+
+

मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपणपछि उब्जिएको नैतिक प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १८:४४

२९ पुस, काठमाडौं । अमेरिकाका डेभिड बेनेट अनुवांशिक रुपमा परिवर्तित सुँगुरको मुटु प्रत्यारोपण गरिने संसारकै पहिलो व्यक्ति बनेका छन् ।

चिकित्सकहरूले निकै गम्भीर बिरामी बनेका ५७ वर्षीय बेनेटको प्रयोग स्वरुप गरिएको उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।

मेडिकल प्रयोग स्वरुप गरिएको प्रत्यारोपणपछि मुटु प्रत्यारोपणमा लाग्ने समय घट्न सक्ने भन्दै केही मानिसले यसको तारिफ गरिरहेका छन् । साथै, यसले संसारभरका बिरामीको जिन्दगी बदल्न सक्छ ।

तर, केही मानिसले प्रत्यारोपणको समग्र प्रक्रियालाई नैतिक रुपमा उचित भन्न नसकिने भन्दै प्रश्न उठाएका छन् । यस्ता मानिसले बिरामीको सुरक्षा, पशु अधिकार र धार्मिक विषयप्रति संकेत गरिरहेका छन् ।

चिकित्सकीय दृष्टिकोणबाट हेर्दा

यो प्रयोग स्वरुप गरिएको एउटा सर्जरी हो जसले बिरामीलाई जोखिममा पार्न सक्छ । मेल खाने मानव अंगलाई समेत प्रत्यारोपणपछि शरीरले नकार्न सक्छ । जनावरको अंग प्रत्यारोपणको हकमा यस्तो जोखिम थप बढ्न सक्छ ।

कैयौं मुलुकका चिकित्सकले दशकौंदेखि जनावरको अंग प्रयोग गर्ने प्रयास गर्दै आएका छन् र केही मिश्रित सफलतासमेत मिलेको छ । मानव शरीरमा जनावरको अंग प्रत्यारोपण गर्ने कार्यलाई ‘जेनोट्रान्सप्लान्टेशन’ पनि भनिन्छ ।

सन् १९८४ मा क्यालिफोर्नियाकी एक बालिकाको शरीरमा लंगुरको मुटु प्रत्यारोपण गरी बचाउने प्रयास गरिएको थियो तर, २१ दिन पछि उनको मृत्यु भयो । यस खाले उपचार निकै जोखिमपूर्ण हुन्छ । तर, बिरामीलाई जोखिमबारे थाहा भएको अवस्थामा यसलाई अवलम्बन गर्न सकिने केही मेडिकल नैतिकतावादीहरू बताउँछन् ।

अक्सफोर्ड विश्वविद्यालयमा प्र्याक्टिकल इथिक्सका प्राध्यापक जुलियन सेभेलेस्कू भन्छन्, ‘तपाईंलाई उपचारपछि बिरामीको ज्यान जाने वा नजाने भनेर थाहा हुँदैन तर, जोखिम नउठाइकन अघि बढ्न सक्नु हुन्न ।’

बिरामीलाई मेकानिकल हार्ट सपोर्टदेखि ह्युमन ट्रान्सप्लान्टका सबै उपलब्ध विकल्प दिनुपर्ने सेभेलेस्कूको भनाइ छ । डेभिड बेनेटको उपचारमा संलग्न चिकित्सहरूले समेत बिरामीसँग अर्को विकल्प नभएका कारण अपरेशन सही रहेको बताउँछन् । योबिना बिरामीको मृत्यु हुन सक्ने उनीहरूको भनाइ छ ।

‘टिश्यू र नन ह्युमन ऐनिमल टेस्टिङ’ बाट यो प्रक्रिया सुरक्षित भए नभएको सुनिश्चित गर्न सकिने भएकाले कुनै पनि सर्जरीपूर्व तन्तु र प्रयोग हुने जनावरको कडा परीक्षण गर्नुपर्ने प्राध्यापक सेभेलेस्कू बताउँछन् ।

प्रयोग स्वरुप गरिने परीक्षणमा क्लिनिकल परीक्षण आवश्यक मानिन्छ तर, डेभिड बेनेटको प्रत्यारोपण क्लिनिकल परीक्षण गरिएको थिएन । उनलाई हालसम्म गैर मानव प्राइमेट (बाँदर) मा परीक्षण नगरिएको औषधि दिइएको थियो ।

