+
+
मुगु डायरी–७ :

भाषिकाको अन्तर, आपसी कलहको बीउ !

तिलक पौडेल तिलक पौडेल
२०७८ फागुन २८ गते ८:४३

भाषाकै प्रसङ्गमा कास्कीका प्रमोद र शान्तालक्ष्मी पौडेल गमगढीमा बस्नुहुन्थ्यो। पौडेल भएकाले मैले दाइ-भाउजू भन्ने गर्दथें। भाउजूले त्यहींबाट प्रवेशिका परीक्षा पास गर्नुभएको थियो। सो परीक्षामा केन्द्राध्यक्ष कृष्णप्रसाद शर्माको सौजन्यमा उल्लेख्य सहयोग भएको थियो।

दाइ–भाउजूले त्यो सहयोग हदभन्दा बढी ठान्नुभएछ क्यारे ! म गमगढी पुगेको भनेपछि, मेरा लागि उहाँको भान्सामा खाना पाक्दथ्यो। खाद्यबाट पाइने सीमित कोटाको चामलबाट त्यहाँ पाहुना पाल्नु दुरुह मानिन्थ्यो। प्रसङ्ग भाषिकाको हो ! एकदिन म प्रमोद दाइकोमा खाना खाँदै गर्दा सदरमुकाममा गणित-विज्ञान पढाउने प्यूठानी शिक्षक तेजप्रसाद मिश्रण भन्ने साथी मदहोशीमा टुपुल्किनुभयो।अलि गठिलो ठूलो शरीरका मिश्रणको आवाज पनि ठूलो थियो।

‘मेरी श्रीमतीले खाना खाएको ठाउँमा गएर, यो प्रमोदेले कुपुकुपु खाऊ भन्ने ! यसले मलाई के सोचेको छ ए गाँडी ! …’ भन्दै तलामा उक्लिए। म पनि भएपछि ‘ए तिलकजी पनि आउनुभएको रहेछ …’ भन्दै मस्थरिए। तल ठूल्ठूलो आवाजमा बोलेको सुनिएको हुँदा मैले कुरा उप्काउँदै भनें ‘भान्सामा भाउजूले खाना पकाउन सहयोग गर्दै हुनुहुन्छ, गाँडी अलि विस्तारै भनन ! …’ स्याङ्जा पोखरातिर ‘गाँठे’ भनेजस्तै मिश्रणको थेगो ‘गाँडी’ थियो। भनिन्छ ‘दुल्लुका उल्लु, दैलेखी चोर, जुम्लेली ट्यापा, प्युठाने गाँडी’ एउटा थेगो हो।

कुरा के परेछ भने, मिश्रणकी श्रीमती आएको बेलामा एकदिन घुम्दै प्रमोद दाइ उनको कोठामा पुगेछन्। पुग्दा खाना खाने मेसो चलिरहेको रहेछ। श्रीमान्-श्रीमतीले खाना खाइरहेको बेलामा प्रमोद दाइले यसरी करुणाभाव पोख्दा भएछन् रे। ‘म्याडम ! बिजौरी फाँटको मसिनु चामल छाडेर यहाँ आउनुभयो, अब उसिना मोटोको भात भए पनि मीठै मानी कुपुकुपु खानुहोस् …’ विचरा ! प्रमोदलाई भाषिक अनर्थता बारेमा थाहा रहेनछ।

उल्लिखित सन्दर्भमा प्रयोग भएका शब्दमध्ये कास्कीमा ‘गाँडी’, प्यूठानमा ‘कुपु’ र नेपालीमा स्त्रीजनेन्द्रिय याने ‘योनि’ भन्नु एउटै अर्थ मानिंदोरहेछ। अनि त आ-आफ्नो ठाउँमा प्रमोद र मिश्रणहरू श्रीमतीका अगाडि नमज्जा मान्ने नै भए। भाषिकाको अन्तर, आपसी कलहको बीउ बन्न पुगेथ्यो।

सर्वत्र गरिबी पनि होइन रहेछ त्यतातिर !

विद्यालय सञ्चालनका लागि स्रोत जुटाउन प्रायः सबै तिहारमा विद्यार्थी-शिक्षक मिलेर देउसी-भैलोको कार्यक्रम सञ्चालन गरिन्थे। एकपटक धैनालहरू देउसी खेल्दै श्रीनग्रे, गल्फामा पुग्यौं। देउसी खेलिसकेपछि सुत्ने व्यवस्थाका लागि प्रयागराज जैसी- पूर्व जिल्ला पञ्चायत सभापतिकहाँ गयौं। पाँडघर र थाडोमा सुत्न सकिने व्यहोरा जानकारी भएपछि सबैजना त्यतै लाग्यौं। प्रायः सबै सुतेपछि ३÷४ जना बाँकी रहँदा सानो पाँडघरमा गयौं, जुन तामाको खड्कुलो – ठूलो ताउलो राख्नका लागि बनाइएको रहेछ र खड्कुलो राखिएको पनि थियो। अन्ततः त्यो खड्कुलो निकाल्नुभन्दा पराल राखेर त्यसैमा सुत्नु उचित ठहर्‍याई सोही व्यहोरा कार्यान्वयन गरियो। भोलिपल्ट प्रयागराजजीले आफूले सभापति जित्दाखेरि एकपटक त्यो खड्कुलोमा भात पकाएर भतेर खुवाएको प्रसङ्ग सुनाउनुभएथ्यो। त्यतातिर सबै गरीब भन्ने पनि होइन रहेछ।

पञ्चायतकालका सुराकीहरू सक्षमै थिए !

स्थानीय निकायको चुनाव आयो। पञ्चायतीकालमा पञ्चायतइतर शिक्षकहरूको एउटै भूमिगत सङ्गठन थियो। मुगुबाट आईएसम्म पास भएका हस्तबहादुर मल्ल, जो शिक्षण पेशामा पनि थिए। एकपटकको बैठकबाट हस्तबहादुरजीले आगामी चुनावमा जिल्ला पञ्चायतको सभापति पदमा उम्मेद्वारी दिनुपर्ने सर्वसम्मत राय भयो। त्यसको प्रचारी सुरुवात स्थानीय विकास अधिकारीलाई भिउकुलो सिंचाइ कार्यक्रममा भएको भ्रष्टाचारको प्रसङ्ग उठाई हातपात गर्नेबाट गर्नु उपयुक्त ठहरियो।

सोही बमोजिम हस्तबहादुर स्थानीय विकास अधिकारीको कोठामा छिर्दा त स्थाविअ रहेनछन् तर हस्तजीका पछि-पछि लागेका सिभिल पोशाकका प्रहरीहरू स्थाविअको कार्यकक्षमा पसी उनको सीटमाथि टाँगिएका राजारानीका तस्वीर भुइँमा खसालेर फुटाइदिएछन्। अनि राजद्रोहको अपराधीका रूपमा समातेछन्। यसरी हस्तजी जेल परे। तापनि शिक्षकहरूको अर्को बैठक बसी उनैलाई सभापतिको उम्मेद्वार बनाउने सर्वसम्मतिले निर्णय भयो। पञ्चायतकालका सुराकीहरू वास्तवमा गुह्य व्यहोरा पत्ता लगाउन सक्षमै लाग्दथ्यो।

अबोध मनमस्तिष्कमा कुटिल प्रपञ्चको सफल प्रयोग !

