जंक फुडलाई नेपाली भाषामा पत्रु वा काम नलाग्ने खाना पनि भनिन्छ । अंग्रेजी भाषामा जंक भनेको काम नलाग्ने, बेकारको भन्ने अर्थ लाग्छ । यो शब्द अमेरिकामा सर्वप्रथम सन् १९७२ मा प्रचलनमा आएको हो । जंक फुड भनेको शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज, फाइबर जस्ता तत्व नभएको वा अतिकम भएको तर चिनी, नुन, चिल्लो पदार्थ जस्ता क्यालोरीयुक्त तत्वको मात्रा धेरै भएको खाद्यवस्तुलाई भनिन्छ । जंक फुड विशेषगरी वर्तमान युगका किशोर-किशोरीको स्वास्थ्यका लागि ठूलो चुनौती बनिरहेको छ । त्यसैले अहिले जंक फुड व्यापक बहस र चर्चाको विषय पनि बनिरहेको छ ।
सायद जंक फुड भन्ने अंग्रेजी शब्दकै प्रचलनका कारणले जंक फुड के हो र कहाँ पाइन्छ भन्ने लागिरहेको हुन्छ । वास्तवमा हाम्रै वरिपरिका साधारण पसलदेखि ठूला सुपर मार्केटसम्ममा जंक फुड छ्याप्छ्याप्ती पाइन्छ । हामी जानी-नजानी त्यसको उपभोग गरेर आफ्नो स्वास्थ्यमा खतरा थपिरहेका छौं ।
हाम्रो वरिपरिका पसलहरूमा पाइने तयारी खानेकुराहरू जस्तै- चाउचाउ, बिस्कुट, आलुचिप्स, चिजबल्स, कुरकुरे, भुजुरी, चकलेट, क्याड्बरी, आइसक्रिम, केक तथा तुरुन्त तयार पार्न सकिने- मम, पिज्जा, आलुप|mाई, हटडग, बर्गर आदि खानालाई जंक फुड भनिन्छ । यस्ता खानेकुरामा धेरै नुन, चिनी र चिल्लो हुन्छ तर भिटामिन, खनिज र फाइबर एकदमै कम हुन्छ ।
यसमा भएका हानिकारक तत्वहरूका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन् । यसरी उत्पन्न हुने खतरनाक रोगहरूमध्ये हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, दाँतसम्बन्धी समस्या, कुपोषण, हाड सम्बन्धी समस्या आदि प्रमुख हुन् ।
शरीरलाई हानि पुर्याउन सक्ने विभिन्न तत्व मिसाइएका कारण जंक फुड स्वादिलो र पकाउन पनि छिटो हुन्छ । यस्ता खानेकुरा पाएसम्म केटाकेटीले त दाल, भात, तरकारी खान रुचि नै राख्दैनन् । अहिले जंक फुड किशोर-किशोरीका लागि पनि निकै नै प्रिय बनेको देखिन्छ । विशेषगरी बिहान र दिउँसोको खाजामा यसको प्रयोग बढी भएको देखिन्छ ।
खासगरी सहरी क्षेत्रमा जंक फुड कतिपयले बिहान-बेलुकाको खानाका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । यसले उनीहरूको शरीरमा पोषकतत्वको कमी र हानिकारक तत्वको वृद्धि हुन जान्छ र स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् ।
जंक फुडबाट हुने मुख्य स्वास्थ्य समस्या
धेरै जंक फुडहरू डिप फ्राई गरिएका अर्थात् तेलमा डुबाएर तारिएका हुन्छन्, यसले गर्दा त्यस्ता खानामा प्रशस्त मात्रामा चिल्लो पदार्थ हुन्छ । यो चिल्लो पदार्थ शरीरमा बोसोको रूपमा जम्मा हुन्छ । यसबाट खराब कोलेस्ट्रोल बढ्नेलगायतका रक्तसञ्चार प्रणालीमा असर गर्ने दुष्परिणाम उत्पन्न हुन्छन् । अन्ततः यसबाट हृदयघात हुने खतरा हुन्छ ।
साथै चिल्लो पदार्थले शरीरको पाचनप्रणालीमा पनि प्रत्यक्ष असर गर्छ । चिल्लोले शरीरको तौल बढ्ने भएकाले यसबाट जीउ भद्दा देखिने मात्र होइन, रक्तचाप बढ्ने, मधुमेह हुने हुन्छ । बोसो बढ्दै गएमा कलेजोले पनि राम्रोसँग काम गर्न सक्तैन ।
जंक फुडमा प्रशस्त मात्रामा प्रशोधित चिनी हुन्छ । अझ कोक, पेप्सी, फ्यान्टा, मिरिन्डा, रेडबुल जस्ता पेय पदार्थ, आइस क्रिम, चकलेट, सनपापड, केक आदिमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यसले खानालाई स्वादिष्ट त बनाउला तर चिनीको बढी मात्राले डायबिटिज अर्थात् मधुमेह रोग हुने सम्भावना धेरै नै वृद्धि हुन्छ । अझ आफ्नो वंशमा कसैलाई मधुमेह छ भने त यो खतरा झन् धेरै हुन्छ ।
