+
+

बप्पी लहिरीलाई लागेको ओएसए कस्तो रोग हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १३:०८
भारतीय गायक तथा संगीतकार बप्पी लहरी । फाइल तस्वीर

५ फागुन, काठमाडौं । चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको बुधबार ६९ वर्षको उमेरमा निधन भयो । चिकित्सकहरुले बप्पीको मृत्यु निन्द्रासँग सम्बन्धित रोग अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) भएको बताएका छन् ।

बप्पी लहिरीले मुम्बईको क्रिटिकेयर अस्पतालमा मंगलबार राति ११ बजेर ४५ मिनेटमा अन्तिम सास लिएका थिए । अस्पतालका निर्देशक डा. दीपक नामजोशीले बप्पीको मृत्युपछि बयान जारी गरेका छन् ।

‘बप्पी लहिरी ओएसए (अब्सट्रक्टिभ स्लीप एपनिया) र मुटुमा संक्रमण भएपछि उनी २९ दिनदेखि अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनलाई १५ फेब्रुअरीमा डिस्चार्ज गरिएको थियो । तर एक दिनपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो र फेरि अस्पताल ल्याइयो । ओएसएका कारण उनको मृत्यु भयो,’ नामजोशीले भनेका छन् ।

बप्पी पछिल्लो समय कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । एक वर्षदेखि ओएसएबाट गुज्रिरहेका उनी यसअघि पनि धेरैपटक अस्पताल भर्ना भएको र स्वास्थ्यमा सुधार आइसकेको डा. नामजोशीले जानकारी दिएका छन् ।

के हो ओएसए ?

बेलायतको ब्रिटिस लङ्स फाउन्डेसन (बीएलएफ)का अनुसार अब्सट्रक्टिभ स्लीप एपनिया साससँग सम्बन्धित समस्या हो, जुन सुत्ने बेलामा हुने गर्छ ।

फाउन्डेसनका अनुसार यो रोग बालबालिका र वयोवृद्ध जो कोहीलाई पनि हुनसक्छ ।

ओएसएको संक्षिप्त रुप

अब्सट्रक्टिभ : श्वासनलीमा रुकावट

स्लीप      : निन्द्रामा हुने समस्या

अपनोस    : केही समयका लागि सास बन्द हुनु

के हुन्छ यसमा ?

बीएलएफका अनुसार सुत्ने बेला घाँटीमा रहेका मांसपेसीमा तनाव कम हुन्छ, अक्सिजन फोक्सोमा जान्छ । तर ओएसए भएपछि घाँटी पूरै बन्द भई अक्सिजनको प्रवाह रोकिन्छ । यस्तो बेला केही समयका लागि सास रोकिन्छ ।

१० सेकेन्डभन्दा बढी समय सास रोकिन्छ भने त्यसलाई एपनिया भनिन्छ । यस्तो समस्या हुँदा रगतमा अक्सिजनको मात्रा घट्ने गर्छ ।

ओएसएको असर

यो रोग लाग्दा केही समयका लागि सास रोकिने भएपनि मस्तिष्कले पुनः श्वास सुरु गरिदिने काम गर्छ । तर गहिरो श्वास लिंदा वा हल्लिंदा, पल्टिंदा सास पुनः सुचारु हुन्छ । सास सुरु भएपछि व्यक्ति पुनः निदाउँछ । तर केही समयपछि फेरि सास रोकिने समस्या सुरु हुन्छ ।

सास रोकिंदा केहीले थाहा पाई उठ्ने गरेको भएपनि धेरैलाई के भइरहेको छ भन्ने थाहा हुन्न । ओएसएले गम्भीर लिइसकेको भए सास रोकिने समस्या सयौं पटक हुन सक्छ ।

यस्तो समस्या भएका व्यक्तिलाई रातमा निन्द्रा नलाग्ने हुन्छ । र, दिनमा थकान र अनिंदो  महसुस गर्छ । समयमै उपचार नगर्दा यसले ज्यानसमेत लिन सक्छ ।

कसलाई हुन्छ ओएसए ?

ब्रिटिश लङ्स फाउन्डेसनका अनुसार मध्य वयस्क पुरुष, महिनावारी हुन रोकिएका महिला, गर्भवती महिला, मोटापनको समस्या भएका, ठूला गाला भएका, डाउन्स सिन्ड्रोमको समस्या भएका, डायबिटिजका बिरामी, मुटुको समस्या भएका र धुम्रपान तथा मद्यपान सेवन गर्नेमा ओएसए देखिन्छ ।

ओएसएका सुत्दा देखिने लक्षण

सुत्दा घुर्नु

सास रोकिनु वा सास फेर्न समस्या हुनु

घाँटी बन्द हुनु वा सास लिंदा झट्का लाग्नु

बारम्बार हल्लिनु पल्टिनु

शरीरलाई झट्का लागेको महसुस हुनु

निद्राबाट बारम्बार उठ्नु

ननिंदाएको समयमा देखिने ओएसएका लक्षण

अनिंदो महसुस हुनु, थकान लाग्नु

टाउको दुख्नु

ध्यान दिन नसक्नु

स्मरणशक्ति कमजोर हुनु

चिड्चिडापन आउनु

समन्वय गर्न नसक्नु

यौन क्षमतामा ह्रास आउनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?