+
+

ग्रिसमा गाडी दुर्घटना : मृतक चारैजना नेपालीको सनाखत

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ पुष ७ गते १३:५९

७ पुस, बार्सिलोना । मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले अनलाइनखबरसँग भने, ‘कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको छ । अब शवलाई नेपाल पठाउने प्रक्रिया हामीले सुरु गरिसकेका छौं ।’

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटनामा परेको आंशका गरिएको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?