+
+

सिन्धुली कारागारबाट यसरी चल्यो काठमाडौंमा लागूऔषधको गिरोह

कारागार प्रशासनको भूमिका पनि संदेहपूर्ण

गौरव पोखरेल गौरव पोखरेल
२०७८ पुष २० गते १८:१७
सिन्धुली कारागारका कैदी गुड्डु गुप्ता र टेलिफाने नाइके सन्तोष स्याङ्ताङ ।

२० पुस, काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले मंसिर अन्तिम सातातिर काठमाडौंबाट एक जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लियो, तर मुद्दा चलाएन । बरु तिनै व्यक्तिको सहयोगमा लागूऔषध कारोबारमा संलग्न एउटा संगठित गिरोहलाई समातेको प्रहरीले बताएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै एक महिना लामो ‘अपरेशन एम्पुल’ चलाएर ९ जनालाई समातेको छ । ब्यूरोको यो अपरेशनबाट कारागारमा जेल सजाय भुक्तान गरिरहेका व्यक्तिले लागूऔषधको संगठित कारोबार गरिरहेको देखिएको छ ।

ब्यूरोका प्रमुख हृदय थापा भन्छन्, ‘कारागारबाट एक जना कैदीले टेलिफोन नाइके र एक जना कार्यालय सहयोगीलाई प्रयोग गरेर लागूऔषध कारोबार गरेको भेटेका छौं ।’

लागूऔषध कारोबारमा संलग्नता खुलेपछि सिन्धुली कारागारका कैदी गुड्डु गुप्ता, टेलिफोन नाइके सन्तोष स्याङ्ताङ र कार्यालय सहयोगी रीता सारुमगर पक्राउ परेका छन् । गुप्ता र स्याङ्ताङको अनुसन्धान चलिरहेका वेला रौतहट कारागारमा सरुवा भइसकेको छ ।

गुड्डुको गिरोहमा जोडिएका दिपक महर्जन, पञ्च स्याङ्तान, संग्राम मोक्तान, सुरजसिंह ठकुरी र दुई जना नाबालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कारागार कनेक्सन

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार शुरुमा समातिएका लागू औषध प्रयोगकर्ताले आफू फस्ने भएपछि औषधिजन्य एम्पुल बिक्री गर्ने एक जना कारोबारीसम्म पुर्‍याइदिने आश्वसन प्रहरीलाई दिएका थिए ।

‘उसले भनेअनुसार पञ्च स्याङ्तान नामक व्यक्तिबाट लागूऔषध लिन जाने डिल भयो,’ ती अधिकृत भन्छन्, ‘तर स्याङ्तान आफैं आएनन्, सहयोगी सिन्धुलीका संग्राम मोक्तानलाई पठाए ।’ प्रहरीका अनुसार मोक्तानको साथबाट थोरै परिणाममा एम्पुल बरामद भएकाले थप लागूऔषध माग्दै स्याङ्तानसँग डिल भयो ।

उनी बौद्धको महांकाल पानीट्यांकीमा भेट्न राजी भए, त्यहीँबाट १६६ एम्पुल डाइजेपाम, १७० एम्पुल फेनारगन र १७५ बुफ्रेनोर्फिनसहित स्याङ्तान समातिए । प्रहरीले उनीसँग केराकार गर्न थाल्यो, उनले आफूलाई एउटा फोन आउने र त्यही आधारमा लागूऔषधबारे काम गर्ने गरेको बयान दिएका छन् ।

प्रहरीले नेपाल टेलिकमसँग समन्वय गरेर कल डिटेल रेकर्ड (सीडीआर) निकाल्यो । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार त्यो सीम कार्डको लोकेशन सिन्धुलीतिर देखियो भने फोनमा ‘आउट गोइङ कल’ मात्र देखियो । त्यो नम्बरमा कसैले फोन गरेको थिएन ।

