+

शुक्र ग्रन्थि क्यान्सर निदान र उपचार

२०७८ माघ  १८ गते १०:२१ २०७८ माघ १८ गते १०:२१
शुक्र ग्रन्थि क्यान्सर निदान र उपचार

पुरुषमा देखिने एउटा दुर्लभ अर्बुद हो शुक्र ग्रन्थिको क्यान्सर। प्रायः यो १५ देखि ३५ वर्षको उमेरमा देखापर्ने हुन्छ। यसको ठीक विपरीत पुरुषमा देखिने प्रचलित क्यान्सर प्रोष्टेट ग्रन्थिको हो। तर यो प्रायः ६० वर्ष नाघेको पुरुषमा जति उमेर बढ्दै जान्छ त्यति नै यसको सम्भावना विस्तृत हुन्छ। तर शुक्र ग्रन्थि र प्रोष्टेट ग्रन्थिको क्यान्सरमा एउटा ठूलो भिन्नता अर्को पनि छ। शुक्र ग्रन्थिको क्यान्सर लघुकारी, मत्थर निवारण सहज हुन सक्छ तर छिटो फैलने र बढी घातक हुन्छ। तर प्रोष्टेट ग्रन्थिको क्यान्सर वर्षौं लागेर फैलिन्छ र २० प्रतिशत भन्दा कम बिरामी मात्र यसको कारणले मृत्युवरण गर्दछन्।

अर्को एउटा फरक हो यी रोगबारे जनचेतना उच्चस्तरमा फैलाउन सके शुरुकै अवस्थामा शुक्र ग्रन्थिको क्यान्सर निदान भएर शतप्रतिशत रोग निको पार्न सकिन्छ। प्रोष्टेट क्यान्सरको रोग पहिचान त्यति सजिलो छैन। ग्रन्थिको क्याप्सुल बाहिर व्याधि फैलिएको अवस्थामा उपचार प्रायः पार्ने मात्र सम्भव हुन्छ। यी दुवै क्यान्सरको भार बढ्दो छ। पुरुषमा मात्र देखिने भएकाले उनीहरू माझ बढी चनाखो र स्वास्थ्य चेतना हुन नितान्त आवश्यक छ। पुरुषलाई अमेरिकामा प्रत्येक ७ पुरुषमा एक जनामा प्रोष्टेट क्यान्सर र २६३ पुरुष माझ एकमा मात्र शुक्र ग्रन्थिको क्यान्सर हुन्छ। सामान्यतया १ प्रतिशत पुरुषमा शुक्र ग्रन्थिको क्यान्सर देखा पर्दछ भने युरोजेनिटल अर्बुदमा यसले ५ प्रतिशत आफ्नो हिस्सा राख्दछ। तर पनि यो अर्बुद निवारणमा स्त्री लिङ्गको योगदान महत्वपूर्ण साबित भएको छ।

शुक्र ग्रन्थिको विकास

भ्रूण अवस्थाको सात हप्तामा भविष्यको पुरुष शुक्र ग्रन्थिबाट शिलान्यास हुन पुग्छ। त्यसपछि भ्रूणलाई पुरुषमा पूर्ण रूपमा विकास गराउन यो ग्रन्थिले कुनै नयाँ नयाँ घटनाहरूबाट गुज्रनुपर्ने हुन्छ। यसको विकासमा मस्तिष्कमा रहेको पिट्युअटेरी ग्रन्थिको र हाइपोथालामसको महत्वपूर्ण योगदान रहन्छ।