चुनावका बेलामा प्रधानाध्यापक बलराम नेउपाने र म भई खनायामा खटियौं। रातको समयमा मतदाताहरूको नामावली उतारी प्रत्येकलाई रु.५० हात पार्‍यौं। अनि टिस्यूपेपरको सानो चिर्कटोमा मतदाताका नम्बर लेखी टोपलेर ‘यो टुक्रा भोटसँग खसाल्नुपर्नेछ, गणना गर्ने समयमा पाइएन भने यो पैसा फिर्ता गर्नुपर्छ नि !…’ भनेर अर्थ्याइयो। चुनाव सकियो। नभन्दै हस्तबहादुर मल्लजीले सभापति पदमा विजय हासिल गरे। नेपालगञ्जका पत्रिकाहरूले ‘जेलमा सभापति’ शीर्षक बनाए। शिक्षक साथीहरू पनि उल्लिखित बमोजिमको कुटिल (?) प्रयास अन्तत: सफल भएकोमा खुसी नै भयौं।

रीतिस्थिति, चालचलन, मान्यता भनेको परम्पराको धरोहर !

बर्खे बिदामा घर आई साउनको अन्त्यतिर मुगु फर्कियो। त्यस समयसम्म पनि पानी नपरेर खडेरी परेको थियो। धैनको सारा ज्यूला (फाँट) को धान सुकेर पराल जस्तो देखिन्थ्यो। धाँजा फाटेर भुइँचालोले धर्ती चिरेजस्तो दृश्य देखिन्थ्यो। हामी पुग्दाको दिन संयोग पानी परेकोले लच्छिन भित्रिएको भन्दथे – गाउँलेहरू। त्यही चिसोमा सुकेको रोपोमाथि फापर छरे। तर पुनः खडेरी घन्कियो। उल्टै दुईछाक खानहुने फापर नि माटोमुनि भयो।

कोटबाडा जाड ढोलीदाइ बिरामी परेका रहेछन्। उनी ढोली भए पनि पुगिसरीका मान्छे थिए। त्यतातिर छोइछिटाको चलन भए पनि घिउ, मह, भुटेका चिजहरू छोइँदैनथ्यो। परिणाम कहिलेकाहीं मार्सेका – लट्टेका कसार खान हामी पनि जान्थ्यौं। मान्यता न हो ! सुल्फा छोइन्नथ्यो तर साफी छोइन्थ्यो अथवा आ-आफ्ना साफी प्रयोग गरेर एउटै सुल्फामा तमाखु खाने गर्दथे, उच-नीच परिभाषाका जातिहरू। हो त नि ! रीतिस्थिति, चालचलन, मान्यता भनेको परम्पराबाट धानिएको धरोहर हो रहेछ !

पोलेको घाउमा नूनचूक !

हामी जाँदा सुतिरहेका थिए, जाडदाइ। ज्वरो आइरहेको थियो। ‘कस्तो छ दाइ ?’ सोधनी गर्दा भयौं। जाडदाइले ‘के गन्या हजुर माइठर ! अइल ठूला-ठूला मान्ठका दस्हा भयारछन् देखेनौ ? नेपालम्मो विश्वेश्वर पन मडिगए, हफल्लाबाडा मल्ल पध्धान पन पुँडो स्हकिए हेर ! अँझ मुपन थला पडिगएँ, दे क्या गडौं हजुर ?… ‘ (के गर्नु मास्टर साहेब ! यो वर्ष ठूला-ठूला मान्छेका दशा रहेछन्, हेर्नुहोस्। नेपालमा विश्वेश्वर पनि बित्नुभयो, माथिल्लो टोलका मल्ल प्रधान पनि बितिगए, हेर्नुहोस्। फेरि पनि थला परेको छु, के गर्नु हजुर !…)

हुनपनि ढोली भए पनि जाडदाइ त्यहाँतिर जान्नेमान्नेमै पर्दथे !

