+
+

नेपालमा लोकप्रिय हुँदैछ ज्येष्ठ नागरिक लक्षित ‘केयर होम’

घर परिवारको व्यक्तिले हरदम समय दिन सक्ने सम्भावना कम हुन्छ । त्यसैले विश्वाविसलो व्यक्तिको खोजी हुन्छ । तर आजभोलि सहयोगी अथवा विश्वासिलो सहयोगी पाउन मुश्किल हुन्छ । विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण डे केयर अथवा केयर होम खोजिरहेका हुन्छन् ।

नुनुता राई नुनुता राई
२०७८ माघ २२ गते २०:२५

२२ माघ, काठमाडौं । ‘बच्चा अवस्थामा एक्लै हुँदा घरमा कोही आउँछ कि भन्ने डर हुन्छ तर, वृद्ध अवस्थामा एक्लै हुँदा घरमा कोही आउँदैन कि भन्ने चिन्ता हुन्छ ।’ एक विदेशी लेखिकाको यो भनाइले वृद्धावस्थाको चिन्ता र भय दर्शाउँछ ।

जीवनमा धेरै कुराहरू पाउन असाध्यै मेहनत गर्नुपर्छ । तर बुढ्यौली भने बिनाकुनै मेहनत आइहाल्छ । बुढ्यौली बढ्दै गएपछि मानिसको शरीरमा तागत घट्न थाल्छ । बिस्तारै रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन थाल्छ । शरीर कमजोर हुँदै गएपछि आफ्नो काम पनि आफैं गर्न सक्ने अवस्था हुँदैन । उठ्न बस्न समेत सहयोगको आवश्यकता पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला हेरविचार गर्नको लागि एक व्यक्ति हरदम साथमा हुनुपर्ने हुन्छ ।

घर परिवारको व्यक्तिले हरदम समय दिन सक्ने सम्भावना कम हुन्छ । त्यसैले विश्वाविसलो व्यक्तिको खोजी हुन्छ । तर आजभोलि सहयोगी अथवा विश्वासिलो सहयोगी पाउन मुश्किल हुन्छ । विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण डे केयर अथवा केयर होम खोजिरहेका हुन्छन् ।

डे केयरले बुढेसकालमा घरमा कोही नआउने चिन्ता घटाउँछ । यही आवश्यकतालाई मध्यनगर गर्दै निजी स्तरमा सञ्चालित डे केयर, केयर होमजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्ता व्यक्ति अथवा परिवारको समस्या समाधान गर्नको लागि अहिले शहरी क्षेत्रमा डे केयर, केयर होम जस्ता स्याहार केन्द्रहरू खुल्न थालेका छन् ।

८ वर्ष अघि काठमाडौंको गैरीधारामा खुलेको होप हर्मिटेज इल्डर्ली केयर होममा अहिले त्यस्ता परिवारका ४० जना ज्येष्ठ नागरिक छन् । सुरुमा अल्जाईमर रोगीको लागि लक्षित गरेर खोलिएको केयर होममा अहिले अल्जाईमर, डिमेन्सिया, प्यारालाईसिस भएका र सामान्य अवस्था तर सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू रहेको सञ्चालक प्रमिला बज्राचार्य थापा बताउँछिन् ।

अल्जाईमर ज्येष्ठ नागरिक र उनीहरूको परिवारको समस्या बुझेर खोले पनि धेरैले उनको कामप्रति प्रश्न उठाएको उनी सम्झन्छिन् । ‘छोराछोरी विदेशमा भएकाहरू फर्केर आएर सबै समय स्याहार्ने भन्ने सम्भव हुँदैन, एकजना हरदम हेरचाहमा लाग्नुपर्ने हुन्छ । औषधोपचारको लागि पैसा पनि कमाउनुपर्छ’ उनी भन्छिन्, ‘स्वदेशमै रहेका पनि कामकाजी छोराछोरीको समस्या त्यस्तै छ । हेरचाह गर्न थाल्यो भने कमाउने समय हुँदैन कमाउनपट्टि लाग्दा हेरचाह गर्न सम्भव हुँदैन ।’

