+
+
खेल–खेलाडी :

परिस्थितिलाई इच्छाले पराजित गरेकी पुनम

सम्झना विक सम्झना विक
२०७८ माघ १ गते १९:४०

१ माघ, काठमाडौं । बुबाको माया कस्तो हुन्छ भन्ने अनुभव उनले गर्न नै पाइनन् । साथीलाई बुवाले माया गरेको देख्दा उनलाई पनि आफ्नो बुवाको खुब याद आउँथ्यो । आफू पनि बुवाको प्यारी छोरी हुन पाए कस्तो हुन्थ्यो भनेर उनको बालसुलभ मनले सोच्थ्यो । तर बुवाको मायाको त परको कुरा सामान्य संगत समेत गर्न पाइनन् जुडो खेलाडी पुनम श्रेष्ठले ।

‘ममी क्षेत्रीको छोरी, बाबा पाटनको नेवार । ममीलाई बाबाको परिवारले स्वीकार्नु भएन,’ पुनमले आफ्ना विगतका कुरा सुनाइन्, ‘पछि त बाबाले पनि वास्तै गर्न छाड्नुभयो । ममीले हामी तीन सन्तानलाई आमा र बाबा दुवैको माया दिएर हुर्काउनुभयो ।’

बुवाको बेवास्ताले पुनमकी ममीका लागि संघर्षको पहाड नै अगाडि उभियो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो । परिवार पाल्न गाह्रो भएपछि पुनमकी ममी आफ्ना तीन सन्तान (पुनम, उनकी दिदी र भाइ)लाई लिएर चितवनबाट काठमाडौं आइन् ।

उनीहरु काठमाडौंको लगनचोकमा आएर बसे । ममीले संघर्ष गर्दै तीन सन्तानको पालनपोषण र शिक्षादीक्षालाई अगाडि बढाइन् । पुनमहरु बसेको ठाउँबाट दशरथ रंगशाला १५ मिनेटको पैदल दूरीमा थियो ।

बाल्यावस्थादेखि नै निक्कै फूर्तिली पुनमको लगाव खेलकुदतिर बढ्दै गयो । स्कूले जीवनमा साथीहरु मिल्नासाथ उनी दशरथ रंगशाला पुगिहाल्थिन् । यो भूकम्पले क्षतिग्रस्त बनाएपछि दशरथ रंगशाला पुनर्निर्माण नहुँदैको कुरा हो । त्यतिबेला जुडो हलमा सिनियर खेलाडीहरु खेलेको उनी हेर्थिन् ।

उनले ध्यान दिएर खेल हेरेको जुडोको प्रशिक्षक चन्द्रकुमार डंगोलले थाहा पाएपछि एक दिन पुनमलाई खेल्ने अवसर दिए । त्यसपछि खुशी हुँदै पुनमले यो कुरा ममीलाई सुनाइन् । तर ममीबाट सकारात्मक जवाफको अपेक्षा गरेकी उनी निराश भइन् । ‘ममीले पढाइ बिग्रिँन्छ किन खेल्नुपर्‍यो भनेर गाली गर्नुभयो,’ पुनमले भनिन् ।

ममी त्यति सकारात्मक नभएपनि उनको मनले भने जुडोमै लाग्छु भन्ने प्रण गरिसकेको थियो । पुनम भन्छिन्, ‘तर मैले खेल्छु भनेर गुरुलाई भनें । उहाँले तिमीले राम्रो गर्न सक्छौ, खेल्नुपर्छ भन्दै ड्रेस किनिदिनुभयो ।’ त्यसपछि कहिले ट्युसन त कहिले साथीकहाँ काम छ भन्दै ममीलाई ढाँटेर उनी खेल्न गइन् ।

पुनमले खेलमा राम्रो गर्दै गइन् । विभिन्न प्रतियोगिता जित्न थालिन् । यसपछि भने दिदीबाट पुनमकी ममीले यो कुरा थाहा पाइन् । पुनम अगाडि भन्छिन्, ‘त्यसबेला मलाई लागेको थियो, अब ममीले पिट्नुहुन्छ । तर, शायद दिदीले सम्झाएर पनि हुनसक्छ ममीले केही भन्नुभएन ।’ त्यसपछि पुनमको जुडो यात्रा एक किसिमले निस्फिक्री अघि बढ्यो ।

पुनमका बुवाले अर्को विवाह पनि गरिसकेका थिए । बुवा र ममीको सम्बन्ध राम्रो नभएकाले उनी कमै पुनमकहाँ आउँथे । आएको बेला पनि झगडा गरेर जान्थे । बाबुको कर्तव्य कहिल्यै निभाएनन् उनले । बरु उल्टै सताउने र यातना दिएर जान्थे ।

छोरीले जुडो खेल्ने गरेको थाहा पाएपछि उनले एक दिन घरमा आएर पुनमको युनिफर्म नै च्यातिदिए । छोरीलाई छाडा छाडेको भन्दै पुनमकी ममीलाई पिटे । यो सब दृश्य हेरिरहेकी पुनम केवल रोइरहिन्, केही गर्नसक्ने अवस्था नै थिएन ।