कात्तिकको पनि अन्तिम साता चलिरहेको थियो। मङ्सिरको ६ गतेबाट वार्षिक परीक्षा सञ्चालनको समयतालिका प्रकाशित भइसकेको थियो। गाउँलेहरू घरमा साँचो ठोकेर थोत्राथाम्राका भारीमाथि हिंड्न नसक्ने केटाकेटी राखेर राजापुरतिर हिंडे। साह्रै कारुणिक दृश्य थियो – त्यो। हामीले ‘अब १५÷२० दिनमा छोट्टे÷छोट्टीको जाँच सकिन्या हो, आजै क्यालाई हँड्यौ त ! गएपन जाँच सकिएपै जानु नि ! ….’ (अब १५-२० दिनमा केटाकेटीको परीक्षा सकिनेछ, आजै किन हिंड्नुभयो नि ! जाने नै भएपनि परीक्षा सकिएपछि जानुभएको भए हुन्थ्यो नि !…) भन्यौं। उनीहरू आफ्नो विवशता यसरी पोख्थे ‘क्या गड्न्या माइटर स्हाहेव ! आज नहँडौं भन्या पछेर बाटाथि खान्या सामल हुने नाइँ, एकै जातककन न्याहाँ छाड्ने कुडापन भुएन, अब बँचेपै फागुनको मैना लौटौंलाज्यू, मिलेपै जातककन पास गरिदिया हजुर, नभएपै अठबाइगो ! ..’ (के गर्नु मास्टर साहेब ! आज साइत नगर्ने हो भने पछि बाटामा खाने चिजबीज सकिन्छ, छोरा/छोरीलाई एक्लै यहाँ छाड्ने कुरा पनि भएन। अब बाँचिएछ भने फागुनमा फर्कनेछौं हजुर ! मिलेदेखि छोरा/छोरीलाई पास गरिदिनु होला हजुर नत्र यत्तिकै हुने भयो !…) विचरा ! अनिकालले पोलेको घाउमा वर्षभरि पढेका केटाकेटीलाई परीक्षामा सामेल गर्न नसक्नुको नुनचुक !!!

जीवनको पहिलो निजामती जागिर !

गाउँका अधिकांश घरमा तालाबन्दी भयो। अब त गमगढीबाट खाद्यका उसिना चामल ल्याइदिने, घरमा पकाइदिनेहरू पनि रहेनन्। मलाई गमगढीमा कोलेनिका (कोष तथा लेखा नियन्त्रक कार्यालय) मा रिक्त रहेको लेखापाल पदमा रहेर काम गर्ने प्रस्ताव आयो। हस्तबहादुर मल्लका दाजु पदमबहादुर मल्ल, त्यही कार्यालयमा वरिष्ठ कर्मचारीका रूपमा कार्यरत थिए। चुनावमा लागिपरेको व्यहोरा अनि हिसाबकिताब राख्न सक्षम ठहरिएका कारण त्यस्तो प्रस्ताव तयार भएको रहेछ। जसमा स्वयं हस्तबहादुरजीको पनि गहनतम भूमिका रहेको थियो भने मसँगै धैनमा कार्यरत दाजु होमबहादुर क्षेत्री – जो लोकसेवाको परीक्षा पास गरेर त्यहीं सह-लेखापालको रूपमा कार्यरत हुनुहुन्थ्यो, उहाँको लोकसेवा तयारीमा मबाट पुगेको सहयोगले र स्वयं दाजु-भाइ भएको नाताले पनि यस्तो प्रस्ताव बन्न पुगेको रहेछ।

म पनि गमको चामल धैन पुर्‍याएर खानुभन्दा गमगढीमै बस्दा ठीकै हुने ठानेर धैन छाडें। रहे/भएका गाउँलेहरूले ‘नजाऊ रे माइटर तिलक ! स्हदैं यइथै अनिकाल लागला क्या ? पोरपूँडो त गुमालभन्दा हामी निको खान्थ्यौँ त हैन क्या ?….’ भन्दथे। तर म भने सरकारी जागिरे – निजामती हुने रहरले मात्र जाने नै निधो गरेथें। म पुग्दाको दिन अन्तिम मिति भएको सूचना प्रकाशित भई म मात्रको दरखास्त दर्ता भयो। भोलिपल्ट अन्तर्वार्ता लिइटोपलेर मलाई लेखापालको नियुक्ति दिइयो। यसरी म पहिलोचोटि निजामती जागिरे बनेथें।

