+
+

धितोपत्र बोर्डका अध्यक्ष हमालसामु चुनौतीका चाङ

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन ६ गते १९:२२

६ फागुन, काठमाडौं । पूँजी बजार क्षेत्रकै नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले करिब ५ महिनापछि नयाँ नेतृत्व पाएको छ । लामो समय वैदेशिक जीवन बिताएर नेपालमै केही गर्नुपर्छ भन्ने सोचे बोकेर फर्किएका रमेश हमाल बोर्ड अध्यक्ष बनेका छन् ।

सार्वजनिक तथा निजी क्षेत्रमा तीन दशक लामो अनुभव बोकेका हमाललाई बोर्डको नेतृत्व सम्हाल्न जति सहज छ त्यो भन्दा धेरै गुणा बढी पूँजी बजारका क्षेत्रमा रहेका विकृतिहरु हटाउनु पर्ने चुनौती रहेको छ । नेपाली पूँजी बजारको इतिहास तीन दशक लामो भएपनि यसले गर्नुपर्ने जति काम गर्न सकिरहेको छैन ।

बोर्डका पूर्वअध्यक्ष अर्थविद् डा. रेवतबहादुर कार्की पूँजी बजारका क्षेत्रमा संरचनागत सुधार धेरै भएको बताउँछन् । संरचनागत सुधारहरु भएपनि त्यो पर्याप्त भने छैन । यसबाहेकका अन्य धेरै कामहरु गर्नुपर्ने चुनौती नयाँ अध्यक्षको काधमा आएको उनी बताउँछन् । चुनौतीलाई अवसरमा बदलेर काम गर्न सके सफल हुने उनको सुझाव छ ।

साना लगानीकर्ताहरुको हितका लागि कार्की अध्यक्ष हुँदा धेरै नीतिगत सुधारहरु भएका थिए । उनकै पालामा ल्याइएको १० कित्ते नीतिका कारण आम सर्वसाधारणको पहुँचमा सेयर बजार पुग्न सकेको छ । ‘संस्थाको नेतृत्व लिइसके पछि चुनौतीहरु अवश्य पनि भइहाल्छन्, चुनौतीबाट आत्तिने होइन त्यसलाई अवसरको रुपमा बदलेर अघि बढ्नुपर्छ’ उनले भने, ‘गर्नुपर्ने ठाउँहरु छन्, सुधारका काममा ध्यान दिने हो भने पूँजी बजारलाई अझ धेरै राम्रो पनि बनाउन सकिनेछ ।’

धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल ५ वर्षको हुने भए पनि हमालले पुरा कार्यकाल भने पदमा रहन पाउने छैनन् । तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई कार्यकाल नसकिँदै सरकारले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा मुछिएको भन्दै पदबाट बर्खास्त गरेको थियो । उनको कार्यकाल पूरा हुन २ वर्ष भन्दा कम समय मात्रै थियो । सो समयावधिका लागि मात्रै हमाल अध्यक्षमा नियुक्त भएका हुन् ।

यसकारण छोटो समयमा धेरै काम गर्नुपर्ने समेत उनी सामू चुनौती छ । ‘२२/२३ महिना मात्रै समय छ, यो समयमा पनि काम धेरै गर्न सकिन्छ,’ अर्थविद् कार्की भन्छन्, ‘अब उहाँले तत्कालै काम सुरु गर्नुपर्छ, असम्भव छैन ।’

नयाँ अध्यक्षले पूँजी बजार विकासका लागि नयाँ स्टक एक्सचेञ्ज थप्ने, ब्रोकर लाइसेन्स दिने, कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने, लगानीकर्ताहरुले तिर्नुपर्ने शुल्क घटाउने, इन्साइडर ट्रेडिङ रोक्न नियमावली पारित गराउने जस्ता कामहरु तत्कालै अघि बढाउनु पर्ने उनको सुझाव छ । भएका कानुनहरु कार्यान्वयनमा कडाइ गरेर बजारका बेथितिहरु हटाउनु पर्ने र आवश्यक कानुनहरु बनाउन समेत जोड दिनु पर्ने उनले बताए ।

नवनियुक्त अध्यक्ष हमालले पनि आफू चुनौतीलाई अवसरमा बदलेर काम गर्ने बताएका छन् । विदेशमा सिकेको सीप र ज्ञानको उपयोग गरेर नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उनको प्रतिवद्धता छ । बोर्डको आन्तरिक क्षमता वृद्धिदेखि साना लगानीकर्ताहरुको हित संरक्षणमा आफूले विशेष ध्यान दिने उनको उद्घोष छ ।

स्टक ब्रोकर एसोसिएनका अध्यक्ष सन्तोष मैनाली बोर्डका नयाँ अध्यक्षले कारोबार प्रणालीलाई सुधार गर्ने, पहुँच विस्तार र ब्रोकरहरुको संख्या भन्दा पनि सञ्जाल विस्तारमा ध्यान दिनुपर्ने बताउँछन् । छुट्टै अक्सन मार्केट अहिले छैन । अक्सन मार्केटको समेत स्थापना र मार्जिन ट्रेडिङको कार्यान्वयन गर्नुपर्ने अध्यक्ष मैनालीको सुझाव छ ।