आफूले होप हर्मिटेज खोलेपछि अल्जाईमर ज्येष्ठ नागरिकलाई मात्रै नभएर परिवारलाई नै राहत मिलेको उनको जिकिर छ । अहिले तीनवटा भवन केयर होमको लागि प्रयोग भइरहेको उनले जानकारी दिइन् । क्रिटिकल केयर ब्लक छ जसमा न्याजोल फिडिङ गर्ने, प्यारालाइसिस, अल्जाईमर, डिमेन्सिया भएकाहरू र ब्लक बी र ब्लक सीमा असिस्टेट लिभिङ (सहयोगीको आवश्यकता भएको सामान्य अवस्थाको) ज्येष्ठ नागरिकहरू छन् ।

केही समय अल्जाईमरको लागि मात्रै खोलिएको केयर होममा उच्च रक्तचाप, मधुमेहको औषधि खाइरहेका, सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू पनि आउन थालेपछि उनीहरूको लागि पनि असिस्टेन्ट लिभिङ केयर भनेर राख्न थालिएको उनी बताउँछिन् ।

ज्येष्ठ नागरिकहरूको लागि यस्ता केयर सेन्टरहरू ठाउँ ठाउँमा खुल्नुपर्ने उनको भनाइ छ । ‘वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन’ उनी भन्छिन्, ‘केयर सेन्टरमा उमेर मिल्ने कुरा मिल्ने करिब उस्तै उमेरकाहरू हुन्छन् । अर्को बुढो शरीर कुनै पनि बेला स्वास्थ्य बिग्रन सक्ने भएकोले विशेष ख्याल राखिरहनुपर्छ ।’

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको अनुसार अहिले उपत्यकामा निजी स्तरमा सञ्चालित ७ वटा केयर होम छन् । महासंघका प्रशासकीय अधिकृत उत्तम भण्डारीको अनुसार सञ्चालनमा रहेका कतिपय केयर होमहरू महासंघको तथ्यांकमा समेटिएका छैनन् ।

घर परिवारको व्यक्तिले हरदम समय दिन सक्ने सम्भावना कम हुन्छ । त्यसैले विश्वाविसलो व्यक्तिको खोजी हुन्छ । तर आजभोलि सहयोगी अथवा विश्वासिलो सहयोगी पाउन मुश्किल हुन्छ । विशेषगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण डे केयर अथवा केयर होम खोजिरहेका हुन्छन् ।

उनले भने ‘कतिपय यो तथ्यांकले नसमेटेको हुन सक्छ किनभने हामीले आफैले अनुगमन गरेर तथ्यांक संकलन गरेका छैनौं । उहाँहरू आफैंले टिपाउनु भएको अनुसारको डाटा हो यो ।’ यस्ता केयर होमहरूमा परिवारको सदस्यले अथवा स्वयं ज्येष्ठ नागरिकले सेवाको लेनदेनबापत निश्चित शुल्क तिर्नुपर्छ ।

करिब १२ वर्षअघिदेखि ललितपुरको सानेपामा सञ्चालित हेल्थ होम केयर नेपालकी अध्यक्ष हुन् प्रा.डा.लोचना श्रेष्ठ । उनका अनुसार उपत्यकामा कत्ति छन् भन्ने तथ्यांक नै छैन । ‘कुनै कम्पनीमा, कुनै संघसंस्थामा दर्ता भएका छन् । अर्को संगठित पनि छैन,’ उनी भन्छिन्, ‘त्यसैले यकिन तथ्यांक आउन मुश्किल होला ।’ अहिले उनको केयर होममा ३० जना ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् ।

