+
+

बालिका हिंसाको स्वरूप, समस्या र समाधान

‘हिंसा भनेको पुरुष र महिलाबीचको ऐतिहासिक रूपमा असमान शक्ति–सम्बन्धको अभिव्यक्ति र हिंसा एक महत्वपूर्ण सामाजिक विकृति हो जहाँ महिलाहरूलाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’

ईश्वर बराल ईश्वर बराल
२०७८ फागुन २१ गते १९:१३

यतिबेला नेपाली कला क्षेत्र मात्र होइन, समग्र सचेत नेपाली समुदायलाई नै अभिनेता पल शाह प्रकरणले तरंगित गरेको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि उनी केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयलाई सामान्यीकरण गरेर आम छोरीहरूको अस्मितासँग जोडिने सुरक्षाको विषयलाई लिएर अभिभावकहरू चिन्तित रहनु स्वाभाविक हो ।

एक आम मानिस भएर होइन, नेपाली समाजको छोरीको बाबु वा आमा, बहिनी वा दिदीको दाजुभाइ र श्रीमतीको जीवनसाथी भएर सोच्दाखेरि चिन्ता र चासो स्वाभाविक मात्र होइन, अत्यावश्यक देखिन्छ । छोरी सुरक्षा आजको समाजको गम्भीर सरोकार किन हो ।

कुनै पनि असुरक्षा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो र दिगो विकासको बाधक हो । हिंसा बालिकाहरूमा समुन्नत जीवन जिउनका लागि बाधक समेत बनिरहेको हुन्छ । तसर्थ, नेपाली चेलीको अभिभावक भएर सोच्दा छोरी सुरक्षामा अनुभूत गरिएका चुनौती समाधानका केही उपाय यहाँ चर्चा गर्ने कोसिस गरिएको छ ।

के हो बालिका हिंसा ?

बालिका हिंसा मूलतः बालिकाहरू विरुद्धको हिंसा हो । महिला र बालिका विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रमा भनिएको छ, ‘हिंसा भनेको पुरुष र महिलाबीचको ऐतिहासिक रूपमा असमान शक्ति–सम्बन्धको अभिव्यक्ति हो र हिंसा एक महत्वपूर्ण सामाजिक विकृति जहाँ महिलाहरूलाई अधीनस्थ स्थिति र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’

हिंसाले पीडितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । यसले व्यक्तिको जीवनमा तत्कालीन प्रभाव मात्रै नपारेर दीर्घकालसम्म पिछा छोड्दैन । यसका अतिरिक्त हिंसाले उत्पादनमा ह्रास ल्याउँछ । यसले काममा अनुपस्थिति वा सुस्तता र स्वास्थ्य खर्चमा बढोत्तरी ल्याउँछ । साथै प्रहरी, अदालत र सामाजिक कल्याणका क्षेत्रहरूको समय, श्रम र स्रोतको खर्च वृद्धि गराएको छ ।

बालिका विरुद्ध हिंसाको केही विशेषताहरूमा हिंसा प्रायःजसो अपरिचित शृङ्खलामा हुँदैन र समयसँगै चलिरहन्छ । अर्को शब्दमा भन्नु पर्दा हिंसा परिचित र नजिकका बाट पनि हुने गर्दछ । हिंसा सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्छ ।

हिंसाले प्रायः महिला र बालिकाहरूलाई आफ्नो व्यक्तित्व विकास र प्रगतिका अलावा परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनैतिक विकासमा योगदान पुर्‍याउनबाट रोक्दछ । हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त, शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

हिंसाको स्वरूप र फैलावट

हिजो–आज हिंसाको स्वरूपहरूमा विविधता देखिन थालेको छ । यसलाई व्यक्ति तथा राज्यद्वारा गरिएको हिंसामा विभक्त गरी हेरियो भने अलि सहज हुने देखिन्छ ।

व्यक्तिले गरेका हिंसाका केही प्रकारहरूमा बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबरजस्ती, करणी, महिला शिशु हत्या, जन्मपूर्व यौन छनोट एवं भ्रूण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हुने हिंसा, अपहरणद्वारा विवाह र जबरजस्ती विवाह आदि हुन् ।

राज्यद्वारा गरिएका हिंसामा सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबरजस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।

संयुक्त राष्ट्रसंघबाट समय–समयमा जारी गरिएको विज्ञप्ति नियालेर हेर्ने हो भने विश्वको कुनै क्षेत्र छैन, कुनै देश छैन र त्यस्तो कुनै संस्कृति छैन जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । विश्वमा फरक छ त केवल हिंसाको स्वरूपमा अनि नामकरणमा । त्यस्ता केही प्रतिनिधि स्वरूप र नामकरणका उदाहरणमा दहेज हिंसा र दुलही जलाउने प्रथा भारत, बंगलादेश, श्रीलंका र नेपालसँग सम्बन्धित छ ।

एसिड छ्याप्नेमा भारत, बंगलादेश, श्रीलंका र नेपालका अतिरिक्त कम्बोडियासहित दक्षिण पूर्वी एशिया विशेष रूपमा पर्दछ । त्यस्तै अभिभावकद्वारा हत्या मध्य पूर्व र दक्षिणएशियासँग सम्बन्धित छ ।

खास गरी अभिभावकको मन्जुरी विना छोरीचेलीहरूले आफूखुसी प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्ध राखेपछि अभिभावकले हत्या गरिदिनेसम्मको घटना यसमा पर्दछ । महिलाको जनेन्द्रीय अङ्गभङ्गको विकृति अधिकतम रूपमा अफ्रिकामा पाइन्छ । यो थोरै हदसम्म मध्य पूर्व र एशियाको केही अन्य भागहरूमा पनि पाइन्छ ।

अपहरणद्वारा हुने विवाहमा इथियोपिया, मध्य एशिया र ककेसियन मुलुकहरू अग्रपंक्तिमा छन् । जसरी समाधानको अपेक्षा विश्वव्यापी छ, समस्या पनि त्यही आकारमा छ, अर्थात् विश्व ढाकेको छ ।

हिंसा अन्त्यका लागि भएका प्रयास

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब २५ देखि ४० प्रतिशत छोरीहरू उनीहरूको जीवनको कुनै न कुनै समयमा यौन हिंसा, घरेलु हिंसा, बलात्कार, इज्जतका लागि अभिभावकबाट गरिने हत्या, बेचबिखन, दाइजोको कारणले गरिने हत्या, तेजाब खन्याउने, महिलाको जनेन्द्रीय अङ्गभङ्ग गर्ने, प्रजनन अधिकारमाथि नियन्त्रण जस्ता हिंसापूर्ण भेदभावबाट गुज्रनु परेको अनुभव छ ।

विश्वव्यापी रूपमा प्रजनन उमेर समूहका महिलाको मृत्यु र उनीहरूलाई असमर्थ बनाउन, क्यान्सर भन्दा हिंसा ठूलो कारकको रूपमा रहेको छ भनिन्छ । यस्तो विषम परिस्थितिमा महिलाहरूमाथिको हिंसा अन्त्यका लागि केही ठोस कार्य गर्नुपर्छ भनी केही वर्षयता सबैको ध्यान केन्द्रित हँुदै गएको अनुभूति हुन्छ ।

इ.सं. १९९३ को संयुक्त राष्ट्रसंघीय महासभा प्रस्ताव नं. ४८/१०४ बाट पारित महिला हिंसा अन्त्य सम्बन्धी राष्ट्रसंघीय घोषणापत्र, बेइजिङ कार्ययोजना १९९५, सहस्राब्दी विकास लक्ष्य २००५ महिला हिंसा अन्त्यका दिशामा गरिएको पहलकदमी र प्रतिबद्धताको रूपमा लिन सकिन्छ ।

वि.सं. २००३ मा महिलाको स्थिति सम्बन्धी आयोगले मानवअधिकार र महिला हिंसा विरुद्धका मुद्दा उठाउँदा, सदस्य राष्ट्रहरू सहमतिमा पुग्न सकेका थिएनन् । त्यसको एक दशकपछि सन् २०१३ मा भएको आयोगको ५७औं सत्रमा महिला अधिकार हिंसाबाट मुक्त र संरक्षित गरिनुपर्दछ भन्नेमा ऐक्यबद्धता जनाइयो ।

त्यस्तै, सोही संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोग (सीएसडब्लू) को सबैभन्दा पछिल्लो ६५औं सत्र (१५–२६, मार्च २०२१) लगायत अन्य विश्वव्यापी संयन्त्रहरूले महिलाको सुरक्षा र हिंसाबाट मुक्ति बीचको अन्योन्याश्रित सम्बन्ध महिला माथि हुने भेदभाव अन्त्यका लागि प्रमुख आधिकारिक अधिकार हुने तथ्य स्थापित गरेका छन् ।

नेपालको परिवेशमा हेर्ने हो भने महिला हिंसा न्यूनीकरणका लागि विगतदेखि नै विभिन्न कानूनी तथा संस्थागत व्यवस्थाहरू कायम रहेको पाइन्छ । त्यस्ता सकारात्मक व्यवस्थाहरूमा पहिलो लिखित कानून मुलुकी ऐन १९१० को जीउ मास्ने–बेच्ने, सती जान्याको, आशय करणीको, करणीको आशयले हातपात गन्र्याको, हाडनाताको, जबरजस्तीको एवम् कमरा र बाधाको महलको व्यवस्थालाई पनि त्यो समयको प्रगतिशील व्यवस्था मान्नुपर्ने हुन्छ ।

त्यसपछि जारी गरिएको सुधारिएको मुलुकी ऐन २०२०, विभिन्न विषयगत कानुन हुँदै आजको फौजदारी संहितासम्म आइपुग्दा महिला हिंसा न्यूनीकरणका लागि प्रशस्त कानूनी व्यवस्था र प्रतिबद्धता लागु भएका छन् र सोही मात्रामा राज्यले संस्थागत संयन्त्रहरूको पनि स्थापना र विकास, स्रोतको परिचालन गर्दै अघि बढिरहेको देख्न सकिन्छ ।

हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन

विभिन्न आध्यात्मिकता मिसिएको विश्वाससँग हाम्रो सामाजिक मूल्य गाँसिने गरेकाले होला, छोरी माथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिन्छ । त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहुँदैन ।

यस बाहेक हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसक्नु पनि हिंसा उत्प्रेरित गर्ने कारण हुनसक्छन् । कानुनी व्यवस्थाको कार्यान्वयन हुन नसक्नु र अपराधीलाई कडा दण्ड सजाय नहुनुले पनि हिंसालाई थप मलजल गरिरहेको छ ।

हिंसाका कारण हामीले गर्ने बहस, छलफल र हाम्रो समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ भनेर अघि बढ्दै गर्दा महिलामाथिको हिंसाको सन्दर्भमा हामी आम पुरुष वर्गले पुरुष भएर होइन बाबु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ ।

मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदी, बहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान अवश्य प्यारो होला ।

त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्छ । कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ?

समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ?

महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ  ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?

(पेशाले अधिवक्ता लेखक वीरगञ्ज महानगरपालिकामा कार्यरत कानुन अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?