१५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ सुरु हुनु केही दिनअघि मात्रै त्रिभुवन आर्मी फुटबल क्लबलाई झट्का लाग्यो । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ प्रि–सिजन अन्तर्गत ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलमा चोटग्रस्त बने । लिगअघि नै घुँडा शल्यक्रिया गरेका युवा डिफेण्डर विकास खवास पनि लिगका लागि उपलब्ध थिएनन् ।
लिग सुरु भएपछि फरवार्ड सुदिल राई र पदम तामाङ पनि घुँडाको चोटका कारण टिमबाहिर परे । लिगकै दौरान डिफेण्डर सुमन अर्याल, मिडफिल्डर सन्तोष तामाङले पनि चोटका कारण केही खेल गुमाए ।
यसबाहेक नवौं चरण सकिएपछि ढाडको चोटका कारण युवा मिडफिल्डर दिनेश हेम्जनले पनि लिग गुमाए । कप्तान भरत खवाससमेत चोटसँग संघर्ष गर्दै लिग खेल्न बाध्य भए ।
आर्मीलाई यस सिजन सबैभन्दा धेरै चोटले नै पिरोल्यो । धेरै समस्याका बावजुद पनि विभागीय टोली आर्मीले लिगमा अपराजित यात्रा कायम राख्यो र, दोस्रो स्थानमा रहेर लिगको अन्त्य ग¥यो । यस सिजन च्याम्पियन मच्छिन्द्र र आर्मीमात्र अपराजित रहे ।
मच्छिन्द्रले लगातार उपाधि जित्दा आर्मी भने लगातार उपविजेता बन्यो । ए डिभिजन लिग खेल्न थालेको १७ वर्षको इतिहासमा आर्मी उपाधिका लागि प्रतीक्षारत छ । चारपल्ट उपविजेता बनेको छ । आर्मीले लिगमा एउटा खेल पनि नहारेको यो पहिलो संस्करण हो ।
लिग जित्ने लक्ष्य राखेको आर्मी चोटकै कारण त्यसमा सफल हुन सकेन । तर अन्तिम खेलसम्म पनि शीर्ष तीन पर्न कठिन अवस्थामा रहेको आर्मीले मनाङ मस्र्याङ्दीसँग हार टारेपछि दोस्रो भएको हो ।
बराबरीको राजा
गत सिजन अन्तिम खेलमा मच्छिन्द्रविरुद्धको खेल आर्मीका लागि फाइनल जस्तै थियो । कम्तीमा बराबरीको नतिजा ल्याएको भए आर्मी विजेता हुने थियो । तर, खेल आर्मीले गुमायो ।
यसपल्ट मनाङसँग खेल्दा पनि आर्मीको लागि दोस्रो स्थानमा पर्न उस्तै समीकरण बनेको थियो । जित वा बराबरीले दोस्रो हुने पक्का थियो । हारेको अवस्थामा शीर्ष तीनबाटै बाहिरिने थियो । यस्तो अवस्थामा आर्मीले मनाङसँग बराबरी खेल्दै दोस्रो स्थान निश्चित गर्यो । सिजनमा उसको त्यो आठौं बराबरी थियो । अर्थात् १३ खेलमा ८ बराबरी ।
‘गत सिजन पनि अन्तिम खेलमा यस्तै अवस्था थियो । बराबरी वा जितले विजेता हुने थियो । यसपालि पनि दोस्रो हुन त्यस्तै अवस्था बन्यो । हामीलाई दोस्रो हुन बराबरी गर्नु थियो तर जितकै लागि खेलेका थियौं । जित लक्ष्य राख्दा दबाबमा खेल्नुपर्यो,’ दोस्रो भएपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए ।