‘प्रायः कारागारमा प्रयोग हुने फोन नम्बरमा मात्रै हुन्छ, त्यही शंकामा हामीले सिन्धुली कारागारमा सक्रिय सबै नम्बरको डिटेल निकाल्यौं,’ स्रोत भन्छ, ‘कारागारमा १० वटा मोबाइल सक्रिय रहेछ, सबैमाथि अनुसन्धान गर्दा गुड्डु नामक कैदीले त्यो नम्बर प्रयोग गर्ने गरेको हुनसक्ने देखियो ।’

गुड्डु ब्यूरोका पुराना अनुसन्धान अधिकृतले चिनेका थिए । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठ भन्छन्, ‘गुड्डु भन्ने एक जना भारतीय व्यक्ति पहिल्यै खैरो हिरोइनसहित समातिएको थियो, त्यो छुटेर कारोबार थाल्यो कि क्या हो भन्ने सोचेका थियौं ।’

अधिकृतहरुका अनुसार गुड्डुको नाममा अर्को कुनै व्यक्तिले पनि कारोबार गरिरहेको हुनसक्थ्यो । त्यसैले पहिले उनी छुटेका छन् कि छैनन् भन्ने अनुसन्धान भयो । ‘उनी सिन्धुली कारागारमै भएको खुल्यो । उनको फोनबाट स्याङ्तानलाई कारोबारको सबै विवरणबारे जानकारी आइरहेको खुल्यो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

अनुसन्धानकै क्रममा कारागार सरुवा

सिन्धुली जिल्ला कारागारमा गुड्डु गुप्ता नामक भारतीय नागरिक १९ वर्षको कैद सजाय काटिरहेका थिए । प्रहरीले उनलाई तत्काल पक्राउ गरेन, लागू औषध तस्करीबारे कारागार प्रशासनलाई पनि यसबारे जानकारी दिएन । बरु काठमाडौंमा पक्राउ परेका व्यक्तिको माध्यमबाट उनीसँग कुरा गरिरह्यो ।

एक अनुसन्धान अधिकृतका अनुसार गुड्डुले ‘कारोबार घटेको’ भन्दै वेलावेला कराउँथे । त्यहीबीचमा फोनको सम्पर्कका आधारमा सुरजसिंह ठकुरी पक्राउ परे, ८११ एम्पुलसहित । शंका लागेपछि गुड्डुले दुई जना नाबालकलाई बौद्धमा भेट्न अह्राए । उनीहरु पनि पक्राउ परे, तर प्रहरीले गुड्डुसँग उनीहरुको सम्पर्क गराइराख्यो ।

‘नाबालक भएकाले उनीहरुको नाम सार्वजनिक गरेका छैनौं, तर उनीहरु पनि तलबै लिएर कारोबारमा संलग्न रहेको देखिएको छ’ ब्यूरोका डीएसपी फणिन्द्र प्रसाईं भन्छन्, ‘खासमा गुड्डुले आफ्ना सहयोगी पक्राउ परेका हुन् कि होइनन् भन्ने बुझ्न दुई जना पठाएका थिए ।’

उनीहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । गुड्डुले ज–जसलाई सामान दिनु भन्छन्, उनीहरु पक्राउ परिरहेका थिए । तीन दिनपछि एकाएक गुड्डुको फोन आउन छाड्यो ।

अनुसन्धान अधिकृत अलमलिए, साथीहरु पक्राउ परेको उनले थाहा पाए कि भन्ने भयो । ‘अब उनलाई कारागारबाट समातेर ल्याउने भन्ने भयो तर कारागार प्रशासनलाई सोध्दा उनी कारागारमै नरहेको जानकारी आयो,’ एक अधिकृत भन्छन्, ‘बुझ्दा अनुसन्धान भइरहेका वेला उनी र अर्का कैदी सन्तोष स्याङ्ताङ (टेलिफोन नाइके) को रौतहट कारागार सरुवा भएको थाहा भयो ।’

अनुसन्धान अधिकृतहरुले दुई जनाको एक्कासी सरुवा हुनुलाई शंकास्पद मानेका छन् । तर कारागारका निमित्त जेलर मात्रिका प्रसाद दवाडी भन्छन्, ‘प्रहरीले निगरानी गरिरहेको थाहा भएको भए सरुवा हुने थिएन, कोड भाषा बोलिरहेको शंका लागेर सरुवा गरेका थियौं ।’