चर्चामा रहेका नयाँ लाइसेन्स

पूर्वअध्यक्ष कार्की बैंकहरुको कारोबारलाई थप प्रतिष्पर्धात्मक बनाउनका लागि नयाँ स्टक एक्सचेञ्ज चाहिएको बताउँछन् । अहिले नेपाल स्टक एक्सचेञ्ज मात्रै छ । यसलाई समेत निजीकरणमा ध्यान दिनु पर्ने र प्रतिष्पर्धाका लागि नयाँ कम्पनी ल्याउनु पर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकको बिक्री गर्दा पनि सरकारी क्षेत्र भन्दा बाहिरको १० प्रतिशतमात्रै छ’ उनले भने, ‘ प्रतिष्पर्धात्मक बनाउनका लागि नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छ ।’

उनले बैंकका भगिनी संस्थाहरलाई ब्रोकर लाइसेन्स दिने निजी क्षेत्रबाट पनि छुट्टै ब्रोकर लाइसेन्स तत्कालै दिनुपर्ने बताए । बजार थप प्रतिष्पर्धी हुनुका साथै ब्रोकर कमिसन समेत घट्ने उनको भनाइ छ । पूर्वाधारमा गर्नु पर्ने लगानी, जनशक्ति तथा टर्नओभरको कारणले मौजुदा ब्रोकरहरु ७७ जिल्लामै पुग्न सक्ने अवस्था छैन । देशैभरी ब्रोकर अफिस नपुर्‍याइ बजारको आकार बढाउन नसकिने भएकोले बाणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्ने उनको तर्क छ ।

सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुलाई पनि ‘डिलरसीप’ दिनु पर्ने उनले बताए । अहिले नागरिक स्टक डिलरमात्रैले डिलरसीप लिएको छ । यसबाहेक क्षमताका आधारमा सुझावीय सेवा (एड्भाइजरी सर्भिस) पनि दिनुपर्छ । यसले सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुलाई पनि राम्रो गर्ने उनले बताए ।

बजारको चाललाई अनावश्यक घटबढ हुन नदिनमा मार्केट मेकरको ठूलो भूमिका हुन्छ । यिनले घटेको बेला माग सिर्जना गर्ने र बढेको बेलामा आपूर्ति बढाएर बजारलाई नियन्त्रण गर्न बहुमूल्य भूमिका निर्वाह गरिरहेका हुन्छन् । ब्रोकर कम्पनीहरुलाई समेत यो सुविधा दिनु पर्ने उनको सुझाव छ । कमोडिटी एक्सचेञ्ज दिने प्रक्रिया समेत लामो समयदेखि रोकिएको भन्दै त्यसलाई अघि बढाउनु पर्ने उनले बताए ।

गैर कानुनी काममा निर्मम

बोर्डका तत्कालिन अध्यक्ष भिष्म ढुंगानालाई बर्खास्त गर्नु अघि सरकारले लगाएको मुख्य अभियोग हो भित्री सूचनाका आधारमा कारोबार अर्थात इन्साइडर ट्रेडिङ । सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा मुछिए पछि उनलाई बर्खास्त गरिएको थियो । इन्साइडर ट्रेडिङ गैर कानुनी कार्य हो । के निर्णय गर्ने भन्ने कुरा संस्थाका सञ्चालक र केही उच्च व्यवस्थापनका कर्मचारीहरुलाई पहिले नै जानकारी हुन्छ । उनीहरुले आफन्त वा नातागोता साथीभाइहरु सम्भावित निर्णयबारे पहिले नै जानकारी गराउने र सेयर किन्न लगाउने गरेका छन् । यस्तो अभियोगमा मुछिएकालाई वर्षसम्म कैद हुनसक्ने ऐनमा व्यवस्था छ । तर यस्तो कारबाही धितोपत्र बोर्डले हालसम्म पनि गर्न सकेको छैन ।

बोर्डका अधिकारीहरु नियमावली नहुँदा कारबाहीका लागि सहज नभएको बताउँदै आएका छन् । तत्कालिन अध्यक्ष कार्कीकै पालामा इन्साइडर ट्रेडिङ सम्बन्धी नियमावली तयार भए पनि अर्थमन्त्रालयले पारित गरेको छैन । नयाँ अध्यक्षले अब यो पारित गराएर कार्यान्वयनमा ल्याउनु पर्ने कार्कीको सुझाव छ ।

