+
+
एमसीसी :

एमसीसीमा सघाउन प्रचण्ड तयार, ढुक्क नभएका देउवा बालकोट पुगे

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ फागुन १३ गते २३:३१

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनका लागि सहज वातावरण बनाउन तयार भएको छ । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई उसको प्रस्ताव छ, एमसीसीको पक्षमा मत दिंदैनौं, तर एमसीसी अनुमोदनका लागि पेश गर्दा विपक्षमा मत पनि दिन्नौं । बैठक बहिष्कार गर्छौं, ताकि ध्वनि मतका आधारमा अनुमोदन होस् ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वस्त हुन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग पनि सम्वाद कायमै राखेका छन् ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धन तयार नभएपछि कांग्रेस सभापति समेत रहेका देउवा बिहीबार मात्र प्रमुख विपक्षी नेकपा एमालेका नेताहरुसँग दुई पटक छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका नेताहरुले पनि सम्वाद गरेका थिए, तर एमाले नेतृत्वको प्राथमिकतामा पनि कांग्रेस परेको छ ।

कांग्रेस र एमाले सहमतितर्फ उन्मुख देखिएपछि माओवादी केन्द्रले शुक्रबार पूर्व स्थायी कमिटी सदस्यहरको बैठक राखेर गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । तर नेताहरुले त्यसअघि नै एमसीसी अनुमोदन हुने, गठबन्धन पनि जोगिने गरी जान सकिने सन्देश प्रधानमन्त्री देउवासम्म पुर्‍याएका थिए । पार्टीको बैठक सकेर प्रचण्ड बालुवाटार पुग्नुअघि नै प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरे । लगत्तै पार्टीका नेताहरुलाई बालुवाटार बोलाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्मालाई लिएर बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसामु एमसीसी अनुमोदनका लागि मदत गर्ने प्रस्ताव गरेका छन् ।

नेताहरुका अनुसार प्रचण्डको प्रस्तावअनुसार एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्ने क्रममा माओवादी सांसदहरुले विरोध गर्छन् र संसद बैठक बहिष्कार गर्छन् । त्यो अवस्थामा कांग्रेसका साथै लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्ष लगायतको समर्थन रहने भएकाले ध्वनि मतका आधारमा एमसीसी पास गर्न सकिने उनको तर्क छ ।

व्याख्यात्मक घोषणाको विकल्प

एमसीसीबारे प्रश्न उठेका विषयमा व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल भएको थियो । नेताहरुका अनुसार यसरी गरिने घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीकक्षकले गर्छ जस्ता विषय राख्न सकिनेछ ।

नेपालको संसदबाट यसरी व्याख्यात्मक घोषणासहित अनुमोदन गरेर पठाउने र एमसीसीले त्यसलाई स्वीकार गरेपछि सम्झौताको अंग बन्ने नेताहरुको दाबी छ । यो वैकल्पिक प्रस्तावबारे गठबन्धनका नेताहरुबीच भएको छलफलमा अन्तराष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दी पनि सहभागी थिए । एक नेता भन्छन्, ‘यो हाम्रो कुरा भयो, यसलाई उनीहरु (अमेरिकी पक्ष)ले कसरी लिन्छन् भन्ने थाहा छैन । त्यसैले केही निर्णय भएको छैन ।’ कांग्रेसकै कतिपय नेताहरुले भने संकल्प प्रस्ताव, व्याख्यात्मक घोषणाका नाममा प्रचण्डले अलमल्याउन मात्र खोजेको टिप्पणी गर्छन् ।

प्रधानमन्त्री देउवा पनि माओवादीले एमसीसी पास गर्न दिन्छ भन्नेमा विश्वस्त हुन सकेको छैनन् । दुई दलका नेताहरुबीच छलफल चलिरहेका बेला एमसीसी अनुमोदन गर्न मदत गर्ने गरी सांसदहरुले बैठक बहिस्कार नगर्ने, विपक्षमा मत दिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अभिव्यक्ति आएको थियो । स्रोतका अनुसार बालुवाटार बैठकमा यसबारे कुरा भएको थियो ।

माओवादी केन्द्रका आधा सांसदहरुले मात्र बैठक बहिष्कार गरेनन् र मत विभाजन मागे भने एमसीसी अनुमोदन हुँदैन भन्ने डर प्रधानमन्त्री देउवामा देखिएको छ ।

माओवादीका अध्यक्ष प्रचण्डले भने आफू जोखिम लिएर आएकाले तलमाथि नहुने आश्वासन दिएका थिए । ‘संविधान, लोकतन्त्रको रक्षाका लागि पनि यो गठबन्धन जोगाऊँ, लचिलो भएर जोखिम लिऊँ भनेर आउको हुँ,’ उनले भनेका थिए । तथापि प्रचण्डले एकपछि अर्को सहमति गर्ने र पछि हट्ने गरेकाले प्रधानमन्त्री देउवाले विश्वास गर्न नसकेको कांग्रेसका एक नेता बताउँछन् ।