दवाडी हरेक कारागारमा शंकास्पद गतिविधि गरेको थाहा हुने वित्तिकै कैदीबन्दीको सरुवा गर्ने गरिएको बताउँछन् । ‘फोन सुन्नलाई मान्छे नै राखेका हुन्छौं, एक बोरा चामल भेज दिजिए भनेको सुनेपछि शंका भएको थियो,’ दवाडीले भने, ‘त्यसपछि सरुवा गरिएको थियो, यसअघि पनि लफडा भएपछि खोटाङबाट उनी सरुवा भएर आएका थिए ।’

आर्थिक कारोबारको विवरण हेर्दा झण्डै ६/७ महिनादेखि कारोबार भइरहेको जस्तो देखिन्छ – अनुसन्धान अधिकृत

सरुवा हुनुअघि नै प्रहरी अनुसन्धानबाट कारागारका टेलिफोन नाइके सन्तोष पनि गुड्डुले चलाएको लागूऔषधको र्‍याकेटमा जोडिएको खुलिसकेको थियो । स्रोतका अनुसार एकपटक प्रहरीले नियन्त्रणमा रहेकै वेला सन्तोषले पञ्चलाई फोन गरेका थिए ।

शुरुमा प्रहरीले उनको फोन उठाउन दिएन, पछि नम्बर कसको हो भनेर खोजी गर्दा उनी कारागारमा रहेका पञ्चको भाइ भएको खुलेको थियो । ‘त्यही कनेक्सनबाटै पञ्च गुड्डुको गिरोहमा जोडिएका थिए’ अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

कार्यालय सहयोगीलाई प्रयोग

अधिकृतहरूका अनुसार यतिञ्जेल कारागारबाट कसरी लागूऔषध कारोबार भइरहेको रहेछ भन्ने थाहा पायो, तर आर्थिक कारोबार कसरी चल्छ भन्नेमा अलमलमै कायमै थियो । जब प्रहरीले गुड्डुलाई काठमाडौं ल्याएर बयान लिन थाल्यो, त्यसपछि यो घटनामा कार्यालय सहयोगी रीता सारुमगर पनि मुछिइन् ।

एक अनुसन्धान अधिकृतका अनुसार सुरुमा घटनामा संलग्नता नै नस्वीकारेका गुड्डुलाई प्रहरीले उनी बोलेको रेकर्ड सुनाएपछि बल्ल कसूर स्वीकारेका थिए ।

उनले सारु मगरमार्फत पैसा बाहिर पठाउने र भित्र लिने गरेको पनि गुड्डुले खुलाएको स्रोत बताउँछ । ‘सारु मगरले बयानमा आफूलाई त्यो लागूऔषधको पैसा भएको थाहा नभएको बताएकी छन्’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर जानी वा नजानी उनी लागूऔषध गिरोहको सदस्य बनिन् ।’

स्रोतका अनुसार उनले एकपटकमा ३ लाख रुपैयाँसम्म गुड्डुले भनेको व्यक्तिको खातामा आईएमईमार्फत पठाइदिएको खुलेको छ । उनको खातामा पनि विभिन्न व्यक्तिले पैसा पठाएका छन् । ‘आर्थिक कारोबारको विवरण हेर्दा झण्डै ६/७ महिनादेखि कारोबार भइरहेको जस्तो देखिन्छ,’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘पूर्ण विवरण आइनसकेकाले अहिल्यै एकिन भइरहेको छैन ।’

प्रहरीका अनुसार बाहिर रहेका पञ्च, संग्राम लगायतलाई गुड्डुले कोठा भाडा तिरिदिनेदेखि मासिक १५ देखि २० हजार रुपैयाँसम्म दिने गरेका थिए । पक्राउ परेकाहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार म्याद थप गरी विस्तृत अनुसन्धान हुने एसपी श्रेष्ठ बताउँछन् ।

ऐनअनुसार उनीहरुमाथिको अभियोग पुष्टि भए दुईदेखि १० वर्षसम्म जेल सजाय हुनसक्छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?