+

पुरुष बन्ध्याकरणले यौन जीवनमा असर गर्छ ?

२०७८ पुष  २७ गते १३:५७ २०७८ पुष २७ गते १३:५७
पुरुष बन्ध्याकरणले यौन जीवनमा असर गर्छ ?

२७ पुस, काठमाडौं । बन्ध्याकरण गरेपछि पुरुषहरूको कार्य क्षमतामा ह्रास आउँछ ? यौन क्षमता घट्छ ? यस्ता प्रश्न आम मानिसमा देखिन्छ । तर, चिकित्सकहरु भने यो सबै भ्रम मात्रै भएको र बन्ध्याकरण गरेपछि पुरुषको शारीरिक, मानसिक र यौन जीवनमा कुनै असर नपर्ने बताउँछन् ।

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कुमकुम झा स्थायी बन्ध्याकरणपछि पुरुषको शारीरिक र यौन जीवनमा कुनै असर नपर्ने बताउँछिन् । ‘स्थायी बन्ध्याकरण गर्दा काम गर्न सकिँदैन, यौन जीवनमा समस्या ल्याउँछ भन्नु भ्रम मात्रै हो,’ डा. झा भन्छिन्, ‘बन्ध्याकरणले यौन जीवनमा कुनै असर गर्दैन ।’

बन्ध्याकरण गरेपछि पुरुषको शुक्रकीटबाहिनी नलीमा रहिरहेका शुक्रकीट निख्रिन करिब तीन महिना समय लाग्छ । उनी भन्छिन्, ‘त्यसैले भ्यासेक्टोमी गरेको तीन महिनासम्म पुरुषले परिवार नियोजनको स्थायी साधन प्रयोग गर्नुपर्छ ।’

भ्यासेक्टोमी र मिनिल्यापमा फरक

डा. कुमकुम झा

पुरुषले गर्ने स्थायी बन्ध्याकरणलाई भ्यासेक्टोमी भनिन्छ । यो सुरक्षित र सामान्य शल्यक्रिया हो । भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीटबाहिनी नली विर्य नली बाँधेर काटिन्छ ।

पुरुष बन्ध्याकरणलाई मिनी अप्रेसनका रूपमा लिइन्छ । पाँचदेखि सात मिनेटमा भ्यासेक्टोमी गर्न सकिन्छ । बन्ध्याकरणको तुलनामा महिलाले गर्ने मिनील्याप बढी जटिल हुन्छ । मिनील्याप गर्दा महिलाको डिम्बको दुईटा नसा काट्नुपर्ने भएकाले पेटबाट सानो प्वाल पार्नुपर्छ । पुरुषको बन्ध्याकरणपछि घाउ निको हुन थोरै समय लाग्छ भने महिलाको अलि बढी समय लाग्छ । सुरक्षाका हिसाबले पनि मिनील्याप बन्ध्याकरणभन्दा जटिल हुने चिकित्सकको भनाइ छ ।

बन्ध्याकरणपछि पनि सन्तानको रहर भएमा पुरुषको बन्ध्याकरण फुकाउन सकिन्छ ।

अस्थायी साधनको बिगबिगी : जोखिममा महिला

आजकल बजारमा छ्याप्छ्याप्ती गर्भनिरोधका अस्थायी साधन र चक्कीहरू पाइन्छ । असावधानीवश गरिने अस्थायी साधनको प्रयोगले महिलाको स्वास्थ्यमा जोखिम बढेको डा. झा बताउँछिन् । उनी भन्छिन्, ‘स्थायी साधन उपलब्ध हुनु आफैंमा नराम्रो होइन तर, बिना कुनै अनुमति जताततै उपलब्ध गराउँदा यसले समस्या निम्त्याएको छ ।’

पछिल्लो समय सूचना प्रविधिमा अभूतपूर्व विकास भएको छ । यसले मानिस–मानिसबीच दूरी घटिरहेको छ र एकप्रकारको निकटता बढिरहेको छ । कहिल्यै नदेखेका मानिससँग पनि छिट्टै नजिक भएर शारीरिक सम्पर्कको सम्भावना बढिरहेको छ ।

