+
+

‘प्रजातन्त्र दिवसप्रति खासै आकर्षण छैन’

गणेश कार्की गणेश कार्की
२०७८ फागुन ७ गते १६:२५
प्रजातन्त्र दिवसको अवसरमा शनिबार आयोजित विशेष समारोह ।

‘मलाई प्रजातन्त्र दिवसप्रति खासै आकर्षण छैन ।’

यो वाक्यलाई लेखको सुरुवातमा नै राख्दा वा भनौँ, यही वाक्यबाट लेख्न सुरु गर्दा लेखमा रहस्य कम हुन सक्ला । पढ्दै गरेको कुनै ‘क्राइम थ्रिलर उपन्यास’को पहिलो पृष्ठमा नै हिरोइनकी भाइ हत्यारा हुन्छ भनिदिए जत्तिकै फन्टुस काम हुन सक्छ ।

तर यही सुरुवातले कसैलाई लेख पढ्नुपर्ने रहेछ वा नपढ्दा पनि हुने रहेछ भन्न सजिलो हुन सक्छ । कतिले अब यसले यही यही कुरा लेख्नेछ भनेर अनुमान गर्नुको मज्जा पनि लिन सक्नेछन् ।

हामी यस्तै छौँ, बाहिरी पातोले किताबको अर्थ बुझाउँदैन भने पनि हामी ‘आँ गर्दा अलङ्कार बुझ्ने बाठा’हरूको नयाँ संस्करण हौँ । हामी त्यो समयमा छौँ, जहाँ शीर्षकमात्रै हेरेर खबर सेयर गर्ने हतार हुन्छ । जहाँ लेखहरू भन्दा त्यहाँ रहेका कमेन्टहरू पढ्न रमाइलो र वौद्धिक लाग्छ । त्यस्तोमा पहिलो वाक्य नै रहस्य फुकाइदिने किसिमको भयो भने धेरैलाई यो लेख अलिक हलुङ्गो हुन सक्छ ।

शक्ति एउटा परिवारकै हातमा, विकास र परिवर्तन निगाहमा

‘मलाई प्रजातन्त्र दिवसप्रति खासै आकर्षण छैन ।’ कारण, यो नेपालको राजनीतिक इतिहासका बीच कतैको एउटा घटनाक्रम हो जहाँ एउटा परिवारबाट शक्ति अर्को परिवारमा पुग्यो । यो इतिहासको घर होइन, चौतारो मात्रै हो, जहाँ केही समय इतिहास बस्यो र अगाडि बढ्यो ।

यदि कोही ७ सालको सत्ता परिवर्तन पछि शक्ति गुमाउने परिवारको सदस्य वा समर्थक छ भने उसका लागि यो दिन लज्जास्पद दिन बन्न सक्छ । तर कोही शक्ति पाउने परिवारको सदस्य वा समर्थक हो भने उसका लागि आजको दिन गौरवपूर्ण र सर्वाधिक महत्वको हुन सक्छ ।

जसरी समयक्रमसँगै विकासहरू पनि पहिले भन्दा फरक र अलिक बृहत्तर हुने गर्छन्, त्यसरी नै यो शक्ति हस्तान्तरण पनि पहिलेका शक्ति हस्तान्तरण भन्दा चाहिँ अलिकति वृहत्तर नै थियो । शक्ति लिने दिनेभन्दा बाहेक पाण्डे परिवार बस्नेतमा वा बस्नेतबाट थापामा वा थापाबाट राणामा शक्ति गए भन्दा अलि आधुनिक र अलि विकसित थियो ।

तर समग्रमा राजकीय शक्ति एउटा परिवारकै हातमा रहिरह्यो । त्यही परिवारमा लगाम रहिरह्यो । शक्ति लिनेहरूको अनुहार फरक परेकैमा चित्त नबुझाउने हो भने यो परिवर्तनमा त्यति ठूलो भेद भेटिंदैन । कागजीरूपमा केही सुधारहरू सुरु भए जस्तो देखिए पनि तिनको सञ्चालन जनतामा आधारित थिएनन् । परिवर्तनहरू कुनै परिवारको निगाह वा सोचाइमा मात्र सम्भव थिए । उनीहरूलाई मन नभए ती कुनै पनि प्राप्त हुन सक्ने थिएनन् । जुनसुकै बेला रोकिन वा भए पनि उल्टिन सक्थे ।

जसरी सत्ता परिवर्तन हुने बित्तिकै केही समय माहौल बनाइराख्न परिवर्तनका कागजी कामहरू अत्यधिक र व्यवहारिक परिवर्तनहरूको ढोंग हुन थाल्छन्, त्यस्तै कागजी कामहरू ७ सालको परिवर्तन पछि पनि देखिएको थियो । नेपाल गजेट नै प्रकाशित गरेर ठूला ठूला परिवर्तनका कुरा लेखिएका थिए भने बजेट मार्फत पनि त्यस्ता सपनाहरू बाँढिएका थिए । तर ती सबै विस्तारै अपूरा रहँदै वा उल्टिंदै साविककै अवस्थामा फर्किए ।