साँझ फेरि बालकोटमा देउवा

प्रधानमन्त्री देउवाले शुक्रबार नै प्रमुख विपक्षी नेकपा एमालेका नेताहरुसँग सम्वाद गरेका छन् । प्रचण्डले एमसीसी अनुमोदनका लागि मदत गर्ने बताउँदा पनि ढुक्क हुन नसकेका उनी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लिएर एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

यद्यपि त्यस पछि दुई दलबीच कुनै सहमति हुन सकेन ।

छलफलको सुरुमै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई भेटेको र एमसीसीको पक्षमा भोट हाल्छु भनेको सुनाए । उनले भनेका थिए, ‘भोट हाले पनि नहाले पनि हामीहरु बसेर सरसल्लाह गरौं, सबै कुरा गर्न म तयार छु ।’

जवाफमा ओलीले पनि ‘भोट हाल्छ भने ठीकै छ’ भने । उनले संसद चलेको भए आफ्नो दलले पनि एउटा पोजिसन लिन्थ्यो, तर त्यो वातावरण नभएको बताए । साथै उनले प्रचण्डले भोट हाल्छन् भन्नेमा विश्वास छ भनेर प्रतिप्रश्न गरे ।

प्रधानमन्त्रीले पनि त्यही आशंका व्यक्त गरे । नेताहरुले पनि आ-आफ्नो तर्क थपे । त्यसक्रममा एमाले नेताहरुले कार्यकर्तालाई सडकमा उतारिसकेको र धेरै अडान लिइसकेकाले एमसीसी पास गर्न प्रचण्डले सहयोग गर्दैनन् भन्ने सन्देश दिन खोजेका थिए । प्रधानमन्त्री र कांग्रेस नेताहरुले ‘प्रचण्डले हाले पनि नहाले पनि, एमालेले हालोस्, सँगै जाऊँ’ भन्ने सन्देश दिन खोजेको नेताहरुले सुनाए  ।

तर कुनै सहमति हुन सकेन । बैठकपछि कांग्रेस नेता एवम् सञ्चारमन्त्री कार्कीले भनेका छन्, ‘प्रधानमन्त्रीले सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभयो । एमाले अध्यक्षले पुरानै कुरा दोहोर्‍याउनुएको छ । संसदमा प्रवेश गर्ने वातावरण तयार भए हामी हाम्रा विचार राख्छौं भन्नुभएको छ ।’

‘हामी संसदमा प्रवेश गर्ने वातावरण तयार हुन एमालेले कारबाही गरेका १४ सांसद पदमुक्त गरेको सूचना सभामुखले टाँस्नुपर्छ, नभए सभामुखले आफैंले राजीनामा दिनुपर्छ,’ बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

एक नेताका अनुसार एमाले अध्यक्ष ओली सभामुख हटाएर सहकार्य सुरु गर्न चाहन्छन्, प्रधानमन्त्री देउवा पहिला एमसीसी अनुमोदन होस् भन्ने चाहन्छन् । कांग्रेस नेताहरुका अनुसार एमालेले एमसीसी अनुमोदन गर्न गर्न सघाउने हो भने माओवादी केन्द र एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाएर गठबन्धन टुटाएको सन्देश दिन प्रधानमन्त्री देउवालाई अप्ठ्यारो छैन ।

तर गठबन्धन टुटेपछि के गर्ने भन्ने ठोस जवाफ एमालेसँग छैन । किनकि मन्त्रीहरुबाट हटाउनासाथ माओवादी र एकीकृत समाजवादीका सांसदहरुले एमसीसीको मत विभाजन माग्छन् । त्यो बेला एमाले सांसदहरु वेलमा हुन्छन् र, एमसीसी पनि अडि्कन्छ । त्यसपछि सभामुख हटाउने खेलमा लाग्दा समय लाग्ने र एमसीसी अनुमोदन अझ धकेलिने कांग्रेस नेताहरुको बुझाइ छ ।

भोलि फेरि छलफल

प्रचण्डमाथि विश्वास नभएको र एमालेले पहिला सभामुख हटाउन चाहेका कारण कुन बाटो रोज्ने भन्ने अलमल कायमै छ । भोलि माओवादी केन्द्रले एमसीसी अनुमोदन हुने विश्वास दिलाउन सके गठबन्धन जोगाउने कोर्स अघि बढ्छ ।

तर अविश्वास कायमै रहे फेरि एमालेसँग छलफल हुन्छ । यो बेलामा एमालेले मन्त्री हटाउने र एमसीसी पास गर्ने अफर गरे राजनीतिक कोर्स अर्को हुन्छ । एक नेता भन्छन्, ‘नभए आज जस्तै छलफलमा मात्र सीमित रहन पनि सक्छ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?