जंक फुडमा प्रशस्त मात्रामा नुन राखिएको हुन्छ । दालमोठ, पापड, भुजिया आदि तयारी खानामा धेरै मात्रामा नुन राखिएको हुन्छ र शरीरमा नुनको मात्रा चाहिने भन्दा धेरै नै बढी हुन जान्छ । जसका कारण उच्च रक्तचापमा वृद्धि हुन्छ । रक्तचाप वृद्धि भएपछि प्रमुख रूपमा मुटुलाई असर गर्छ । साथै यसले मिर्गौला फेलियर हुने, मस्तिष्क घात हुने सम्भावना पनि धेरै नै वृद्धि गर्छ ।
किशोरावस्थामा शरीरमा अनेक किसिमका हार्मोन सम्बन्धी परिवर्तन हुन्छ । यसलाई सन्तुलन गर्नका लागि सन्तुलित आहारको जरुरत पर्छ । तर बारम्बार जंक फुड खाने गर्नाले यसका लागि आवश्यक पौष्टिक तत्व पुग्दैन । जसले गर्दा किशोर-किशोरीमा बानी-व्यहोरा परिवर्तन, चिडचिडाहट, मन उदास, डिप्रेसन हुने लगायतका विभिन्न मानसिक समस्या उत्पन्न हुन्छन् । मानसिक समस्याले कुनै न कुनै रूपमा मुटु र मस्तिष्कलाई पनि असर पुर्याउँछ ।
नाफामुखी व्यापार
विश्वमै जंक फुड एउटा राम्रो नाफाको व्यापार भएको छ । आजको प्रतिस्पर्धात्मक युगमा मानिसले छिटो तयार हुने खानेकुरालाई प्राथमिकता दिने भएकाले रेस्टुरेन्टहरूले फास्ट फुडहरू उपलब्ध गराउन थालेका थिए । त्यसपछि उत्पादकहरूले अझ त्योभन्दा छिटो हुने तयारी खानाहरू उत्पादन गरेर बजारमा उपलब्ध गराउन थालेका हुन् । यसरी तयारी खाना उत्पादन गरेर बट्टा, प्ल्ाास्टिक, सिसी, कागज आदिमा बन्द गरी बजारमा पठाउँदा धेरै दिनसम्म नबिगि्रयोस् भनेर ती खानामा विभिन्न रसायन राखिएको हुन्छ । यसले खानालाई केही दिनसम्म बिग्रन दिंदैन तर स्वास्थ्यमा भने हानि पुग्छ ।
यस्तैगरी बजार वृद्धि गर्नका लागि ती खानालाई आकर्षक देखाउन खानामा विभिन्न किसिमका रंगहरूको प्रयोग गरिएको हुन्छ । यस्ता कतिपय रंगहरू अखाद्य पनि हुन्छन् । जंग फुड प्याक गर्न प्रयोग गरिएका प्लास्टिक, टिन, कागज, बोतललाई आकर्षक देखाउन आकर्षक डिजाइन, फलफूल र खाद्यवस्तुको आकर्षक रंगीन चित्र प्रयोग गरिएको हुन्छ । यसले उपभोक्ताको मन लोभ्याउँछ र किन्छन् ।
जंक फुड बढी बिक्री गर्नका लागि उत्पादकले खाद्यवस्तुको पोषणमा भन्दा स्वादमा बढी ध्यान दिएको हुन्छ । त्यसकारण आफ्नो उत्पादनलाई बढी स्वादिष्ट बनाउनका लागि त्यसमा अजिनोमोटो, क्याफिनलगायत विभिन्न रसायनिक वस्तु मिश्रण गरिएको हुन्छ । यस्ता तत्वले मानिसलाई त्यस्ता वस्तु किन्न लोभ्याउँछ । तर यस्ता वस्तुको बढी प्रयोगले शारीरिकलगायत अनेक मानसिक समस्या पनि हुने गरेको पाइएको छ । त्यस्तै स्वाद वृद्धि गर्न बढी तेल, बोसो, चिनी, नुनको प्रयोग गरिएको हुन्छ । यस्ता वस्तुले मानिसलाई निश्चय नै आकर्षण गर्छ । जसले गर्दा व्यापारीको बिक्री त बढ्छ तर उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्छ ।
त्यस्तैगरी आफ्नो उत्पादनको बिक्री बढाउन उत्पादक तथा व्यापारीहरूले अनेक किसिमका आकर्षक विज्ञापनहरू गर्ने गरेका छन् । यस्ता विज्ञापनमा हाइट बढाउने, बुद्धि बढाउने, सम्झना शक्ति बढाउने, साहसिक र बहादुर बनाउने, रोगबाट बचाउने, सफल बनाउने जस्ता विभिन्न किसिमका भ्रमपूर्ण सन्देश पनि प्रवाहित गरिएको हुन्छ ।
यस्ता विज्ञापनले विशेषगरी किशोर-किशोरीको मनलाई आकषिर्त गरिरहेको हुन्छ । यस्तै विज्ञापनका कारण केटाकेटी यस्ता वस्तु दौंतरीका अगाडि खाँदा पनि गर्वको महसुस गर्छन् । उपभोक्ताहरूको यही मनस्थितिको फाइदा लिएर उत्पादकहरूले आफ्नो बजार विस्तार गर्छन् ।
औद्योगिकीकरण र सहरीकरणका कारण जंक फुडको प्रयोग सर्वप्रथम युरोप, अमेरिकामा नै भएको हो, र अहिले पनि यसको सबैभन्दा बढी प्रयोग युरोप र अमेरिकामा नै भइरहेको छ । त्यसै कारणले गर्दा पनि अहिले युरोप र अमेरिकामा मुटु रोग मानिसको मृत्युको प्रमुख कारण बनिरहेको छ । मुटु रोग लाग्नुमा चिल्लो, नुुनिलो र गुलियो बढी भएका खाद्यवस्तुको सेवन हो भन्ने कुरा त्यहाँ भएका विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
यसै कारण उनीहरूले अहिले यस्ता वस्तुको उपभोग कम गर्नका लागि जंक फुड खाने बानीमा परिवर्तन गरिरहेका छन् । बेलायत, आयरल्याण्डलगायत कतिपय युरोपियन मुलुकले त दीर्घकालीन कार्यक्रम नै बनाएर जंक फुड उपभोगमा कटौती गर्दैछन् । तर जंक फुडको व्यापार ती मुलुकहरूको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता वस्तुको व्यापारलाई उनीहरूले एशिया, अपि|mका र ल्याटिन अमेरिकामा प्रवर्द्धन गरिरहेका छन् । यसैका कारण नेपालमा पनि बहुराष्ट्रिय कम्पनीका उत्पादन र तिनीहरूको विज्ञापन प्रशस्त देखिने गरेको छ ।
उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई बढाइँचढाइ गरेर विज्ञापन गरिरहेका हुन्छन् र त्यसले हाम्रो मन तानिरहेको हुन्छ । किन्ने बित्तिकै खान सकिने, पकाएर खान पनि सजिलो, स्वाद पनि हुने जस्ता कारणले हामी त्यस्ता वस्तु खाइरहेका छौं, तर त्यस्ता वस्तु हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् भने किन महँगो पैसा तिरेर त्यस्ता वस्तु खाने ?
खाना छान्दा हामीले सर्वप्रथम सन्तुलित आहार नै छान्नुपर्छ । मानिसलाई चिल्लो, गुलियो, नुनिलो वस्तु पनि आवश्यक पर्छ तर न्यूनतम मात्रामा । साथै हाम्रो शरीरलाई खनिज, भिटामिन, प्रोटिन, फाइबरलगायत अन्य विभिन्न तत्वको पनि जरुरत पर्छ । खानामा यस्ता तत्व पनि सन्तुलित रूपमा समावेश भएको हुनुपर्छ । तर चिल्लो, गुलियो र नुनचाहिं चाहिने भन्दा बढी र भिटामिन, प्रोटिन, खनिज, फाइबर जस्ता महत्वपूर्ण तत्व चाहिं नाममात्रको भएमा हामी रोगी बन्छौं ।
कोक, पेप्सी, रेडबुल जस्ता जंक फुडको प्रचलन हुनुअघि मानिसहरूले पेय पदार्थका रूपमा पानी, दूध, दही, मोही, लस्सी, ताजा जुस, कागती पानी प्रयोग गरी भिटामिन, खनिज, प्रोटिन आदि प्राप्त गरिरहेका थिए ।
खाजाको रूपमा गहुँ, कोदो, फापर, मकैको रोटी, गहुँ-धानको चिउरा, भटमास, चना, केराउ, बोडीको परिकार, हरियो मकै, हरियो तरकारीका परिकार, आलु, सखरखण्ड, काँक्रो, गाँजर, मुला, मेवा, केरा आदि जस्ता स्वास्थ्यवर्द्धक खाद्यवस्तुहरू प्रयोग गर्ने गरेका थिए । तर आज यस्ता खाद्यवस्तुको प्रयोग ज्यादै न्यून भएर गइसकेको छ । यस्ता उपयोगी खाद्य वस्तुको प्रयोग गर्दा पनि तेलमा तारेर, भुटेर, ज्यादा मसला, नुन, चिनी प्रयोग गरेर खाने गरिन्छ । जसले गर्दा यसमा भएको पोषकतत्व नष्ट हुन्छ भने शरीरलाई हानि पुर्याउने तत्वको मात्रा भने बढ्न जान्छ । त्यसकारण परम्परागत खाद्य वस्तुहरूको प्रयोग गर्दा पनि सही तरिकाले पकाउन आवश्यक छ ।
प्रतिक्रिया 4