बुवाको रुखो व्यवहार र ममीले विना गल्ती पाएको यातनाले उनलाई साह्रै पीडा भयो । होस्, अब खेल्दिन भनेर तालिममा जान छाडिन् । उनी खेलको अभ्यासमा नआएपछि उनलाई खोज्दै गुरु डेरामै आए ।

उनले सबै कुरा गुरुलाई सुनाउँदै बुवाले ड्रेस समेत च्यातेर फालिदिएको बताइन् । गुरुले केही छैन भन्दै ड्रेस फेरि किन्न सकिन्छ, यस्तो कुराले तिमी रोकिनुहुँदैन भनेर सम्झाएपछि उनी फेरि जुडोमा फर्किन् । त्यसयता उनी रोकिएकी छैनन् ।

तर, कोरोना महामारीका कारण अहिले उनले सोचेजस्तो गरी खेल्न पाएकी छैनन् । ‘दुई वर्षभन्दा बढी भयो सक्रिय भएर खेल्न नपाएको । फुटबल, क्रिकेटको म्याच भइराखेको छ हाम्रो मात्र हुन सकेको छैन,’ उनी भन्छिन्, ‘जति धेरै खेल भयो उति राम्रो हुन्छ ।’ १३ औं दक्षिण एसियाली खेलकुद (साफ)पछि एकपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी पुनम त्यसपछि सामान्य तालिममा मात्रै सीमित हुनुपरेको दुःखेसो पोख्छिन् ।

आठ वर्षको कलिलो उमेरदेखि नै खेल्न थालिन्, पुनमले । भर्खरै १२ कक्षा उत्तीर्ण गरेकी उनी खेलसँगै पढाइलाई पनि निरन्तरता दिने सोचमा छिन् ।

बिहान ५ बजे उठेर फ्रेस भएसँगै ब्याग बोकेर रंगशाला पुग्नु उनको दैनिकी हो । बिहान र साँझ दुवै समयको अभ्यास गर्ने उनी ढाड दुख्ने समस्या भएपछि अहिले बिहानको अभ्यासमा मात्रै सहभागी हुने गरेकी छन् ।

खेलकुदमा लाग्दाका शुरुका दिनमा पैसाको अभाव झेलेकी उनलाई अहिले त्रिभुवन आर्मी क्लबले स्थायी बनाएपछि सहज भएको छ । ‘म १३ वर्षको थिएँ, मेरो खेल मन पराएर आर्मीको एक जना सरले करारमा जागिर लगाइदिनुभयो, अहिले स्थायी भएको पनि पाँच वर्ष पुग्यो । यसले मलाई धेरै आत्मबल बढाएको छ,’ पुनम भन्छिन् ।

‘राज्यले महत्व दिएको छैन’

पुनमले सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुदमा ७८ केजी तौल समूहतर्फ बंगलादेशकी खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । सन् २०१३ मा भुटानमा आयोजित ‘भुटान–नेपाल जुडो ज्वाइन्ट ट्रेनिङ क्याम्प एन्ड टुर्नामेन्ट’मा स्वर्ण पदक हात पारिन् ।

त्यसैगरी सन् २०१६ मा भारतको सिलोङमा १२ औं दक्षिण एसियाली खेलकुदमा ७८ केजी तौल समूहबाट रजत पदक हासिल गरेकी पुनम सोही वर्ष भारतमै भएको १७ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भइन् । उनले २०१८ मा आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिप र थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय नर्थ बैंकक जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन् । पुनमको अबको लक्ष्य सन् २०२४ को ओलम्पिक खेल्ने छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्न खेल कौशलका साथै पर्याप्त डाइट, तालिम र शारीरिक–मानसिक स्वस्थता पनि चाहिन्छ । तर नेपालमा यो कुरालाई महत्व नदिइएकोमा पुनमलाई दुःख लाग्छ ।

‘विदेशमा खेलमा लागेपछि खेलाडीको आर्थिक–सामाजिक सुरक्षा राज्यले नै गरिदिन्छ । तर हाम्रोमा त्यो त परको कुरा समयमा प्रतियोगिता पनि गराउन हम्मेहम्मे हुन्छ,’ पुनम भन्छिन् ।

खेलकुदमा सफलता हात लाग्दै गएपछि पुनम ममीलाई अब दुःख गर्नु पर्दैन भनेर ढाडस दिन्छिन् । तर छोरीले घर व्यवहार हेर्न थाली भने घरको चिन्ताले खेल बिगार्छे भन्ने उनकी ममीलाई चिन्ता छ ।

‘बाबाको माया नपाएर के भयो त, मेरो ममी र दिदीले मलाई बाबाको भन्दा बढी माया दिनुभएको छ,’ हँसिलो अनुहार बनाउँदै पुनम भन्छिन्, ‘परिवारको साथ र सहयोग मिल्ने हो भने जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्न सकिने रहेछ ।’

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?