नेपाल सरकारको वि.सं. २००८ को नेपाल गजेटमा अछूत कहलाइएका भाइहरूले पनि चाहेमा देशभरका जुनसुकै विद्यालयमा पढ्न पाउने भन्ने सूचना निकाल्यो ।

कागजीरूपमा हेर्ने हो भने यसले त्यो भन्दा अगाडि अछुत नमानेमा वा छोएमा पनि दण्ड जरिवाना गरिने व्यवस्थालाई हटाएको थियो । यो सामाजिकरूपमा ठूलो क्रान्ति थियो तर व्यवहारमा यसको कार्यान्वयन कति फितलो थियो भने यो प्रकाशित भएको झन्डै ७ दशक पछि पनि अछुतलाई डेरा दिन गाह्रो हुन्छ भन्दा समाजको ठूलो तप्का व्यक्तिगत सम्पत्तिमा जातीय विभेद गर्न पाइन्छ भन्ने तर्क गर्न सक्छ । (उदाहरण- रुपा सुनारको घटना)

७ सालको परिवर्तन पछि नेपालमा पहिलोपल्ट जनताको सरकार बन्यो भनेर गौरव गरिन्छ तर त्यही क्रान्ति पछि बनेको सरकारको गृहमन्त्री माथि कसैले आक्रमण गर्छ र राजाबाट वक्तव्य जारी हुन्छ- देशको उन्नति होस् र सबैले सुख पाऊन् भनी मैले कत्रो विचार गरीकन बनाएका मन्त्रीहरूमाथि गोर्खादल भनाउँदा केही गुण्डाहरूद्वारा बहकाइएर आएका अज्ञान व्यक्तिहरूले हिजो सारै लाजमर्नु काम गरे । (नेपालको राजनीतिक दर्पण, भाग १)

माथिको अनुच्छेदमा उल्लेख भएको गोर्खादलका बारेमा लेखको अलिकति तल उल्लेख हुनेछ तर राजाको वक्तव्यमा भएको ‘मैले कत्रो विचार गरीकन बनाएका मन्त्रीहरूमाथि’ पदावलीमा मैले कत्रो विचार गरीकन बनाएका भन्ने पदावलीहरूमा ध्यान लगाउनुहोस् र भन्नुहोस्, व्यवहारमा सरकार कसको बन्थ्यो ?

जनताको कि कुनै परिवारको ? हुन पनि, निर्वाचनमा बहुमत प्राप्त गरेर आएको दललाई पनि उही परिवारको शक्तिशाली सदस्य अर्थात राजाले मान्यता दिए मात्रै सरकार बनाउन सक्थ्यो र राजालाई इच्छा लागेमा त्यत्रो जनमतलाई पोको पारेर आफ्नो मर्जीको सरकार र व्यवस्था बनाउन सक्थे । तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते यसलाई प्रयोग गरेरै प्रमाणित गरिदिए ।

७ सालको सत्ता परिवर्तन पछि बनेको सरकारले राजपत्रमा प्रकाशन गरेर अनुसार क्रान्तिमा भनिए जस्तै धेरै जग्गा हुनेहरूबाट नहुनेलाई दिइने भनियो । यसका लागि जग्गा बिक्री गर्न, दान दिन र अंशबन्डा गर्न रोक लगायो । तर केही समयमा ती सबै खुला गरियो । र, सबैलाई थाहा छ, त्यसको यतिका वर्ष पछाडि आज पनि हाम्रा नेताहरूको र राज्यको प्रमुख एजेन्डा छ- कसैलाई जग्गाविहिन नबनाउने ।

यसैले व्यवहारिकरूपमा ७ सालको सत्ता परिवर्तनले नागरिकको तहमा खासै परिवर्तन ल्याएन । त्यो परिवर्तनलाई देवत्वकरण गरेर नागरिकलाई सर्वशक्तिमान बनाउने अन्तिम परिवर्तन जस्तो बनाइयो, देशभरि त्यो परिवर्तनको विरुद्धमा केवल राणाहरूको एउटा परिवारमात्रै थियो भने जस्तो देखाइयो तर त्यो समाज परिवर्तनका क्रममा देखिने अलिकति ठूलो एक परिवर्तन जस्तो मात्रै थियो । त्यसका पनि समर्थक र विरोधीहरू थिए ।

प्रजातन्त्र विदेशी एजेन्डा, राणाहरू जनताका प्यारा

दिल्ली सम्झौता भए पछि १०४ वर्ष राणाहरूको जहानियाँ शासन हट्यो । अब राणाहरूले भोगचलन गरेको स्थान अर्थात् प्रधानमन्त्रीसम्म जनता पनि पुग्न सक्ने थिए । तर यसमा सबै सहमत थिएनन् । यसलाई विदेशबाट सञ्चालितहरूको क्रान्ति भन्नेहरूको पनि शक्तिशाली समूह थियो ।