यस्ता आकस्मिक शारीरिक सम्पर्कमा बजारमा जे उपलब्ध छ, त्यही प्रयोग गर्ने अभ्यास बढेको छ । यसबाट पुरुषको तुलनामा महिला बढी जोखिममा परेका छन् । महिलाले प्रयोग गर्ने गर्भनिरोधका अस्थायी साधनहरू चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह र सुझावबिना बिक्री वितरण गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने डा. झाको सुझाव छ ।

अर्का स्त्री तथा प्रसूति रोग विशेषज्ञ बालकृष्ण शाह पनि पुरुषले बन्ध्याकरण गर्दा उसको स्वास्थ्य तथा कार्यक्षमतामा कुनै असर नपर्ने बताउँछन् । ‘पुरुषले बन्ध्याकरण गर्दा उसको शारीरिक तथा यौन जीवनमा कुनै असर गर्दैन, यो अनुसन्धानले पत्ता लगाएको कुरा हो,’ उनले भने, ‘स्वास्थ्य सचेतना नभएका कारण नसाबन्दी गर्दा यौन जीवन बिग्रन्छ, तहसनहस हुन्छ भन्ने भ्रम छ ।’

डा. बालकृष्ण शाह

महिलाको तुलनामा पुरुषलाई नसाबन्दी गर्न सहज हुने भएपनि त्यसको बारेमा उनीहरूलाई बुझाउन नसकिएको डा. शाह बताउँछन् ।

असुरक्षित यौनसम्पर्क भएमा गर्भ नरहोस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरण गरिन्छ । स्थायी बन्ध्याकरण गर्भ नरहने भरपर्दो माध्यम भएपनि यसबारे पर्याप्त सचेतना नहुँदा मानिसहरुमा भ्रम कायमै छ ।

स्थायी बन्ध्याकरण गर्दैमा पुरुष शारीरिक रूपमा कमजोर नहुने डा. शाह बताउँछन् । ‘बन्ध्याकरण गर्दा न शारीरिक क्षमतामा कमी आउँछ न त यौन जीवनमा नै,’ उनी भन्छन् । उनको विचारमा यस्ता भ्रम स्वास्थ्य चेतनाको कमीले हुने अज्ञानताको उपज हो ।

डा. शाहका अनुसार स्थायी बन्ध्याकरणले पुरुषको यौन जीवनलाई मात्रै नभई महिलाको यौन जीवनलाई समेत कुनै असर प्रभाव पार्दैन । भलै बन्ध्याकरण गर्न पुरुषलाई भन्दा महिलालाई बढी जोखिम हुन्छ ।

यौन उत्तेजना हर्मनको खेल’

स्थायी बन्ध्याकरणपछि पुरुषको शुक्रकीट मात्रै स्खलन हुने भएकाले यौन उत्तेजना, यौन चाहना र विर्य स्खलनमा कुनै असर नपर्ने बताउँछिन् डा. कुमकुम झा । ‘स्थायी बन्ध्याकरण यौन उत्तेजना र चाहनासँग सम्बन्धित हुँदैन,’ उनी भन्छिन्, ‘यौन उत्तेजना हर्मनका कारण उत्पन्न हुन्छ, स्थायी बन्ध्याकरण हर्मनसँग सम्बन्धित छैन ।’

तर, नेपाली समाजमा स्थायी बन्ध्याकरण गर्न पुरुषहरु डराइरहेका हुन्छन् । बन्ध्याकरण गरेपछि यौन जीवन प्रभावित हुने र शारीरिक रूपमा कमजोर हुने आशंका पालेर बसिरहेका हुन्छन् ।

यिनै विषयमा अनलाइनखबरले प्रसूति तथा स्त्री रोग विशेषज्ञ कुमकुम झा र बालकृष्ण शाहसँग गरेको कुराकानीको सम्पादित अंश–

असुरक्षित यौन सम्पर्कले महिलामा यौन तथा प्रजनन सम्बन्धी के कस्ता समस्या निम्त्याउँछ ?

एक जना सेक्स पार्टनर भन्दा बाहेक अन्यसँगको सम्बन्ध असुरक्षित हुनसक्छ । यस्तो अवस्थामा स्थायी साधनबिना भए गरेका सम्बन्ध बढी जोखिमपूर्ण हुन्छन् । यस्ता असुरक्षित यौन सम्बन्धले महिलामा यौन तथा प्रजनन सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ । असुरक्षित सम्बन्धले महिलामा बाँझोपना ल्याउने, शिशु चाँडै र अस्वस्थ जन्मिने, मृत जन्मिने, पाठेघरको क्यान्सर हुने, यसको असरले बच्चा नबस्ने, मलद्वारको क्यान्सर हुने तथा एचआईभी संक्रमण हुने जोखिम समेत हुन्छ ।

यसले महिलामा असामान्य रूपमा श्राव हुने, यौनाङ्गमा घाउ खटिरा आउने गर्छ । कण्डमको प्रयोग नगरी यौन सम्पर्क गरेमा यौन रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन् । तर प्रायजसो यौन रोगहरू लक्षणविनाका हुने भएपनि जीवाणु भने रहिरहन्छन् ।

अहिले असुरक्षित यौन सम्पर्कपछि आपतकालीन चक्की खाने तथा गर्भपतन गर्ने सुविधा छ । यसको नतिजा कस्तो होला ?

अहिले बजारमा विभिन्न किसिमका गर्भ निरोधक चक्कीहरू सहजै उपलब्ध छन् । यस्ता साधन बजारमा खुल्लमखुल्ला बिक्री भइरहेका छन् । असुरक्षित यौन सम्बन्ध भएकाहरू सिधै चक्की तथा अन्य औषधि किनेर बिना स्वास्थ्य परीक्षण खाइरहेका हुन्छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीको सल्लाह बिना महिलाले गर्भ निरोधक चक्की पिल्स, ट्याब्लेट, डिपो, संगिनी सुई, इम्प्लान्ट आदि प्रयोग गर्दा उनीहरूको स्वास्थ्य जोखिममा पर्दछ । असुरक्षित सम्बन्ध बारम्बार हुँदा महिलाको स्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरेको छ ।

अहिले सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्मले मान्छेको हिमचिम छिट्टै हुन्छ । साथीबाट शुरु भएको सम्बन्ध बिस्तारै शारीरिक सम्बन्धसम्म पुग्छ । बजारमा गर्भ निरोधक चक्की तथा साधनहरू प्रशस्त पाइन्छन् र महिलाले सहजै प्रयोग गर्न सक्छन् । यसले महिलाको स्वास्थ्यमा दीर्घकालीन र प्रतिकूल असर पारिरहेको हुन्छ ।

यसबाट बच्न पहिला त असुरक्षित यौन सम्बन्धबाट टाढा रहनुपर्छ । सहकर्मीसँग सम्पर्क गर्दा भरपर्दो र सुरक्षित अस्थायी साधन प्रयोग गर्नुपर्छ । पहिलेको तुलनामा बजारमा अहिले चक्की खाने तथा गर्भपतन गराउनेको संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदा महिलाको स्वास्थ्य जोखिममा छ ।

असुरक्षित यौन सम्पर्कले महिला नै बढी मारमा पर्ने गरेका हुन् ?

