
२१ माघ, काठमाडौं। सिराहाका अनिलकुमार मण्डलले कमिसनको लोभमा ९ दिनमा तीन साझेदारको हत्या गरी शव व्यवस्थापन गरेको खुलेको छ । मंसिर अन्तिम साता र पुस पहिलो साता ललितपुर र मोरङमा गरी तीन जनाको हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीले सुरुवातमा ललितपुरमा ६३ वर्षीय मोहन लिम्बु मारिएको बताए । ‘त्यसपछि राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीलाई लिएर उनी विराटनगर आएका थिए’ जिसीले भने, ‘राजेन्द्रको ५ पुस र शम्भुको ७ पुसमा हत्या भएको खुलेको छ ।’
ललितपुरको थेचोमा गोदामका लागि भन्दै लिइएको घरमा हत्या गरेकै दिन मण्डल दुवैजनालाई लिएर विराटनगर गएको जिसी बताउँछन् । ललितपुरमा लिम्बुको हत्या गरेको ७ औं र ९ औं दिनमा विराटनगरमा थप दुई साझेदारको हत्या गरेर उखुबारीमा शव व्यवस्थापन गरिएको प्रहरीले बताएको छ ।
ललितपुरमा डोरीले घाँटीमा कसेर लिम्बुको हत्या गरेको पाइएको प्रहरी बताउँछ । ‘त्यसको व्यवस्थापनका लागि घर पछाडि खाल्डो खनेर शव राखेर माथिबाट डलान गरिएको पाइएको छ’ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘सूचना प्राप्त नभएसम्म नभेटिने गरी शव लुकाइएको रहेछ ।’
एसपी जिसीका अनुसार बिराटनगरमा राजेन्द्रलाई धनपालधान गाउँपालिका-७ स्थित कमलपुर जाने नहरमा उस्तै शैली प्रयास गरी हत्या गरिएको थियो । यो उनको शव भेटिएको उखुबारीबाट एक सय मिटर उत्तरमा पर्छ । चौधरीलाई चाहिँ शव भेटिएको स्थानबाट एक सय मिटर दक्षिणमा हत्या गरिएको खुलेको जिसी बताउँछन् ।
प्रहरीका अनुसार घटनामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ परिसकेका छन् । थप केही व्यक्ति फरार छन् । यसमा केही भारतीय नागरिक पनि संलग्न रहेको अनुसन्धान अधिकृतहरुको आशंका छ ।
घटनामा विस्तृत अनुसन्धान भइरहेको जिसी बताउँछन् । मोरङको उखुबारीमा १२ र १३ माघमा दुई जनाको शव भेटिएपछि यो घटना बाहिर आएको थियो । अनुसन्धानको सिलसिलामा बिहीबार ललितपुरमा पनि थप एक जनाको शव भेटिएको थियो ।
प्रहरीका अनुसार चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गर्ने गरेका थिए ।
प्रतिक्रिया 4