तर, युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरकी क्रिस्टिन लाउले बेनेटको उपचारमा कुनै तयारी नगरिएको बताउँछिन् । ‘हामीले यो कुरा दशकौंदेखि ल्याबमा गरिरहेका छौं र हामी त्यो बिन्दुसम्म पुग्ने प्रयास गरिरहेका छौं जहाँ मानवलाई यो दिन सुरक्षित छ भन्ने लाग्छ’, बेनेटको उपचारमा समेत संलग्न रहेकी लाउले बीबीसीलाई भनिन् ।

पशु अधिकारकर्मीको विरोध

कैयौं पशु अधिकारकर्मीले मानव प्रत्‍यारोपणमा सुँगुर प्रयोगको विरोध गर्दै आएका छन् । बेनेटको उपचारपछि यस्तो बहस थप तातिएको छ । विरोध गर्ने पशु अधिकार समूहमध्ये पिपुल फर द इथिकल ट्रिटमेन्ट अफ ऐनिमल पनि एक हो जसले बेनेटको उपचारमा सुँगुरको मुटु प्रयोग भएको विषयलाई ‘अनैतिक, खतरनाक एवं संसाधनको बर्बादी’ भन्दै निन्दा गरेको छ ।

बेलायतस्थित पशु अधिकार समूह ऐनिमल एडका प्रवक्ताले कुनै पनि अवस्थामा जनावरको जीनमा हुने परिवर्तन वा जेनोट्रान्सप्लान्टेशनको विरोध गर्ने बताए । यसबाहेक, केही अभियन्ताले सुँगुरमा हुने अनुवांशिक परिवर्तनको दीर्घकालीन असरलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बायोइथिक्सकी फेलो डा. क्याथरिन डिवोल्डरले अनावश्यक हानि नहुने अवस्थामा मात्रै अनुवांशिक रुपमा परिवर्तित सुँगुरको अंग प्रयोग गर्नुपर्ने बताउँछिन् । ‘मासुका लागि सुँगुरको प्रयोग जीवन बचाउनका लागि गरिने प्रयोगभन्दा ज्यादा चिन्ताको विषय हो’, उनले भनिन्, ‘तर जनावरको हितलाई नजरअन्दाज गर्न सकिँदैन ।’

धार्मिक दृष्टिकोणबाट हेर्दा

प्रत्यारोपणलाई आस्थाको आँखाबाट हेर्ने र मानव शरीरमा जनावरको अंग प्रत्यारोपण उचित नठान्ने मानिसहरूका लागि अर्को उलझन पैदा भएको छ ।

वास्तवमा मानव अंगसँग मेल खाने हुँदा सुँगुरलाई छनौट गरिएको हो । यसबाहेक, सुँगर पाल्न र नस्ल बढाउन अरुभन्दा सजिलो हुन्छ ।

तर, आफ्नो धर्ममा जनावारबारे कडा नियम भएका यहुदी र मुस्लिम बिरामीलाई सुँगुरको विकल्पले कसरी प्रभावित गर्छ त ?

यहुदी नियम-कानुनले सुँगुर पाल्न वा खान कडा मनाही गर्छ । तर, बेलायतको स्वास्थ्य विभागमा मोरल इथिकल एडभाइजरी ग्रुपका वरिष्ठ रब्बी डाक्टर मोशे फ्रिडम्यानले सुँगुरको अंग प्रत्यारोपणबाट यहुदी नियमको उल्लंघन नहुने बताउँछन् ।

‘यहुदी कानुनमा पहिलो चिन्ता मानिसको जीवन बचाउनु हो’, बीबीसीसँग कुरा गर्दै फ्रिडम्यानले भने, ‘यहुदी बिरामी जीवित रहन र भविष्यमा उसको जीवन राम्रो बनाउन जरुरी देखिए बिरामीले जनावरको अंग प्रत्यारोपण गर्न सक्छन् ।’
यो कुरा इस्लामको हकमा समेत लागू हुन्छ । अर्थात् इस्लाम धर्मले समेत जीवन बँच्छ भनेर जनावरको अंग प्रयोगको अनुमति दिन्छ ।

इजिप्टमा धार्मिक आदेश जारी गर्ने दार अल-इफ्ता नामको सरकारी संस्था छ । उक्त संस्थाले एक फतवामा ‘बिरामीको जीवन खतरा, अंग खराब भएको अवस्था, रोग बढ्दै गए वा स्वास्थ्य बिग्रँदै गएको अवस्थामा’ सुँगुरको मुटुको भल्भ प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?