ज्येष्ठ नागरिक लक्षित खुल्ने केयर होमहरूले एकल परिवारको लागि धेरै सहयोग हुने जिकिर गर्छिन् । प्रा.डा.श्रेष्ठ भन्छिन्, ‘आजभोलि अधिकांश एकल परिवार हुन्छन् । दैनिकी धान्नको लागि कमाई गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा घरमा भएका ज्येष्ठ नागरिकलाई समय दिएर हेरबिचार गर्ने, उनीहरूसँग बसेर गफ गरिरहने, अस्पताल ल्याउने लाने गर्न मुश्किल हुन्छ ।’ त्यस्ता परिवारलाई डे केयर अथवा रेसिडेन्सियल केयर होमले सहज बनाइरहेको उनको बुझाइ छ ।

केही वर्ष अघिसम्म नेपाली समाजमा डे केयर सञ्चालन सजिलो काम थिएन । अरुले के भन्ला भन्ने सोचेर जस्तो समस्या भएपनि डे केयरमा आफ्ना आमाबुवालाई लैजान मानिसहरु तयार हुँदैनथे । आमाबुवाले पनि सकेसम्म घरैमा बस्छु भन्ने मनशाय राख्नु स्वभाविकै हुन्थ्यो । तर विदेशमा छोराछोरी हुनेहरूले अशक्त अथवा सहयोगी विश्वासिलो नभएपछि केयर होममा राख्न थाले ।

बिस्तारै आम मानिसको बुझाइमा पनि परिवर्तन आउन थाल्यो । होप हर्मिटेज इल्डर्ली केयर होमकी सञ्चालक प्रमिला भन्छिन्, ‘पहिला सकेसम्म आफन्त, अथवा कोही विश्वासिलो व्यक्ति खोजेर साथी राखिदिने प्रचलन थियो । तर विदेशतिर केयर होमको प्रचलन भएकोले विदेशमा भएका छोराछोरीले आफ्ना आमाबुवालाई सम्झाए केयर होममा राख्न थाले ।’

केयर होममा बसेका ज्येष्ठ नागरिक खुशी भएको देखेपछि सन्तान र बाबुआमा दुवैको रोजाईमा केयर होम पर्न थालेको उनको बुझाइ छ । ‘सुरक्षित हुने, हेरचाह पुग्ने भएपछि समस्यामा रहेका धेरैले डे केयरमा ल्याउन थाल्नुभयो,’ उनी भन्छिन् । अहिले केयर होमको महत्व, आवश्यकताबारे धेरै सकारात्मक हुँदै गएको उनको बुझाइ छ ।

आफूले १२ वर्ष अघि डे केयर खोल्दा धेरैलाई यो विषयमा जानकारी नभएको हेल्थ होम केयर नेपालकी अध्यक्ष प्रा.डा.लोचनाको अनुभव छ । ‘मैले त्यसबेला अल्जाइमर, डिमेन्सिया भएका ज्येष्ठ नागरिकको लागि डे केयर सुरु गरेकी थिएँ । धेरैले बुझैकै थिएनन्,’ उनी भन्छिन्, ‘यहाँ के गरिन्छ भनेर सशंकित हुन्थे । पछि बिस्तारै बुझ्दै गएपछि अहिले धेरै मानिसहरुले डे केयर खोज्न थाले ।’

केयर होमको सकारात्मक प्रभावकै कारण लोकप्रियता बढ्दै गइरहेको अधिकांश सञ्चालकको बुझाइ छ । सन्तान नभएका र छोराछोरी बाहिर भएका व्यक्तिहरूले आम्दानीको केही प्रतिशत केयर होमको लागि बचत गर्ने परिपाटी पनि शुरु भएको सञ्चालकहरू बताउँछन् ।

ज्येष्ठ नागरिकको लागि खुलेका डे केयर अथवा रेसिडेन्सियल केयर होमहरूमा अनिवार्य डाक्टरको सुविधा हुन्छन्, जहाँ सामान्य उपचार पनि सम्भव हुन्छ । अस्पताल नै लानुपर्ने अवस्था सिर्जना भएपनि डे केयरले त्यसको व्यवस्था गर्छ । यतिधेरै सेवा व्यवस्थापन गर्न नसकेर कतिपय डे केयरहरु बन्द पनि भएका सञ्चालकहरु बताउँछन् ।