अन्ततोगत्वा शुक्र ग्रन्थिले प्रमुखतः दुई प्रकारका कार्य गर्न सक्षम हुनुपर्दछ। प्रथम हो पुरुष हर्मोन टेस्टास्टेरोन बनाउने कार्य जो यस अङ्गको तापमानमा भर पर्दैन। अर्को महत्वपूर्ण कार्य शुक्रकीट बनाउने जो तापमान पेट भित्रको भन्दा २ देखि ७ डिग्रीसम्म कम भएको अवस्था हुनुपर्दछ। त्यसैले शुक्र ग्रन्थि अण्डकोषमा शरीरको बाहिर झुन्डिएको अवस्थामा हुन्छ। अण्डकोषको थैलीमा रहेका मांसपेशी खुम्चिएर वा खुकुलो भएर त्यसभित्र शुक्र ग्रन्थिलाई उपयुक्त तापक्रममा रहन योगदान पुर्‍याउँछ।

शुक्र ग्रन्थि क्यान्सरको जोखिम कसमा बढी ?

सर्वप्रथम कुनै पनि पुरुष जसको शुक्र ग्रन्थि अण्डकोष भित्र नभएर बाहिर हुन्छ तिनीहरूमा यो व्याधि हुने सम्भावना १५ गुणाले बढी भएको पाइएको छ।

पुरुषको उमेर १५ देखि ३५ भित्रमा सबैभन्दा बढी शुक्र ग्रन्थि क्यान्सर देखापर्ने भएकाले यो उमेर नै जोखिमपूर्ण मानेर रोग पहिचानको निम्ति सतर्कता अपनाउनुपर्दछ। किन भने यो उमेरमा बीज उत्पादन गर्ने कोषिका अत्यन्त छिटो विभाजित र वृद्धि हुने प्रक्रियामा हुन्छन्।

विरलै तर शुक्र ग्रन्थि क्यान्सर तीन वर्ष भन्दा कम उमेरका बच्चामा पनि हुन सक्छ। त्यसैले शुक्र ग्रन्थिको अस्वाभाविक वृद्धि देखे चिकित्सकलाई देखाउनुपर्दछ। अर्कोतर्फ खाली जवानीमा मात्र हुने रोग भनेर ६० वर्ष माथिका पुरुषमा शुक्र ग्रन्थि बढे त्यो लिम्फोमा प्रजातिको अर्बुद हुन सक्छ। पुरुष जसका नजिकका नातेदारमा शुक्र ग्रन्थि क्यान्सर भएको इतिहास छ उनीहरूमा यो रोगको सम्भावना ४ देखि १० गुणासम्म उच्च हुन सक्छ।

भारतको आँकडा अनुरूप नेपालमा हाल दुई लाख पुरुषमध्ये एक व्यक्तिमा यो रोग छ भनेर पूर्वानुमान गर्न सकिन्छ। तर बिर्सनुहुन्न कि संसारमा यो क्यान्सर बढ्दो छ।

शुक्र ग्रन्थिको क्यान्सर समयमै निदान गरेर शल्यक्रिया, विकिरण तथा रासायनिक उपचार गरे ९५ प्रतिशत पुरुष रोगमुक्त हुन सक्छन्।