जीवनमा नयाँ कामको सुरुवात ! साइनबोर्ड लेखक- आर्टिस्ट …

वास्तवमा त्यहाँ कार्यरत साथी दुर्गासिंह थापाको सरुवा भएर खाली भएको पदमा म नियुक्त भएको रहेछु। उहाँ आर्टिस्ट पनि भएकोले साइनबोर्डहरू लेख्ने काम पनि गर्नुहुँदोरहेछ। उहाँका कुची र रङहरू मलाई हस्तान्तरण गरिदिनुभएकाले अब मपनि आर्टिस्टका रूपमा साइनबोर्ड लेख्ने बन्दो भएँ। संयोग, विकेन्द्रीकरण ऐन २०३९ र कार्यव्यवस्था नियमावली २०४१ ले सम्पूर्ण विकासे कार्यालयहरू ‘जिल्ला कार्यालय, शिक्षा शाखा’ जस्तोबाट ‘जिल्ला पञ्चायत सचिवालय, शिक्षा शाखा’ मा नाउँ परिवर्तन गर्नुपर्ने वैधानिक व्यवस्था सुरु भयो।

हाम्रो आवास, प्रमुख जिल्ला अधिकारी हेमराज सापकोटाका सम्मुखै थियो। विविध ट्रिकका ज्ञाता निज प्रजिअ उच्च रक्तचापका रोगी थिए। कहिले आदरपूर्वक गरेको नमस्कार नफर्काउने गर्थे त कहिले हामी नउठ्दै हाम्रो कोठा ढक्ढक्याउँथे। एक बिहान हाम्रो कोठामा आई मेरो डायरी पल्टाउन थाल्नुभयो। मेरा छापाप्रकृतिका नामाङ्कन देखेर ‘ए तिलक ! यो तिमीले नै लेखेको हो ?’ सोध्नुभयो। ‘हजुर सर।’ को मेरो उत्तरपछि ‘लौ अब दुर्गा सरुवा भयो भनेर चिन्ता मान्नु परेन, सबै अड्डाका साइनबोर्डहरू फेर्नुपर्ने भएका छन्। जुम्ला पुर्‍याएर, लेखाएर ल्याउँदा कर्मचारीको दैनिक भ्रमण भत्ता, बोर्डको लेखाइ खर्चभन्दा सस्तो हुने गरी यिनै भएका बोर्डहरूमा पुनर्लेखन गर्दा हुनेभयो। मैले कार्यालय प्रमुखहरूको बैठकमा निर्देशन जारी गरिदिन्छु, तिमीले बिहान-बेलुका साइनबोर्ड लेख्नुपर्ने भयो ….’ भन्नुभयो। मैले पनि सानन्द ‘दुर्गाजीका कुचीहरू र रहलपहल रङ्÷इनामेल, टर्पिनटाइन आदि यहीं छन्, सरबाट आदेश हुन्छ भने म हाजीर छु नि हजुर !’ भन्दो भएँ। साँझ होमबहादुर दाइको सहयोगमा कुचीहरू मिलाउने काम गरें। हुन पनि निम्नानुसारको कला हेर्दा अहिले पनि मेरै सिर्जना हो र ! जस्तो लाग्दछ।

(चार दशक पहिलेको डायरीबाट) 

क्रमश:

मुगु डायरी-१ : ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?

मुगु डायरी-२ : एक्काइसौं सदीको विडम्बना !

मुगु डायरी-३ : छोट्टी खेलको नूतन अनुभव !

मुगु डायरी-४ : आतिथ्य भरे भर्सेलै परोस् !

मुगु डायरी–५ : बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !

मुगु डायरी -६ : परदेशको ठाउँ, नाक जोगाउने काम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?