+
+

पर्यटक तान्न प्रविधि जानौं, रमाउन दुर्लुङ जाऔं !

पर्यटक लोभ्याउन डिजिटल मार्केटिङ

अमृत सुवेदी अमृत सुवेदी
२०७८ फागुन १२ गते ७:३१
दुर्लुङकोट

१२ फागुन, पोखरा । पहिलो लहरको कोभिड–१९ कम हुनेबित्तिकै तनहुँको मानहुँकोटमा थेगिनसक्नु नेपाली पर्यटकको ओइरो लाग्यो । पोखरामा प्याराग्लाइडिङ गर्नेको लर्को लाग्यो । पर्वतमा बञ्जीजम्प गर्नेको लहरै चल्यो । पोखराको पामे क्षेत्रका केही रेस्टुरेन्ट चम्के ।

अहिलेको लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नयाँ नयाँ पर्यटकीय गन्तव्य र ब्यवसायलाई चम्काइदियो । टिकटकसँगै फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रमाइरहेका, नयाँ गन्तव्यको स्वाद लिइरहेका भिडियो भाइरल बने । थुप्रै नयाँ व्यवसाय र सिर्जनशील कामलाई सामाजिक सञ्जालले चर्चामा मात्र ल्याइदिएनन्, व्यवसायीलाई आशाको किरण जगाइदिए ।

कोभिडपछि पर्यटकीय गन्तव्यसम्म पुग्ने र त्यसको प्रवर्द्धन गर्ने प्रमुख माध्यम नै डिजिटल प्रविधि बनेको छ । टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालकै कारण अहिले पनि कति बेला कुन ठाउँ र के कुरा भाइरल बन्छ भन्न सकिने अवस्था छैन । यही कुरालाई बुझाउँदै नयाँ पर्यटकीय गन्तव्यसम्म पुग्ने काम नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले गरेको छ ।

पर्वत र बागलुङका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने र अहिलेको डिजिटल दुनियाँमार्फत कसरी व्यवसायलाई बढावा दिने भन्नेबारे ३ जिल्लाका पर्यटन व्यवसायीलाई नाट्टाले तालिम नै दिएको हो ।

व्यवसायलाई कसरी डिजिटल मार्केटिङ गर्ने र आम्दानी बढाउने भन्नेबारे पर्वत, बागलुङ र म्याग्दीका प्रतिनिधिमुलक रुपमा करिब ३५ जना व्यवसायीलाई सिकाइएको छ । ‘आजको युग प्रविधिको हो । विश्वभर नै डिजिटल मार्केटिङमार्फत पर्यटकीय गन्तव्य र प्रडक्टको सेल भइरहेको छ,’ नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘अब पोखरामात्रै होइन, आसपासका जिल्लामा पनि पुग्नुपर्छ भनेर पर्यटन प्रवर्द्धनको अभियानसहित प्रविधिको प्रयोग र अनुभव साटासाट गरेका छौं ।’

डिजिटल मार्केटिङ तालिममा सहभागीहरू

पछिल्लो प्रविधिको प्रयोगलाई नजिकबाट नियालीरहेका इन्जिनियर पारस देवकोटाका अनुसार अहिले हरेक २४ घन्टामा औसत ५ घण्टा मानिसले मोबाइलमा बिताइरहेको छ । मानिस मोबाइलमा रमाउने समयलाई व्यवसायसँग जोडेर आम्दानी लिन व्यवसायीलाई प्रेरित गर्न सकिने उनले बताए ।

सामाजिक सञ्जालमा होस् या गुगल म्यापमा कसरी आफ्नो व्यवसायलाई जोड्ने ? पर्यटकहरुले खोज्ने अनलाइनमा आफ्नो व्यवसाय कसरी राख्ने ? भन्ने कुरा देवकोटाले व्यवसायीलाई सिकाए । ‘अब पर्यटक लोभ्याउने तरिका नै डिजिटल मार्केटिङ हो,’ देवकोटाले भने, ‘अब पर्यटन बजारका निम्ति डिजिटल मार्केटिङ अपरिहार्य भइसक्यो ।’