‘नियमन गर्ने ठाउँमा नियन्त्रण भने गर्नु हुँदैन, कहिले कडा गरिएकै छैन,’ उनले भने, ‘सेवोन र स्टक एक्सचेञ्जमा प्राप्त हुने शुल्क पनि घटाउनुपर्छ । आफैंले लिने शुल्क पनि घटाउनु पर्छ । आफ्नो भाग नघटाउने अनि अरुको नघटाई केही गर्नु हुँदैन ।’

भारत, बंगलादेश, श्रीलंका लगायतका देशहरुको अभ्यास हेरेर २०७६ जेठमै नियमावली तयार गरिएको थियो । यसलाई तत्कालै पारित गरेर कारबाही अगाडि बढाए बजार विकासका लागि धेरै राम्रो हुने उनले बताए ।

लगानीको सुरक्षा

अध्यक्ष हमालले आफ्नो प्राथमिकतामा साना लगानीकर्ताहको हित संरक्षण रहेको बताएका छन् । यसलाई व्यवहारमा उतार्नुपर्ने पूर्वअध्यक्ष कार्की बताउँछन् । अहिले नेपाली पूँजी बजारमा लाखौं लगानीकर्ता परिचालित भइसकेका तथा तिनमा अधिकांश साना लगानीकर्ताहरु रहेका छन् । तिनमा सेयर बजारको यथार्थ जानकारीको अभाव तथा आवश्यक सूचनामा पहुँचको कमीले गर्दा ठूला लगानीकर्ताको अनावश्यक हल्लाको पछि लागि सेयर खरिद बिक्री गर्न हतार गर्छन् । जसले गर्दा अन्ततः लाभ ठूला खेलाडीले लिइरहेका हुन्छन् ।

यसको लागि सेयर शिक्षाको जानकारी नियमित रुपमा उपलब्ध गराउनु पर्ने हुन्छ । भविष्यमा ७७ जिल्लामै ब्रोकर कार्यालय क्रियाशील हुने अवस्थामा त्यस्ता निकाय मार्फत सर्वसाधारणमा सेयर शिक्षाको नियमित जानकारी उपलब्ध गराउन सक्ने प्रवन्ध मिलाउनु पर्ने उनको भनाइ छ ।
बजारमा सहभागीहरु नेप्सेदेखि मर्चेन्ट बैंकहरुको पनि क्षमता बढाउनुपर्ने उनले बताए । यसका लागि नेप्से र बोर्ड दुवैले काम गर्नुपर्ने उनले बताए । ‘पहिलो कुरा– लगानीकर्ताहरुको हित संरक्षण र प्रतिष्पर्धात्मक बजार बनाउनुपर्छ,’ उनले भने, ‘बजार सुधार हेर्ने नेप्सेको सीईओ पनि नयाँ हुनुहुन्छ, दुवै निकायका प्रमुख मिलेर काम गर्नुपर्छ ।’

संस्थागत सुशासन

बोर्ड र नेप्सेमै समेत संस्थागत सुशासनमा कमजोरीहरु रहेका छन् । यसलाई सुधार गर्नुपर्ने पूर्वअध्यक्ष कार्कीको भनाइ छ । यसका लागि कानुनी सुधारहरु समेत आवश्यक रहेको उनले बताए । ‘कानुन नै चुनौती छ, तर थोरै सुधारमात्रै गरे पनि धेरै हुन्छ,’ उनले भने, ‘ऐनमा भएको व्यवस्था नियमावलीमा छैन, नियमावली हुने हो भने सुशासन कायम गराउन धेरै सहयोग पुर्याउँछ । भएका कानुनहरु कडाइका साथ कार्यान्वयन गराउनु परो ।’

बोर्ड तथा नेप्सेमै कार्यरत कर्मचारीहरु आफैं समेत सेयर खरिद बिक्रीमा सक्रिय हुने गरेका छन् । आफन्तहरुका माध्यमबाट वा परिवारका सदस्यहरुका नामबाट समेत सेयर खरिद बिक्री हुने गरेका छन् । सञ्चालक समितिमै रहेका व्यक्तिहरु समेत बेलाबेलामा यस्तो घटनामा मुछिने गरेका छन् । यसलाई पारदर्शी बनाउनका लागि बोर्डमा जाने सबैले सेयर बेच्ने गरी नियम बनाउनु पर्ने पूर्वअध्यक्ष कार्कीको भनाइ छ ।

गैरआवासीय नेपालीहरुलाई पूँजी बजारमा प्रवेशमा थप सहज बनाउने, अन्तर्राष्ट्रिय स्तरको प्रविधिहरु भित्र्याउने, सेयरबारे बुझाउन एउटा तालिम केन्द्र स्थापना गर्ने जस्ता कामहरु गर्ने हो भने भने बजार अन्तर्राष्ट्रिस्तरको हुने उनको बुझाइ छ । ‘नियामक निकायमा जागिर खाएपछि सूचीकृत कम्पनीको सेयर बिक्री गर्नुपर्ने नियम बनाउनु पर्छ, आफैं सुशासित नभई सुशासन भित्र्याउन सकिन्न’ उनले भने ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?