+
+

‘अर्थतन्त्र जोगाउन अब लकडाउन गर्नुहुँदैन’

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
२०७८ माघ १० गते १०:५१

हामीले कोरोना संक्रमणको कारण दुई वर्षमा धेरै क्षति बेहोर्‍यौं । विश्व अर्थतन्त्रमा नै परेको असर नेपाली अर्थतन्त्रमा नपर्ने कुरै भएन । अर्थतन्त्रका सबै क्षेत्रले कोभिडको ठूलो समस्या झेल्नु पर्‍यो । हाम्रो मुलुकको सन्दर्भमा कुरा गर्ने हो भने पर्यटन क्षेत्रले धेरै ठूलो समस्या झेल्नु पर्‍यो ।

लगातार दुई वर्षसम्म देखिएको कोरोना त्रासका कारण हाम्रा उद्योग व्यवसायहरू निकै ठूलो समस्यामा परे । पहिलो लहरमा धेरै नै त्रास थियो । दोस्रो लहरमा पनि धेरै त्रास फैलियो । कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगधन्दाहरू समयमा नै उठ्न सकेनन् ।

अहिले पुनः संक्रमणको त्रास फैलिएको छ । अहिले ओमिक्रोन भेरियन्टको संक्रमण धेरैलाई पुष्टि भएको छ । दिन प्रति दिन कोरोना संक्रमणको नयाँ भेरियन्टका संक्रमितहरूको ग्राफ बढ्दो छ । पछिल्लो केही दिनको संक्रमणको ग्राफ हेर्ने हो भने दिनप्रतिदिन यो बढेको देखिन्छ ।

काठमाडौं उपत्यकामा यसको त्रास अझ धेरै छ । विद्यालय बन्द गरिएका छन् । अहिले जुन किसिमको त्रास फैलिएको छ यसले अर्थतन्त्रमा पक्कै पनि असर गरेको छ । शुरुआती अवस्थामा जति ठूलो असर गरेको थियो अहिले देखिएको त्रासले त्यति नै ठूलो असर नगर्ला भन्न सकिन्न । अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर निजी क्षेत्रमा पर्छ नै । अहिले पनि त्यसको असर देखिएला भन्ने चिन्ता छ । अहिले सर्वसाधारणहरूमा पनि एककिसिमको अन्योल छ । पुनः लकडाउनको अवस्थामा देश पुग्ने हो कि भन्ने चिन्ता छ ।

म हालै काठमाडौं उपत्यका बाहिरका धेरै जिल्ला घुमें । काठमाडौं उपत्यकामा भन्दा बाहिर त्रास कम छ । सर्वसाधारणमा कोरोना सम्बन्धी चेतना भने बढेको पाइन्छ । बुटवलदेखि चितवन, लमजुङ लगायत धेरै ठाउँ घुमें । सर्वसाधारण धेरै सचेत हुनुहुन्छ । उपत्यका बाहिर कम त्रास भए पनि धेरै सचेत छन् । सुरक्षा सतर्कता अपनाएर व्यावसायिक गतिविधि गरिरहेको पाइन्छ ।

अब फेरि लकडाउन हुन्छ कि भन्ने चर्चा पनि सुनिन्छ । तर, लकडाउन समस्याको समाधान हुन सक्दैन । पुनः लकडाउन भयो भने अर्थतन्त्र ठूलो समस्यामा पर्छ । कोरोना त्रासका कारण यसअघि गरिएको लकडाउनको असर कति पर्‍यो भन्ने विषयमा हामी जानकार नै छौं । त्यसैले अर्थतन्त्रमा झन् ठूलो समस्या आइलाग्यो भने हामी अप्ठेरो स्थितिमा पुग्छौं । त्यो अप्ठेरो स्थितिबाट बाहिर निस्कन गाह्रो पर्नेछ ।

हाम्रो अर्थतन्त्र जोगाउन हामीले नै ध्यान दिने हो । अर्थतन्त्रलाई ठूलो समस्यामा पुग्न नदिन सबैले सोच्नुपर्छ । मुख्य कुरा अब ‘लकडाउन’ गर्ने पक्षमा कोही पनि हुनुहुँदैन

