+

चिकित्सक भन्छन्- समयमै पहिचान गरी बाल क्यान्सरको उपचार गर्नुपर्छ

२०७८ फागुन  ३ गते १६:२२ २०७८ फागुन ३ गते १६:२२
चिकित्सक भन्छन्- समयमै पहिचान गरी बाल क्यान्सरको उपचार गर्नुपर्छ

३ फागुन, चितवन । नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । बर्सेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधा मात्रै उपचारको पहुँचमा आउने गरेको देखिएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्याङ्क संकलन गर्दै आएको छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले बर्सेनि ७५० हाराहारीमा मात्रै क्यान्सर पीडित बालबालिका उपचारको पहुँचमा आउने गरेको जानकारी दिए । उनले भने, ‘विश्वको तथ्याङ्क र नेपालको जनसङ्ख्यालाई हेर्दा नेपालमा बर्सेनि एक हजार ५०० हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी हुनुपर्छ ।’ कैयौंको सङ्ख्यामा अन्य कारणबाट मृत्यु भएको देखिएपनि क्यान्सर पत्ता नलागेको हुनसक्ने उनको भनाइ छ ।

अस्पतालका उपनिर्देशकसमेत रहेका डा. शर्माले अगाडि भने, ‘बच्चाको ज्वरोलगायत अन्य कारणबाट मृत्यु हुन्छ,  परीक्षण नहुँदा उनीहरुको क्यान्सर भएर मृत्यु भएको पनि हुनसक्छ ।’ कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेका हुन्छन् । ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उनी बताउँछन् ।

नेपालमा अहिले १२ जना मात्र बाल क्यान्सर विशेषज्ञ  छन् । विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन आवश्यक देखिएको डा. शर्मा बताउँछन् ।

उनका अनुसार चितवन र काठमाडौंमा मात्रै बाल क्यान्सरको उपचार हुने गरेको छ । १० लाख बालबालिकामध्ये एक सयदेखि १५० जनामा क्यान्सर हुने गरेको जनाउँदै डा. शर्माले समयमै पत्ता लगाएर उपचार गरे धेरैजसो बाल क्यान्सर निको हुने बताए । ‘सुरुमै शंका गरेर रोग छिटो पत्ता लाग्छ, छिटो पत्ता लाग्यो भने धेरैजसो बच्चाको क्यान्सर निको हुन्छ । धेरैजसो बच्चाको क्यान्सर ७५ प्रतिशत हाराहारी निको हुने गरेको छ,’ उनी भन्छन् ।

वयस्क र वृद्धको भन्दा बाल क्यान्सर धेरै निको पार्न सकिन्छ । उपनिर्देशक डा. शर्मा भन्छन्, ‘बाल क्यान्सर उपचार निःशुल्क गर्नेतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।’ नेपालमा नभएका सेवा सुविधा र प्रविधि नेपालमा भित्र्याउने र चिकित्सकलाई साधनस्रोत सम्पन्न बनाउन सकियो भने बाल क्यान्सर रोगको उपचार सहज हुने उनको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. निभा तिवारी समयमा उपचारमा ल्याउन सकेमा ९० देखि ९५ प्रतिशत बाल क्यान्सर निको हुने बताउँछन् । बच्चामा क्यान्सर रोग पूर्ण रुपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानेकुरा रोक्न सकेमा घटाउन सकिने उनको भनाइ छ । बच्चाहरुमा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने उनले बताए ।

जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको डा. तिवारीले बताए । ‘विद्यालयको पाठ्यक्रममा बालबालिकालाई बाल क्यान्सरका बारेमा पढाउनुपर्छ,’ उनी भन्छन् । अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा आइपुग्ने गरेकाले रोगको लक्षणको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

बिरामी हुँदा फार्मेसीमा औषधि किनेर खाने प्रचलनका कारण धेरैको रोग पहिचान गर्न ढिलो हुने गरेको डा. तिवारी बताउँछन् । लामो समयसम्म ज्वरो आउने, शरीरमा गिर्खा देखिने, सुन्निने, निलडाम, बिमिरा, धब्बा देखिने, शरीरका कुनै एक भागमा लामो समयसम्म सुन्निने, निको नहुने जस्ता लक्षण क्यान्सरका हुनसक्ने उनी बताउँछन् । पेट फुल्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, लामो समयसम्म अनियन्त्रित तरिकाले बान्ता हुने जस्ता लक्षण क्यान्सरका हुने डा. तिवारी बताउँछन् ।

बाल क्यान्सर स्वास्थ्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय