+
+

प्रदर्शनकारीले सडक कब्जा गर्दा पैदलयात्रीलाई सास्ती

अंगद सिंह अंगद सिंह
२०७८ फागुन १५ गते १९:२०

१५ फागुन, काठमाडौं । आइतबार बिहान कुचोको भारी लिएर काभ्रेको पनौतीबाट काठमाडौं आएका कान्छा तामाङलाई खाना खान घर पुग्नुपर्ने थियो ।

अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्धको प्रदर्शनका कारण उनी समयमा घर पुग्न सकेनन् । प्रदर्शनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उनी सुन्धाराबाट हिंड्दै बानेश्वर पुगे ।

हातमा नाम्लो । चाउरिएका गाला । अनि खुट्टामा निलो रंगको चप्पल लगाएका थिए उनले । बानेश्वरको रमिता हेर्न तामाङ आफ्नो नजर सडकभर बिछ्याउदै अगाडि बढिरहेका थिए ।

पनौतीमा कुचो बनाएर काठमाडौ ल्याइ परिवार पाल्ने गरेका उनले घर जान सुन्धारादेखि कोटेश्वरसम्म हिंड्नु परेको छ । पनौतीबाट एकभारी अम्रिसोको कुचो बोकेर आइतबार बिहानै काठमाडौं आएका थिए तामाङ । पनौतीबाट आउनेबेला गाडीमा आएका उनी सुन्धारा झरेर भारी बोक्दै कुचो बेच्न सुन्धारा, न्युरोड, बागबजार हुँदै तरकारी बजारसम्म पुगे ।

सर्वसाधारणका लागि भन्दै फुटपाथमा राखिएको सानो ठाउँबाट उनी पेलापेल ठेलमठेल गर्दै पारि पुगे । हातको नाम्लो भुईंमा खस्छ कि भन्दै उनले नाम्लो राखिएको प्लास्टिक दह्रो गरी समाते ।

उमेरले ७० वर्ष छुन लागेको छ । तैपनि उनले काम गर्न छाडेका छैनन् । उनको सीप भनेकै कुचो बनाई बेच्नु हो । यसरी कुचो बनाएर काठमाडौंमा बेच्न थालेको १२ वर्षभन्दा बढी भइसकेको छ ।

बिहानैदेखि टाउकोमा भारी बोक्दै ‘कुचो आयो कुचो लिनुस्’ भन्दाभन्दै थाकिसकेका थिए उनी । घर जानेबेलामा रत्नपार्कबाट गाडी चढेर जान्छु भनेर सोचेका थिए तर प्रदर्शनका कारण गाडी नै पाएनन् ।

एमसीसी के हो केही थाहा छैन उनलाई । मात्रै उनलाई आफ्नो कामसँग मतलब छ । कुचो बेचेर केही आम्दानी गर्नुपर्‍यो, अनि घरखर्चको जोहो गर्नुपर्‍यो । ‘खै एमसीसी एमसीसी भन्छन् सधैं विरोध गर्छन् गाडी बन्द गर्छन्,’ उनी भन्छन्, ‘एमसीसीको नाममा भएको आन्दोलनले गरिखानेलाई निकै दुःख भयो ।’

तामाङको बुढो शरीर रत्नपार्कबाट बिजुलीबजार पुग्दा थाकिसकेको थियो । तर घर त पुग्नै पर्छ जसरी पनि । एमसीसीको नाममा सर्वसाधारण र प्रहरीले दुःख पाएको भन्दै नेताले चाहिन्छ भने पास नचाहिने भए रद्द गर्नुपर्ने उनको तर्क छ ।

बानेश्वरको भीडलाई छिचोलेर पारि पुग्न सहज थिएन उनका लागि । त्यसमाथि प्रहरीले कहिले आउन दिइरहेको थियो भने कहिले बाटो बन्द गरिरहेको थियो ।

सर्वसाधारणका लागि भन्दै फुटपाथमा राखिएको सानो ठाउँबाट उनी पेलापेल ठेलमठेल गर्दै पारि पुगे । हातको नाम्लो भुईंमा खस्छ कि भन्दै उनले नाम्लो राखिएको प्लास्टिक दह्रो गरी समाते ।

‘एमसीसी आए अमेरिकाको आर्मी आउने भन्छन् मैले सुनेको त्यति हो,’ तामाङ भन्छन्, ‘नेताका कारण देश बिग्रियो जनताले दुःख पाए ।’ धेरै बोल्न चाहेनन् तामाङ । उनलाई जतिसक्दो छिटो कोटेश्वर पुग्नु थियो गाडी छोप्न । छिटो घर पुगेर खाना खानु छ फेरि कुच्चो बनाउनु छ ।

बानेश्वर राजधानीको अत्यन्तै व्यस्त सडकमध्ये एक हो । तर यो बाह्रैमास आन्दोलन प्रदर्शनको रापले रापिने गर्छ । खासगरी राजनीतिक मुद्दामा विमति राख्दै प्रदर्शन गर्नेहरुले यसलाई आफ्नो क्रीडास्थल बनाउने गरेका छन् । जबकि, यसरी सार्वजनिक सडक नै कब्जा गर्दै गरिने प्रदर्शन, झडपले सर्वसाधारणको बाटो नै छेकिदिने गर्छ । दैनिक जीवनयापनका लागि यही सडक हुँदै आउजाउ गर्ने हजारौं यात्रु प्रदर्शनका कारण अलपत्र पर्ने गरेका छन् ।

त्यस्तै प्रदर्शनका कारण सास्ती पाउनेमध्ये हुन्, कोटेश्वर जडिबुटीकी हीरामाया खनाल । उनी घरको सामान किन्न न्युरोड जाने तयारी गर्दै थिइन् । जडिबुटीबाट बस चढिन् पनि । तर उनलाई प्रहरीले कोटेश्वरभन्दा अगाडि जान दिएन ।

कारण त्यहाँ प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । यात्रु र सवारीको  सुरक्षाका लागि भन्दै प्रहरीले कोटेश्वरमा उनलाई रोक्यो । फर्केर घर जान पनि भएन ।  उनलाई जसरी पनि न्युरोड जानु थियो । केही सीप नचलेपछि उनी कोटेश्वरबाट हिंड्दै बानेश्वर पुगिन् । बानेश्वर पुग्न समेत निकै सास्ती व्यहोर्नु पर्‍यो खनालले ।

‘बाटो आन्दोलनकारी र प्रहरीको मात्रै हो कि सर्वसाधारण जनताको पनि ? प्रश्न गर्दै खनाल भन्छिन्, ‘मजस्ता सर्वसाधारणको बाटो खै हामीले कहाँ हिंड्ने कसरी हिंड्ने अब त हैरान बनाइसक्यो ।’

७० वर्षकी भइन् खनाल । एमसीसीबारे न केही थाहा छ न केही लिनुदिनु छ उनलाई । मात्रै सडकमा भीड जम्मा गरेर, गाडी बन्द गरेर सर्वसाधारण तथा यात्रुलाई दुःख नदिए हुन्थ्यो जस्तो लाग्छ ।

‘एमसीसी एमसीसी भन्या छन् दिनदिनै आन्दोलन गरेका छन्, पास गर्ने भए खुरुक्क पास गर्नुपर्‍यो फेल गर्ने भए फेल,’ खनाल भन्छिन्, ‘दैनिक रमिता देखाएर जनतालाई दुःख दिने काम गर्नु भएन ।’

आन्दोलनका कारण जनताले गाडी चढ्नु त परको कुरा बाटोमा हिंड्न समेत पाएका छैनन् उनी गुनासो गर्छिन् ।

‘बाटो आन्दोलनकारी र प्रहरीको मात्रै हो कि सर्वसाधारण जनताको पनि ? प्रश्न गर्दै खनाल भन्छिन्, ‘मजस्ता सर्वसाधारणको बाटो खै हामीले कहाँ हिंड्ने कसरी हिंड्ने अब त हैरान बनाइसक्यो ।’

उनले एमसीसीबारे थोरै सुनेकी मात्रै छन् । आफूले पढेकी बुझेकी छैनन् । एमसीसी भनेको नेता र आन्दोलन गर्न आउनेलाई थाहा होला उनले सुनाइन् । प्रदर्शनका कारण बिरामी,  अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई निकै समस्या भएको उनले गुनासो गरिन् ।

एमसीसीको विरोध प्रदर्शनमा कोटेश्वर चोकदेखि माइतीघर मण्डलासम्म यातायात ठप्प गरिन्छन् । प्रदर्शनका कारण एम्बुलेन्सले समेत भित्रको बाटो घुम्दै जानुपर्ने अवस्था छ ।

प्रदर्शनकारीले प्रदर्शन मात्रै गरेका छैनन् । प्रहरीमाथि बर्साउनका लागि सडकमा लगाइएका रुखका हाँगासमेत भाँचेका छन् । इट्टा, कंक्रिट निकालेका छन् । ‘जनताको समस्या न सरकारले बुझ्छ न त आन्दोलनकारीले । दुःख जहिल्यै भोग्नुपर्ने जनताले रहेछ,’ खनालले सुनाइन् ।

प्रदर्शनका कारण कोटेश्वर चोकदेखि माइतीघर मण्डलासम्मको जीवन अस्तव्यस्त हुन्छ । असुरक्षाका कारण यस क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था तथा पसलका सटर डाउन गर्नुपर्ने बाध्यता हुन्छ । एमसीसीविरुद्ध प्रदर्शनका कारण कैयौं दिनदेखि त्यहाँका व्यापारीले राम्ररी सटर नै खोल्न पाएका छैनन् ।

बिजुलीबजार आर्कब्रिज पुल छेउमा बसेर प्रदर्शनकारी र प्रहरीको रमिता हेरिरहेका छन् सर्लाहीका अजय मेहरा । पुल छेउमा जुत्ता, चप्पल सिलाएर गुजारा गर्ने उनी आफ्नो बाकस बन्द गरेर सडकमा उफ्रिरहेका प्रदर्शनकारीलाई नियालिरहेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुने ठानेर उनले बाकसमा ताल्चा मारिसकेका थिए भने  छाता झप्काइसकेका थिए ।

कोठा जाने कि बसिरहने दोधारमा छन् मेहरा । ‘बाकस बोकेर घर जाउँ भने एक पैसा कमाइ भएको छैन । यहाँ बसिराखौं भने आन्दोलनकारीले बाकसै उठाएर फालिदेलान् भन्ने पिर छ,’ उनी दुःखेसो पोख्छन्, ‘सडकमै भएपनि काम गरिखाएको छु तर सडकमा पनि बस्ने वातावरण छैन ।’

एमसीसीविरुद्ध प्रदर्शन भइरहेको दिनदेखि उनका ग्राहक आएका छैनन् । प्रदर्शनका कारण ग्राहक आउन छाडेपछि उनको कमाइ ठप्प भएको छ । उनी अगाडि सुनाउँछन्, ‘दैनिक १५–१६ सय कमाइ हुन्थ्यो तर प्रदर्शनले पूरै चौपट बनाइदियो, प्रदर्शनले गर्दा बिहान कोही आए भने कमाइ भयो नत्र त खाली हात घर फर्किनुपर्छ ।’

एमसीसी आए अमेरिकाको शासन चल्छ सुनेका छन् मेहराले । तर उनले पढेका छैनन्, बुझेका छैनन् ।

सार्वजनिक यातायात विज्ञ आशिष गजुरेल सडक सबैको साझा सम्पत्ति भएकाले सबैले समान रुपमा प्रयोग गर्नु पाउनुपर्ने बताउँछन् ।

‘सडकको समस्या समाधान गर्न भनेको समय र भनेको स्थानमा प्रदर्शन, आन्दोलन गर्ने व्यवस्था गरिनुपर्छ,’ गजुरेल भन्छन्, ‘सडक चित्त नबुझेको कुरा राख्ने पनि ठाउँ भएपनि  प्रशासनसँग अनुमति लिएर प्रदर्शन गर्नुपर्छ ।’

सडक व्यस्त हुँदा अपाङ्गता भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धा, पैदलयात्री, साइकलयात्री तथा सार्वजनिक सवारी साधनलाई सबैभन्दा बढी असर पर्ने उनको भनाइ छ ।

आफूलाई चित्त नबुझेको कुरामा विमति राख्ने जो कसैलाई पनि अधिकार भएको भन्दै यातायात विज्ञ गजुरेल र्‍याली र यात्रु दुवैको सुरक्षाका लागि प्रशासनले नियम नै बनाउनुपर्ने बताउँछन् ।

विदेशतिर पनि सर्वसाधारणको विमति राख्ने ठाउँ सडक नै भएपनि निश्चित स्थानमा प्रशासनको अनुमति लिएर मात्रै विरोध प्रदर्शन गर्न पाइने उनी बताउँछन् ।

‘भनेको समय र स्थानमा प्रदर्शन गर्ने परिपाटीले सवारी व्यवस्थापन गर्न सहयोग पुग्छ,’ गजुरेल अगाडि भन्छन्, ‘नेपालमा पनि प्रदर्शन गर्नका लागि समय र स्थानका लागि प्रशासनसँग अनुमति माग्ने परिपाटी बसाउनुपर्छ, यसले सबैलाई फाइदा हुन्छ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?