+
+
महाअभियोग दर्तापछि कानुन व्यवसायी :

‘आन्दोलन सफल भयो, अबको निर्णय दलहरुको हातमा’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते २१:३४

१ फागुन, काठमाडौं । १४ कात्तिकदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यावसायीहरु आइतबार पनि बिहान ११ बजे सर्वोच्च परिसरमा जम्मा भएर धर्ना दिन थाले । केही बेर प्रहरीसंग धकेलाधकेल पनि भयो ।

र सर्वोच्च अदालत गेट छेउमा बसेर धर्ना दिन थाले । त्यहीबेला कानून व्यवसायीमाझ हल्ला चल्यो– संसद सचिवालयमा जबराविरुद्ध महाभियोगको दर्ता भयो । त्यसले कानुन व्यावसयाीहरुको मुहारमा खुसीयाली छाएको थियो । कानुन व्यावसायीहरु अब आफुहरुको आन्दोलन निष्कर्ष उन्मुख भएको भन्दै खुसी साटासाट गर्नतिर लागे ।

धर्ना लगत्तै नेपाल बार परिसरमा भएको कोण सभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको आन्दोलन निष्कर्ष उन्मुख भएको भन्दै आन्दोलनलाई सघाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

‘संवैधानिक प्रक्रिया सुरु भएको छ । महाअभियोग लागेपछि यो राजनीतिक दलहरुको विषय भयो । न्यायालय कस्तो बनाउने अब उहाँहरुले (दलहरुले) पनि निर्णय लिनुहुन्छ । जबराको राजीनामा माग्नेमा अब बार मात्रै छैन । यो हाम्रो सफलता हो । सहभागी र सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु’ श्रेष्ठले भने ।

कानुन व्यवसायीमाझ गुरुबा नामले परिचित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि महाअभियोग प्रस्ताव दर्ता भएकामा खुसी व्यक्त गरे । ‘सांसदहरुले महाअभियोगको जुन कदम उठाए । त्यसका लागि श्रद्धापूर्वक हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु । आज हामी एकदमै खुसी छौं’ उनले अनलाइनखबरसँग भने ।

जबराविरुद्धको महाअभियोग दर्तामा ९८ जना सांसदले मात्रै हस्ताक्षर गरेका छन् । हाल संसदमा रहेको २७१ सांसदको दुई तिहाई १८१ हुन आउँछ । यसकारण महाअभियोग पारित हुन ९८ जना सांसदको मतले मात्रै पुग्दैन । अन्य सांसदहरुको पनि साथ चाहिन्छ ।

यसतर्फ संकेत गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले थपे, ‘कांग्रेस कम्युनिस्ट भनेर सांसदहरु यो महाअभियोगको विषयमा छुट्टिन हुँदैन । बुद्धि बिग्रेका सांसदहरु हुनुहुन्छ भने पनि भगवानसंग सद्वुद्धि लिएर अहिलेको महाअभियोगलाई जति सक्दो छिटो पास गरिदिनुस् ।’

अधिवक्ता नीतिका ढुंगाना जबराविरुद्ध महाअभियोग दर्ता भएको दिनलाई ऐतिहासिक दिनका रुपमा अर्थ्याउँछिन् । ‘सम्पूर्ण कानुन व्यावसायीहरुको लागि आज ऐतिहासिक दिन हो । किनभने १०७ दिन देखि जारी आन्दोलनले पूर्णता पाउने दिशा पक्डेको छ’ उनले भनिन् ।

जबराले राजीनामा दिन्छन् र अदालतमा रहेको बेतिथी अन्त्य हुन्छ भनेर गरेको अपेक्षा पूरा नहुने देखेपछि राजनीतिक दलहरुलाई महाअभियोगका लागि आग्रह गरेको र शीर्ष नेताहरुलाई समेत भेटेको उनले स्मरण गरिन् । भनिन्, ‘ढिलो भए पनि सांसदहरुले कदम चाल्नुभयो । यसले कालान्तरसम्म पनि राम्रो सन्देश दिइरहनेछ ।’

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानन्यायाधीश जबराले आफूले भनेजस्तै सम्मानजनक बहिर्गमन पाएको टिप्पणी गरे । ‘सम्माननीय प्रधानन्यायाधीशज्यूले संवैधानिक बर्हिगमन खोज्नुभएको थियो, अब पाउनुहुने भयो । यसमा नेपाल बार मात्रै नभएर उहाँ स्वयं पनि खुसी हुनुहुन्छ होला’ उनले भने ।

कोरोना महामारीको तेस्रो लहर आएपछि सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी मापदण्ड तय गरेको थियो । त्यस अनुसार बारले पनि माघ ६ गतेदेखि भर्चुअल माध्यमबाट आन्दोलन गर्दै आएको थियो ।

आइतबारदेखि भने भौतिक उपस्थितिमै आन्दोलन सुरु गरेको थियो । भौतिक आन्दोलन सुरु भएकै दिन महाअभियोग दर्ता भएपछि कानुन व्यावसायीहरु उत्साही भएका हुन् ।

‘आज नेपाल बारले आन्दोलन सुरु गरेको १०७ औं दिनमा राजनीतिक दलहरुले महाअभियोग दर्ता गरे । हामी यही दिनको प्रतीक्षामा थियौं’ अधिवक्ता तुलसीराम पराजुली भन्छन्, ‘यो सिंगो न्याय क्षेत्रको जित हो ।’

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई जीतकै रुपमा लिएर नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित नै गरेका छन् । एशोसिएसनले विज्ञप्ति निकालेर अब प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने भनेको छ ।

आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको हो । बारले अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने भएको छ ।

बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार अब हामी सर्वोच्च अदालतमा नाराबाजी र प्रदर्शन हुने छैन । ‘महाअभियोगलाई पारित गराउन दबाव दिनका लागि बार परिसरमै कार्यक्रम हुन्छ, बारको मागलाई अब वैचारिक रुपमा समेत अघि बढाउछौं’ बस्यालले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?