हेल्थ होम केयर नेपालकी अध्यक्ष प्रा.डा.लोचना भन्छिन्, ‘सानोतिनो अस्पताल नै बनाउनुपर्छ । किनभने ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था हरदम जाँच गरिरहनुपर्ने हुन्छ । कुनै पनि बेला स्वास्थ्य अवस्था बिग्रन सक्छ । त्यस्तो अवस्थामा तत्काल उपचार गर्नुपर्ने हुन्छ ।’

कोभिड महाव्याधिको अहिलेको जस्तो परिस्थितिमा झनै जटिल हुने उनको अनुभव छ । उनी भन्छिन्, ‘यो कोरोना संक्रमणबाट जोगाउन अत्यधिक ध्यान दिनुपर्छ । अहिले परिवारकै सदस्यलाई समेत भेट्न दिन समस्या छ । कर्मचारीहरूबाट त्यस्तै जोखिम छ । हामीले एक किसिमले सिल नै गरेर राखेका छौं ।’

आफैं डाक्टर भएकोले आफ्नो केयर होममा रहेका वृद्धवृद्धालाई आफैं जाँच गर्ने र औषधिहरू नर्सहरूको निगरानीमा दिइने गरेको डा. लोचना बताउँछिन् । ज्येष्ठ नागरिकको लागि केयर होम खोल्न सहज नभएको उनको अनुभव छ ।

होप हर्मिटेज इल्डर्ली केयर होमकी सञ्चालक प्रमिलाको अनुभव पनि उस्तै छ । ‘ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ,’ उनी भन्छिन्, ‘तत्काल अस्पताल अथवा त्यहीँ उपचार गर्नुपर्ने हुन्छ । त्यसैले सानोतिनो अस्पताल त केयर सेन्टरमा नै बनाउनुपर्ने हुन्छ ।’

प्रमिलाले यसअघि उपलब्ध डे केयरको सुविधा कोभिड महाव्याधिका कारण रोकेको जानकारी दिइन् । ‘कोभिडले गर्दा डे केयर सुविधा दिन सक्ने अवस्था भएन । अहिलेलाई रोकेका छौं,’ उनी भन्छिन्, ‘सबै ज्येष्ठ नागरिक हुनुहुन्छ । अधिकांश दीर्घरोगी हुनुहुन्छ, त्यसैले एकदमै बढी जोखिम छ । अहिले त हामीले सिल नै गरेका छौं ।’

जोखिम पूर्ण काम भए पनि यस्ता केयर होमहरू ठाउँ ठाउँमा खुल्नुपर्ने होप हर्मिटेज सञ्चालक प्रमिला बताउँछिन् । ‘ज्येष्ठ नागरिकको संख्या बढ्दो छ । ज्येष्ठ नागरिकको उचित हेरबिचारको लागि यस्ता डे केयर अथवा केयर होमहरू सञ्चालन हुनुपर्छ,’ उनको तर्क छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठको बुझाइमा यस्ता केयर होमहरू सरकारी स्तरबाटै सञ्चालित हुनुपर्छ । ‘सरकारी स्तरबाट यस्ता केयर होमहरू सञ्चालित हुनुपर्छ । भन्न त सरकारले वृद्धाआश्रम नभएर डे केयर सेन्टरहरू खोल्ने भनेको छ,’ उनी भन्छन्, ‘यसलाई कार्यान्वयन गर्नुपर्छ । ठाउँ ठाउँमा डे केयर खोल्ने हो भने ज्येष्ठ नागरिकको समस्या समाधान हुन्थ्यो ।’

सरकारले परिवार भएकालाई डे केयरमा राख्ने र परिवार नभएकालाई आश्रममा राख्ने नीति लिएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका प्रशासकीय अधिकृत उत्तम भण्डारी बताउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?