केही सेकेण्डको टिकटकमा ठूलो गन्तव्य अट्छ, केही सेकेण्डमै आफ्ना उत्पादन र स्वादलाई पस्कन सकिन्छ । टिकटक, फेसबुक, इन्स्टाग्राम, ट्वीटरको सिर्जनशील प्रयोगले नेपाली पर्यटकलाई लोभ्याइरहेको छ ।

विश्वका पर्यटकलाई अनलाइनमार्फत आफ्नो व्यवसाय र सुविधाबारे जानकारी दिएर बोलाउनतिर नलागे अबको पर्यटन व्यवसाय नचल्ने आफूले थाहा पाएको कार्यक्रममा सहभागी निलेशराज भण्डारीले बताए ।

आफन्तसँग कुरा गर्न र रमाइलोका लागि सिकेको  टिकटक र फेसबुकमार्फत आफूले फलाएको तरकारी बारीबाटै बेच्न सकिने उपाय जानेको पर्वतकी कस्तुरा गिरीले अनुभव सुनाइन् ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले पोखराबाहिर पनि पहिलो पटक व्यवसायीलाई पहिलो पटक प्रविधि बुझाउने र पर्यटन प्रवर्द्धन गर्ने अभियान नाट्टाले थालेकोमा खुसी व्यक्त गरे ।

अहिले विभिन्न तरिकाले बुकिङ डट कममार्फत विदेशी पर्यटकहरु नेपाल आइरहेका छन् । तर, त्यसलाई राज्यको नीतिभित्र ल्याउने र राजश्व भित्राउने नगर्दा ठूलो रकम बाहिर गइरहेको छ । विश्वकै ठूलो ब्राण्ड बनेको बुकिङ डटकममार्फत आउने क्रम नरोकिने भएकाले बरु नेपालले नै सहज कानुन बनाएर खुला बनाउनुपर्नेसमेत व्यवसायीहरुको भनाइ छ । प्रविधिको अधिकतम् प्रयोगले मात्र अब पर्यटनको विकास हुने, अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिने भएकाले सरकारले लचिलो नीति बनाउने र राजश्व बढाउनेतिर पनि ध्यान दिनुपर्ने पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले बताए ।

नाट्टा गण्डकीका वर्ष २०२०/०२२ को तालिम संयोजक संगीता पौडेलले यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर चल्ने बताइन् । नाट्टा अध्यक्ष सिग्देलले पोखरा आसपासका जिल्लामा व्यवसायीलाई प्रविधिको माध्यमले आकर्षण गर्न सके प्रदेश राजधानी पोखरालाई पनि स्वभाविक हिसाबले त्यसको फाइदा पुग्न सक्ने बताए ।

शताब्दी घरदेखि दुर्लुङकोटसम्म

शताब्दी घर

नयाँ–नयाँ पर्यटकीय गन्तव्य थपिँदै गएको पर्वतमा अर्को इँटा थपिएको छ, शताब्दी घर । शताब्दी घरलाई केन्द्रमा राखेर कला, साहित्य, संस्कृति, संगीतको संगम बनाउँदै चिन्तन, मनन र विचार मन्थनको थलो बनाउन कुश्मा कला परियोजना निर्माण गरिएको छ । ३ सय वर्ष पुरानो दाबी गरिएको यो घरलाई कवि तथा पत्रकार आरके अदिप्त गिरीको नेतृत्वमा ड्रिम प्रोजेक्टका रुपमा विकास गर्न लागिएको छ ।

नाट्टा गण्डकीको नेतृत्वमा पर्यटनमन्त्री मणिभद्र शर्मासहित गएको टोलीको पहिलो पाइला शताब्दी घरको आँगनमै पर्‍यो । कुश्मा–६ माझगाउँमा रहेको पुरानो शैलीको ३ तले शताब्दी घरलाई पर्वतकै मौलिक बिरासतका रुपमा विकास गर्न लागिएको गिरीले बताए ।