यसअघि अर्थतन्त्रमा परेको असरको अझै ‘रिकभरी’ हुनसकेको छैन । खासगरी हिजो पनि पर्यटन क्षेत्र चलायमान हुनसकेको थिएन । चालू आर्थिक वर्षको शुरूआतसँगै कोरोनाको त्रास कम हुँदै गयो । कोरोनाको त्रास कम भएपछि आर्थिक गतिविधि बढे । तर अर्थतन्त्र पुरानै अवस्थामा फर्किहाल्न भने सकेको थिएन । बाह्य पर्यटकहरू आएका थिएनन् ।

तर, खुशीको कुरा आन्तरिक पर्यटकहरूको चहलपहल भने राम्रै बढेको थियो । बाहृय पर्यटकहरू नआए पनि आन्तरिक पर्यटकहरूका कारण आर्थिक गतिविधि राम्रै बढिरहेको थियो । अर्थतन्त्र विस्तारै चलायमान भइरहेको थियो । अर्थतन्त्र अब लयमा आउँछ भन्दै गर्दा फेरि अहिले त्रास फैलिएको छ । यसले अर्थतन्त्रलाई कहाँ के कति समस्यामा पार्नेछ भन्ने कुरा अहिले देखिएको त्रास कहिलेसम्म रहन्छ भन्ने कुरामा निर्भर गर्छ ।

कोरोना संक्रमणबाट जोगिन सबैले उच्च सतर्कता अपनाउनुपर्छ । सतर्कता अपनाएर गतिविधि खुला हुन दिनुपर्छ । अर्थतन्त्र चलायमान राख्नुपर्छ । अर्थमन्त्रीले पनि लकडाउन हुनुहुँदैन भन्ने गरेको सुनिन्छ । स्वास्थ्य मन्त्रालयको धारणा पनि लकडाउन हुनुहुँदैन भन्ने पक्षमा नै छ । अहिले हाम्रो स्पष्ट धारणा पनि लकडाउन गर्नुहुँदैन नै भन्ने हो ।

विगतमा अर्थतन्त्रले जे-जति क्षति बेहोर्‍यो त्यसका लागि केही विशेष आर्थिक प्याकेज चाहिन्छ भनिएको थियो । सरकार र नेपाल राष्ट्र बैंकबाट अर्थतन्त्र पुनरुत्थानका लागि केही प्रयास भएकै हुन्, नभएका हैनन् । तर जे-जति प्रयास भए त्यो पर्याप्त थिएनन् कि जस्तो लाग्छ ।

राष्ट्र बैंकले पुनर्कर्जादेखि ब्याज छूटसम्मका योजनाहरू ल्याएर अर्थतन्त्रलाई उकास्न र निजी क्षेत्रलाई राहत दिने योजना बनायो । ब्याज छूट लगायत सुविधा पनि सरकार र राष्ट्र बैंकले नभएर बैंकहरूले दिएका थिए । राहत दिने योजना राज्य वा राष्ट्र बैंकबाट नभएर बैंकहरूबाट भयो । यसकारण यसअघि अर्थतन्त्र पुनरुत्थानका लागि भए/गरेका कामहरू पर्याप्त थिएनन् कि भन्ने हो ।

जे होस् भए/गरेका सबै सकारात्मक कामहरूको सम्मान गर्नैपर्छ । अर्थतन्त्रलाई पुनः समस्यामा पर्न जान दिनुहुँदैन । हाम्रो अर्थतन्त्र जोगाउन हामीले नै ध्यान दिने हो । अर्थतन्त्रलाई ठूलो समस्यामा पुग्न नदिन सबैले सोच्नुपर्छ । अहिले देखिएको कोरोनाको त्रास लामो समय रहँदैन भन्ने पनि बाहिर आइरहेका छन् ।

अर्थतन्त्रलाई यसले कति असर गर्छ र सरकार, राष्ट्र बैंकले अर्थतन्त्र जोगाउन के-कस्ता कदम चाल्नुपर्छ भन्ने विषय यो त्रास कति लामो समयसम्म जान्छ भन्नेमा निर्भर गर्छ । अहिले देखिएको त्रास लामो समयसम्म नरहने हो भने धेरै चिन्ता लिनु नपर्ला । मुख्य कुरा अब बन्द गर्ने पक्षमा कोही पनि हुनुहुँदैन ।

(नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?