शुक्र ग्रन्थि क्यान्सरका लक्षण

सर्वप्रथम सामान्य आकार, नाप तथा परिणाममा भएको शुक्र ग्रन्थि एक्कासि ठूलो हुँदै आयो र त्यसलाई छाम्दा डल्लो स्पर्श अनुभूति भए अमङ्गल सूचक अहितकारी लक्षणका रूपमा लिएर सक्दो छिटो त्यसको विशेषज्ञ परीक्षण गराउनुपर्दछ। यस्तो अशुभ लक्षणयुक्त शुक्र ग्रन्थि प्राय: नदुख्ने तर पीडकलाई गह्रुंगो अनुभूति दिलाउने हुन्छ। यसरी वृद्धि भएको शुक्र ग्रन्थि आफ्नो दौंतरीको अनुपातमा ठूलो मात्र नभएर साह्रो तर दर्द नहुने हुन्छ भन्दा यदि यस्तो शुक्र ग्रन्थिभित्र रक्तस्राव भए त्यसले पीडा पनि दिन सक्छ। यस्तो क्यान्सर फैलने सिलसिलामा काछ, पेट, छाती र घाँटीतिर पनि तन्तु विस्तार भए विभिन्न प्रकारको पीडा तथा श्वासप्रश्वासमा समेत असजिलो अनुभव हुन सक्छ। खास गरेर जुनसुकै कारणले भए पनि आफ्नो दौंतरी शुक्र ग्रन्थि भन्दा सानो मापनमा रहेका शुक्र ग्रन्थि एक्कासि वृद्धि भए क्यान्सरको सम्भावना शतप्रतिशत मानेर चिकित्सकलाई देखाउनै पर्दछ। १५ देखि ३५ वर्षका पुरुषमा यस्तो अवस्था देखापर्नु अझै थप अमङ्गलसूचक लक्षणका रूपमा लिनुपर्छ। जसको अण्डकोषमा एउटा मात्र शुक्र ग्रन्थि हुन्छ र अर्को पेटभित्र रहेको शुक्र ग्रन्थि वृद्धि भएको थाहा पाउन झन् लामो समय पर्खनुपर्ने हुँदा त्यसलाई बेवास्ता गर्नु नपड्किएको बमसँग खेल्नु जस्तै साबित हुन सक्छ।

शुक्र ग्रन्थि क्यान्सर निदान र उपचार कसरी ?

पुरुष शिशुको जन्म हुनासाथै उसका दुवै शुक्र ग्रन्थि अण्डकोष भित्र छन् या छैनन् त्यसको परीक्षण हुनै पर्दछ। यदि कुनै शिशुमा एक वा दुवै शुक्र ग्रन्थि उपयुक्त ठाउँमा नभए यो सूचना आमा तथा बुवामा सम्प्रेषण गरेर समय समयमा त्यसको निरीक्षण गर्न स्वास्थ्यकर्मीले सिकाउनुपर्दछ। खास गरेर समय अगावै जन्मेका शिशुमा ती ग्रन्थि केही पछि पनि आफ्नो ठाउँमा ओर्लिन सक्छन्। यसबारे चनाखो भएर पेडिआट्रिक चिकित्सकको सल्लाह बमोजिम अनुगमन भइराख्नुपर्छ।

स्कूल जाने विद्यार्थीमा सबैमा अण्डकोषभित्र शुक्र ग्रन्थि छन् भनी यकिन हुन बच्चाहरूको परीक्षण गराउने परिपाटी बसाल्नुपर्छ। यस्तो अवस्था देखा परे परिचारिका वा चिकित्सकले आमा- बुवालाई यसबारे पूर्ण सूचना दिएर बच्चालाई चिकित्सक कहाँ पठाएर उपचार गर्न सहयोग पुर्‍याउनुपर्छ।

१०-१२ वर्ष भइसकेका बच्चाले आफ्नो शुक्र ग्रन्थि आफैं परीक्षण गर्न सक्ने गरिकन स्वास्थ्यकर्मी र आमा बुवाले उनीहरूलाई ज्ञान तथा हस्तकौशल बनाउन प्रशिक्षण दिनुपर्दछ। त्यस्ता बच्चा सम्पूर्ण आफ्नो जीवनभर यदि शुक्र ग्रन्थिमा फरक आए ती आफैं रोग निदान गर्न सक्छन्। सधैं लगाएको लुगा आफूलाई असजिलो लागे वा अण्डकोष बीच-बीचमा ठक्कर लाग्ने भए चिकित्सकको परामर्श लिनुपर्दछ।