थिएटर, पुस्तकालय, पेन्टिङ ग्यालरीसमेत निर्माण हुने गरी सुरु भएको कला परियोजनाको शताब्दी घर अर्को गन्तव्य बन्न सक्ने गण्डकीका पर्यटनमन्त्री शर्माको भनाइ थियो । कुश्मामा पर्यटकलाई देखाउन सकिने अर्को गन्तव्यको रुपमा शताब्दी घरलाई विकास गर्न सकिने पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले बताए ।

शताब्दी घरको बैभव नियाल्दै पोखराका पर्यटन सरोकारवालाहरुको करिब ४५ जनाको टोली कुश्माको दुर्लुङकोटतिर उक्लियो । दुर्लङकोट, पर्वतकै पर्यटनलाई उकासेको द क्लिपको बञ्जीजम्प, पर्वत–बागलुङका विभिन्न झोलुंगे पुल, धार्मिक महत्व बोकेको मोदीवेणी, बागलुङको कालिका भगवती मन्दिरको भ्रमण र सम्भावनालाई बुझ्दै पर्यटनका सरोकारवाला पोखरा फर्किए ।

कुश्मा–३ को दुर्लुङकोट विशेष आकर्षणको केन्द्र बन्यो । नाट्टा गण्डकी नेतृत्वको टोली पर्यटकीय सम्पदा, संस्कृति, सांस्कृतिक महत्व जान्न र प्रवर्द्धन गर्न दुर्लुङ पुगेको महासचिव कमला गिरीले बताइन् । त्यसको नाम दिइएको थियो, ‘गन्तव्य पहिचान र प्रवर्द्धन ।’ ‘अब पर्यटक तान्न प्रविधि सिकौं, रमाउन जाऔं दुर्लुङकोट’ भन्ने सन्देश नाट्टाले दिएको छ ।

प्रविधिको प्रयोग गर्दै, सिक्दै, सिकाउँदै र पर्यटन प्रवर्द्धन गर्न गएका टोलीलाई कुश्मा नगरकै एउटा शीर ऐतिहासिक दुर्लुकोट र आसपासका गाउँ, संस्कृति र उत्पादनले धेरैको मन खिच्यो । दुर्लुङकोट भूमे मन्दिरको धार्मिक महत्वलाई जोड्दै पर्यटकलाई कोटमा पुर्‍याउन सके त्यहाँबाट देखिने दृश्यले धेरैलाई लोभ्याउने र स्थानीय उत्पादनको स्वाद चखाएर गाउँमा राख्न सकिने कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताए ।

दुर्लुङ

धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाका लस्कर आँखै अगाडि देख्ने सकिने र कोटबाट म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत लगायत जिल्लाका पहाडी शृंखला देख्न सकिने भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले जानकारी दिए ।

बाइसे, चौबिसे राजाको पालादेखि नै महत्वपूर्ण मानिएको दुर्लुङकोटको भूमे मन्दिर मनले चिताएको पुग्ने शक्तिपीठका रुपमा मानिन्छ । दुर्लुङकोटसम्म पर्यटक पुर्‍याउने र चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ–हलहले–क्याङ–घोरेपानी पदमार्गसँग जोड्ने हो भने धेरै सम्भावना रहेको मेयर जोशीले बताए ।

धार्मिक तथा ऐतिहासिक महत्वको दुर्लुङकोटसम्म पर्यटकलाई पुर्‍याउने, त्यहाँको महत्व बुझाउने र त्यहाँको उत्पादन पर्यटनसँग जोड्ने हो भने धेरै विकास गर्न सकिने पर्यटनमन्त्री मणिभद्र शर्माले बताए ।

कोभिडपछिको पर्यटन प्रकृति नजिक र गाउँ केन्द्रित बनेको भन्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले स्थानीय जागरुक भएर अभियान चलाउने हो पर्यटक आउने लहर चल्ने बताए । गण्डकीको पर्यटन पोखरा केन्द्रित भइरहेका बेला अन्य जिल्लाको सम्भावनालाई पनि उजागर गर्नुपर्छ भन्ने सोच र सम्भावना भएर पनि पहिचान हुन नसकिरहेकाले दुर्लुङ रोजिएको दुई दिने कार्यक्रमका संयोजक तथा नाट्टाका द्वितीय उपाध्यक्ष किशोर दाहालको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?