पुरुषको तुलनामा महिलाले बढी शारीरिक श्रम गर्नुपर्छ । यसले शरीर कमजोर बनाउँछ । महिला सधैं पुरुषबाट प्रापकको भूमिकामा हुन्छन् । यसले रोग सर्ने जोखिम महिलालाई बढी हुन्छ । त्यसैले यौन तथा प्रजनन सम्बन्धी रोग महिलामा बढी देखिन्छ । पुरुषले शारीरिक सम्पर्क गर्नु बाहेक कुनै जोखिम उठाउनु पर्दैन जबकि शारीरिक सम्पर्कपछि महिलाले चक्की तथा अन्य औषधि खानुपर्छ । गर्भ महिलाको पाठेघरमा बस्छ, गर्भपतन पनि महिलाले नै गराउनुपर्छ । त्यसैले असुरक्षित यौन सम्पर्कले महिला नै बढी मारमा पर्छन् ।

सन्तानको रहर पुगिकेका विवाहित पुरुष स्थायी बन्ध्याकरण गर्न किन डराइरहेका हुन्छन् ?

सन्तानको रहर पुगिसकेका हरेक पुरुषले स्थायी बन्ध्याकरण गर्न सक्छन् र यसबाट कुनै समस्या हुँदैन । स्थायी बन्ध्याकरण गर्न पुरुषलाई सहज पनि छ । चाहेको बेला बन्ध्याकरण खोल्न पनि सकिन्छ तर महिलाको बन्ध्याकरणमा यो सम्भव छैन । बन्ध्याकरण पछि बरु महिला तथा पुरुष दुवै सुरक्षित हुन्छन् । अहिले सरकारले नेपालभरका स्वास्थ्य संस्थामा परिवार नियोजन निःशुल्क गरेको छ ।

तर नेपाली पुरुष बन्ध्याकरणसँग डराइरहेका छन् । यसमा शारीरिक क्षमताका साथै यौन क्षमतामा ह्रास आउने भ्रम मुख्य कारण हुनसक्छ । अहिलेसम्मका अनुसन्धानहरुले बन्ध्याकरण र यौन क्षमताबीच कुनै सम्बन्ध नहुने स्पष्ट पारेको छ । यसका लागि चेतना फैलाउनु जरुरी देखिन्छ ।

बन्ध्याकरणपछि यौन जीवनमा समस्या हुन्छ कि हुदैन ?

बन्ध्याकरण र यौन नितान्त फरक कुरा हुन् । बन्ध्याकरणले यौन जीवनमा कुनै असर प्रभाव पार्दैन । तर हाम्रो समाजमा बन्ध्याकरणपछि पुरुष ‘नामर्द’ हुन्छ र यौन जीवन तहसनहस हुन्छ भन्ने भ्रम छ । यी सबै बजारका हल्ला मात्रै हुन् । बन्ध्याकरण गरेपछि यौन क्षमतामा कमी आउने, भारी काम गर्न नसक्ने, कमजोर हुने, बुढ्यौली आउने सबै कुरा भ्रम हुन् । यस्तो कहींकतै पुष्टि भएको छैन ।

स्थायी बन्ध्याकरणप्रति सचेतना किन कम छ ?

सन्तानको रहर पुगिसकेका पुरुषको स्थायी बन्ध्याकरण सिंगो परिवारका लागि फाइदाजनक हुन्छ । तर, हाम्रो समाजमा सन्तानको रहर पुगेर बुढो भइसकेपछि पनि परिवार नियोजन गर्ने चलन छैन । भलै, अहिले पढेलेखेका युवाहरू यति समयमा बिहे गर्छु, यो जागिर खाएपछि बिहे गर्छु भन्नेसम्म पुगेका छन् ।

त्यसो त, नेपाली समाजमा परिवारप्रति चिन्ता/चासो गर्ने चलन छैन । थोरैले बाहेक कसैले पनि परिवार योजना अर्थात् फेमिली प्लानिङ नै बनाउँदैनन् । बिहे गर्ने, बच्चा जन्माउने र जन्मान्तरबारे योजना नै बनाउँदैनन् । जसका कारण स्थायी बन्ध्याकरण गर्नेहरुको संख्या न्यून देखिएको छ ।

जनस्वास्थ्य बन्ध्याकरण यौन जीवन
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय