रेसलाई जनतासँग जोड्न महाधिवेशनले महत्वपूर्ण भूमिका खेलेको छ ।’ युवा पुस्तामाझ लोकपि्रय गगन- विश्वको जितले कांग्रेसप्रति नयाँ पुस्ता र नयाँ मतदाताको आकर्षण बढ्ने विश्वास कांग्रेस वृत्तमा छ । कांग्रेसमा रुपान्तरणको एजेण्डा उठाउँदै आएका गगन-विश्वको नेतृत्वले पार्टीलाई वैचारिक रुपान्तरण र पुनर्जीवन दिन्छन् भन्ने सन्देश प्रवाह भएको छ ।

कांग्रेसको अबको बाटो

नेपाली कांग्रेसले पहिलो पटक नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गरेको हो । पहिलो महाधिवेशनदेखि १३ औं महाधिवेशनसम्म नेतृत्व सँगसँगै नीति महाधिवेशन गर्दै आएको कांग्रेसले यसपटक महाधिवेशनबाट नेतृत्वमात्रै चयन गरेको हो । कांग्रेसले नयाँ कार्यसमितिले ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको छ ।

विगतका महाधिवेशनमा नीतिबारे छलफल हुने भए पनि बढी ध्यान नेतृत्व चयन प्रक्रियामै हुन्थ्यो । नीतिमाथि बहस र छलफल कर्मकाण्डी मात्रै थियो । पार्टीको आगामी नीति, सिद्धान्त कार्यक्रममा कम छलफल हुन्थ्यो । ‘त्यसकारण यसपटक नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्नु सकारात्मक हो । अब अविलम्ब नीति महाधिवेशन गरेर कांग्रेसको नीति, सिद्धान्त विचार कार्यक्रमका बारेमा स्पष्ट मार्गचित्र बनाउनु जरुरी छ,’ राजनीतिक विश्लेषक वाग्लेको सुझाव छ, ‘सोहि मार्गचित्रका आधारमा पार्टीको घोषणापत्र बनाएर आगामी निर्वाचनमा जनताका बीच जनताका मुद्दा लिएर कांग्रेस जानुपर्छ ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?