वैज्ञानिक परीक्षणमध्ये युएसजीको शुक्र ग्रन्थिको क्यान्सर निदानमा महत्वपूर्ण स्थान छ। तर अन्तिम रोग निदानको निमित्त पूर्ण शुक्र ग्रन्थि निकालेर तन्तु जाँच आवश्यक पर्दछ। कुन प्रकारको त्यो अर्बुद हो र त्यो विकिरण रासायनिक तथा थप उपचार प्रति कति संवेदनशील छ तन्तु जाँचको परिणामबाट थाहा हुन्छ। युएसजी परीक्षण सर्वसुलभ र आर्थिक दृष्टिले धेरैको क्षमताभित्र पर्न सक्छ। तर पनि अर्बुद सूचक रक्त परीक्षण तथा एमआरआई जस्ता बढी महँगा जाँचहरू पनि गर्नै पर्ने हुन सक्छ। यस्ता परीक्षण प्राथमिक शल्यचिकित्सा पूर्व र तत्पश्चात् पनि अनिवार्य हुन्छ।

तन्तु परीक्षणको आधारमा शुक्र ग्रन्थिका क्यान्सर सेमिनोमा र ननसेमिनोमा तिनीहरूको उग्रता, घातकता र विषाक्तताका आधाररेखामा विभाजन गरिन्छन्। सेमिनोमाले झन्नै ५० प्रतिशत शुक्र ग्रन्थि क्यान्सर ओगट्दछ। ती बढी ४० को दशकका पुरुषमा देखा पर्दछन्। तर ती कम घातक, ढिलो शरीरका अरू भागमा फैलने, उपचार गर्दा छिटो निको हुने हुन्छ। पेटभित्र फैलिए पनि ती विकिरण उपचारबाट शतप्रतिशत नियन्त्रण हुन्छन्। यद्यपि १५ प्रतिशत बिरामी रोग बल्झेमा रासायनिक उपचार अपनाउन बाध्य हुन्छन् र पाँच वर्ष चिकित्सकको निगरानीमा हुनुपर्छ।

ननसेमिनोमा विकिरण प्रतिरोधात्मक शक्तियुक्त हुन्छ। यो प्राय: ३० को दशकमा भएका पुरुषमा देखा पर्छ। यो बढी घातक, शुक्र ग्रन्थि बाहिर छिटो फैलिने र लामो उपचारको आवश्यकता पर्दछ। अर्बुद रक्त सूचकको परीक्षण गरेर लामो समय फेरि अर्बुद पलायो कि भनेर नियालिराख्नुपर्छ। यो वर्गको क्यान्सरको शल्यक्रिया दोहोर्‍याएर गरिराख्नुपर्ने हुन सक्छ। यस्तो गर्नसके ९५ प्रतिशत पुरुष रोग मुक्त हुन सक्छन्।

निचोड

यद्यपि शुक्र ग्रन्थि क्यान्सर दुर्लभमा गनिन्छ तर पनि यो प्रायः १५ देखि ३५ वर्षसम्म देखिने पुरुषको प्रमुख अर्बुद मानिन्छ। रोग नहुनुपर्ने र परिवारको जग बसाल्नुपर्ने उमेरमा यो देखिने हुँदा यसलाई समयमै निदान गर्न आम जनमानसमा चेतना जगाउनु आवश्यक छ।

शुक्र ग्रन्थि अण्डकोषभित्र नभएर पेटतिर भए वा नजिकका नातेदारमा यो रोग भएको रहेछ भने त्यस्ता पुरुषले चनाखो भएर चिकित्सकको परामर्श तथा उपचारमा हुनुपर्छ।

एक्कासि एउटा शुक्र ग्रन्थि ठूलो हुँदै आए, त्यो साह्रो तर नदुख्ने भए क्यान्सरको शंका गरेर पूर्ण परीक्षण तथा उपचार गराउनुपर्छ। शुक्र ग्रन्थिको क्यान्सर समयमै निदान गरेर शल्यक्रिया, विकिरण तथा रासायनिक उपचार गरे ९५ प्रतिशत पुरुष रोगमुक्त हुन सक्छन्।

(लेखक युरोलोजिष्ट हुन्।)

क्यान्सर
लेखक
प्रा.डा.अर्जुनदेव भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय