+
+

कैलालीमा दुर्घटनामा मासिक तीन जनाले गुमाउँछन् ज्यान

जनक विष्ट जनक विष्ट
२०७८ माघ १८ गते १७:३३

१८ माघ, धनगढी । गत माघ २ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका-४ को बलियामा मोटरसाइकलको ठक्करबाट स्थानीय ५५ वर्षीया मनसरा न्यौपानेको मृत्यु भयो ।

से ६प ८७८६ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकी न्यौपानेको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएपछि भोलिपल्ट आफन्त र स्थानीयले दिनभर राजमार्ग अवरुद्ध पारे ।

पीडित पक्षले उठाएका माग सम्बोधन गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि माघ ३ गते साँझ राजमार्ग खुल्यो र दिनभर बीचबाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागे।

सवारी दुर्घटनाको विषयलाई लिएर स्थानीय पूर्वपश्चिम राजमार्गअवरुद्ध गरेको यो नै पहिलो पटक भने होइन । राजमार्गमा हुने गरेका प्रायजसो हरेक सवारी दुर्घटनाका घटनामा राजमार्गअवरुद्ध पार्ने प्रवृत्ति बढ्दै जान थालेको छ। बेला बखत यहाँको राजमार्गमा तनाव सिर्जना हुँदा प्रहरीले बल प्रयोग गरेका उदाहरण पनि छन् ।

गत मंसिर ९ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ बस्ने ४० वर्षीया गोमा थापाको मृत्यु भयो।

घटनाको विरोधमा आफन्तले राजमार्गमा अवरोध सिर्जना गरेपछि स्थिति तनावग्रस्त बन्दा प्रहरीले २८ राउण्ड हवाइ फायर र ३४ सेल अश्रु ग्यास प्रहार गरेर राजमार्ग खुलाएको थियो ।

गत मंसिर ११ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिका-५ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भयो । घोडाघोडी नगरपालिका-५ डोकेबजारमा शर्मा सवार सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घटनाको विरोधमा स्थानीयले त्यो दिन पनि राजमार्ग अवरुद्ध पारेका थिए ।

पूर्वपश्चिम राजमार्गमा मंसिर ९ गतेदेखि १३ गतेसम्म भएका दुर्घटनामा चार जनाले अकालमै ज्यान गुमाउनु परेको थियो । यी घटना प्रतिनिधिमूलक भएपनि पूर्वपश्चिम राजमार्गको अत्तरियादेखि चिसापानीसम्मको ७३ किलोमिटर खण्डमा प्रायजसो दैनिक सवारी दुर्घटनाका घटना भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांकले चालू आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गमा मासिक कम्तीमा पनि तीन जना मानिसले सवारी दुर्घटनामा परेर ज्यान गुमाइरहेको देखाउँछ ।

पूर्वपश्चिम राजमार्गमा ७ महिनामा २१ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म पूर्वपश्चिम राजमार्गमा भएका विभिन्न सवारी दुर्घटनामा परेर २१ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा भएका कुल ६४ वटा दुर्घटनामा २१ जनाको मृत्यु, ६३ जना गम्भीर घाइते र १७ जना समान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको तथ्यांक हेर्दा ६४ वटा दुर्घटनामा ७८ वटा सवारी साधन परेका छन् । जसमा आधा भन्दा बढी मोटरसाइकल छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर) वकिल सिंहले राजमार्गमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म भएका ७८ वटा सवारीसाधन दुर्घटनामा ४४ वटा मोटरसाइकल मात्र परेको जानकारी दिए।

‘हामीकहाँ पूर्वपश्चिम राजमार्गमा बढिजसो मोटरसाइकल दुर्घटना हुने गरेको देखिन्छ। धेरैजसो दुर्घटना राति, शुक्रबार र शनिबार हुने गरेको हाम्रो तथ्यांकले देखाउँछ,’ सिंहले अनलाइनखबरसँग भने, ‘दुर्घटनामा पैदल यात्रीहरु पर्ने क्रम पनि बढ्दो छ। उहाँहरुमा बाटो कसरी क्रस गर्ने भन्ने लगायतका ज्ञानको कमीले समस्या भइरहेको छ।’

चिसो मौसममा कम भिजिविलिटी हुने गरेकाले राजमार्गमा दुर्घटना बढेको उनी बताउँछन् । ७ महिनाको अवधिमा पूर्वपश्चिम राजमार्गमा ट्रक, जिप कार ९⁄९ वटा, बस ५ वटा, अटो रिक्सो, ट्रयाक्टर २⁄२ वटा, टिप्पर, लोडर स्काभेटर १⁄१ वटा दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी भने पूर्वपश्चिम राजमार्ग असुरक्षित बन्दै जानुका धेरै कारण रहेको बताउँछन् ।

‘राजमार्ग क्षेत्रमा गुड्ने सवारी साधनको गति तीव्र हुन्छ । सडक सुरक्षाको विश्वव्यापी मापदण्डअनुसार हाइवेमा बस्ती हुनुहुदैन्, सकभर बस्तीलाई टाढै राख्नुपर्ने मान्यता छ,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘तर हामीकहाँ राजमार्गको छेउमै बस्ती छ । अर्कोकुरा सबै सडक प्रयोगकर्ताका लागि दुई लेनको एउटा मात्र सडक हुनुले पनि यहाँ जोखिम बढेको छ ।’

चिसापानीदेखि अत्तरियासम्मको राजमार्गमा यीबाहेक छाडा पशु चौपाया, एउटै सडकमा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारी साधन चलाइनु, छुट्टाछुट्टै लेनको अभाव, ट्राफिक नियमको पालनको कमीलगायतका कारण पनि सवारी दुर्घटना बढेको एसपी अधिकारीले बताए ।

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनामा अनावश्यक बार्गेनिङ गर्ने प्रवृत्तिका कारणले समेत सर्वसाधारणदेखि प्रहरी प्रशासनसम्मले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

‘धेरै वर्ष पहिले बनेको ऐनले सवारी दुर्घटनामा क्षतिपूर्तिको लागि पाँच लाख रुपैयाँको व्यवस्था गरेको छ,’ अधिकारीले भने, ‘तर मानिसहरुमा बाटो जाम गरेर बार्गेनिङ गर्ने प्रवृत्ति देखियो । बार्गेनिङ गरेमा बढि पैसा पाइन्छ भन्ने गलत भ्रम छ । यसले अझ बढी सास्ती हुने गरेको छ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?