यो सिजन आर्मी र एनआरटीले समान २३ अंक जोडे पनि हेड टू हेडमा आर्मी अगाडि रह्यो । उपविजेता आर्मीले ५० लाख रुपैयाँ पुरस्कार पायो ।
टिमले अपेक्षा र क्षमताअनुसार खेल्न नसकेको प्रशिक्षक न्यौपानेले स्वीकारे । ‘दुई खेल बराबरी भयो । त्यसपछि लय समातिसकेको अवस्थामा ब्रेक लाग्यो । त्यसपछि लगातार ३ बराबरी भयो अनि दुई जित भयो । फेरि बराबरी । लिग च्याम्पियन हुने लक्ष्य बनाए पनि त्यो सकिएन,’ फिनिसिङको अभावले सोचेअनुसार नतिजा नआएकोमा न्यौपाने दुःखी थिए ।
आर्मीको तुलना लिग च्याम्पियन मच्छिन्द्रको स्थिर प्रदर्शनले उपाधि जित्न सहज भएको न्यौपानेको टिप्पणी थियो । उनले थपे, ‘खेलाडी हुँदा मनाङबाट ४ पटक लिग जितेको थिएँ । प्रशिक्षकको रुपमा जित्ने चाहना हो । त्यो अझै पूरा हुन बाँकी छ । प्रशिक्षकका रुपमा निखारिँदै छु । आगामी सिजन अझै राम्रो गर्ने लक्ष्य छ ।’
खेलाडीको चोटले ‘फिनिसिङ’मा समस्या
प्रशिक्षक न्यौपानेले लिगमा राम्रो प्रदर्शन गर्न नसक्नुको मुख्य कारण खेलाडीको चोटलाई मानेका छन् । सुरुदेखि नै एकपछि अर्को खेलाडी घाइते हुँदा टिममा सन्तुलन मिलाउन कठिन भएको हो । त्यसैले आर्मीले यसपल्ट एकरुपको प्रदर्शन गर्न सकेन ।
‘एकपछि अर्का मुख्य खेलाडी चोटका कारण बाहिरिँदा हामीलाई सुरुदेखि नै समस्या भयो,’ समग्र लिगकै प्रदर्शनबारे न्यौपानेले थपे, ‘लिगमा स्थिर रहन सकेनौं । धेरै खेल बराबरीमै रोकियौं ।’
स्ट्राइकर नवयुगको अभाव पहिलो खेलदेखि नै खट्किएको हो । राम्रो खेल्ने तर गोल गर्न नसक्ने समस्या आर्मीमा देखिएको हो । ‘हामीसँग मुख्य स्ट्राइकर भएन । धेरै अवसर बनाए पनि फिनिसिङ नै हुन सकेन,’ न्यौपाने भन्छन्, ‘सन्तोष तामाङलाई चोट लागेपछि त हाम्रो मिडफिल्डमा पनि समस्या हुन थाल्यो । किनभने त्यो पोजिसनमा उनीजत्तिको खेलाडी अरु थिएनन् ।’
अरु टिम खस्कँदा ‘भाग्यमानी’
आर्मी सुरुमा उपाधि दाबेदारकै रुपमा थियो । सुरुवाती चरणका केही खेलपछि उसको दावी कमजोर हुँदै गयो । प्रशिक्षक न्यौपानेले पनि यो स्वीकार गरी उपाधि लक्ष्यबाट पछि हटेर शीर्ष तीनको लक्ष्य निर्धारण गरेका थिए ।
तर अन्तिममा आर्मी अपराजित रहँदै दोस्रो भयो । समस्याका बावजुद पनि अपराजित रहँदै उपविजेता हुँदा टिम व्यवस्थापन खुसी नै छ ।
दोस्रो स्थानमा आउन सक्नुमा अन्य टिमको नतिजा कारक रहेको न्यौपानेको बुझाइ छ । ‘मच्छिन्द्रबाहेक अन्य शीर्ष टिमको पनि खेल बिग्रिँदा हामीलाई फाइदा भयो,’ न्यौपानेले थपे, ‘समग्रमा खेलाडी, अफिसियल र व्यवस्थापनको सहयोगले हामी यहाँसम्म आइपुग्यौं ।’
‘विदेशी खेलाडीको आवश्यकता छ’
ए डिभिजन लिगमा विभागीय टोलीले विदेशी खेलाडी राख्ने गरेका थिएनन् । यस संस्करणमा एपीएफले विदेशी खेलाडी अनुबन्ध गरेको थियो । एएफसी क्लब लाइसेन्स पाएको एपीएफले विदेशी खेलाडीको आगमनपछि लिगमा प्रदर्शन सुधारियो । पुलिस र आर्मीमा अझै विदेशी राख्ने निर्णय गरिएको छैन ।
दुवै टिमका प्रशिक्षकले अब विदेशी खेलाडीको बारेमा पनि सोच्नुपर्ने बेला आएको धारणा राखिसकेका छन् । विदेशी खेलाडी आवश्यक नपर्ने बताउँदै आएका आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यसपल्टको अनुभवबाट धारणा परिवर्तन गरेका छन् ।
‘अरु टिममा विदेशी खेलाडी छन् । यसो भन्दैमा हाम्रो खेलाडीमा समस्या छ भन्न खोजेको होइन । तर आगामी समयमा लिग च्याम्पियन बन्न विदेशी खेलाडी पनि चाहिन्छ,’ उनले भने, ‘गत सिजन विदेशीविना जित्न सम्भव त थियो । जित्छौं भन्ने पनि थियो तर अन्तिममा बिग्रियो । अहिले हेर्दा राम्रा विदेशी खेलाडी आइरहेका छन् । अरु टिमले उनीहरुकै प्रदर्शनबाट फाइदा लिएका छन् ।’ उनले अर्को सिजन नयाँ खेलाडी पहिचान गरी अनुबन्ध गर्नेसमेत बताएका छन् ।
ए डिभिजन लिगमा आर्मी
२०६१ सालमा ए डिभिजन डेब्यू (१३ टिममध्ये चौथो)
२०६२ सालमा १५ टिममध्ये तेस्रो
२०६३ सालमा १४ टिममध्ये दोस्रो
२०६६-६७ सालमा १२ टिममध्ये तेस्रो
२०६८ सालमा १८ टिममध्ये आठौं
२०६९ सालमा १६ टिममध्ये तेस्रो
२०७० सालमा १३ टिममध्ये दशौं
२०७५ सालमा १४ टिममध्ये चौथो
२०७६ सालमा १४ टिममध्ये दोस्रो
२०७८ सालमा १४ टिममध्ये दोस्रो
 
                    










 २०७८ फागुन  १५ गते २०:०२
                        २०७८ फागुन  १५ गते २०:०२                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4