+
+
जनयुद्ध दिवस :

मुलुकको व्यवस्था बदल्ने द्वन्द्वकालीन गाउँका नफेरिएका दुःख

रोल्पा र रुकुमलाई आधार मानेर माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध मुलुकभर फैलियो र १० वर्ष चल्यो । राज्य र विद्रोही दुवैका निशानामा परेको तत्कालीन मध्यपश्चिमका रुकुम, रोल्पा, सल्यान, जाजरकोटका गाउँलेले अकल्पनीय ज्यादती खेपे । त्यसपछि मुलुकमा राज्य प्रणाली त फेरियो, तर यी गाउँहरुका दुःख भने उस्तै छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन १ गते ७:१३
रोल्पाको होलेरी । यही ठाउँको प्रहरी चौकीमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरु गरेको थियो ।

१ फागुन, दाङ । २०५२ साल फागुन १ गते । अर्थात् २६ वर्षअघि आजकै दिन तत्कालीन नेकपा (माओवादी)ले रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढीका प्रहरी चौकीमा आक्रमण गरेर मुलुकमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।

तिनै माओवादीले २८ असार ०५८ मा होलेरीमा दोस्रो आक्रमण गरेर ७५ प्रहरीलाई नियन्त्रणमा लिंदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलालाले राजीनामा दिनुपर्ने स्थिति सिर्जना भयो ।

त्यसरी राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको रोल्पाका जनताले द्वन्द्वकालमा हदै पीडा भोगे । १० वर्षसम्म माओवादी आधार इलाकाको रुपमा सरकारी फौजको निशानामा परेको होलेरीका जनताले ०५८ मा संकटकाल घोषणापछि भोगेको ज्यादती वयान गरी नसक्नु छ । त्यसका एक भुक्तभोगी हुन्, होलेरीका भैरव विक ।

‘माओवादी खाना र बास माग्दै घर-घर आउँथे । आफ्ना कार्यक्रममा समेत हिडाउँथे,’ उनी भन्छन्, ‘सेना गाउँ आएपछि माओवादीलाई सघाएको भन्दै जसलाई जहाँ भेट्यो त्यही कुटपिट गर्थे ।’

१५ वर्षयता होलेरीमा त्यो दकस छैन । द्वन्दकालमा मारिएका वा वेपत्ता भएकाहरुको परिवारजनको घाउमा मल्हम लगाउने काम पनि भएको छैन ।

०६० सालमा तत्कालीन शाही नेपाली सेनाले होलेरी बजारमा नियन्त्रणमा लिएर हत्या गरेका बामदेव विककी श्रीमती तुलसीले शान्ति प्रक्रिया सुरु भएपछि किस्ता-किस्ता गरी १० लाख रुपैयाँ बुझिन् । तर, त्यो पैसाले उनको जीवन सहज भएन ।

रुन्टीगढी गाउँपालिका-६ होलेरीकी उनले अनुदानमा टिनको पाता पाए पनि घर बनाउन सकेकी छैनन् । ‘कमाउने मान्छेलाई बिनासित्तीमा मारिदिएपछि छोराछोरी हुर्काउनै धौं-धौं भयो’, उनी भन्छिन्, ‘हामीलाई त जोगाउन पर्ने सरकारले नै बिचल्ली बनायो । हाम्रा मान्छे मारेर जीवनभर दुःख मात्र पाउनेे बनायो ।’

जेलबाङको दुःख

१० वर्षे द्वन्द्वकालमा सबभन्दा धेरै मानवीय क्षती रोल्पाको तत्कालीन जेलबाङ गाविसले व्यहोर्नु परेको थियो । जेलबाङमा गोली नलागेको र मान्छे नमारिएका घरै छैनन् भन्दा पनि हुन्छ । जेलबाङमा राज्य पक्षबाट ६३ र विद्रोही पक्षबाट १० जना गरी ७३ जना मारिए । सरकारी सुरक्षा फौज र विद्रोहीले सुराकीको आरोपमा कुटपिट गर्नु सामान्य कुरा हुन पुगेको थियो ।

जेलबाङ ठूलो गाउँका रामलाल विकलाई माओवादी लुकाएको भन्दै सरकारी सेनाले घरमै मरणासन्न हुने गरी कुटेको थियो । ‘हाम्रो ठाउँमा सेनाको यातना नपाएको कमै छन्,’ उनी भन्छन्, ‘त्यो बेला भोगेको यातनाले जीवनभर औषधी खानुपर्ने बनाएको छ ।’

जेलबाङ ठूलो गाउँका रामलाल विक ।

शान्ति फर्किएको १५ वर्ष भइसक्दा पनि यी गाउँमा युद्धका अवशेषहरु अझै बाँकी छन् । ‘हिजो यत्रो विध्वंश हुँदा हामीले भोग्नु परेको दुःख भनिसाध्य छैन’ रामलाल विक भन्छन्, ‘हाम्रा रगतले मुलुकले बदल्यो, तर हाम्रा दुःख फेरिएन । अहिलेका बाटाघाटा हाम्रै दुःखले बनेका हुन् । यसलाई विकास कसरी भन्ने ?’