त्यही समूहको तर्क हुन्थ्यो कि प्रजातन्त्र विदेशी षड्यन्त्रले गर्दा आएको हो, यो विदेशी एजेन्डा हो । माटो सुहाउँदो जहानियाँ शासन नै हो र जनताको हित गर्न राणाहरू मात्र सक्षम छन् । राणाहरूले मात्रै देशको सीमा रक्षा गर्न सक्छन् र राणाहरू अझै पनि जनताका प्यारा छन् । यसैले राष्ट्रका लागि राणाशासन फर्काउनु पर्छ ।

त्यही समूहले राजनीतिक समूह गठन गर्‍यो । उनीहरूको पार्टीको पूरा नाम थियो, नेपाल राष्ट्रवादी गोर्खा परिषद । यसको स्थापना राणा वंशका सदस्यहरू र समर्थकहरूले वि.सं. २००७ सालमा गरेका थिए । पार्टीको नेतृत्वमा भरत शमशेर जबरा, मेजर जनरल मृगेन्द्र शमशेर जबरा र रणधीर सुब्बा थिए ।

सरकारले भरत शमशेर र रणधीर सुब्बालाई पक्राउ गर्‍यो । तर यो समूह यति शक्तिशाली थियो कि २००८ जेठ ३० मा गोरखा दलका कार्यकर्ताहरू गएर सदर जेलखाना तोडी भरतसमशेरलाई जेलबाट लिएर हिंडे । बाँकी गोरखा दलका सदस्यहरूले हातमा नाङ्गा खुकुरी लिई त्रिपुरेश्वरस्थित गृहमन्त्री बीपी कोइराला निवासमा गई हमला गरे । आफैंले पेस्तोल चलाएर ज्यान जोगाएको सन्दर्भ पनि चर्चा हुने गर्छ ।

२०१५ सालको आमनिर्वाचनमा यही दलले ३ लाख भन्दा बढी मत पाएर १०९ सिट मध्ये १९ सिट जितेको थियो । यही दल प्रमुख प्रतिपक्षीका रूपमा रहेको थियो ।

परिवर्तनको पक्ष र विपक्षमा

परिवर्तनको पक्ष र विपक्षमा हुने धारणाहरू सँधै रहन्छन् । कुनै पनि धारणा वा परिवर्तन सर्वसम्मत हुनु आदर्श मात्रै हुन सक्छ ।

राणाशासनको पतन पछि खुलेको गोरखा दल र राजतन्त्रको पतन पछि राजतन्त्रको वकालत गर्ने दलहरूले पनि यो कुरा पुष्टि गर्छन् । ती दुवैको समानता भनेको परिवर्तन पहिलेका कुराहरूको देवत्वकरण गर्नु र परिवर्तनलाई विदेशी एजेन्डा भन्नु रहेको छ । अहिलेका राष्ट्रिय प्रजातन्त्र पार्टी वा भर्खरै पुन: बनेको राप्रपा नेपाल हेर्दा लाग्छ कि यी खुकुरी दलकै नयाँ संस्करण मात्रै हुन् ।

अहिले गणतन्त्र स्थापनको केही समय पछि पनि हामीसँग नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पारेका छन् भनेर देखाउने कुराहरू असाध्यै कम छन् । नागरिकको जीवनमा वास्तविक जीवनमा जति सहजता थपिनु पर्ने हो, त्यति हुन सकेको छैन ।

भन्नलाई त भन्न सकिएला कि राज्य संयन्त्र गणतन्त्रका लागि निर्माण भएको थिएन र अहिले निर्माणकै क्रममा छौँ । नागरिकमा पुर्णरूपमा शक्ति आइसकेको छैन तर आउने यही बाटोबाट हो । यो जग खन्दै गर्दाको र बनाउँदै गरेको घरको जस्तो अवस्था हो, जसलाई कस्तो बनाउने भन्ने कागजमा देखाउन मिल्छ तर व्यवहारमा भत्किंदै कि बन्दै गरेको छुट्याउने अवस्था छैन ।

यो केही समयमा लागि सही पनि हुन सक्छ तर यो अवस्था कति समय रहन्छ भन्ने कुराले निर्क्यौल गर्छ कि पछि कुनै मानिसले कुनै लेखमा ‘मलाई गणतन्त्र दिवसप्रति खासै आकर्षण छैन’ लेख्न पर्ला कि नपर्ला ? नेपाली राजनीतिक इतिहासमा गणतन्त्र घर बन्ला कि केही बेर भारी बिसाएको चौतारो मात्रै बन्ला ?

आजको प्रजातन्त्र दिवसले सिकाउने धेरै कुराहरूमा यो प्रमुख कुरा हो ।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?