सबभन्दा धेरै मान्छे मारिएको जेलबाङमा एउटा सहिद स्मारक समेत नबनेको उनले बताए । ‘हाम्रा मान्छे मारिए भनेर सम्झाउने ठाउँसम्म छैन’, गाउँ पसेको सेना र माओवादीको दोहोरो भिडन्तमा काखैमा छोरी गुमाएकी विर्सा विक -७०) भन्छिन्, ‘गाउँमा लडाइँमात्र गरे, अरु केही भएको हैन ।’

थबाङवासीको घाउ

रोल्पाको थबाङले युद्धमा उस्तै मार खेप्यो । माओवादीको आधार इलाका भएकाले पटक-पटक सैन्य अपरेसन चल्यो । यो गाउँमा हत्या र बलात्कारका बिर्सनै नसकिनै अपराधहरु पनि भए ।

२०५८ चैतमा गाउँ पसेको सरकारी सेनाले थबाङको ठूलो गाउँका १९ घरमा आगो लगायो । त्यो बेला पारी जंगलमा लुकेर आफ्नो घर जलेको हेरेको बताउँछन्, धपला पुन ।

‘त्यो रात घरसँगै हाम्रो मन पनि जल्यो’ उनी भन्छन्, ‘हाम्रा अन्न, गाईवस्तु सबै जलाएर खरानी बनायो । त्यसपछिका कैयौं महिना हामीले जंगलमा बितायौं ।’

१५ वर्षयता होलेरीमा जस्तै थबाङमा पनि त्यस्तो दकस छैन । थबाङवासीको घाउमा मल्हम लगाउने काम पनि भएको छैन ।

महत गाउँमा एकै दिन १७ जनाको हत्या

माओवादीको आधार इलाका रोल्पाको थबाङ प्रवेश गर्ने मुख्य ठाउँ भएकाले रुकुमको महत गाउँमा विद्रोही र सुरक्षाफौजबीच पटक-पटक भिडन्त भयो । द्वन्द्वकालभरी युद्धस्थलमा परिणत भयो यो गाउँ ।

दुवै पक्ष आउजाउ गर्ने ठाउँ भएकाले गाउँलेले थुप्रै ज्यादती खेप्नुपरेको महत गाउँका कमल थापा बताउँछन् । ‘त्यसमा पनि ६ असोज २०५९ मा सेनाले गरेको हिंसा कहिल्यै भुल्न सकिन्न’, उनी भन्छन् ।

‘त्यो दिन शाही सेनाले घरघरै गएर १७ जना निमुखा गाउँलेलाई गोली हान्यो’, उनी भन्छन्, ‘बालबालिका र अपाङ्गलाई समेत मारियो।

त्यसअघि २०५६ सालमा पनि सेनाले महत गाउँमा दुई महिला सहित चार जनाको हत्या गरेको थियो । त्यही बेला मारिएका थिए, जुनसरा सुनार (७५)का छोरा चन्द्रबहादुर । त्यसयताको १८ वर्ष उनले छोराको सम्झनामा रोएर बिताएकी छन् ।

‘अब त बिर्सन्छु भन्छु बिर्सन सक्दिनँ’, उनी भन्छिन् ‘मेरो चन्द्रलाई राजाका फौजले घरदेखि केही पर जंगलमा लगेर मारे । अहिलेसम्म त्यो ठाउँमा जाने आँट गर्न सकेकी छैन ।’

महतमा युद्धअवधी भर राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जनाले ज्यान गुमाएका थिए । गाउँमा युद्धका घाउ बिर्साउन लायक केही परिवर्तन नभएको स्थानीय बताउँछन् । जुनसरा सुनार जस्ता पीडितहरु आँशु पिएर बाँच्न विवश छन् ।

सल्यानको गुराँस गाउँ ।

सल्यानको गुराँस गाउँले पनि युद्धमा धेरै ज्यादती खेप्यो । २०५९ जेठ २९ गते रातभर सरकारी फौज र माओवादीको भिडन्त हुँदा गाउँमा ६२ घरमा आगजनी भयो । ३५ घर खरानी भए ।

द्वन्द्वकालमा गुराँसेका १९ जनाले ज्यान गुमाए । द्वन्द्वको घाउ बिर्साउने भनेर शान्ति नमूना गाउँ कार्यक्रम अन्तर्गत करिब ३ करोड बजेट विनियोजन भए पनि केही काम भएन ।

‘गाडी चल्दैन, बिजुली बल्दैन’, गुराँसेका पोखराज योगी भन्छन्, ‘नेताहरू पीडितलाई रोजगारी दिने, सीप सिकाउने र आत्मनिर्भर बनाउने कुरा गर्थे, आखिरमा केही भएन ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?